भक्तपुर - शिक्षक सेवा आयोगमा गरेको तालाबन्दी प्रशासन लगाएर तोडेको विरोधमा आक्रोशित बनेका विद्यार्थीलाई शिक्षक सेवा आयोगका पदाधिकारीले सकेको गर्नु भनेपछि विद्यार्थी थप आक्रोशित बनेका छन् ।
आयोगबाट आएको अभिव्यक्ति गैह्र जिम्मेवार भन्दै विद्यार्थीले आयोगको अघिल्तिर अनशन शुरु गरेका छन् । आयोग अघिल्तिर गेटमा त्रिपाल टाँगेर १८ जना विद्यार्थी अनसनमा बसेका छन् । देशभरका शिक्षा संकाय अध्ययनरत विद्यार्थीको सक्रियतामा गठन भएको विद्यार्थी संघर्ष समितिको अगुवाईमा भएको तालाबन्दी प्रशासन लगाएर तोडेपछि आयोग पुगेका संयौं विद्यार्थीले नाराजुलुस सहित प्रदर्शन समेत गरे ।
विद्यार्थीको प्रदर्शनका कारण आयोगका पदाधिकारीहरु भित्रै थुनिएका थिए । मोटर र मोटरसाइकल नभएका कर्मचारीहरु मुख्य गेटबाट नभइकन अन्यत्रबाटै घर फर्केका थिए ।
यस अघि प्रदर्शनरत विद्यार्थी र आयोग पदाधिकारीबीच कुराकानी भए पनि कुनै निष्कर्ष निस्केन । आयोगका पदाधिकारीले सकेको गर्नु भन्ने जवाफ दिएका विद्यार्थी नेताहरुले जनाएका छन् ।
‘हामो मागलाई वेवास्ता गर्दै आयोगका जिम्मेवार व्यक्तिहरुबाटै तपाइँहरुले सकेको तपाइँहरु गर्नु, हामीले सकेको हामी गर्छौं भने ।’ संघर्ष समितिका सचिव निराजन श्रेष्ठले भने ।
बिहान सवा दशबजे तालाबन्दी गरे पनि आयोगले विद्यार्थी गएको ‘मौका छोपी’ प्रशासनलाई जानकारी गराएर ताल्चा फोडेको थियो ।
प्रहरीको सहयोगमा फोड्यो शिक्षक सेवा आयोगले ताल्चा
विरोध स्वरुप गरिएको तालाबन्दी तोडेर आयोगले आफ्ना मागहरुप्रति वेवास्ता गरेको भन्दै आक्रोसित विद्यार्थी तीनबजेतिर पुनः आयोगमा पुगेका थिए ।
‘शिक्षा ऐन २०२८ को नवौ संसोधन ले ७ लाख भन्दा बढि लाइसेन्स होल्डर र ६५ लाख भन्दा बढि उच्च शिक्षा अध्ययनरत विद्यार्थीमाथि अन्याय भएको छ, संघर्ष समितिका संयोजक पुष्कर शर्माले भने हामीले शुक्रबारै दिएको २४ घण्टे अल्टिमेटमको कुनैपनि सुनुवाइ नभपछि आयोगमा तालाबन्दी गर्यौं । हामीले लगाएको ताला प्रशासनको रोहबरमा खोलियो, हाम्रो माग र आन्दोलनलाई वेवास्ता गरेपछि हामीले आयोग घेरेका हौं ।’
यसअघि उनीहरुले शिक्षामन्त्री राजीनामा दे, नवौं संसोधन खारेज गर, आयोग अध्यक्ष मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद र हाम्रो माग पूरा गर लगायतका नाराहरु लगाएका थिए ।
आयोग छिर्ने मुख्य गेटबाट सुरक्षाकर्मीले छिर्न नदिएपछि, आन्दोलनरत विद्यार्थी र सुरक्षाकर्मीबीच ठेलमठेल भएको थियो । विद्यार्थीले नाराजुलुससँगै गेटमा ताला लगाउन खोजे पनि सुरक्षाकर्मीले ताला भने लगाउन दिएन ।
प्रतिक्रिया