Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

कक्षा ११ को नतिजामा ग्रेडको ओरालो यात्रा

सोमबार, ०१ माघ २०७४

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक अक्षरांकन पद्यतीमा शनिबार प्रकाशित गरेको कक्षा ११ को नतिजा अत्यन्त कमजोर देखिएको छ । अंग्रेजीको ‘ए प्लस’ देखि ‘ई’ सम्म तय गरिएका ९ वटा ग्रेड मध्ये विद्यार्थीको चाप ‘सी’ पछिको ग्रेडमा देखिनु शिक्षण सिकाइमा गम्भीर हुनु पर्ने विषय हो । यसले विद्यालयको माथिल्लो तहको सिकाइ खस्किँदै गएको मात्रै देखाउँदैन त्यसपछि उच्च शिक्षा अध्ययनमा कति कमजोर विद्यार्थी जाँदैछन् भन्ने दुखद् पक्ष पनि उजागर गरेको छ ।

कक्षा ११ को नतिजा खस्केको यस पाली अक्षर ग्रेडिंग पद्यतीमा मात्रै होइन । कक्षा १० सम्मको नतिजामा धेरैको चासो हुने भएकाले कक्षा ११ र १२ को नतिजा खासै चर्चामा आउने गरेको छैन । उत्तीर्णांकका आधारमा नतिजा निकाल्दा पनि कुल परीक्षार्थीमध्ये मुस्किलले ३२ देखि ४० प्रतिशत मात्रै ११ र १२ कक्षा पास हुने इतिहासलाई नाम मात्रै बदलिएको बोर्डले यसपाली पनि आफ्नो लाजमर्दो इतिहास जोगाउन सफल भएको छ । अक्षरांकनकै बेला पनि नतिजा आउँथ्यो, विद्यार्थी कि पास कि फेल हुन्थे र पनि उनीहरु कक्षा १२ पुग्थे । त्यसपछि चाहिँ उनीहरुको यात्रा कि पूणर््ाविराम लाग्थ्यो कि मौका परीक्षाको सहयोगले उच्च शिक्षाको ढोकासम्म पुग्थ्यो ।

यसपाली पनि अवस्था त्यही छ । कुनै एक विषयमा ‘डी प्लस’ वा त्यो भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले उक्त विषयको ग्रेड बढाउन पुन परीक्षा दिन सक्छन् । तर दुई वा त्यस भन्दा बढी विषयमा तल्लो ग्रेड छ भने चाहिँ उनीहरुले त्यो अवसर पाउँदैनन् ।

सरकारले कक्षा १२ सम्मलाई कागजी र कानुनी रुपमा माध्यमिक तह बनाए पनि यथार्थमा त्यो नाम मात्रै बदलिएको अवस्था छ । हिजोको उच्च माध्यमिक शिक्षा परिषद्कै धंङ्धंङीले कक्षा ९ र १० दश एउटा लयमा तथा ११ र १२ अर्कैै लयमा चलिरहेका छन् । त्यो बेसुरा लयलाई मिलाएर लानु पर्ने तहमा बसेकाहरु त्यही बेसुरा रागमा शिक्षाको सरगम गाउनमा मग्न छन् । पहिलेको परिषद्बाट सरक्कै बोर्डमा सरेका कर्मचरी अहिले पनि हिजै जस्तो हाजिर गरेर तलब,  काम चोरेर पैसाको मेलो खोजिरहेका छन् । जसले गर्दा कक्षा ९ र १० चाहिँ शैक्षिक जस्तो, ११ र १२ चाहिँ व्यापारिक जस्तो देखिँदै आएको छ ।

नतिजा पनि त्यसकै परिणाम हो । कागजमा ९ देखि १२ लाई माध्यमिक तह भने पनि व्यवहारमा त्यो लागू छैन । कक्षा ९–१२ को एकीकृत रुप कहिले सग्लो रुपमा आउँछ त्यो भन्न सक्ने अवस्था पनि छैन ।

यसपालीको ११ को नतिजा विषयगत ग्रेडका आधारमा निकालिएको छ । कक्षा १२ को ग्रेड पनि यसमा जोडिने भएर होला शायद यसमा जिपिए दिइएको छैन । प्रयोगात्मक र सैद्धान्तिक नम्बर जोडेर ग्रेड तय गरिएको छैन । एउटा विषयमा डि प्लस भन्दा कम ल्याए ग्रेड बढाउन मौका परीक्षा दिने भनिएको छ, दुई वा दुई भन्दा बढीमा डी प्लस भन्दा कम ल्याउनेलाई अर्को वर्ष पुन परीक्षा (ब्याक पेपरका रुपमा) दिने व्यवस्था हुन्छ कि हुँदैन त्यो पनि प्रष्ट छैन ।

ग्रेड वृद्धिको मौका परीक्षा ऐच्छिक हो । सबै दिन्छन् वा दिनैपर्छ भन्ने छैन । तर बोर्डले बुझाउन सेकेको छैन । पढाएको एक ढंगले छ । परीक्षा एक ढंगले तय गरेको छ । प्रश्न पत्र एक ढंगले बनाएको छ । उत्तरपुस्तिका परीक्षण एक ढंगले गरेको छ र नतिजा निकालेको छ ग्रेडमा । यो प्रवृत्तिले बोर्डलाई न कुखुराको चाल, न हाँसको चालमा उभ्याएको छ ।
जुन कुरा विषयगत नतिजा विश्लेषण गर्दा पनि देखिन्छ ।

अंग्रेजी मात्रै होइन, नेपाली, विज्ञान, व्यवस्थापन सबै समूहको सिकाइ यति कमजोर देखिन्छ कि ग्रेड ‘ए प्लस’ बाट ‘सी प्लस’ सम्म जोड्दा पनि ‘सी’ पछिको ग्रेडमा विद्यार्थी संख्या धेरै देखिन्छ । यसको अर्थ हो भोलिका दिनमा उच्च शिक्षालयले कडिकडाऊ नियम ल्याएर सी भन्दा तलका विद्यार्थी भर्ना नलिने भने भने र लोकसेवा जस्ता रोजगारी दिने निकायले पनि ग्रेड तोकिदिए भने तल्लो ग्रेड वालाहरुलाई मार पर्नेछ ।

विद्यार्थीको सिकाइ कति कमजोर छ भन्ने जान्न अनिवार्य अंग्रेजी र नेपालीको नतिजा हेरे पुग्छ । ३ लाख ४७ हजार ६ सय ८७ अंग्रेजी परीक्षार्थी मध्ये सी प्लस सम्मको ग्रेडमा ९७ हजार ९ सय ३३ छन् । ग्रेड सी पछि त्यो संख्या २ लाख ४९ हजार ७ सय ५४ छ । विगतको उत्तीर्णांकसित अक्षरांकन पद्यतीलाई दाँज्नु न्यायोचित मात्रै होइन सैद्धान्तिक हिसाबले पनि बेठीक हो । तर अक्षरांकन भने पनि हाम्रो शिक्षण सिकाइ, निरन्तर मूल्यांकन, परीक्षा प्रणाली, प्रश्नपत्र निर्माण, उत्तर पुस्तिका परीक्षणको अवस्था हेर्दा उही अंकलाई अक्षरमा ढालेको जस्तो देखिन्छ । त्यस हिसाबले हेर्दा ग्रेड सी पछिका विद्यार्थीले तहगत रुपमा जान्नु र सिक्नु पर्ने सुनाइ बोलाइ पढाइ लेखाइको सीप जानेका छैनन् भन्ने नै हो । अंग्रेजीमा त ग्रेड बढाउन परीक्षा दिन पाउने डी प्लस पछिको ग्रेडमा मात्रै २ लाख ९ हजार ६ सय ७६ विद्यार्थी छन् ।

अनिवार्य नेपालीको अवस्था पनि उस्तै छ । २ लाख ९७ हजार ३ सय १० विद्यार्थीले नेपालीको परीक्षा दिएको देखिन्छ । सी प्लस ग्रेडसम्म १ लाख ५० हजार ६ सय १७ विद्यार्थी छन् । सी पछिको ग्रेडमा १ लाख ४६ हजार ६ सय ९३ परीक्षार्थी छन् । ६९ हजार ७ सय ७१ विद्यार्थी ग्रेड बढाउन दिइने मौका परीक्षाम सहभागी हुने तहका छन् ।

लोक सेवा आयोग र उच्च शिक्षालयहरुले यदि सी प्लस वा सी भन्दा तल्लो तहका विद्यार्थी भर्ना नलिने भन्ने नीति लिए भने बाँकी विद्यार्थीको उच्च शिक्षा सपना कक्षा १२ पछि रोकिन्छ । त्यो स्वभाविक हो । तर राज्यले त्यो जनशक्तिलाई चाहिने कामकाजी शिक्षा दिन सकेको छैन । कक्षा १२ पछिको उमेर जन्य जनशक्ति विना सीपको छ । राज्यले प्राविधिक तथा व्यवसायिक शिक्षामा उनीहरुको पहुँच पुर्याउन नसकेकाले उनीहरु के गर्छन् ? भन्ने प्रश्न गम्भीर छ ।

कक्षा ११ को सिकाइ, परीक्षा तथा उत्तर पुस्तिका परीक्षण प्रणाली किन अवैज्ञानिक छ भन्ने कुरा फिजिक्स, केमेस्ट्री र वायोलोजीको नतिजा हेरे प्रष्ट हुन्छ । ५० हजार ५ सय ४१ विद्यार्थीले परीक्षा दिएको फिजिक्समा सैद्धान्तिक विषयमा ए प्लस ल्याउनेको संख्या ७ सय ६४ जना छ । तर प्रयोगात्मकमा ४० हजार ७ सय ७३ ले ए प्लस ल्याएका छन् । प्रयोगात्मकमा ए प्लस ल्याउने त्यत्रा विद्यार्थी रहेछन् भने थियरीमा ए ग्रेड ल्याउने पनि जम्मा ३ हजार ५ सय १२ छन् ।

केमेस्ट्रीमा पनि हालत त्यस्तै छ । ५० हजार ५ सय ४४ ले परीक्षा दिएकोमा प्रयोगात्मकमा ए प्लस ल्याउनेको संख्या ४१ ६ सय ९१ छ जब की सैद्धान्तिक परीक्षामा ए प्लस ल्याउने २ सय ९९ मात्रै छन् । जो विद्यार्थी सैद्धान्तिक विषयमा प्रष्ट छैन भने प्रयोगात्मकमा मात्रै कसरी उसको स्तर माथि हुन सक्छ ?

बायोलोजीको अवस्था पनि केही फरक छैन । परीक्षा दिएका ३६ हजार ९ सय ५७ मध्ये ८ सय २५ ले सैद्धान्तिक परीक्षामा ए प्लस ल्याएका छन् भने ३० हजार ३ सय ८२ ले प्रयोगात्मकमा ए प्लस ल्याएका छन् ।
तुलनात्मक रुपमा बढी विद्यार्थी पढ्ने शिक्षा शास्त्र समूह १ लाख ४३ हजार ८ सय ९३ परीक्षर्थी मध्ये ९१ हजार ७ सय २३ डि प्लसको ग्रेडमा छन् । पपुलेशन एजुकेशनका ९० हजार ३ सय ६४ परीक्षार्थी मध्ये ६९ हजार ८ सय ६४ मौका परीक्षा दिन पाउने डी प्लसको ग्रेडमा छन् । हेल्थ एण्ड  फिजिकल एजुकेशनका १ लाख ४ हजार ५ सय ४० मध्ये ४४ हजार ५ सय ८० डी प्लसमा छन् ।

इकनमिक्स र एकाउन्टिंङ्को हालत पनि उस्तै छ । इकनमिक्सका १ लाख ३० हजार १ सय ४ मध्ये ८८ हजार ७ सय ८७ ग्रेड सी पछि छन् । त्यस्तै एकाउन्टिंङ्का १ लाख २७ हजार ७ सय ८ मध्ये ७९ हजार ७ सय ४ ग्रेड सी पछि छन् ।

विषयगत रुपमा ग्रेड विश्लेषण गर्दा समग्रमा कक्षा ११ को सिकाइ एकदम कमजोर देखिन्छ । सबैभन्दा कमजोर त शिक्षा समूहको सिकाइमा छ । अरुलाई सिकाउनु पर्ने तहका विद्यार्थीको सिकाइ यति कमजोर छ कि भोलि उनीहरु शिक्षक भइ हाले भने पनि के सिकाउलान् भन्ने शंका गर्नु पर्ने अवस्था छ । मानविकी समूहको समाज शास्त्रको अवस्था पनि त्यस्तै छ ।

यसको मूल कारण भनेको कक्षा ९–१२ को गतिलो व्यवस्थापनको अभाव । कक्षा १० सम्म विद्यालयको एउटा स्वरुप अझै कायम छ । कक्षा ११ र १२ चाहिँ विद्यालयको तह नै होइन जसरी चलिरहेका छन् । निजीको तडक भडक एकातिर छ, सामुदायिकको बिजोग अर्कातिर छ । राज्यले माध्यमिक तहको अध्यापनका लागि स्नातकोत्तर उत्तीर्ण शिक्षक अनिवार्य व्यवस्था गरेको भए पनि ९ र १० कक्षामा स्नातकले काम चलाईरहेका छन् ।

११ र १२ मा पर्याप्त शिक्षक छैनन् । निजीमा कार्यरत शिक्षक पढाइ भन्दा धेर पैसा मुखी छन् । सिकाउने भन्दा पनि उनीहरु खल्तीमा पुरानो नोटकापी बोकेर वर्षौसम्म त्यही रटाइ रहन्छन् । सामुदायिकमा नोट कापी बोक्ने शिक्षकनै पनि पर्याप्त छैनन् ।

कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा हो । सिकाइको कडी पनि अब कक्षा १२ मा पत्ता लग्ने छ । तर त्यसका लागि एकै चोटी परीक्षा लिएर ग्रेड निर्धारण गर्नु वैज्ञानिक पद्यती होइन । कक्षाको निरन्तर मूल्यांकन ग्रेड निर्धारणको प्रमुख अस्त्र हो । हाम्रा तल्ला कक्षादेखि नै निरन्तर मूल्यांकन भनेको पढाउँदै नपढाइ कक्षोन्नती हो भन्ने बुझाइ बढेको छ । यसले ग्रेडलाई कमजोर मात्रै होइन, काम नलाग्ने नै बनाउँछ ।

अब अक्षर ग्रेडलाई निरन्तरता दिने हो भने माध्यमिक तहको शैक्षिक, भौतिक र आर्थिक विकासका लागि राज्य, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक सबै तयार हुनु जरुरी छ ।

प्रतिक्रिया