सामुदायिक शिक्षा विग्रियो । राज्यको लगानी खेर गयो । सामुदायिक विद्यालयको सिकाइ क्रमश कमजोर हुँदैछ । सामुदायिक शिक्षाको चासो राख्ने जो कसैले हरेक दिन यही कुरा गरिरहेको छ । जसले जहाँ लेख्न सक्छ, त्यहाँ लेखेको छ । जो जहाँ बोल्न सक्छ, त्यो बोलेको छ । विग्रिएको चिन्ता गरेको छ । विग्रियो भन्दै चासो व्यक्त गरेको छ । यो चासो र चिन्ता गर्न अनि यसैको दोष एकले अर्कालाई थोपर्न अब कुनै स्थान विशेष, समय र सन्दर्भम नचाहिने भएको छ । जसलाई जतिखेर मन लाग्छ, त्यति नै खेर फेसबुक ट्वीटर खोल्यो मनमा आएजति लेख्यो बस सकियो ।
समयसँगै धेरै कुरा परिवर्तन भए । सबैभन्दा छिटो गतिमा विकास र परिवर्तन भैरहेका सूचना प्रविधिले मानिसको दैनिकी नै परिवर्तन गराइसक्यो । यो परिवर्तित दैनिकीसँगै हरेक मानिसका व्यक्तिगत अनुभूतिहरू सेकेण्डभरमै संसारभरी फैलन सक्ने भयो । अनि त हामी सबैले कतै खुसी बाँड्न पाएका छौ । कतै कसैप्रति व्यङ्ग गर्न, दोषारोपण गर्न र आफ्नो दृृष्टिकोण (सकारात्मक वा नकारात्मक) प्रस्तुत गर्न पाएका छौ ।
हामी हरेकले सामाजिक सञ्जालमा देशको चिन्ता गरेका छौँ, घरको चिन्ता पनि त्यही गरेका छौँ, श्रीमतीसँगका खुसी पनि त्यतै बाँड्छौ अनि श्रीमानसँगका दुखेसा पनि त्यतै पोख्छौ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम जताततै हामी छौँ, जे मा पनि हामी छाँै र वेलगाम सबै कुराको चिन्ता गरेको हुन्छौँ हामीले ।
पेसागत कुरा पनि त्यहीँ छन्, नेतालाई गाली पनि त्यहीँ गर्छौ, बजारमा भएको झुटको खेतीमा पनि निकै उत्तेजित भएर फेसबुकमा पोखिन्छौँ । कुण्ठा, आग्रह, पूर्वाग्रह, दोषारोपण, गालीगलौज, त्वम् शरणम्, कसैको देवत्वकरण के गर्न पो भ्याएका छैनौ र हामीले सामाजिक सञ्जालमा । केही महिना अगाडि सरकारका एकजना अधिकृतले प्रधानमन्त्री प्रचण्डको मृत्यु भन्ने शीर्षकको हावादारी समाचार समेत फेसबुकमा सेयर गर्न भ्यानु भयो । सामाजिक सञ्जालमा हामीले संयमता भन्ने गुमाइसकेका छौ ।
हामी शिक्षक, कर्मचारीहरू नै एकथरी स्वस्थ आलोचना पनि सुन्न नसक्ने भएका छौ, अर्काथरी आफू कुन दलको हनुमान हुँ भन्ने देखाउन कम्मर कसेर लागेका छौँ, सामाजिक सञ्जालमा । पेसागत नैतिकता, आचरण र इमान्दारीता भन्ने हामी कसैमा पनि रहेन ।
हामी आमनेपाली आफ्नो पेशा, आफ्नो काम र जिम्मेवारीभन्दा अरुका काम र कुरामा धेरै अब्बल छौँ जस्तो अनुभूति हुन्छ ।
अझ सामुदायिक शिक्षाको चिन्ता गर्नेका त के कुरा भयो र । विद्यालयका शिक्षक र प्रअलाई कक्षाकोठाको पढाइभन्दा एसएसआरपी फेल भएको र एसएसडिपीले के गर्ला भन्ने चिन्ता छ । दाताले पैसा नदिने रे भन्ने समाचार शीर्षकले तानेको छ । राजनीतिज्ञहरूलाई अर्ति उपदेश दिदैँ कसरी जनतालाई सपनाका महल बाड्ने भन्ने चिन्ता छ । कुरा गर्ने धेरै छन्, तर काम गर्ने ? एक वा दुई प्रतिशत ।
यो त भयो पृष्ठभूमीका कुरा, विषयवस्तुतिरै लागाँै । २०७४ असारको पहिलो हप्ता काठमाण्डौदेखि करिब ८ सय किलोमिटर टाढाको एउटा विद्यालयमा पुगेको थिएँ । विद्यालयमा प्रधानाध्यापक र शिक्षकहरु बस्ने अलग अलग कक्षहरु थिए । म प्रधानाध्यापकको कोठामा थिए । भित्ताको घडीले साढे दस बजाउँदै थियो ।
शिक्षकहरूको कोठाबाट हाँसोको हल्ला सुनियो । मेरो ध्यान त्यतै मोडियो । कोही फेसबुकमा राखिएको स्टाटस पढेर अरुलाई सुनाउँदै हुनुहुँदो रहेछ । कोही कुनै अनलाइमा भएको जोक्स पढेर सुनाउँदै त कसैले कुनै रमाइलो भिडियो हेर्दै गरेको पाएँ । घडिको सुईले १०ः४० बजाउँदसम्ममा बल्ल सबै कक्षामा शिक्षकहरु पुग्नुभयो । सरसफाइले चिटिक्क परेको, पक्की भवनहरु रङरोगन गरिएको, शौचालय, खानेपानी, प्रवेशद्धार साच्चिकै आर्कषित थियो विद्यालयको वाहीरी वातावरण । मैले प्रधानाध्यापकलाई कक्षा हेराँै न भन्ने आग्रह गरे । वहाँले मलाई दस कक्षामा जाउँ भन्नुभयो । मैले होइन कक्षा एकमा जाउँ भने । तथापि हामी कक्षा दुइमा गयौँ ।
कक्षा दुई एकजना शिक्षिकाले केही लेखाउँदै हुनुहुन्थ्यो । साना बालबालिकाका जुत्ता चप्पल बाहिर थिए । कक्षाको आधा भूईँमा कार्पेट विछ्याइएको र आधा खाली ।
कस्तो रमाइलो थियो भने त्यो आधा खाली भूइमा शिक्षिका चप्पल लगाएरै पढाउँदै हुनुहुन्थ्यो । दृश्यले के देखाउथ्यो भने विद्यार्थी जुत्ता चप्पल खोलेर कक्षामा आधा कार्पेट विछ्याएको ठाउँमा बस्ने र शिक्षकहरू आधा खाली भागमा जुत्ता चप्पलसँगै पढाउने । यसलाई कसरी बुझ्ने र व्याख्या गर्ने ?
कक्षामा ११ जना विद्यार्थी थिए ।
के पढाउँदै हुनुुहुन्छ ? मैले सोधे ।
शिक्षिका : लेख्न लगाएकी छु, वहाँले भन्नुभयो ।
म : के विषय हो ?
शिक्षिका : नेपाली
म : के लेख्न लगाउँदै हुनुहुन्छ ।
शिक्षिका : त्यही किताबको पाठ ।
म : यी सबै ११ जनाले लेख्न सक्छन् त ?
शिक्षिका : अँ ... एकछिन रोकिएर दुई तीन जनाले सक्छन् ?
म : कति जनाले क, ख चिन्न सक्छन् ?
शिक्षिका : अ... एकछिन रोकिएर चार पाँच जनाले चिन्छन् ।
म : अनि कति जनाले लेख्न सक्छन् त ?
शिक्षिका : अलि अलि सार्छन् ।
म : कक्षा १ मा एकवर्ष पढेर कक्षा २ मा आएकाहरूले अक्षर पनि चिन्दैनन् र ?
शिक्षिका : यीनिहरु सधँै आउँदैनन् । घरमा पढ्दैनन । कोर्ष सकाउनु पर्छ । आएकाले पनि पढाएको बुझ्दैनन् ।
बीचैमा
प्रधानाध्यापक : यहाँ नजिकै बोर्डिङ खुलेको छ । जान्ने जति उत्तै गए । यीनिहरूलाई त कहाँ सिकाउन सकिन्छ र ?
(प्रधानाध्यापकको स्पष्टीकरणले धेरै कुरा गर्नबाट रोकियो )
हामी कक्षाबाट बाहिरीयौँ ।
म : अब अक्षर नचिन्दै यीनिहरू कक्षा ३ मा जान्छन् । कक्षा दुईमा पनि कतिले सिक्लान् र कहिलेसम्म सिक्लान्, अनि कक्षा तीनमा जान्छन् । यसरी नै माथि गएपछि त समस्या हुन्छ नि ।
प्रधानाध्यापक : सर यो शिक्षा नियमावली कहिले आँउछ ?
म : खै सर मलाई धेरै जानकारी भएन । आउला नि ।
प्रधानाध्यापक : यो अस्थायी शिक्षकको कुरा के भइरहेको छ ? परीक्षा हुन्छ कि हुँदैन ?
म : खै, कसरी भन्नु र नियमावली आएपछि नै थाहा होला ? परीक्षा होला नि ।
प्रधानाध्यापक : यो एसएसआरपी भन्ने त असफल भयो भन्ने रैछन् है सर ।
म : सफल असफल कसरी भन्ने र, अब त्यसकै निरन्तरतामा एसएसडिपी आएको छ ।
प्रधानाध्यापक : शिक्षक सेवा आयोग फेरी खुल्ने हल्ला छ नि ?
म : हल्ला त छ । धेरै जानकारी भएन सर ।
प्रधानाध्यापकः सर त सानोठिमीमा काम गर्ने, जानकारी हुनुपर्ने होइन र ।
म : केही बोलिन ।
यो एउटा विद्यालयमा भएको वास्तविक कुराकानी र प्रतिनिधि उदाहरण पनि हो यो । विद्यालयमा शिक्षकहरुलाई कक्षाका विद्यार्थीको सिकाइको भन्दा बढी चिन्ता सरकारको, मन्त्रीको, नियमावलीको, जिशिअको छ ।
म अनुभूत गर्छु, विद्यालयका शिक्षकहरु मन्त्रीपरिषद्को कार्यक्षेत्रमा भएको नियमावलीको चिन्तामा हुनुहुन्छ भने, नियमावलीलाई स्वीकृतिका लागि मन्त्रीपरिषद्मा लैजाने मन्त्री विद्यालयको कक्षाकोठामा शिक्षकले नपढाएको अथवा पढाए पनि विद्यार्थीले सिक्न नसकेको विषयमा चिन्तित हुनुहुन्छ । शिक्षा प्रशासन विद्यालयको शिक्षण सिकाइमा चिन्तित छ भने विद्यालय प्रशासन जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग र मन्त्रालयमा के भइरहेको छ भन्ने चिन्तामा छ ।
प्रसङ्ग बदलौ, सार्वजनिक शिक्षाको गुणस्तर कमजोर भएकोमा, विग्रिएकोमा, सिकाइ नभएकोमा चिन्ता गर्ने, दोषारोपण गर्ने र आलोचना गर्नेको सङ्ख्या त दस, बीस हजार के लाख पनि होला तर सुधारका लागि काम गर्नेको सङख्या कति होला ?
शिक्षकहरू, प्रधानाध्यापकहरू, अभिभावकहरू, नागरिक समाज, बुद्धिजिवी, राजनीतिक दल सबै सबैले चिन्ता गर्छन् । जसका कुरा सुन्यो, उसलाई भन्दा बढी चिन्ता त अरू कसलाई होला जस्तो लाग्छ । म यो लेख लेखिरहेको छु, मलाई पनि खुवै चिन्ता लागेको छ ।
तर खाँचो, कुरामा र भाषणमा होइन व्यवहारमा सुधार चाहिएको छ । सुधार कक्षामा चाहिएको छ । सामाजिक सञ्जाल, पत्रपत्रिकामा देखिने समस्याका थुप्रा र आलोचना, दोषारोपण, टीकाटिप्पणी अनि अतिवादी दृष्टिकोणभन्दा पर बसेर हामी सार्वजनिक शिक्षाको सुधारको लागि काम गने कर्मशील मान्छेको खाँचो छ । कुरा कम, काम धेरै गरौ । सामाजिक सञ्जालमा मात्र पोखिएर सार्वजनिक शिक्षा सुधार हुँदैन । कक्षाकोठाको भुईमा पोखिन परेको छ ।
स्थानीय सरकारहरूले सामुदायिक शिक्षाको स्तर सुधार गर्लान् भनेर आशा पनि गरिरहेका छौँ तर उनीहरूले कसरी सुधार गर्छन्, सुधार केमा गर्ने हो ? भवन बनाएर सुधार हुने हो ? खेलमैदान खनेर सुधार हुने हो ? एउटा कोठामा १०, १२ थान कम्प्युटर जुटाएर ढाकेर राखेपछि सुधार हुने हो ?
संविधानले अधिकार दिएको छ है भनिरहँदा संविधान भन्दा शक्तिशाली बनेर स्थानीय सरकार शासन सञ्चालन ऐन आएको छ, जसले माध्यमिक शिक्षाको अधिकार स्थानीय सरकारको अधिकार क्षेत्रबाट हटाएको छ ।
सिकाइ स्तर सुधार नभई सामुदायिक शिक्षा सुधार हुँदैन र सिकाइ स्तर सुधार भनेको कक्षामा शिक्षकले गरेर मात्र हुने हो भन्ने कुरा सबै स्थानीय सरकारका त्यसका पदाधिकारी बुझ्नै पर्ने भएको छ ।
प्रतिक्रिया