Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

एप्रोन लगाएर कक्षाकोठामा शिक्षक !

मंगलबार, २१ कार्तिक २०७४

काभ्रे - पनौति नगरपालिकास्थित एक विद्यालयका शिक्षक कक्षामा त्यत्तिक्कै छिर्दैनन् । उनीहरु कक्षामा जानुभन्दा अघि ‘एप्रोन’ लगाउँछन् !

विद्यालयका शिक्षकका लागि सरकारले व्यवस्था गरिदिएको पोशााकका अलावा इन्द्रेश्वर माविका शिक्षक भने त्यही पोशाकमाथि एप्रोन लगाएर मात्र कक्षाकोठामा छिर्छन् । यस्तो गर्नु सबै शिक्षकका लागि अनिवार्य छ । यो उक्त विद्यालयको नियम नै हो । सोही नियम मानेर शिक्षक कक्षाकोठामा जान्छन् ।

‘कक्षाकोठामा छिर्नुअघि शिक्षकले एप्रोन लगाउनैपर्छ, यो विद्यालयले बनाएको नियमै हो ।’ विद्यालयका शिक्षक चन्द्रमणि काफ्लेले भने । उक्त नियम लागू भएको तीन वर्ष भएको जानकारी दिँदै उनले एप्रोन लगाएर छिर्दा शिक्षकलाई फाइदै भएको बताए ।

‘डाक्टरहरु पनि कुनै बिरामीलाई उपचार गर्नका लागि एप्रोन लगाउँछन्, हामी पनि एप्रोन लगाएर कक्षामा जान्छौं ।’ शिक्षक रमेश मैनाली भन्छन् । उनले शिक्षक पनि एकप्रकारले विद्यार्थीको मनोभावना बुझ्ने डाक्टर जस्तै भएको बताउँदै एप्रोन लगाएर कक्षामा जाँदा फाइदै भएको बताए ।

यसले विद्यार्थीलाई भन्दा शिक्षकलाई बढी फाइदा पुगेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक उमारुद्र बस्नेतले शिक्षकलाई एप्रोनको बन्दोबस्त भएपछि शिक्षकको ड्रेसमा धूलो नलाग्ने र चाँडै फोहोर नहुने गरेको बताए । उनले कक्षाकोेठामा प्रयोग भएका कालोपाटी र सेतोपाटीमा लेख्नका लागि प्रयोग गरिँदै आएको चक र बोर्ड मार्करको कारण शिक्षकको डे«स फोहोर भएपछि उक्त उपाय अवलम्बन गरिएको बताए ।

‘यो उपायले ड्रेस फोहोर हुने समस्या कममात्र नभएर चकको धूलोको कारण हुने रुघाखोकीमा पनि कमी आएको शिक्षकहरु बताउँछन् ।’ प्रअ बस्नेतले भने ।

उक्त एप्रोन विद्यालयकै आन्तरिक श्रोतबाट खर्च हुने गरी हरेक शिक्षकलाई ब्यवस्था गरिएको हो ।

फोटो : गुगल

प्रतिक्रिया