Edukhabar
शनिबार, ०८ मंसिर २०८१
खबर/फिचर

शिक्षक सेवा आयोगमा तालाबन्दी

आइतबार, २६ कार्तिक २०७४

भक्तपुर - शिक्षा ऐन संशोधन र शिक्षक सेवा आयोगले खोलेको विज्ञापनका विरुद्ध आन्दोलनरत विद्यार्थीले आयोगमा तालाबन्दी गरेका छन् ।

देशभरका शिक्षा संकाय अध्ययनरत विद्यार्थीको सक्रियतामा गठन भएको विद्यार्थी संघर्ष समितिले तालाबन्दी गरेको हो । यसअघि शुक्रबार आयोग घेराउ गरी आन्दोलन गरेका विद्यार्थीले शिक्षा ऐनको नवौं संशोधन तत्कालै खारेज गर्नुपर्ने माग सहित आयोगलाई २४ घण्टे अल्टिमेटम दिएका थिए ।

‘शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापन गर्नका लागि भन्दै कार्तिक २१ गते खुलाएको विज्ञापन २४ घण्टाभित्र खारेज गर्न अनुरोध गरेका थियौं, त्यसको बेवास्ता गरेकाले हामीले आज आयोगमा तालाबन्दली गरेका छौं ।’ समितिका प्रेस संयोजक दिग्गज द्यौरालीले भने ।

आयोगमा पुगेका केही कर्मचारीलाई बाहिर निकालेर उनीहरुले विहान सवा १० बजे तालाबन्दी गरेका हुन् ।

'सबै कर्मचारी आईसकेका थिएनन् भित्र भएका एक दुई जना कर्मचारीलाई बाहिर निस्कन आग्रह गरेर हामीले तालाबन्दी गरेका हौं' उनले भने ।

आयोगको मुख्य ढोकामा ताल्चा लगाएर उनीहरुले विज्ञप्ति टाँसेका छन् ।

‘यस शिक्षक सेवा आयोगमा मिति २०७४/०७/२३ गते हाम्रो विद्यार्थी संघर्ष समितिले २४ घण्टे अल्टिमेटम दिँदै बुझाएको ज्ञापन पत्रको कुनै पनि सम्बोधन नभएकोमा हामी त्यस प्रति आयोगको ध्यानाकर्षण गराउँदछौं । हाम्रो मागप्रति शिक्षक सेवा आयोग कत्ति पनि सकारात्मक नदेखिएकोले तालाबन्दी गर्न बाध्य भएका छौं । यदि हामीसँग कुनैपनि सहमति बिना जो कसैले ताला खोलेमा यस कार्यलयमा हुने  मानवीय, भौतिक, आर्थिक लगायत सम्पूर्ण प्रकारको क्षतिको जिम्मेवारी शिक्षक सेवा आयोगले लिनेछ र हामी जस्तो सुकै कदम चाल्न पनि बाध्य हुनेछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया