Edukhabar
शनिबार, ०८ मंसिर २०८१
विचार / विमर्श

विद्यालयमा यातना : शिक्षकको मानसिकतामा परिवर्तनको खाँचो

मंगलबार, १८ पुस २०७४

परिचयः

यातना भनेको व्यक्तिलाई दिइने एक किसिमको शारीरिक सजाय या दण्ड हो । अनुशासनमा राख्ने वहानामा होस् या त आदेशकर्ताको इच्छा बमोजिम कार्य गर्न गराउन होस बालबालिकाहरु माथि दवाव, धम्की, कुटपिट तथा गालीगलौज दिने कार्य पनि यातना नै हो । अभिभावक, आदेशकर्ता, शिक्षक तथा आफूभन्दा बलिया या शक्तिशालीले आफूभन्दा कमजोर तथा सानालाई बलप्रयोग गरी आफ्नो ईच्छा अनुरुप कार्य गराउन दिइने शारीरिक तथा मानसिक दवावलाई यातनाको रुपमा लिने गरिन्छ । खासगरी विद्यालयमा बालबालिकाहरुलाई अनुशासित बनाउन भनेर दण्ड, सजाय दिने गरेको पाइन्छ । बालबालिकाहरुलाई गृहकार्य नगरेको, नियमित विवद्यालय नआएको, विद्यालयले तय गरेको नीति नियम अनुसार पोशाक नलाएको आदि कारण देखाई विभिन्न प्रकृतिको यातना दिने कार्य पनि चलिरहेकै छ ।

सामुदायिक विद्यालयका कतिपय शिक्षकहरु  “लट्ठी नलाई त भुराहरु मरिगए पढ्ने भए पो” भनेर सगर्व तर्क गर्ने गर्छन् । निजी विद्यालयमा त झन् बालबालिकाहरु विभिन्न खालका शारीरिक तथा मानसिक सजाय भोग्न बाध्य बनाइएको पाइन्छ । पाइप, लट्ठी तथा डष्टरले विद्यार्थीलाई कुटेर घाइते बनाएको र कतिपय अवस्थामा अङ्ग भङ्ग भएर बाँकि जिन्दगी नै बर्बाद हुन पुगेको उदाहरणहरु पनि प्रशस्तै छन् । निजी विद्यालयमा मूलतः  अनुशासन कायम गर्ने नाममा कडा सजाय दिने प्रचलन स्थापित भएको देखिन्छ । शिक्षकको अविवेकी कुटाइबाट आँखा फुटेको, अपाङ्ग भएको, मानसिक सन्तुलन गुमाएको, सुस्त भएको थुप्रै  घट्नाहरु सञ्चार माध्यममा आइरहकै छन् । यहाँ सम्म की अवोध बालिकाहरु शिक्षकको यौन दुव्र्यवहारको सिकार हुन बाध्य भएको घटनाहरु पनि छन् ।  यस्ता हिंसात्मक गतिविधि तथा दण्ड, सजाय, कुट्पिट तथा गालि, धम्की जस्ता यातनाले बालबालिकाहरुमा शारीरिक तथा मानसिक आघात् पुग्छ । र, प्रकारान्तरमा बालबालिकामा प्रतिशोध, आक्रोस तथा बद्लाको भावना विकास भई हिंसात्मका गतिविधिमा लाग्न पुग्छन् । शारीरिक तथा मानसिक यातना कै कारण शिक्षण–सिकाई, शिक्षक र विद्यालयप्रति बालबालिकाहरुमा वितृष्णा समेत जाग्दै गएको पाइन्छ । मूलतः विद्यालयमा बालबालिकाहरु माथि निम्नानुसारको कारण देखाइ हिंसा÷यातना  दिने गरेको पाइन्छ ः

- गृहकार्य बुझाउन नसकेकाले ।

-    कक्षा कोठामा हल्ला गर्नाले ।

-   कक्षा कोठामा शिक्षकसंग मुखमुखै लाग्नाले ।

-   आफू आफूमा झै–झगडा गर्नाले ।

-   बिद्यालय पोशाक नलगाई आएकाले ।

-   किताव कापी हराउनाले वा ल्याउन विर्सनाले ।

-   अर्काको किताव, कापी, शिशा कलम लुकाई दिनाले ।

-    शिक्षकले भनेको बेला आमावुवालाई बिद्यालयमा ल्याउन नसक्नाले ।

-   निजि विद्यालयमा नेपालीमा बोल्नाले ।

-    सरसफाइ नगर्नाले ।

-   टाई, बेल्ट तथा परिचय पत्र नलाउनाले आदि ।

खासगरी विद्यालयमा बालबालिकाहरुलाई अनुशासनमा राख्न या पढाइप्रति आकर्षित गर्न भनेर विभिन्न खालका यातना दिने गरेको पाइन्छ । केही सामुदायिक विद्यालय तथा अधिकत्तर निजी विद्यालयहरुमा बालबालिकाहरुमाथि दिइने दण्ड, सजाय तथा हिंशायुक्त यातनालाई तल उल्लेख गरिएको छः

-   गाली गर्ने, मौखिक दूब्र्यबहार गर्ने,

-   कान समाएर धेरैपटक उठबस गराउने,

- असजिलो गरि बस्न लगाउने तथालशौचालयमारअन्य कोठामा थुन्ने,

-    साथीहरुबाटै गालामा चड्कन हान्न लगाउने,

-   ढोकाको छेउमा, कोठाको कुनामा, बेञ्चमा वा चउरमा लामो समय सम्म उभ्याईरहने, कपाल र गाला तान्न,े

-    केही चीजले शरीरका कुनै पनि अङ्गमा हिर्काउने ( डस्टरले टाउकामा ),

-   केही चीजले झटारो हान्ने,

-   लैङ्गिक वा जातीय आधारमा समान सहभागीतामा विभेद गर्ने

-    लठ्ठीले हिर्काउने(हत्केलामा, पछाडी पटी ढाडमा, टाउकामा, पछाडी फिलामा, खुटाहरुमा),

-    हातका औंलाहरुकाबीचमा शिशा कलम वा कलम राखेर बटार्दिने,

-    रुखमा अडेस लगाएर डोरीले बाँध्ने, लात्तिले हिर्काउने तथा धम्क्याउने,

-    विद्यालय वरिपरि धेरै पटक सम्म दौडाउने या मुर्गा बनाएर कक्षाकोठा बाहिर या कुनै कुनामा असजिलो तरिकाले बस्न÷उठ्न लगाउने आदि ।

ऐतिहासिक पृष्ठभूमीः

घर, परिवार, समूह तथा शैक्षिक संस्थाहरुमा बालबालिकाहरुलाई दण्ड सजाय दिने कार्य प्राचीन समयदेखी नै चल्दै आएको इतिहास भेटिन्छ । हाम्रा सामाजिक मूल्यमान्यता, चालचलन तथा अभ्यास र परम्परा हेर्दा पनि आफू भन्दा ठूला तथा अग्रज र गुरुलाई सर्वस्वीकार्य मान्ने गरेको देखिन्छ । गुरुकूल शिक्षा व्यवस्थामा समेत गुरुको आदेश, बाणी तथा निर्देशनलाई निःशंकोच स्वीकार्नु हरेक शिष्यको परम कर्तव्य मानिन्थ्यो । तर, सिकारुको ईच्छा, चाहना र क्षमताको आधारमा कार्यविभाजन गरी तत्तत् विषय क्षेत्रमा पारङ्गत बनाउने गुरुकूल शिक्षा व्यवस्थामा रहेका सकारात्मक पक्षहरुको खोजि गरिएको भने पाइदैन । त्यतिखेरका प्रकाण्ड विद्धान ऋषि महर्षिहरुको ध्यान, तपस्या र कठोर परिश्रमप्रति अभ्यस्त हुन सिकारुलाई हम्मे हम्मे नै पथ्र्याे । गुरुकुलभित्रका नीतिनियम, अनुशासन र परिधिलाई दण्ड सजायको रुपमा चित्रण गर्न नहुने तर्क पनि उठ्ने गरेको पाइन्छ । तर, हाम्रा कतिपय कालजयी ग्रन्थहरुमा दण्ड, सजाय तथा यातनालाई समय सन्दर्भ अनुसार उपयोग गर्दै बालबालिकाहरुलाई सहि मार्गमा ल्याउन सकिने कुराको स्वीकारोक्ति पाइन्छ । हाम्रा अधिकत्तर परम्पाराहरु हाम्रा धार्मिक तथा कालजयी ग्रन्थहरु जस्तै वेद, पुराण, चाणक्यनीति, मनुस्मृतिबाट ब्यापक प्रभावित छन् ।

तुल्सी कृत रामायण, अयोध्याकाण्डमा भनिएको छ –

“भय विनु प्रिति न होइ” जसको अर्थ हुन्छ “डर विना माया हुँदैन” ।

त्यसै गरी चाणक्यनीतिमा भनिएको छ–

लालयेत पञ्चबर्षाणी, दश बर्षाणी ताडयेत ।
प्राप्ते तु षोडसे बर्षे पुत्रं मित्रवदाचरेत् ।। (चाणक्यनीति, ३/२०)

यसको अर्थ हुन्छ, ”पुत्रलाई पाँचबर्षसम्म पुल्पुल्याउनु, त्यसपछि दशबर्षसम्म पिटपाट पार्नु या आवश्यकतानुसार यातना दिनु र  दश वर्ष भएपछि ताडना (यातना) दिनु र सोह्र वर्ष भएपछि मित्रको जस्तो ब्यबहार गर्नु” । यस्ता प्रचलित नीतिपरक सन्देश तथा श्लोकहरुको प्रभावको कारणले समेत विद्यालयमा हुने र भइरहेका दण्ड, सजायलाई पूर्ण रुपमा निषेध गर्न कठिन्याइ भएको तर्क गरिन्छ । तर, अहिलेको बदलिदो परिस्थितिमा परम्परागत मूल्यमान्यतालाई समय सान्दर्भिक बनाउदै जानुपर्ने र दण्ड, सजायलाई परम्पराताको निरन्तरताको रुपमा लिन नहुने भनेर पनि बहस चलाउन आवश्यक देखिन्छ ।

कानुनी प्रावधान

त्यसो त बालमैत्री विद्यालय राष्ट्रिय प्रारुपले बालबालिकाहरुलाई कुनैपनि वहानामा कुनै किसिमको भौतिक तथा शारीरिक दण्ड दिन नपाउने ब्यवस्था गरेको छ ।  यति मात्र होइन बालअधिकार सम्वन्धी विश्वब्यापी महासन्धि १९८९ मा बालअधिकार अन्तर्गत प्रत्येक बालबालिकाले भेदभाव, शोषण, दुब्र्यवहार, अवहेलना, यातना जस्ता स्थितिवाट सुरक्षित हुन पाउने अधिकारको सुनिश्चितता हुने तथा वयस्कहरुवाट हुने विभिन्न खालका शोषणकार्यको उपचारको लागि बालबालिकाका लागि कानुनी संरक्षण प्राप्त हुने कुरा उल्लेख छ ।

नेपालको संविधान २०७२ मा  प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै पनि किसिमका शोषण विरुद्धको हक हुनेछ भन्ने कुरा उल्लेख गरिएको छ । वर्तमान शिक्षा नियमावलीमा शिक्षकका आचरसंहिता अन्तर्गत विद्यार्थीलाई कुनै किसिमको शारीरिक तथा मानसिक यातना दिन नपाउने ब्यवस्था गरिएको छ । यसको साथ साथै विद्यालयमा अध्ययनरत बालबालिकाले पूर्णरुपमा भयरहीत तथा बालमैत्री वातावरणमा सिक्न पाउनु पर्ने भनेर यस सम्वन्धमा शिक्षा विभागले विभिन्न प्रकारका तालिम, सेमिनार, गोष्ठी सञ्चालन गर्ने देखि लिएर आवश्यक जानकारी तथा सुचनाहरु सम्पे्रषण गर्ने कार्य समेत गरिरहेको छ । हुन त संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार प्राथमिक तहका विद्यार्थीको टिफीन सहित झोलाको तौल ४ के.जी. सम्म, निम्न माध्यमिक तहको विद्यार्थीको झोलाको तौल ६ के.जी. सम्म र माध्यमिक तहका विद्यार्थीको झोलाको तौल ८ के.जी. सम्म हुनुपर्ने भनि ब्यवस्था गरिएको छ । तर, प्रभावकारी अनुगमनको अभावमा यो ब्यवस्था कार्यानवयनमा आउन सकेको छैन । बालबालिकाहरुको शारीरिक क्षमता भन्दा बढि तौलको झोला बोकाउनु पनि एक किसिमको यातना नै हो । यति हुदाँहुदैँ पनि किन वढिरहेको छ त निजि विद्यालयहरुमा यातनाको श्रृखला ? किन विद्यालयभित्र हुने यस्तो कहालीलाग्दो घृणित कार्यलाई सरोकारवालाहरुले गम्भिरतापूर्वक लिइरहेका छैनन् ? सार्थक एवं परिणाममुखि बहस तथा छलफल हुन जरुरी भइसकेको छ ।  

मौजुदा अवस्था

प्रत्येक दिन कुनै न कुनै बहानामा विद्यालयका बालबालिकाहरुले शारीरिक तथा मानसिक दण्ड पाइरहेको कुरा विभिन्न सञ्चार माध्यममा आइनै रहेको छ । कतिपय दण्ड, सजाय तथा यातनाको कारण विद्यार्थीको आँखाको ज्योति नै गुमेको छ । कत्तिको कानको जाली नै फुटेको छ । यौन दुव्र्यबहारको कारण मानसिक रुपमा विक्षिप्त भई बाँकी जिन्दगीमा केही गर्न नसक्ने भएका उदाहरणहरु पनि प्रशस्तै छन् । बिद्यालयहरुले वालमैत्री, दण्डरहीत तथा भयरहित शिक्षाको उपहास मात्रै गरिरहेका छैनन् वरु विद्यालयहरुलाई यातना गृहको रुपमा रुपान्तरण गरिरहेका छन् । सार्वजनिक नभएका तथा शिक्षकको डर एवं त्रासले बालबालिकाले भन्न नसकेका यस्ता थुपै्र घटनाहरु प्रतिदिन विद्यालयहरुमा जारी नै छन् । एकातिर कतिपय यातना तथा यौनदुव्र्यवहार सम्वन्धी घटनाहरु भित्र भित्रै दवाइन्छ भने अर्काेतिर कतिपय यस्ता घटनाहरु त विद्यालयका प्रिन्सिपल तथा सञ्चालकहरुले गुपचुप मिलाउँछन् पनि । कतै पीडित पक्षलाई प्रलोभनमा पारेर त कतै डर धम्कि देखाएर ।

अनुशासन कायम गराउन तथा आफ्ना बालबालिकाहरुले गुणस्तरीय शिक्षा दिलाउन सामान्य दण्ड सजाय आवश्यक छ भन्ने मान्यता पनि कतिपय अभिभावहरुको रहेका पाइन्छ । आफ्ना बालबालिकालाई विद्यालयमा पढ्न पठाएका कतिपय अभिभावकहरुले विद्यालयमा हुने यस्ता यातना सम्वन्धी घटनाहरुलाई सामान्य  रुपमा हेर्ने गरेको पनि पाइएको छ । बालबालिकालाई अनुशासनमा राख्न तथा राम्रोसंग पठनपाठन गर्न दण्ड आवश्यक छ भन्ने वुझाई समेत अभिभावकहरुको रहेको छ । झन् निजि विद्यालयका अधिकांश सञ्चालक तथा शिक्षकहरुमा त यातना नै विद्यार्थीलाई सही मार्गमा ल्याउने निर्विकल्प उपाय हो भन्ने सोच देखिन्छ ।

डर, त्रास, यातना तथा करकापको वलले लादिएको शिक्षाले बालबालिकाको चोतर्फी विकास हुनुको साटो उनीहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने वास्तविकतालाई आत्मसात गर्न सकिएको छैन । र, यसवाट बालबालिकामा प्रतिशोधको भावनाको विकास हुने सम्भाबना अधिक रहने तथ्य विभिन्न अध्ययन अनुसन्धानहरुवाट समेत प्रमाणित भइसकेको छ ।

यति मात्र होइन साना कक्षाका नानी वावुहरु शिक्षकको डरले आफुलाई दिसापिसावले च्याप्दा समेत शौचालय जान हिचकिचाउने गरेको पाइएको छ । यसरी डर त्रासको कारणले लामो समयसम्म दिसापिसाव रोक्दा बालबालिकामा गम्भिर प्रकृतिका शारीरिक तथा मानसिक रोगहरु लाग्न सक्ने सम्भावना रहन्छ । शहरमा नाम चलेका भनिएका अधिकांश निजि विद्यालयहरुमा कथित अनुशासन कायम गर्ने नाममा डिस्सिप्लीन इन्चार्ज (डी.आई.) को ब्यवस्था गरिएकोे छ । यिनीहरुले अनुशासन कायम गर्ने भन्दै विभिन्न वहानामा बालबालिकालाई अविवेकी तरिकाले यातना दिने गर्दछन् । होस्टेलमा वस्ने छात्राहरुमाथि हुने कति घटनाहरु त लाज तथा वेइजत हुने डरले वाहिर आउनै पाउदैनन् । बाहिर आएका एका दुई घटनाहरुमा संलग्न ब्यक्तिहरुलाई पनि कानुनी दायरामा ल्याई दोषी उपर समुचित कार्वाही गर्न सकिएको छैन जसले गर्दा बालबालिकाहरुमा हुने विविधखाले दुब्र्यवहार घट्नुको साटो झन् बढिरहेको छ  विद्यालयहरुमा ।

समाधानका उपायः

दण्ड, सजाय तथा यातनाले बालाबालिकामा सकारात्मक प्रभाव पर्नुको साटो झन् नकारात्मक असर परेको तथ्य विभिन्न अध्ययन अनुसन्धानले प्रमाणित गरिसकेको छ । क्षणिकरुपमा डर एवम् त्रासको प्रभावले सिकारुले केही सिके पनि या त अनुशासित भएजस्तो देखिए पनि त्यो टिकाउ हुँदैन । बरु सिकारुमा आक्रोश, कुण्ठा, प्रतिशोध, नैराश्यता, चिन्ता, हिनताबोध जस्ता नकारात्मक भावनाको विकास हुने सम्भावना अधिक रहन्छ ।

यस अर्थमा पनि विद्यालयमा हुने सवैखाले हिंसा तथा यातनाको अन्त्य जरुरी छ । त्यसो त सिकारुको रुचि, चाहना, ईच्छा, क्षमता तथा योग्यताको समुचित कदर गर्दै बालमैत्री एवम भयरहीत वातवरणमा सिकारुको आत्मसम्मान र आत्मविश्वासलाई समेत प्रोत्साहन गरी शिक्षण गर्न सके प्रभावकारी शिक्षण सम्भव छ । र यस्तो शिक्षणबाट सिकाइ दीर्घकालीन पनि हुन्छ । अनि सिकारु स्वम् सिर्जनशील हुन्छन् । आत्मविश्वासी बन्छन् ।

विद्यार्थी माथि हुने हिंसा तथा यातनाका विरुद्धमा आवाजहरु उठीरहेको भएतापनि विद्यालयहरुमा हिंसात्मक गतिविधिहरु अपेक्षा गरेअनुरुप घट्न सकेको छैन । विद्यालयाहरुमा यातनाको श्रृङ्खला बढ्दै गर्दा यसलाई रोक्न थुप्रै सरकारी तथा गैरसरकारी तवरमा पनि प्रयासहरु भएकै छन् । बालमैत्री, दण्डरहीत, भयरहीत तथा समावेशी शिक्षाको माध्यमले सिकारुलाई सहजरुपमा पठन पाठन गर्ने वातावरण निर्माण गर्ने प्रयासहरु पनि गरिएकै छन् । तर, पनि व्यवहारिक रुपमा सजायरहीत बनाउन सकिएको छैन विद्यालयीय वातावरण । यसो हुनुमा मौजुदा नीतिनियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु पनि एक प्रमुख कारण हो भन्न सकिन्छ । महत्वपूर्ण कुरा त के हो भने नीति, नियम, पद्धति तथा कानुनी दायराको उलङघन गर्ने अधिकार कुनै विद्यालयका शिक्षक, प्रिन्सिपल तथा सञ्चालकहरुलाई पनि छैन भन्ने वास्तविकताको अनुभुति गराउन सरकारले प्रभाकारी कदम चाल्न आबश्यक छ । 

दोस्रो कुरा विद्यार्थीलाई अनुशासनमा राख्ने अचुक औषधी दण्डरयातना हो भन्ने शिक्षकको मानसिकतामा परिवर्तन ल्याउन आवश्यकतानुसार बालमनोविज्ञाप्रति सचेत गराउँदै बालमैत्री, दण्डरहीत तथा वालकेन्द्रीत शिक्षण सम्वन्धी तालिमको अवसर विद्यालय सञ्चालक तथा शिक्षकहरुलाई प्रदान गर्न विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ । आफ्ना बालबालिकाले विद्यालयमा कस्तो वातावरण पाइरहेका छन ? कक्षाकोठामा आरामदायिक रुपमा वस्न पाइरहेका छन् की छैनन् ? बालबालिकाले डर, त्रास एवं धम्किको कारणले त विद्यालयमा हुने यातना सहिरहेका छैनन् ? भयरहीत तथा रमाइलो पारिवारिक वातावरणमा निर्वादरुपमा शिक्षा हासिल गर्न पाउने अधिकारको सम्बोधन विद्यालयमा भएको छ कि छैन ? यस्ता शिक्षण सिकाई र वाल अधिकारसंग प्रत्यक्ष सरोकार राख्ने पक्षहरुमा अभिभावक आफै चनाखो हुनुपर्दछ ।

बालबालिकाले प्रयत्न र भूलवाट नै सिक्ने गर्छन् । प्रत्येक सिकारुमा वैयक्तिक भिन्नता हुन्छ । यही वैयक्तिक भिन्नताको कारण सिकारुको सिक्ने गति तथा तरिकामा पनि भिन्नता हुन्छ । सवै सिकारुले सिक्न सक्छन् । फरक यति मात्र हो कसैले छिटो सिक्छन त कसैले अलि ढिलो । दण्डले त सिकारुको मनोवल कमजोर वनाउँछ । हिनतावोध बढाउँछ । सिकारुको आत्माविश्वास र आत्मासम्मानमा चोट पुर्याउँछ । यही वास्तविकतालाई आत्मासात गर्दै विद्यालयलाई यातनमुक्त वनाउन प्रभावकारी अनुगमन तथा निरीक्षण गरि दोषीलाई उचित कार्वाही गर्न खुट्टा कमाउनु हुदैन ।

विद्यालयमा मौलाउदै गएको यातना संस्कृतिलाई समुल नष्टगरि ूविद्यालय त रमाउदै ज्ञान हासिल गर्ने पवित्र मन्दिर पो हो त्रासदीपूर्ण यातनागृह होइनू भन्ने वास्तविकतालाई स्थापित गर्न अभिभावक अभिमुखीकरण कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि आबश्यक देखिन्छ ।

[email protected]

प्रतिक्रिया