Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विचार / विमर्श

शिक्षा पद्धति र विद्यार्थीको सिकाइसँग खेलवाड

विहीबार, ०१ चैत्र २०७४

- २०७३ को एसइइ परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको थियो । म काम विशेषले पूर्वी पहाडतिर गएको थिएँ । आइतवार एउटा माध्यमिक विद्यालयमा पुग्दा त्यहाँ प्रधानाध्यापकका छोराले नीजि विद्यालयबाट जीपिए ३.९ ल्याएको र यो ९७ प्रतिशत हो भनेर तर्क गरिदैँ थियो ।

म पुगे पछिे तर्क विर्तकमा निर्णय दिनु पर्ने भयो ।

अरु मलाई थाहा छैन, तपाईँ कसैले पनि यो जीपिएलाई प्रतिशतमा बदल्ने र प्रतिशतमा बुझ्ने काम नगर्नुस यो दुवै होइन ।

- विद्यालयबाट फर्कदैँ गर्दा पानी पर्‍यो। चिया पसलमा ओत लाग्न पसेको एक माध्यमिक तहका शिक्षकसँग भेट भयो । अनौपचारिक कुराकानी हुँदै जाँदा विद्यालयको नतिजाका बारेमा छलफल भयो ।

अहो ! कुरै नगरौँ सर, प्रथम हुने विद्यार्थीले गणितमा डी ल्याए छ । दुई वर्ष अगाडिको जस्तो भए त स्कुलै नील भएको नि । अहिले यसरी बजारमा मुख देखाएर हिँड्नै लाज हुन्थ्यो । यो ग्रेडिङ प्रणालीले गर्दा यति भने सजिलो भयो है सर ।

- विहान पसलमा बसेर चिया खाँदैछु । स्थानीय निकायको निर्वाचनमा खटिएका शिक्षकहरू सदरमुकाम आउनु भएको छ । चिया पसलमा चार पाँच जना गफ गर्दैछन्, ।

एकले अर्कालाई सोधे – तपाईँ शनिवार के गर्नुहुन्छ ? कहिलेकाँही त बजारतिर आउनु नि ।

केही गरिँदैन । अचेल अलिक अल्छि भइएको छ । जिरो ल्याए पनि एघार पढ्न पाइहाल्ने भयो । ट्युशन चल्न छोड्यो । सात बजेसम्म सुत्यो । स्कुल गयो आयो । यो वर्ष गणितमा ७१ जनामध्ये ४८ जनाको  इ ग्रेड आयो । १९ ल्याउने र जिरो ल्याउने सबै एकै भए । माथिल्लो कक्षा पढ्न पाउने भयो । गजबको भयो है हाम्रो शिक्षा पद्धति ।

ती गणित शिक्षक रहेछन्, ग्रेडिङ प्रणाली लागू हुनु पहिले विद्यालयमा ट्युशन पढाउने गरेको सन्दर्भले यो बुझ्न सकिन्छ ।

यी तीन वटा सन्दर्भले हाम्रो शिक्षा पद्धतिले विद्यार्थीको सिकाइसँग कसरी खेलवाड गर्दैछ भन्ने देखाउँछ । यस वर्षको एसइइको अन्तिम परीक्षा चैत ८ गतेबाट सञ्चालन हुँदैछ । वि.सं.२०६७ सम्म कक्षा १० को अन्त्यमा सेण्टअप नामको एउटा कडा परीक्षा हुन्थ्यो, जसले थुप्रै विद्यार्थीलाई तत्कालीन प्रवेशिका परीक्षामा सहभागी हुनबाट रोक्थ्यो । कति विद्यार्थीले पढाइ नै छोड्थे, कसैले अर्को वर्ष सहभागी हुन्थे, कति छात्राहरू उमेर नपुग्दै बिहेका लागि बाध्य हुन्थे । शिक्षा नियमावली २०५९ को पाँचौ संशोधनले कक्षा १० मा सेण्टअप परीक्षा लिन नपाइने र ७५ प्रतिशत हाजिरी हुने विद्यार्थीलाई प्रवेशिका परीक्षामा सहभागी हुन दिनुपर्ने व्यवस्था गर्‍यो । यो व्यवस्था किन चाहिएको हो ? यसले समग्र शैक्षिक प्रणाली र विद्यार्थीको सिकाइलाई सहयोग गर्‍यो गरेन त्यो फरक पक्ष हो । यो नीति ल्याउनु पर्ने आवश्यकता के थियो ? कसको चाहनामा आयो ? यस्ता प्रश्नको जवाफ खोज्नु मुर्खता मात्र हो ।

यो नीति आउँदा यसको कार्यान्वयन गर्नु पर्ने शिक्षक समुदायले विरोध गरे । निजी विद्यालयले कार्यान्वय नगर्ने चुनौति दिए । सामुदायिक विद्यालयले कानुन नमानी भएन ओठे विरोध गरिरहे र कार्यान्वयन गरे । अहिले सामुदायिक विद्यालयले परीक्षा त लिन्छन् तर फेल गर्दैनन् । विद्यार्थीले अभ्यास गर्न पाउँछन्, पढछन् भनेर परीक्षा लिन्छन् । तर निजीले यसको कार्यान्वयन पूर्णरुपमा अहिले पनि गरेका छैनन् । उनीहरुले परीक्षा लिन्छन् र फेल पनि गर्छन् । प्रवेशिका परीक्षामा राम्रो गर्न नसक्ने देखेका विद्यार्थीका अभिभावकलाई एक दुई वर्ष अगाडि नै बोलाएर सामुदायिकमा भर्ना गर्न प्रोत्साहित गर्छन् । कमजोर विद्यार्थीलाई पढाउने, सिकाउने, प्रोत्साहित गर्ने काम निजीको क्षेत्र भित्र पर्दैन । नर्सरी, केजीमै कडा प्रवेश परीक्षा मेधावी विद्यार्थी छनौट गर्ने, कक्षा बढाउँदै जाने जब विद्यार्थी कमजोर हुँदै जान्छ, विद्यालय परिवर्तन गर्न लगाउने र सामुदायिकमा पठाउने ।

यो नीतिका समिक्षा धेरै नगरौँ । चैत ८ बाट हुने एसइइको परीक्षाका लागि सेण्टअप नामको यो परीक्षा केही जिल्लाहरूमा माघ १५ देखि नै सञ्चालन भयो । कतै माघ २० देखि त कतै २३र२४ बाट । माघको अन्तिम सम्ममा यो परीक्षा सबै विद्यालयले सम्पन्न गरे । चैत ८ बाट सञ्चालन हुने  परीक्षाका लागि ४५ दिन पहिल्यैबाट पठन पाठन सकियो । विद्यालयले औपचारिक भूमिका सकायो । अनौपचारिक ट्युशन कोचिङ त बाँकी नै हुन्छ । नसकिएको कोर्ष पनि सकिन्छ ।

शैक्षिक सत्रको सुरु हुँदा छिटो गर्नेले वैशाखको १० बाट पठन पाठन शुरु गरे भने कतिपयले वैशाख १५ बाट । वैशाख १५ सम्म भर्ना अभियान भनिएको छ । यो वर्ष भएका दुई चरणका चुनाबले र अधिकांश मतदान केन्द्र विद्यालयमै भएको तथा शिक्षकहरू निर्वाचनमा खटिएको हुँदा प्रत्यक्ष १५ दिन पठन पाठनमा अवरोध पुग्यो । कक्षा १० का लागि विद्यालयले पढाउने निर्धारित १० महिना मात्र भयो । अन्य कक्षाका लागि पनि अधिकांशले एसइइ परीक्षा पहिले नै परीक्षा सकाउने भएकाले ११ महिना मात्र भयो । तोकिए बमोजिम विद्यालय खुल्ने दिन सम्म सुनिश्चित हुन नसकेको वर्तमान अवस्थाले कसरी सिकाइ सुनिश्चित गर्ला ?

अधिकांश विद्यालयले यसको अलवा परीक्षा तयारीका लागि परीक्षा शुरु हुने पहिले र सकिएको दिन, कतिपय विद्यालयको महिनाको अन्तिम दिन आधा, त्यस्तै कतिपय विद्यालयहरूले शनिवार अन्य दुई वटा विदाका बीचमा परेको एक दिन स्थानीय विदा दिने प्रचलन रहेको पाइन्छ ।

जसले साच्चिकै विद्यार्थीको सिकाइ, विद्यालयको प्रगति र केही गरौँ भन्ने चाहना राख्छन् उनीहरुका लागि सरकारले दिने विदा, शनिवार र राजनीतिक बन्दहरू पठन पाठन रोक्ने कारण बन्दैनन् तर जो दोष जति सरकार अभिभावक र विद्यार्थीलाई लगाएर सधै उम्कन खोजि रहन्छन् उनीहरुले विद्यालय बन्द गर्ने कारणहरू खोजि रहेका हुन्छन् ।

यसै महिना मात्र राजनीतिक कारणले दुई दिन विद्यालय बन्द भए । ठूला निजी विद्यालयका के कुरा गर्नु र ललितपुरको नर्सरी र केजीमात्र पढाउने मन्टेश्वरी विद्यालयले पनि नारी दिवसका दिन केटाकेटी स्कुल बोलाएको रहेछ । चिनजानकै र टोलमै भएको कारणले किन भनेर जिज्ञासा राखेको थिएँ मैले । अस्ति दुई दिन बन्द भयो त्यसैले बोलाएको । अनि यो मन्टेश्वरीमा के पढाउने कुरा हुन्छ र त्यो बन्दको क्षतिपूृर्ति लिनु पर्ने ? आज विदाको दिन केटाकेटी घरमा बाबु आमासँग बस्थे होला ?

होइन सर, विद्यालयको क्यालेण्डर अनुसार पढाइ हुने दिन र अन्य क्रियाकलाप गराउने दिन पुग्दैन त्यसैले बोलाउनै पर्छ ।

के हामीले धेरै कुरा केही नगरी विद्यालयले न्यूनतम विद्यालय खुल्ने र पढाइ हुने दिन सुनिश्चित गर्न सक्छौँ । यति काम गरे पनि सुधारको थालनी होला कि ।

प्रतिक्रिया