Edukhabar
सोमबार, ०८ पुस २०८१
विचार / विमर्श

किन शिक्षक प्रति नकारात्मक व्यवहार ?

बुधबार, ०३ माघ २०७४

सामुदायिक विद्यायलका शिक्षकहरुप्रतिको दृष्टिकोण पञ्चायत कालखण्डमा मात्र होइन, गणतन्त्र शासन व्यवस्थामा समेत सकारात्मक पाइएन । यो दुर्भाग्यपूर्ण वा विडम्बनापूर्ण मात्र नभई लज्जास्पद र निन्दनीय भन्नै पर्छ । जहाँ शिक्षकप्रति सम्मान हुँदैन वा शिक्षकप्रति सकारात्मक हेराई हुँदैन, त्यो समाज वा समुदायमा असल संस्कारको विकास सहज हुँदैन ।

सबै शिक्षक दूधले नुहाएका हुन्छन् वा त्रुटी, गल्ती नै गर्दैनन् भन्ने वकालत गर्ने प्रयत्न गरिएको हैन । कमी, कमजोरी वा गल्ती, त्रुटी जो कोहीबाट जान नजानी हुनसक्छ । शिक्षकमात्र होइन, दुनियाँका ठूला, साना सबैबाट कमजोरी नहुने भन्ने होइन । एकाध शिक्षकका केही त्रुटीलाई सधैं चर्चाको शिखरमा राखी आम शिक्षण पेसालाई नै मानमर्दन हुनेगरी समस्त शिक्षकको अवहेलना गर्ने मनोभाव एउटा संस्कार नै बनेको छ ।

सामुदायिक विद्यालयमा पढाउने शिक्षक यति धेरै अपमानित र अपहेलित नेपालमा मात्र भएको तथ्य पाइन्छ । अन्य मुलुकको व्यवहारमा शिक्षकलाई सकारात्मक र सम्मानित दृष्टिकोणबाट व्यवहार गरिन्छ, तर यहाँ शिक्षक भन्ने वित्तिकै दोस्रो दर्जाका नागरिक सरह बुझ्ने गरिन्छ ।

पञ्चायती निरंकुश शासन व्यवस्थाको अन्त्यमात्र होइन, हालको गणतन्त्र स्थापना गर्ने विभिन्न जनआन्दोलनका चरणमा शिक्षकको भूमिका उल्लेखनीय रहेको तथ्य नकार्न मिल्दैन । हालका राजनीतिक दलहरुको जन्मदेखि स्याहार्दै स्वस्थ र युवा बनाउने अभियानमा शिक्षक अग्रपंक्तिमा रहेकै हो । राजनीतिक पार्टीलाई गतिशील र वकालत गर्नमा शिक्षक नै अगाडि रहे तर, यसको नकारात्मक प्रभाव प¥यो । शिक्षकले राजनीति गरे । स्कूलमा पढाएनन् । पढाई अस्तव्यस्त भयो । शिक्षा शिक्षकले बिगारे । नेताको पछि लागेर जागिर प्रवेश गरे । आन्दोलनबाट स्थायी भए । जागिरे मानसिकताले ग्रसित भए । यस्ता अनेकौं आरोप शिक्षकमाथि वर्षा भई नै रहेका छन् । तर, यी आरोप भित्रको तथ्य खोतल्ने प्रयत्न भएन ।

शिक्षकको सेवा प्रवेश विगतमा फितलो बनाएको यही राजनीतिक र प्रशासनिक संयन्त्रले नै हो । शिक्षकले विधिपूर्वक आयोग मार्फत् शिक्षण पेसाको मर्यादा खोजे तर, राजनीतिले स्वतः स्थायी र बढुवाको निर्णय ग¥यो । पेसागत सुरक्षा र विकासको लागि संवैधानिक शिक्षा सेवा आयोग माग गरियो तर, त्यो सुनुवाई भएन अर्थात् शिक्षकका जायज आवाजलाई बारम्बार लत्याउने प्रयत्न भएकै हो । जो आयोग मार्फत् नै उत्तीर्ण भए, पेसागत स्वाभिमानमा सधैं दृढ र अविचलित भए, उनीहरुलाई सधैं बदनाम गर्ने नियतले बारम्बार आक्रमण भई नै रह्यो ।

मासिक तलब भत्ता बुझेको इतिहास नेपाली शिक्षकलाई हालसम्म थाहा छैन । तलब भत्ताको लागि चाडपर्व वा अन्य अवसरमा आन्दोलन नै गर्नुपर्ने नियति छ, जुन वर्षौंदेखिको समस्या हो, यो कहिल्यै हल भएन । शिक्षण पेसामा दण्डहिनताको मात्रा धेरै भयो । बेठिकलाई दण्ड कहिल्यै भएन । राम्रोलाई प्रोत्साहन कहिल्यै गरिएन । सधैं गालीगलौज, अपमानको पगरी मात्र गुथाउने प्रयत्न भयो । सरकारी स्कूल, कलेजलाई क्रमशः धराशायी बनाउने नियतले राम्रै प्रश्रय पायो । शिक्षकका पेसागत संघ, संगठनलाई बारम्बार अपमान गर्ने प्रयत्न गरियो । ट्रेड युनियन अधिकारको हनन गरी शासक वर्गले सोचेको शैक्षिक वातावरण बुझ्न जटिल बन्दैछ । खोला तरेपछि लौरो बिर्सने वा माथि पुगेपछि भ¥याङको महत्व सकिने कदापि होइन । दलका नेताहरु, जनप्रतिनिधिहरु, प्रशासनका उच्चपदस्थ कर्मचारीहरु र आम सरोकारवर्गले सामुदायिक विद्यालयका शिक्षकका विषयमा सार्वजनिक बहस गर्नैपर्छ । अनावश्यक गैरजिम्मेवार टिप्पणी गरेर पेसागत बद्नाम गराउने दुस्साहस कहिँ कतैबाट हुनुलाई स्वभाविक मानिँदैन ।

कमी कमजोरी जहाँ जसले गरेको छ, त्यो दण्डित हुनुपर्छ, त्यस्ता जोगाउन हामी लाग्दैनौं । तर, स्वाभिमानी शिक्षकको अपमान हामी सहँदैनौं । यो गम्भीर रुपमा शासकवर्गले बुझ्नैपर्छ । सामुदायिक विद्यालयहरु कसरी चलेका छन् ? विधिपूर्वक अनुगमन निरीक्षण गरेर यथार्थ कुराहरु बाहिर आउनुपर्छ ।

हाल विद्यालय शिक्षा स्थानीय तहमा जिम्मा लगाइएको बेलामा अत्यन्त सुझबुझका साथ विधि विधान, ऐन कानून बनाएर सामुदायिक शिक्षालाई व्यवस्थित र संगठित गर्दै स्तरीयता तर्फ अग्रसर बन्नैपर्छ । विद्यार्थीले सिक्ने मानसिकता, शिक्षकले सिकाउने अवस्था र स्थानीय तहले शैक्षिक वातावरण बनाउनुपर्छ । शिक्षाका समस्यालाई प्राथमिकीकरण गरेर हल गर्दै जान सकिन्छ । मासिक तलब भत्ता दिन नसक्ने, ठेक्कामा दिएजस्तो चौमासिक निकासा गर्ने, त्यो पनि व्यापक अनियमित हुने, लगानी धेरै छ भनेर कराउने अनि उपयोग अत्यन्त कम हुने गरी तालिम, छात्रवृत्तिजस्ता अनुत्पादक काममा खर्च गर्ने, परीक्षा तथा मूल्यांकन विधि तहस नहस बनाउने, विकसित मुलुकको सिको नक्कल गरेर अरु घोडा चढेको छ भन्दै आफू धुरीमा चढेर मच्चिने खाले आम प्रकृति र संस्कार अब अन्त्य हुनैपर्छ । असल नियतको थालनी गर्नैपर्छ ।

प्रत्यक्ष सरोकारवर्ग भएकाले शैक्षिक कार्यहरुमा प्रत्यक्ष संलग्नता गराएर शिक्षकलाई प्रोत्साहन गर्न सकिन्छ । विग्रिएको हो भने कहाँ कुन औजार वा अंग कमजोर भयो ? त्यो पहिचान र समाधान आजको मूल काम हो । औंलामा घाउ हुँदैमा सिंगै शरीरलाई ब्याण्डेज गर्नु मूर्खता हुनेछ । रोगको पहिचान र त्यसको उपचार महत्वपूर्ण पक्ष हो ।

अहिले पनि हाम्रो शिक्षामा सुधार गर्न यथार्थ गहिराई मापन गर्न सकिएन भने देश नै पछाडि पर्छ । हरेक समस्याको समाधान शिक्षासँग नै जोडिने भएकाले शिक्षा सबैको प्राथमिकतामा पर्नैपर्छ । अब कुराले भन्दा पनि कामले गरेर देखाउने बेलामा विगत जस्तै सामुदायिक विद्यालय, कलेजका शिक्षक यसो त्यसो भनेर नकारात्मक टिप्पणी मात्र गर्ने हो भने हामी इतिहासमा नै धेरै पछाडि पर्न सक्छौं ।

असल नियतले भए गरेका कामको प्रोत्साहन र सराहना गर्नुपर्छ । स्वस्थ आलोचना सुनेर नै हामीले सुधार गर्ने हे । चाकरीमा मात्र रमाएर सतहमा बुझ्ने गर्नाले आजको अवस्था आएको हो । यस्ता गलत दृष्टिकोणलाई बदल्ने र कामयावी बनाउने अभिभारा आम सरोकारवर्गसँग लक्षित छ भन्दा अत्युक्ति हुनेछैन ।

लामिछाने, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया