Edukhabar
शनिबार, ०८ मंसिर २०८१
विचार / विमर्श

स्थानीय तहका लागि शैक्षिक रुपान्तरणको प्रस्तावित खाका

बुधबार, १० माघ २०७४

पृष्ठभूमि

नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुरुप स्थानीय तहको निर्वाचन सम्पन्न भई स्थानीय सरकार अस्तित्वमा आइसकेको छ । प्रादेशिक र संघीय सरकार गठन प्रक्रियाले पनि गति लिइसकेको छ । संविधानले माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन एवम् सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिइसकेको सन्दर्भमा अव विद्यालयीय शिक्षा सञ्चालन एवम व्यवस्थापन स्थानीय सरकारको परिभाषित कार्यक्षेत्र अन्तर्गत रहेको स्पष्ट छ ।

संघीय/ प्रादेशिक सरकारले शिक्षा ऐन÷नियमावली निर्माण गरेर स्थानीय सरकारलाई सहजीकरण गर्न सक्नेछ । कतिपय अस्पष्ट भएका विद्यमान प्रावधानलाई स्पष्ट पार्ने काम पनि होला । तर, माध्यमिक तहसम्मको विद्यालयीय शिक्षा सञ्चालन, रेखदेख एवम व्यवस्थापन स्थानीय सरकारले नै गर्नुपर्ने/गर्न पाउने कानुनी व्यवस्था भएकोले  स्थानीय सरकार माथि शैक्षिक रुपान्तरणको महत्वपूर्ण दायित्व छ यतिखेर । त्यसो त नेपालको संविधान २०७२ ले निर्देश गरे अनुरुप स्थानीय तहलाई विधायकी, कार्यकारिणी र न्यायिक अधिकार प्रयोगमा ल्याउन सहज होस भनेर व्यवस्थापिका संसदले पारित गरेको स्थानीय तह सञ्चालन ऐन २०७४ पनि कार्यान्वयनमा आइसकेको छ । यस ऐनले गाउँपालिका तथा नगरपालिकाको शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकार किटान गरी २३ ओटा क्षेत्र निर्धारण गरेर स्थानीय सरकारलाई शिक्षा व्यवस्थापनमा सहजीकरण गर्ने प्रयास गरेको देखिन्छ ।

नेपालको वर्तमान संविधानले आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य हुने तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था गरेको छ । तर, न त आधारभूत तहसम्मको शिक्षा पूर्णरुपले निःशुल्क र  अनिवार्य गर्न सकिएको छ नत माध्यमिक तहसम्मको शिक्षा निःशुल्क नै । विभिन्न बाहानमा विद्यार्थीसंग शूल्क असुल्ने काम चलिरहेको छ, भलै कानुनले यस्ता कार्यलाई बन्देज नै गरेको किन नहोस् ।

शिक्षालाई श्रममैत्री बनाउन नसक्दा शिक्षा उत्पादनसंग गाँसिएन । समाज रुपान्तरणको लागि कामयावी शिक्षाको आवश्यकता महशुस भयो तर, त्यो केवल बहसमा नै सीमित हुन पुग्यो । अर्थात् कार्यान्वयनमा जोड दिइएन । फलतः शैक्षिक संस्थाहरु अल्छे बेरोजगार उत्पादन गर्ने उद्योग मात्र बने । सरकारी नीति निर्देशनलाई स्थानीय सरोकारवालाहरुले आत्मासात् गर्न सकेनन् । शिक्षा सम्बन्धी सरकारी नीति केवल कागज मै सीमित हुन पुगे ।

अब व्यवस्था फेरियो । सोच फेर्ने तिर लागौँ । अधिकार स्थानीय तहमा नै आयो । अव सरकारलाई गाली गर्ने आफू ताली खाने छुट कसैलाई छैन । स्थानीय तहका जनप्रतिनिधिहरु झन् आफै शैक्षिक रुपान्तरणको मियो बन्नु पर्ने आवश्यकता र बाध्यता दुवै छ । शिक्षाको सन्तुलित विकासबाट मात्र समृद्धिको सपनाहरुले सार्थकता पाउन सक्छन् । यो विश्वब्यापी मान्यता पनि हो र स्थापित सत्य पनि । यस अर्थमा पनि शैक्षिक रुपान्तरणको लागि स्पष्ट मार्गचित्रको आवश्यकता छ ।

विद्यमान व्यवस्था तथा स्थापित नीति नियमबाट पनि शैक्षिक सुधार गर्न सकिन्छ । कतिपय स्थानीय सरकारले कामको थालनी गरिसकेका छन् । परिवर्तनका संकेतहरु पनि देखिएका छन् । नेपालको संविधानले व्यवस्था गरेअनुरुप स्थानीय तहले गर्न सक्ने प्रस्तावित शैक्षिक रुपान्तरणको खाकालाई तल प्रस्तुत गरिएको छ ः

शैक्षिक रुपान्तरणको प्रस्तावित खाका :

मुख्य कार्य क्षेत्र    स्थानीय सरकारले गर्नुपर्ने कार्य    कैफियत
बालविकास कार्यक्रमको पहँच सुनिश्चित गर्न   

- बालबालिकाहरुलाई खेल, मनोरञ्जन र सहज सिकाइका लागि प्रत्येक वडामा बाल उद्यान निर्माण गर्ने

- अभिभावक एवम सरोकारवालाहरुलाई बालविकासको महत्वबारे जानकारी गराउने,

- आमा समूह परिचालन गरी आवश्यकता अनुसार पालिकाले दिवा खाजाको व्यवस्था गर्ने ।

- दुर्गम वस्तीमा आवासीय स्वरुपको शिशु कक्षाको व्यवस्था गर्ने ।

- विद्यालयसँग समन्वय गरी बालविकास र स्कूलका कार्यक्रम जोड्ने प्रबन्ध मिलाउने ।

- बालविकासका सहजकर्तालाई स्थानीय तहबाट न्यायोचित पारिश्रमिकको थप व्यवस्था मिलाई आफ्नो कामप्रति जिम्मेवार बनाउने ।   

 
निशुल्क तथा अनिवार्य शिक्षा लागु गर्न   

- आधारभूत तहसम्म अनिवार्यरुपले बालबालिका भर्ना गर्ने काम शिक्षक मार्फत सुनिश्चित गर्ने ।

- निशुल्क माध्यमिक शिक्षा सुनिश्चित गर्न गाउँपालिका स्तरमा छात्रवृत्तिकोष खडा गर्ने । त्यसैबाट विद्यार्थी एवं अभिभावकलाई प्रोत्साहित गर्ने व्यवस्था मिलाउने ।

- आफ्ना सन्ततीलाई विद्यालय नपढाउने बाबुआमालाई सरकारी सुविधाबाट वञ्चित गर्ने नीति बनाउने ।

- कमजोर आय भएका अभिभावकलाई गाउँपालिका स्तरमै छोराछोरी पढ्न पठाउने शर्तमा सम्भव भए रोजगारी उपलव्ध गराउने नभए प्रोत्साहन प्याकेज बनाउने ।    

 
सबैलाई जीवन पर्यन्त/आजीवन शिक्षा सुनिश्चित गर्न   

- शिक्षक, अभिभावक, युवा, महिला, प्रौढ आदिसँग छुट्टाछुट्टै संवाद गरी कुन कुन समूहलाई के कस्तो शिक्षा र शैक्षिक व्यवस्था जरुरी छ भनी पहिचान गर्ने ।

- तदनुसार विभिन्न संघ सँस्थासँग सहकार्य गरी सिक्न चाहनेहरुको रहर अनुसारका सामग्री उपलव्ध गराउने ।

- उपलव्ध सामग्रीहरु एक अर्कामा आदान प्रदान गर्ने व्यवस्था मिलाउने ।    

 
शिक्षालाई श्रममैत्री बनाउदै उत्पादनसँग जोड्न    

- गाउँपालिका/नगरपालिका भरिका युवाहरुको लगत तयार पार्ने र उनीहरुको रुचीगत सीप समूह बनाउने । स्थानीय र राष्ट्रिय शिल्पी वा तालिम प्रदायकसँग सहकार्य गरी रुची अनुसारको सीप र उद्यमीकरण तालिमको व्यवस्था मिलाउने

- प्रत्येक गाउँपालिकामा कम्तीमा एउटा प्राविधिक शिक्षालय खोल्ने तथा नगरपालिकामा आवश्यकताको आधारमा प्राविधिक शिक्षालय खोल्न पहल गर्ने ।

- सबै स्कूलका शिक्षक, विद्यार्थी एवं कर्मचारीमा श्रम गर्ने बानीको विकास गर्न विद्यालयभित्र या लिजमा लिएर उपयुक्त स्थानमा तरकारी खेती, पशुपालन, कम्प्युटर प्रशिक्षण, लेखन सीप, पठन सीप तथा Soft Skills सम्बन्धी तालिम सञ्चालनमा ल्याउने । सोही श्रमबाट आर्थिक उपाजर्नन हुने ससाना कामहरु सञ्चालन गर्ने ।

- स्थानीय खेतवारीमा OJT गर्नेगरी शिक्षण प्रक्रियामा फेरबदल गर्ने । यसरी काम र पढाइ जोड्ने ।

- स्थानीय र बाहिरका विज्ञहरुको सुझाव संकलन गरी उपयुक्त कार्ययोजना निर्माण गर्ने र कार्य प्रारम्भ गर्र्ने ।   

 
गुणस्तरीय शिक्षा सुनिश्चित गर्न   

- घरघरमा कसका बालबालिका पढ्न आएनन् भनी पहिल्याउन र स्कूल ल्याउन कर्मचारी खटाउने ।

- पोषण सहितको शिक्षा दिन पालिकामा स्थानीय कोष खडा गर्ने ।

- स्कूलमा न्यूनतम भौतिक सुविधा उपलव्ध गराउँने ।

- नक्साँकन गरी विद्यालय मिलान गर्ने । दरबन्दी मिलान गर्ने । पालिका भरि निश्चित शिक्षक विद्यार्थी अनुपात कायम गर्ने ।

- गुणस्तरीय शिक्षाको लागि शिक्षकको प्रतिवद्धता सुनिश्चित गर्ने ।

- अनुभवि, दक्ष, नेतृत्व क्षमता भएका योग्य प्रधानाध्यापकको व्यवस्थापनको लागि विद्यालय प्रस्ताव र शैक्षिक विकासको कार्ययोजनाको आधारमा जिम्मेबार प्रधानाध्यापक नियुक्त गर्ने ।

- बालबालिकाले भने गरेको कुराको लगत राखी शिक्षक एवं अभिभावकबाट अनुसन्धान गर्ने परिपाटी बसाल्ने ।

- पालिकाको बजेटको कम्तिमा २०% शिक्षामा खर्च गर्ने व्यवस्था मिलाउने ।

- सबै स्कूलमा कम्प्यूटर उपलव्ध गराउने ।

- शिक्षक, अभिभावक, व्यवस्थापन समिति, पालिकाबीच अन्तरसंवाद गरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय नीति बनाई लागु गर्ने ।    

 
निजी, सरकारी, गुठी तथा धार्मिक स्कूलबीच सहकार्य गर्न   

- पालिलका भित्रका शिक्षक, व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधि, विद्यार्थीको संयुक्त टोलीबनाई एक अर्को विद्यालयको अवलोकन गर्ने ।

- अवलोकन पश्चात एक अर्को विद्यालयबाट सिकेका कुनकुन असल कुराहरु लागु गर्न गराउँन सकिन्छ भनी छलफल गर्ने र तदनुसार कार्यक्रम लागु गर्ने ।

- सवै स्कूलमा एकै खाले रुटिन र विदा सुनिश्चित गर्दै विद्यालयलाई शान्ति क्षेत्र बनाउने ।

- क्रमशः सवैखाले विद्यालयमा साझा नीति, एवं पाठ्यक्रम र शिक्षणशैली लागु गर्ने व्यवस्था मिलाउने ।

- सवैखाले स्कूललाई एक अर्काका प्रतिष्पर्धी र सहयोगी बनाउने ।

 
मातृभाषामा शिक्षा दिन   

- स्थानीय शिक्षक, अभिभावक, विज्ञ र विद्यार्थीको सहयोगमा पालिकामा भएका भाषाभाषी बालबालिकाका लागि एकल वा बहुभाषिक शैक्षिक सामग्री बनाउने ।

- शिक्षकले अनिवार्य रुपमा विद्यार्थीको मातृभाषा सिक्नुपर्ने व्यवस्था मिलाउने ।

- विद्यार्थीलाई एक अर्काको भाषा सिक्न प्रोत्साहित गर्ने ।

 
नियमित अनुगमन एवम् मूल्याँकन गर्न   

- जनप्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक एवं विद्यार्थी सहितको टोली बनाई नियमित रुपमा विद्यालयको अनुगमन एवं मूल्याँकन गर्ने ।

- अनुगमन एवं मूल्याँकनको नतिजा अनुसार शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, कर्मचारी, अभिभावक आदिलाई पुरष्कृत एवं दण्डित गर्ने ।

 

स्रोतः विभिन्न पालिकाका शैक्षिक निर्णय एवम कार्ययोजनाहरु

निचोड

सामुदायिक शिक्षालाई सुधार गर्न सर्वप्रथम गणतान्त्रिक नेपालको लागि आवश्यक पर्ने विद्यालयी शिक्षा प्रणालीवारे सम्वन्धित सम्पूर्ण सरोकारवालाहरु सँगको सार्थक वहस एवं अन्तरक्रियाबाट ठोस कार्ययोजना वनाई स्थानीय तहबाटै त्यसलाई पूर्णरुपमा लागू गर्ने हिम्मत गर्नुपर्दछ । निजी विद्यालयमा भित्रिएका व्यवपारीकरण तथा नाफामूखी सोचको अन्त गरी त्यसलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भरपर्दो निकायको रुपमा विकास गर्न निजी विद्यालय सम्वन्धि स्पष्ट नीतिको खाँचो छ । सामुदायिक विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट पूर्ण मुक्त गरि सक्षम, दक्ष एवं योग्य व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न सरकारले विशेष नीति निर्माण गरी कार्यान्वयन गर्नु जरुरी देखिन्छ ।

स्थानीय सरकारले पनि राहत तथा करार शिक्षक भर्ना गर्दा विज्ञटोली बनाइ योग्य व्यक्तिको प्रवेशको सुनिश्चितामा ध्यान दिनुपर्दछ । प्रत्येक स्थानीय तहमा विज्ञहरुको एउटा टोली बनाइ त्यहाँको स्थानीय आवश्यकता एवं विशिष्ट अवस्थालाई समेत ख्याल गरी गाउँ÷नगर स्तरीय शिक्षा योजना निर्माण गरी कार्याव्यन तर्फ क्रियाशील बन्नुपर्छ ।

शिक्षकको आत्मवल र आत्म विश्वास बढाउन सके मात्र प्रभावकारी शिक्षण सम्भव हुने भएकोले पेशागत सुरक्षाको प्रत्याभूति गराउदै कामलाई सलाम र नकामलाई लगामको नीति अवलम्वन गर्न जरुरी छ । शैक्षिक संस्थाहरुमा बन्द, हड्ताल तथा कुनै पनि राजनीतिक गतिविधि गर्न नदिने कानुनी ब्यवस्था गरि त्यसलाई कडाइका साथ लागु गर्न अव ढिलाई गर्न हुदैन । कम्तिमा पनि बार्षिक २२० दिन विद्यालयमा पठन पाठन हुने व्यवस्था मिलाउन स्थानीय सरकार थप जबाफदेही बन्नु पर्दछ ।

श्रमप्रति आस्था जगाउन सकिएन भने कथित शिक्षितहरुबाट समृद्ध नेपालको परिकल्पना सम्भव छैन । शिक्षालाई उत्पादनसंग जोड्नाका लागि पनि प्राविधिक तथा व्यावसायिक शिक्षाको समुचित व्यवस्थापन गर्न जरुरी छ । आवश्यकताको आधारमा स्थानीय स्तरमा नै पाठ्यक्रम निर्माण गरी समुदायको अपेक्षा र सिकारुको चाहना पूरा गर्न सकिन्छ । सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा भन सुन र राजनीतिक आग्रहको आधारमा  नियुक्त गरिएका अयोग्य प्रधानाध्यापकको यथास्थिति भूमिका प्रमुख रहेकाले यसको विकल्पमा निश्चित नियम बनाउन आवश्यक छ । एउटा योग्य, जागरुक एवम् नेतृत्व सीप भएको क्षमतावान प्रधानाध्यापकले विद्यालयलाई सुधारेका प्रमाणहरु पनि हामीसंग छ । माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको कार्यक्षेत्रभित्र आइसकेको सन्दर्भमा जनप्रतिनिधि नै सामुदायिक विद्यालयको मुख्य व्यवस्थापक पनि हो । यस अर्थमा पनि जनप्रतिनिधि नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने नीतिगत व्यवस्था गर्न आवश्यक देखिन्छ । यसो गर्दा विद्यालयको भौतिक तथा अन्य व्यवस्थापकीय व्यवस्थापनमा सहजता हुन सक्छ ।

[email protected]

प्रतिक्रिया