Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

परिषद्को हावादारी सूचना

शुक्रबार, २५ असार २०७२

बजेट र योजना बिनाको कार्यक्रम सार्वजनिक गर्दा विद्यार्थी अन्यौलमा 

भक्तपुर २५ असार / उच्च माध्यमिक शिक्षा परिषद्मा भूकम्प पीडितको छात्रबृतिका लागि निवेदन दिनेहरुको भीडभाड थेगिनसक्नु भएको छ । बुधबारसम्म सय जनाको हाराहारीले मात्रै निवेदन दिएका थिए । शुक्रबार पाँच सय भन्दा बढी भएका छन् । भिडभाड देख्दा २ हजार नाघ्न सक्ने अनुमान गर्न सकिन्छ । परिषद्ले यतिको संख्यामा आवेदन आउला भन्ने सोचेको थिएन । दुई सयको हाराहारीमा आउला यति व्यवस्थापन भइहाल्छ नि भन्ने सोचेको परिषद् श्रोतले बतायो । 

तर, सोचेभन्दा बढी संख्यामा निवेदन आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने परिषद्को टाउको दुखाई बनेको छ । भूकम्प पीडितलाई भूकम्प पीडितलाई छात्रबृति दिने परिषद्संग बजेट पनि छैन । आफ्नो आगिंक प्लस टु पनि छैन । कसरी व्यवस्थापन गर्ने ? अन्यौल सुरु भएको छ । ‘सरकारको नीति तथा कार्यक्रममा पनि भूकम्प पीडितलाई बिशेष व्यवस्था गर्ने भनेको छ । केही न केही त होला नि’ परिषद्का उपाध्यक्ष प्रा.डा. चैतन्य शर्माले भने, ‘पीडितको समूह विभाजन गरेर छात्रबृति जसरी पनि दिन्छौ ।’ यसका दागि मापदण्ड निर्धारण गर्ने उनले बताए । मापदण्ड बनाए पछि परेका जति सबै निवेदनलाई छात्रबृत्ति दिन नपर्न सक्ने उनको अड्कल छ । आमा वावु गुमाएका, घर गुमाएकाहरु र आमा वावु मध्ये कुनै एक जना गुमाएका वा श्रीमान् गुमाएहरुलाई फरक फरक बर्गमा राख्ने उनको भनाई छ ।  

तर, बजेट र योजना बिना परिषद्ले छात्रबृति दिने सार्वजनिक सुचना जारी गरेको छ । सूचनाको आधारमा सर्वसाधरणको भीड लागेको हो । ‘यो जनतालाई दुःख दिने काम भएको छ । यो छात्रबृतिमा आश गर्ने र भर नपरे हुन्छ’ परिषद्का एक अधिकारीले भने, ‘कसैले छात्रबृति पाउने वाला छैन । यि विद्यार्थीलाई पढाउन परिषद्को आफ्नै कलेज छैन । अरुलाई पठाई दिउँ भन्नलाई बजेट छैन ।’ 

परिषद्मा छात्रबृतिको फारम भर्न गएका विद्यार्थी र अभिभावकलाई प्लस टुले दिने तीन प्रतिशत छात्रबृतिको फारम पनि भर्न सुझाव दिने गरेका छन् । परिषद्ले सामुदायिक विद्यालय अध्ययन गरेका विद्यार्थीलाई छात्रबृति दिदै आएको छ । यसको लागि परिषद्ले लिएको परीक्षा पास गरेर मेरिटको आधारमा प्लस टुमा पठाउने गरेको छ । ‘दोहोरो छात्रबृति दिदैनौ,’ शर्माले भने, ‘जता भएपनि एक तिर मात्रै हुन्छ । भूकम्प पीडित छात्रबृति कसरी प्रदान गर्ने भन्ने कार्यविधि बनाउछौ । अहिले भर्ना गर्नुहोस् । यो बिस्तारै टुङगिन्छ ।’ 

परिषद्ले निवेदन दिने समय अवधि पनि असार मसान्तसम्म बढाएको छ । परिद्ले भूकम्पपीडित सबै विद्यार्थीलाई कक्षा ११ र १२ मा दिन लागेको छात्रवृत्तिको आवेदन दिने म्याद थप गरेको हो । परिषद्ले पहिलो सूचनामा छात्रवतिको आवेदन दिने अवधि शुक्रवार (आज) सम्म तोकेको थियो ।  

परिषद्को १२८ औ बैठकले भूकम्पबाट अभिभावक, आमा, बुबा र घर गुमाएका तथा घाइते भएका विद्यार्थीका लागि कक्षा ११ र १२ निःशुल्क अध्ययन गराउने निर्णय गरेको थियो । सरकारले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुंगालाई भूकम्पबाट अति प्रभावित जिल्लाका रुपमा घोषणा गरेको छ ।

प्रतिक्रिया