Edukhabar
मंगलबार, ११ मंसिर २०८१
विचार / विमर्श

जनप्रतिनिधि र शिक्षक मिले शिक्षामा सुधार

आइतबार, ११ चैत्र २०७४

हामीले शिक्षाका बारेमा चिन्तन मनन् गर्छाै । तर समस्या कहाँ छ, भनेर भेट्टाउन सकिरहेका छैनौं । हाम्रो सोच समाज र समयलाई ध्यान दिन सक्ने किन बनिरहेको छैन ? त्यसैले सोच र चिन्तनमा परिवर्तन ल्याउन आवश्यक छ ।

हाम्रो शिक्षालाई शैक्षणिक र व्यवस्थापकीय पक्षबाट हेर्न आवश्यक छ ।

किन त ?

अहिले सम्म हामीले समग्रताबाट मात्र हे¥यौं । तर त्यसरी सुधार ल्याउन सक्दैनौं । अझै अहिलेको परिवर्तित सन्र्दभमा । हामीले शिक्षाको अध्ययनले आफ्ना आवश्यक कर्म गर्न हुदैन भन्ने मानसिकताबाट सञ्चालन गरिरह्यौं । त्यसैले म भन्छु शिक्षालाई शैक्षणिक र व्यवस्थापकीय पाटोबाट सोच्न आवश्यक छ ।

के हो शैक्षणिक पाटो

शिक्षकले पढाउँदा आफ्नै परिवेशलाई ध्यान दिन आवश्यक छ । जस्तै विद्यार्थीलाई पढाउदा आज के खायौं भनेर सोधिदिने । उसले के भन्ला त ? गाँउको रहेछ भने मकै भन्ला । मकै भन्ने वित्तिकै मकै बाट के के बन्छ भनेर जिज्ञासामा जवाफ खोज्न लगाउन सकिन्छ ।

शहरको रहेछ भने कनफ्लेक्स भन्न सक्छ । कसरी बन्छ होला भनेर सोधौं । गाउँको रहेछ भने रोटी, ढिँडो, आटो वा भात भन्न सक्छ । हो यो खाने कुरा कसरी बन्छ भनेर जिज्ञासा गर्ने ।

जवाफ एकत्रित गर्ने । त्यसलाई कसरी बनाइन्छ वा बन्छ भन्ने कुरामा अर्काे जिज्ञासा थपिदिने अघिल्लो प्रश्नमा जसरी नै उनीहरुलाई जवाफका लागि प्रोत्साहित गर्ने । जवाफ पछि त्यसलाई कसरी व्यवहारिक बनाउन सकिन्छ भनेर ध्यान दिने । त्यस्ता विषयलाई प्रयोगात्क कक्षाका रुपमा शिक्षणमा जोड्ने । उनीहरुलाई त्यस्ता कक्षामा सहभागी बनाउने ।

आफैले भनेको कुरालाई व्यवहारमा उर्तान लगाए पछि उनीहरुलाई बजारीकरणका बारेमा पनि सिकाउने । बजारीकरणसंग सम्वन्धित मानिसलाई उनीहरुका अगाडी प्रस्तुत गर्ने । त्यसबाट विद्यार्थी उत्पादन, उपभोग र बजारीकरण बारे त सिक्न सक्छ । अनि ऊ आत्मनिर्भर पनि बन्न सक्छ । यस्तो शिक्षालाई शैक्षणिक भनेर बुझ्नु पर्छ । जस्तै उनीहरुलाई तिमीहरुलाई बुवा आमाले पाल्नु भएन भने के गर्छाै ? भन्ने । उनीहरु कै जवाफ पर्खिने ।

उसले केही त भन्छ नी !

त्यसलाई पनि अघिल्लो प्रक्रियामा जसरी विकल्पमा काम गरेर जिउन सकिन्छ भन्ने किसिमबाट सिकाउने ।

व्यवस्थापकीय पक्ष

कक्षामा त पढियो काम कहाँ गर्ने त ?

नजिकै रहेको उद्यम वा व्यवसायका बारेमा सिकाउने । काम स्थानीय स्तरमा हो भने, कारपेन्टर, ईलेक्ट्रीकल होस् वा नर्सिङ, कुक जे पनि हुन सक्छ । त्यसरी सिकायौँ भने शिक्षाको उपयोगिता र बुझाइमा तादम्यता आउन सक्छ । अनि मात्र हामीले चाहेको प्रतिफल पाउन सक्छौ । नभए अहिलेका शिक्षाले पलदायनवादी सोच जसरी सिकाएको छ त्यसरी नै पलायन हुने शिक्षालाई निरन्तरता दिनेछ । साथै विद्यालयका पुस्तकका अतिरिक्त सफल स्टोरीका पुस्तक पढ्न प्रोत्साहन गर्ने । जस्तै कर्ण शाक्यको सोच नामक पुस्तक किन नहोस् वा विनोद चौधरी नै किन नहोउन् ? संभव भए सम्म उनीसंगको भेट र विद्यार्थी बिचको अन्र्तक्रियालाई ध्यान दिने ।

अझै अहिले त मिडियाको पहुच सर्वव्यापी छ । त्यसलाई उपयोग गर्न ध्यान दिने । अनि छुट्टीमा त्यसै किसिमका परियोजनात्मक कार्य गर्न होमवर्क दिने । जसले उनीहरुलाई काम गर्न प्रेरित गरोस् । आत्मनिर्भर हुन प्रेरित गरोस् । विद्यार्थी कालको सिकाइ र व्यवहार जीवन पर्यन्त शिक्षा बन्न सक्छ ।

हामी कहांँ संस्थागत अध्ययन अध्यापन गराउन सकिएको छैन । जस्तैं–विद्यालयले व्यवसायिक शिक्षा सहितको कर्म सञ्चालन गरेर उनीहरुलाई सहभागी गराउने । माछा पालन, गौशाला वा अन्य कर्म । आवश्यकता र उपलब्धता अनुसारको काम सहितको शिक्षा प्रणाली विकास गर्नुपर्छ । अहिले सुर्खेतको एक विद्यालयले त्यसरी काम सहितको शिक्षा प्रारम्भ गरेको जानकारी आएको छ । त्यस विद्यालयले जमीन भाडा मै लिएर भए पनि माछा पोखरी बनाएर माछा पाल्ने कार्यमा विद्यार्थीलाई सहभागी गराउदै आएको रहेछ । त्यसबाट विद्यार्थीले पढाइका अतिरिक्त आम्दानी पनि गरिरहेका रहेछन् । यो हो व्यवसायिक शिक्षा ।

अहिले भन्नु मात्रका प्राविधिक शिक्षालय छन् । त्यहाँ प्रवेशिका पश्चात मात्र अध्ययन अवसर छ, त्यहाँ महंगो शिक्षा प्रणाली छ । महंगो शिक्षा पढ्न सबैललाई संभव छैन । त्यस्ता शिक्षलयमा विद्यार्थी अहिले व्यापारका साधन मात्र भएका छन् । उनीहरुलाई व्यापारका साधन बनाउन भन्दा उनीहरुलाई व्यापारी बनाउन ध्यान दिन आवश्यक छ ।

विस २००४ सालमा वर्धा कन्सेप्ट अफ स्कुल शुरु गरिएको थियो हाम्रो शिक्षा प्रणालीमा । त्यो शिक्षा प्रणाली गान्धीको अवधारणामा शुरु भएको नई तालिम थियो । जुन शिक्षाले आत्मर्निभर हुन सिकाउँछ । तर त्यो शिक्षा हामीकहां विकास हुन सकेन । त्यसपछि ०१६ सालमा आएर वीपी कोइराला प्रधानजमन्त्री भएका बेला नर्सिङ र कृषि विषयमा केही संस्था सञ्चालनमा आएका थिए । जसले शिक्षालाई व्यवहारलाई जोडेर शिक्षा दिन आरम्भ भएपनि ०१७ सालको परिवर्तन पछि त्यो विस्तार गरिएन ।

अहिलेको सन्र्दभमा शिक्षामा परिवर्तन संभव छ । माथि भनिए जस्तै शैक्षणिक र व्यवस्थापकीय पाटोलाई अवल्मवन गरेर अगाडी बढ्न सक्ने संभावना पनि छ । किन भने कतिपय स्थानमा शिक्षकहरु जनप्रतिनिधी भएका छन् । स्थानीय निकायलाई शिक्षा संचालन गर्न सक्ने अधिकार छ । नीति बनाउन सक्ने स्थानमा शिक्षकको पहुचसंगै कार्यन्वयन गर्न सक्ने अवस्था छ । ७ सय ५३ स्थानीय सरकार मध्ये १ सय स्थानमा मात्र शैक्षणिक र व्यवस्थापकीय ढंगबाट शिक्षण सिकाई सहितका कार्यक्रम संचालन गर्न सकियो भने मोडेल बन्न सक्ने संभवाना छ । व्यवहारिक शिक्षामा जोड दिने हो सफल बनाउन सक्ने संभावना पनि छ ।

अहिलेको कतिपय प्रतिनिधी एनजीओमा शिक्षासंग सम्वन्धित रहेर काम गरेका पनि छन् । उनीहरुलाई शिक्षाका सवाल र समस्याका बारेमा जानकारी पनि छ । उनीहरुले पनि आफु कार्यन्वयन गर्ने तहमा रहेका बेला शिक्षालाई व्यवहार परक बनाउन सक्छन् ।
शिक्षकले चाहेको भनेको समाजबाट सम्मान हो । शिक्षकलाई समाजले सम्मान मात्र गर्न सिक्यो भने शिक्षा परिवर्तन हुन्छ भन्ने मरो विश्वास छ । समाजले शिक्षकलाई अरु केही दिन पर्दैन । समाजिक सम्मानको आवश्यक छ । शिक्षकसंग मिलेर स्थानीय जनप्रतिनीधिले काम गर्न सके भने शिक्षामा परिवर्तन ल्याउन सकिन्छ । त्यसका लागि हामीले पनि आफ्नो क्षेत्रबाट केही गर्न आवश्यक छ ।

रह्यो प्रश्न अहिलेको संरचनामा पार्टीहरुको भुमिका । पार्टीहरुले आ आफ्ना घोषणा पत्रमा लेखेको कुरालाई व्यवहारमा उर्तान जोड दिए पुग्छ । त्यसलाई अवगत गराउन शिक्षासंग आवद्ध हामी जस्ता व्यक्तिले के गर्नुपर्छ ? त्यसका लागि प्रतिवद्धता जनाउन चाहन्छु । त्यसैले शिक्षामा अब परिवर्तन हुन्छ भन्ने कुरामा म आशावादी छु । त्यो आशालाई यहीँबाट सञ्चार गर्न चाहन्छु ।

कुराकानीमा आधारित

प्रतिक्रिया