प्रा.डा. मनप्रसाद वाग्ले, नेपालको शिक्षा क्षेत्रमा चिनिएको ब्यक्तित्व त हुन् नै उनले पछिल्लो समय प्रविधि मार्फत् सिकाइलाई विस्तार गर्ने अभियान शुरु गरेका छन् । यसको साधन भएको छ सामाजिक सञ्जाल फेसबुक । फेसबुक भन्नासाथ समयको बर्वादी ठान्ने केही शिक्षक/अभिभावकलाई चुनौती दिदैं उनले फेसबुक मार्फत् नै सकाइ विस्तार शुरु गरेका हुन् । सबै भन्दा पहिले उनले फेसबुककै मार्फत् थेसिस लेख्ने तरिका सिकाएका थिए । जुन हामीले पनि प्रकाशित गर्यौं, हाम्रा पाठकहरुले त्यसलाई खुबै रुचाए । त्यस पछि उनले अनुसन्धान प्रस्तावना तयार पार्ने बारेमा फेसबुक मार्फत् नै सिकाए । त्यो पनि निकै रुचाईयो । यस पटक वाग्लेले अनुसन्धानात्मक लेख तयार पार्ने र प्रकाशन गर्ने विषयमा केन्द्रित भएर फेसबुक मार्फत् नै सिकाएका छन् । उनको उक्त सामग्री हामीले साभार गरेका हौं – सं.
केही समय अघि अनुसन्धान प्रस्तावना कसरी तयार पार्ने ? भन्ने विषयमा मैले ३० वटा पाठ फेसबुक मार्फत यहाँहरु समक्ष पस्केको थिएँ । यहाँहरुको सकारात्मक प्रतिक्रिया र हजारौं सेयरले मलाई सन्तुष्ट बनाएको छ । स्वदेशी मात्रै हैन विदेशी विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि गर्दै गरेका नेपाली विद्यार्थी समेत ती पाठहरुमा संलग्न भएर फाइदा लिन सकेकोले थुप्रै धन्यवाद समेत प्राप्त भएको हो । त्यसपछि कतिपय मुलुकमा अध्ययनरत त्यस्ता विद्यार्थीले आफ्नो अनुसन्धान प्रस्तावना र शोधपत्र समेत पुनरावलोकनको लागि अनुरोध गर्नुभयो र मैले सकेको सहायता गर्दै आएको पनि छु ।
आजबाट केही पाठ अनुसन्धानात्मक लेख तयार पार्ने र प्रकाशन गर्ने सम्बन्धमा हुनेछ ।
पाठ १ : सामान्य
जर्नलमा प्रकाशन गर्नका लागि अनुसन्धानात्मक लेख तयार पर्दा ध्यान दिनु पर्ने कुरा के होलान् ? यो प्रश्न प्रायः सवै अनुसन्धाता खासगरी शिक्षण र अनुसन्धानमा लागेका नव(प्रवेशीहरुको कौतुहलको विषय हुन सक्छ । एकाइसौं सताब्दिमा एउटा प्राज्ञिक व्यक्ति न त अनुसन्धान विना सन्तुष्ट रहन सक्छ न त जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशन विना उसको क्षमतामा वृद्धि भएको ठहरिन्छ । खासगरी उच्च शिक्षाको क्षेत्रमा लागेकाहरुको लागि त अनुसन्धान गर्नु, लेख लेख्नु र प्रकाशन गर्नु अनिवार्य नै मानिएको छ ।
कोरा शिक्षणले मात्रै अव उनीहरुको व्यक्तिगत प्राज्ञिक उन्नति र पदोन्नती दुवै असम्भव छ र तर हाम्रो जस्तो मुलुकमा केही अपवाद बाहेक अनुसन्धानात्मक लेख कसरी तयार पार्ने र त्यसको प्रकाशन सम्म पुग्न के कस्ता कुरामा ध्यान पुरयाउने भन्ने कुरा विश्वविद्यालयका कक्षा कोठामा सिकाइदैन जहाँवाट उच्च शिक्षा शिक्षणका लागि मानव स्रोत उत्पादन गरिन्छ । यसैलाई ध्यानमा राखी फेसबुकको सदुपयोग गर्दै अबका केही दिन यसैमा खर्चे कसो होला भन्ने बिचार फुरेकोले यो अध्यायको शुरुवात गर्ने जमर्को गरेको छु । यस सम्बन्धमा आफुलाई लागेको, आवश्यक देखिएको र अझ यो पनि भैदिए राम्रो हुन्थ्यो भन्ने विचार कमेन्ट बक्समा हाल्नुहोला । सम्भव भएसम्म सवै समेट्ने प्रयास गर्नेछु ।
पाठ २ : के लेख्ने ?
सबभन्दा कठिन मोड हो यो । कस्तो विषयमा लेख्ने, शीर्षक के राख्ने ? शिर्षक नै कसरी तयार पार्ने ? जस्ता हजारौं प्रश्न तपाईंका अगाडि आउन सक्छ । कतिपय अनुसन्धाताको अधिक समय यसैमा व्यतित हुन्छ । कति निरास हुन्छन र विचैमा हराउँछन् । तर हरेस खानु पर्दैन । तपाईंको आफ्नो विषय क्षेत्र हुन्छ जसले तपाइंको भोलिको प्राज्ञिक उत्थानमा मद्दत गर्छ । यो व्यक्ति पिच्छे फरक हुन्छ । आफ्नो विषय क्षेत्रमा वैज्ञानिक, प्राविधिक र सामाजिक मुद्धाहरु हुन्छन । तिनै मुद्धा तपाईका अनुसन्धानको लागि मसला हुन सक्छ ।
राम्ररी ध्यान दिएर सोच्नुहोस् त्यस्ता थुप्रै विचार तपाईंंको मनमा आउन सक्छन् । पहिला आफ्नो विषय क्षेत्रमा तपाइंलाई असाध्य मन पर्ने उप–विषय वा चाख लाग्ने विषयवस्तु हुन्छन । त्यसैलाई पक्डेर अनुसन्धानको मसला बनाउनुहोस् । अनुसन्धान गर्नु पर्ने कारण पहिल्याउनु होस् । अनुसन्धान कुनै न कुनै प्राज्ञिक समस्यामा केन्द्रित हुन्छन् भन्ने कुरा हेक्का गर्नुहोस् । तपाइंको विषय क्षेत्र भाषा हो भने भाषाको मामिलामा हाम्रा समाजमा, कक्षा कोठामा, समाजमा, प्रदेशमा, स्थानीय तहमा वा पुरै राष्ट्रमा त्यसको मुद्धा पहिल्याउनुहोस् र हाम्रो जस्तो बहुभाषिक मुलुकमा त्यस्ता मुद्दा हजारौं भेट्नुहुनेछ ।
मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाका अनेकौं समस्या र मुद्धा हुन सक्छन् । आफुलाई चाख लागेको एउटा मुद्धा छनौट गर्नुहोस् । तपाईंको विषय क्षेत्र शैक्षिक नेतृत्व हो भने शिक्षामा नेतृत्वका मुद्धा पहिचान गर्नुहोस् । त्यो नेतृत्व केन्द्रीय, प्रादेशिक वा स्थान विशेष हुन सक्छ । वा एउटा विद्यालय, कलेज, विश्वविद्यालय भित्रको नेतृत्व हुन सक्छ । वा एउटा कक्षा कोठा भित्रको, एउटा विद्यालय व्यवस्थापन समितिको पनि हुन सक्छ । यसैवाट मुद्धा उठान गर्नुहोस् ।
यी त उदाहरण मात्रै भएर आ–आफ्नो विषय क्षेत्रमा यसै गरी विचार गर्ने प्रयास गर्नुभयो भने के लेख्ने भन्ने समस्या समाधान हुन्छ । यसरी आफ्नो लेखको लागि मसला खोज्दा सकेसम्म आलोचनात्मक, समालोचनात्मक, बहसयोग्य, नयाँ विचारको सम्प्रेषण, उपलब्ध सिद्धान्तलाई चुनौती दिने खालको, सिद्धान्त र व्यवहार विचको फरकपन, स्थानीय परिवेशमा प्रयोग हुन सक्ने, आफ्नो विषय क्षेत्रमा राज्यको नीतिमा प्रभाव पार्न सक्ने जस्ता योगदानमूलक शिर्षकको खोजी गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ ।
शिक्षा विषयमा रुची राख्नेका लागि केही समसामयिक अनुसन्धानात्मक शीर्षकका उदाहरण तल दिइएको छ र यही नै हुनुपर्छ भन्ने छैन, शब्द चयन आकर्षक बनाउन प्रयास गर्नुहोस् ।
- Letter grading: Is this a milestone in evaluation or bizarre?
- Mathematics contents in lower grades of private schools: Damaging or boosting performance?
- Lecture dominated pedagogy: Will this work in 21st century?
- Language dilemma in lower grades: Mother tongue vs medium of instruction
- Imaging oneself: Relevance of IT based self-education
- Virtual classroom: Will this be a substitute to brick ones?
यस्ता थुप्रै शीर्षक तपाईं कोर्न सक्नुहुन्छ आफ्नो विषय क्षेत्रमा र लेख्ने भनेकै पाठकका लागि हो । त्यसैले शीर्षक लेख्दा अलि सटिक र आकर्षक बनाउन सके धेरै राम्रो । (तपाईं आफ्नो शीर्षक मेरो मेसेज बक्समा पठाउनुहोस् र छलफल गरौंला ।) मिल्दैन कि भनेर लाज नमान्नुहोस् । लेखेपछि नै मिल्दै जाने हो । तपाईंको थेसिसबाटै पनि थुप्रै लेख जन्मन सक्छन् । त्यता तर्फ पनि ध्यान दिनुहोला । स्नातकोत्तर र विद्यावारिधिका थेसिसलाई आधार बनाएर प्राज्ञिक जर्नलमा लेख लेख्ने प्रचलन बढ्दो छ । एउटा प्रोफेसरसंग बसेर विधिपूर्वक तयार पारिएको शोधपत्र आफैमा विश्वसनीय हुन्छ ।
पाठ ३ : लेखनको शुरुवात कसरी गर्ने ? (भाग १)
लेखनको शुरुवात गर्दा पहिला मुख्य रूपमा यसको प्रारूपमा विचार गर्नु पर्ने हुन्छ । पहिला प्रारूप कोरिसकेपछि काम गर्न सजिलो हुन्छ । प्रारूप भनेको एउटा खाका हो जसले तपाइंलाई कुनै पनि कुरा नछुटाईकन अगाडि बढ्न मद्दत गर्दछ । सामान्यतयाः लेखन शुरु गर्दा मुख्य ४ वटा तहको विचार गर्नुपर्ने हुन्छ ।
१. शीर्षकको चयन
२. शीर्षक अनुसार अनुसन्धानात्मक कार्य
३. लेखन ढाँचाको प्रारूप र
४. लेखन कार्य
१. शिर्षकको चयन : यस सम्बन्धमा अघिल्लो पाठमा नै चर्चा गरिसकिएको छ । मुख्य कुरा तपाइंको लेखको शिर्षक समसामयिक हुनुपर्दछ । बजारमा उपलब्ध सिद्धान्लाई चुनौती दिन सक्ने वा कारण सहित सोही सिद्धान्तको पुष्टी गर्ने खालको पनि हुन सक्छ । त्यो भनेको तपाईंले संकलन गर्नु भएको सूचनाको विश्लेषणले जनाउने कुरा हो । तर पनि पहिलानै यस्ता कुरामा विचार गरेर शिर्षक छान्न सके पछि लेखनमा सजिलो पर्दछ ।
तथ्यका आधारमा पुष्टी हुने खालको शीर्षक रोज्नु अति आवश्यक हुन्छ । शिर्षक रोज्दा यौटा तर पछि सूचना (तथ्यांक) विश्लेषण गर्दा अर्कै अर्थ लाग्ने खालको भयो भने शिर्षक काम नलाग्ने हुन सक्छ । त्यस्तो अवस्थामा शिर्षक परिवर्तन पनि गर्न सकिन्छ । यसो भन्दैमा जे पनि शिर्षक रोज्ने र पछि सुधार गर्ने भन्ने होइन । शिर्षक अनुसारको अनुसन्धानात्मक प्रश्न र त्यही प्रश्नको उत्तर आउने खालको सूचना संकलन गरेपछि शीर्षक नमिल्ने भन्ने प्रश्न नै रहन्न । सबभन्दा महत्वपूर्ण कुरा भनेको तपाईंको आफ्नो रुचिको विषयवस्तु नै हो शीर्षक चयनका लागि । आफूले छानेको शिर्षकका बारे आफ्ना सहकर्मी र सिनियरहरु संग छलफल गर्ने र सुझाव समेट्ने कार्य गर्नु भयो भने अझ राम्रो हुन्छ । आफ्नो विषयमा बिभिन्न जर्नलमा प्रकाशित लेख अध्ययन गरेर शिर्षक रोज्ने काम अर्को महत्वपूर्ण कडी हो । यसो गर्दा तपाइंको अनुसन्धानमा मौलिकता कायम गर्न मद्दत मिल्छ ।
२. शिर्षक अनुसार अनुसन्धानात्मक कार्य : अनुसन्धानात्मक कार्यको शुरुवात बिभिन्न स्रोतमा उपलब्ध लेख, रचना, पुस्तकका अध्ययनबाट हुन्छ । जसलाई Literature Review भनिन्छ । आफ्नो विषयवस्तुसंग सम्बन्धित यस अगि गरिएका अनुसन्धान अध्ययन गर्न छुटाउनै हुँदैन । यस्तो अध्ययनले तपाईंको रुचिको विषयमा बजारमा के कस्ता ज्ञान उपलब्ध छन् र के गर्न बाँकी छ भन्ने कुराको जानकारी हुन्छ । बाँकी काम भनेकै research gap हो र त्यस्तो gap लाई समेटेर शीर्षक पुनरावलोकन गर्न सकियो भने त तपाइंको लेख अन्तर्राष्ट्रिय स्तरमै गुणस्तरयुक्त हुन्छ ।
त्यसैले पहिलो चरणमा अध्ययन गर्ने नै हो । अरुको लेख रचना नपढी अनुसन्धानात्मक लेख लेख्ने सोच राख्न सकिन्न । यसरी पढ्ने सामग्री खोज्दा मौलिक लेख रचना, विषयवस्तुसंग मेल खाने अनुसन्धानात्मक लेख, तपाईंको विषयले समेट्ने सान्दर्भिक नीति, तथा सैद्धान्तिक आधारका बारेमा अध्ययन गर्नु लाभकारी हुनेछ । यस्ता अध्ययनले तपाइंको अनुसन्धानमा गुणात्मक सहयोग पुर्याउंछन् । यिनै मसलालाई आधार मानेर तपाईं सजिलै आफ्ना सूचना विश्लेषणलाई यथार्थ परक बनाउन सक्नुहुन्छ ।
यसका अतिरिक्त आफ्नो मौलिकपनलाई झल्काउन तपाईं key actors संग अन्तवार्ता लिएर पनि त्यो सूचना आफ्नो अनुसन्धान बलियो पार्ने काम उपयोग गर्न सक्नु हुन्छ । तर सधैं यो जरूरी हुँदैन । उपलब्ध तथ्य र सूचनालाई आधार बनाएर मात्रै पनि अनुसन्धानात्मक लेख तयार पर्न सकिन्छ । थप सूचना संकलन गरेर पहिलाको अनुसन्धानात्मक लेखलाई पुष्ट्याई वा आलोचनात्मक रूपमा उपयोग गरेर मौलिक लेख सिर्जना गर्न सकिन्छ ।
पाठ ४ : लेखनको शुरुवात कसरी गर्ने ? (भाग २)
ध्यान दिनुपर्ने अर्को कुरा के हो भने आफ्नो अनुसन्धानको लागि सकेसम्म धेरै स्रोतबाट सूचना (तथ्यांक) संकलन गर्नु । जति धेरै स्रोतबाट सूचना संकलन गर्न सक्नुभयो उति नै धेरै तपाइंको लेख भरपर्दो मानिन्छ । यसले तपाईंलाई आफ्नो विश्लेषण बिभिन्न कोणबाट गर्न मद्दत गर्दछ । यसरी सूचना खोज्ने क्रममा तपाईंले प्रयोग गर्ने वेव साइटले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
यसरी वेव साइट खोज्दा .com भन्दा पनि .edu, .gov र .org मा जानुहोला जुन भरपर्दो र विश्वसनीय मानिन्छन् । .com का सूचना एकांगी र विज्ञापनमूलक बढी हुन्छन र तिनले अनुसन्धानमा खासै सहयोग पुर्याउन सक्दैनन् । तर पनि विचारका लागि .com अध्ययन गर्नु अपराध भने होइन । google मा पनि Google Scholar भित्र पस्नु भयो भने बढी लाभकारी हुनेछ ।
आफूले काम गर्ने वा पढ्ने संस्थाले कतिपय जर्नल अन लाइन किनेका हुन्छन् । त्यस्तो जर्नलको अध्ययन तपाईं पनि निःशुल्क गर्न सक्नु हुन्छ । Free Journal Website भेटाउन सक्नुहुन्छ । खोज्नुहोस र उपयोग गर्नुहोस् । विदेशमा पढ्ने आफ्ना नातेदार वा इष्टमित्रलाई गुहारेर पनि तपाईं नयाँ नयाँ लेख रचना पढ्ने चाँजो मिलाउन सक्नुहुन्छ ।
आफूलाई घत परेको कुनै अनुसन्धाता र तिनका लेख आवश्यक परे तिनका वेव साइटमा गएर इमेल ठेगाना पत्ता लगाउने र पत्राचार गरी उनीहरुका लेख उपलब्ध गर्ने काम पनि थुप्रै अनुसन्धाताले गर्दै आएका छन् ।
३. लेखन ढाँचाको प्रारूप : लेखन कार्य गर्दा कसरी अगाडि बढ्ने, के के कुरा राख्ने र कुन कुन पक्षलाई जोड दिने भन्ने कुरा थाहा पाउनु निकै जरूरी हुन्छ । लेख्न बस्दा तपाईंसंग आवश्यक सूचना वा तथ्यांक संकलन भैसकेको हुनुपर्दछ । यसरी संकलन गरिएका सूचनालाई विश्लेषण गर्दै संगठित रूपमा राख्नुपर्दछ ।
तपाईंको अनुसन्धानले खोजेको प्रश्नको उत्तर आउने गरी यस्तो संगठन गर्नु वान्छनीय हुन्छ । यो एउटा पक्ष भयो । अर्को पक्ष भनेको तपाईंले पढ्नु भएका लेख रचना, अनुसन्धानात्मक कृति, थेसिस, पुस्तक, नीतिका दस्तावेज जे जति छन् ती paraphrase गरेर ठिक्क राख्नु पर्दछ । paraphrase भन्नाले अरुको विचार तपाइंको भाषामा पाठकलाई बुझाउने प्रक्रिया र विधि हो । यसमा कसको विचार कहाँबाट लिइएको भन्ने प्रष्ट उल्लेख हुनुपर्दछ ।
अरुको विचार हूबहू सार्नु भनेको वौद्धिक चोरी मानिन्छ र त्यो अनुसन्धानात्मक लेखमा ग्राह्य हुँदैन । जर्नल हाउसले वौद्धिक चोरीका लेखहरु ( plagiarised article) अस्वीकृत गरिदिन्छन् । त्यसैले अरुको विचार पढौं, आफ्नो भाषामा लेखौं र लेखकलाई क्रेडिट दिऔं । यो नै paraphrasing हो ।
कहीं कतै कसैको भनाई हूबहू राख्ने पर्ने भए quotation mark भित्र राखौं र कुन पेजबाट त्यो लिइएको हो पेज नम्बर समेत उल्लेख गरौँ । त्यसपछि क्रमशः लेखन कार्यको प्रारम्भ गर्नुहोस् ।
क्रमशः ...
प्रतिक्रिया