भक्तपुर - आईतबार कार्यालय समय शुरु हुना साथ शिक्षक सेवा आयोगमा विद्यार्थीले लगाएको ताल्चा प्रहरी प्रशासन लगाएर तोडिएको छ । शिक्षा ऐन संशोधन र शिक्षक सेवा आयोगले खोलेको विज्ञापनका विरुद्ध आन्दोलनरत विद्यार्थीले दिएको २४ घण्टे अल्टिमेटमको अवधि सकिएपछि आयोगमा तालाबन्दी भएको थियो ।
पढ्नुहोस् : शिक्षक सेवा आयोगमा तालाबन्दी
देशभरका शिक्षा संकाय अध्ययनरत विद्यार्थीको सक्रियतामा गठन भएको विद्यार्थी संघर्ष समितिले तालाबन्दी गरेको हो । उनीहरु तालाबन्दी गरेर फर्केपछि आयोगले प्रशासनलाई जानकारी गराएर ताल्चा फोड्न लगाएको श्रोतले जनाएको छ ।
'आयोगबाट प्रहरी पठाउन भनी सिडियो सापलाई फोन गएछ, उहाँबाट हामीलाई निर्देशन भयो, डीएस्पी साप सहितको टोलि गएर ताल्चा फोडेको हो' सानोठिमी स्थित प्रहरी श्रोतले भन्यो, 'ताल्चा फोड्दा आयोगका पदाधिकारीहरु पनि हुनुहुन्थ्यो ।'
विरोध स्वरुप गरिएको तालाबन्दी तोडेर आयोगले 'नराम्रो' गरेको भन्दै आन्दोलनरत विद्यार्थी आक्रोशित भएका छन् ।
'हामी हतारमा गएर तालाबन्दी गरेका थिएनौ, शुक्रबारै जानकारी गराईएको थियो तर कुनै छलफल र चासो नदिईकन आयोगले बलमिच्याई गरेको छ' समितिका सचिव निराजन श्रेष्ठले धम्किपूर्ण भाषामा भने, 'तालाबन्दी सँगै हामीले विज्ञप्ति टाँसेका छौं, त्यहाँ स्पष्ट भाषामा लेखिएको छ, अब हुने जुन सुकै घटनाको जिम्मेवारी आयोगको हुन्छ ।'
आयोगको मुख्य ढोकामा ताल्चा लगाएर उनीहरुले टाँसेको विज्ञप्तिमा भनिएको छ – ‘यस शिक्षक सेवा आयोगमा मिति २०७४/०७/२३ गते हाम्रो विद्यार्थी संघर्ष समितिले २४ घण्टे अल्टिमेटम दिँदै बुझाएको ज्ञापन पत्रको कुनै पनि सम्बोधन नभएकोमा हामी त्यस प्रति आयोगको ध्यानाकर्षण गराउँदछौं । हाम्रो मागप्रति शिक्षक सेवा आयोग कत्ति पनि सकारात्मक नदेखिएकोले तालाबन्दी गर्न बाध्य भएका छौं । यदि हामीसँग कुनैपनि सहमति बिना जो कसैले ताला खोलेमा यस कार्यलयमा हुने मानवीय, भौतिक, आर्थिक लगायत सम्पूर्ण प्रकारको क्षतिको जिम्मेवारी शिक्षक सेवा आयोगले लिनेछ र हामी जस्तो सुकै कदम चाल्न पनि बाध्य हुनेछौं ।’
शिक्षा ऐनको नवौं संशोधनले शिक्षक हुन लाईसेन्स लिएर बसेका आफूहरु जस्ता सात लाख धेरै विद्यार्थीको भविष्य माथि खेलबाड भएको आन्दोलनरत विद्यार्थीको तर्क छ । यही विचमा ऐन खारेजीको माग सहित सर्वोच्चमा मुद्धा विचाराधिन रहेको बेला आयोगले हतारमा आयोग खोलेर थप आक्रोशित तुल्र्याको भन्दै उनीहरु आन्दोलनमा छन् ।
आयोगले अस्थायी शिक्षक व्यवस्थापन गर्नका लागि भन्दै कात्तिक २१ गते विज्ञापन खोलेको थियो ।
प्रतिक्रिया