बिषयको उठान :
नेपालको शिक्षा प्रणालीको योजनाबद्ध विकासमा विभिन्न प्रयासहरु भएकै हुन् । आवश्यक ऐन र नियमावली निर्माण गर्ने तथा विभिन्न शिक्षा सम्बन्धी आयोगहरु गठन गरी शिक्षा विकासलाई गतिदिने जमर्को पनि नभएका होइनन् ।
संविधानमा नै शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रुपमा स्वीकारिएको पनि छ । शिक्षा विकासका लागि ग्रामिण शिक्षा विकासको सेती परियोजना देखि एस एस डीपी जस्ता ठुल्ठुला शैक्षिक परियोजना शैक्षिक कार्यक्रमहरु पनि संचालनमा नै छन् । विभिन्न रणनीतिक कार्यक्रमहरु एवं समसामयिक निर्देशिकाहरु पनि प्रयोगमा ल्याइएका छन् । शिक्षामा समसामयिक परिवर्तन गर्ने भनेर यस्ता परिवर्तन र नयाँ कार्यक्रमहरु पनि समय समयमा ल्याइने गरिएको छ । अपेक्षाकृत शैक्षिक परिवर्तन र शैक्षिक उपलब्धी भने हात लाग्न सकेको छैन ।
यति हुदाँ हुँदै पनि नेपालको शिक्षा विकास जनअपेक्षा अनुसार अगाडि बढ्न नसकेको वास्तविकतालाई सबैजसो शैक्षिक सरोकारवालाहरुले स्वीकारेका छन् । आखिर किन नेपालको शैक्षिक विकासलाई जनअपेक्षासंग जोड्न सकिएन त ?
विद्यालयीय शिक्षाको विकास, विस्तार र पहूँच अभिवृद्धिमा हाम्रा ऐन र नियमावली, योजना, रणनीतिक कार्यक्रमहरु किन सफल हुन सकेनन ?
नेपालको विद्यालयीय शिक्षालाई समायनुकूल, गुणस्तरीय एवं सिकारु लक्षित बनाउन अब के गर्नुपर्ला ?
यस लेख यी र यस्तै विषयमा केन्द्रित गरिएको छ ।
माद्यमिक तहको शिक्षाको संचालन रेखदेख र व्यवस्थापन गर्ने संवैधानिक अधिकार स्थानीय तहमा प्राप्त भएको छ । यो अधिकारको रक्षा गर्दै गुणात्मक शिक्षा विकासमा अग्रसर हुनु स्थानीय तहको महत्वपुर्ण कर्तव्य र जीम्मेवारी रहेको छ । स्थानीय तहमा शिक्षाको संवैधानिक अधिकार प्राप्त भएको विषयमा धेरै आलेखमा अध्ययन गर्न पाइएको थियो । कसैले अब माध्यामिक तह सम्मको शिक्षामा आमुल परिवर्तन हुने अपेक्षा गरेका छन्, कसैले स्थानीय तहमा संवैधानिक अधिकार प्राप्त भए पनि सोचे अनुसार हुन सक्दैन थुप्रै चुनौति छन् भन्ने विश्लेषण गरेका छन् ।
मेरो ध्यान भने कक्षा कोठामा अध्यापन गर्ने शिक्षक, कक्षाकोठा र विद्यार्थी प्रति आकृष्ट भएको छ । शिक्षा विकासको लागि जे जती नीति कार्यक्रम शैक्षिक योजना तालिम र लगानी भए पनि सम्पूर्ण लगानीको वास्तविक कार्यन्वयन र उपलब्धिको प्रमुख व्यक्ति र स्थान भनेको शिक्षक र कक्षाकेठा नै हो । शिक्षकले अलिकता मात्र वेइमानी गर्यो भने सम्पूर्ण शैक्षिक कार्यक्रम असफल मात्र होइन विद्यार्थीको भविष्य नै अन्यौलपूर्ण हुन्छ । सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी अपेक्षा गरे अनुसार प्राप्त हुन नसकेको विषयमा जताततै सुन्न र पढ्न पाइरहेको हुन्छ । जब सम्म कक्षा कोठामा शिक्षकले विद्यार्थी केन्द्रित भएर पठन पाठन गर्दैन अधिकार जहाँ र जसलाई दिए पनि केही अर्थ छैन ।
समग्र शैक्षिक नीति तथा कार्यक्रमको कार्यान्वयनको सबै भन्दा महत्वपुर्ण पक्ष कक्षा कोठामा शिक्षकको सक्रिय भुमिका रहेको हुन्छ । कक्षा कोठामा शिक्षकको सक्रिय भुमिकाको बारेमा कहि कतै वहस र अन्तरक्रिया भएको देखिदैंन । कक्षाकोठामा शिक्षकको सक्रिय भुमिकालाई कसरी पारदर्शि जवाफदेही र उपलब्धीमूलक बनाउन सकिन्छ भन्ने कोणबाट विश्लेषण नगर्ने हो भने हामी टुङ्गोमा पुग्न सक्दैनौं ।
विद्यार्थीको पहिलो पाठशाला घर हो भने दोस्रो पाठशाला विद्यालय । ६ घण्टा सम्म विद्यार्थी शिक्षकको साथमा कक्षा कोठामा विताउँछ । विद्यालयको सवै भन्दा बढी समयको उचित सदुपयोग र महत्वपुर्ण पक्ष भनेको नै कक्षा कोठा हो । कक्षा कोठा नै विद्यार्थीको सिकाइका लागी अनुकुल भएन भने विद्यार्थीको पठन पाठन मात्र विग्रने नभै समग्र शिक्षा नीति नै असफल हुन जान्छ । कक्षा कोठा यति महत्वपूर्ण स्थल हो जहाँ विद्यार्थीको जीवनका लागि चाहिने जीवनपयोगी ज्ञान सीपको उपभोग गराउने मुख्य भण्डार हो । मुख्य भण्डारबाट नै स्वस्थ र सफा खानेकुरा पस्कने कार्य भएन भने राम्रो स्वास्थ्यको कल्पना पनि गर्न सकिदैँन । त्यस्तै गरी कक्षा कोठामा शिक्षकले प्रभावकारी शिक्षण क्रियाकलापको लागि उचित व्यवस्थापन गरेन भने विद्यार्थीले पनी सिक्नु पर्ने जती ज्ञान प्राप्त गर्न सक्दैन ।
वर्षौ सम्म पढेर कक्षामा कम नम्बर प्राप्त गर्ने वा अनुतीर्ण हुने जस्ता अनपेक्षित परिणाममा सन्तुष्टि हुनुपर्दछ । कक्षा कोठामा शिक्षकका आवश्यक क्रियाकलाप विद्यार्थी अनुकुल भएन भने शिक्षकले कक्षा कोठाको समय खर्चेको कुनै अर्थ छैन । शिक्षकले कक्षा कोठामा ४५ मिनेटको समयको पुर्णरुपमा विद्यार्थीको चाहाना स्तर क्षमतामा आधारित रहेर शिक्षण क्रियाकलाप गर्न आवश्यक हुन्छ । विद्यार्थी केन्द्रीत क्रियाकलाप शिक्षकले प्रयोग गरेन भने सिकाइमा विद्यार्थीको ध्यान जाँदैन, समय पर्खदैन, बर्ष वित्दै जान्छ, अन्त्यमा सवै विद्यार्थी फेल हुन्छन् अनी बहस सुरु हुन्छ, शिक्षकले पढाएन, विद्यार्थीले पढेनन, अभिभावकले सहयोग गरेन, राजनीति हस्तक्षेप वढ्यो, सरकारले समयमा विद्यालयलाई पाठ्यपुस्तक देखी अन्य सेवा सुविधा दिन सकेन, विनी, आरपीवाट निरीक्षण तथा अनुगमन भएन आदि जस्ता विषयमा छलफल अन्तक्रिया मात्र नभै एक अर्को पक्षलाई आरोप प्रत्यारोपका साथै दोषारोपण गर्ने काम सुरु हन्छ ।
अपेक्षितरुपमा किन प्रतिफल प्राप्त भएन भन्ने विषयको गहिरो अध्ययन र सुधार गर्ने किसिमको सकारात्मक सोच बहस कसैवाट भएको पाईँदैन । कक्षाकोठामा विद्यार्थीको सवै भन्दा नजिकको असल मित्र सहयोगी व्यक्ति शिक्षक नै रहेको हुन्छ । कक्षाकोठामा शिक्षकले आफैले नचाहेर राम्रो पठन पाठन नगरेको हो वा वास्तविक समस्याका कारणले नै राम्रो अध्यापन नगरेको हो भन्ने विषयमा अध्ययन गर्न आवश्यक रहको छ ।
योजनावद्ध शिक्षण क्रियाकलापको सञ्चालन र व्यवस्थापन, शैक्षिक उद्धेश्य अनुसारको शैक्षिक सामग्रीको निर्माण र प्रयोग, बालमैत्री वातावरणमा विद्यार्थी केन्द्रित सिकाइ क्रियाकलापको प्रयोग, कक्षाकोठाको आकार अनुसारको उचित व्यवस्थापन, शिक्षक विद्यार्थीहरुको नियमित उपस्थिती ,शिक्षण सन्दर्भ सामग्रीको अध्ययन र प्रयोग, शैक्षिक उद्धेश्य अनुसारको मूल्याङ्कन प्रक्रिया जस्ता पक्षको अवस्था के कस्तो छ भन्ने विषयमा अनुगमन मूल्याङ्कन गरी आवश्यक सुधार गर्नमा समयमै पहल गर्न आवश्यक हुन्छ । नजिकवाट शिक्षकको समस्या, शिक्षकको लापर्वाही वा कक्षाकोठाको समग्र पक्षको अवस्थाका वारेमा अध्ययन गर्न आवश्यक हुन्छ । यसरी गहिरोरुपमा सामुदायीक विद्यालयको शैक्षिक विकासमा नराम्रो प्रभाव पार्ने पक्षको अध्ययन नगरी केवल स्थानीय तहमा अधिकार प्राप्त भयो भन्दैमा सामुदायीक विद्यालयको विकास जादुकोरुपमा हुने होइन झन चुनौतीकोरुपमा रहेको पाइन्छ । त्यसैले शिक्षकले गर्ने कार्य र कक्षा कोठाको समस्याको बारेमा पहिचान गरौ अनी सुधार गर्नमा पहल गरौ ।
कक्षा कोठामा भएका समस्या के हुन ?
- एउटै कक्षाकोठामा धेरै विद्यार्थीको घुइचो हुनु
- कक्षाकोठाको उचीत व्यवस्थापनको अभाव हुनु
- शैक्षिक सामग्रीको निर्माण प्रयोग र व्यवस्थापनको कमी हुनु
- शिक्षकले कुनै पनी योजनाहरु निर्माण गरेर अध्यापन नगर्नु जस्तै वार्षीक शैक्षणिक योजना एकाइ योजना मासिक शैक्षिक योजना दैनिक पाठयोजना आदि
- शैक्षिक उद्धेश्य अनुसारको शैक्षिक सामग्रीको अभाव रहनु
- तालीमवाट सिकेका ज्ञान सीपको प्रभावकारीरुपमा प्रयोग नगर्नु
- शिक्षण सिकाइ संग सम्वद्ध सन्दर्भ सहयोगी समाग्रीहरु (पाठ्यक्रम पाठ्यपुस्तक शिक्षक निर्दे्शिका अडीयो भिडियो) को उचित व्यवस्थापन र प्रयोगको अभाव रहनु
- कक्षाकोठामा शिक्षक विद्यार्थीहरुको नियमित उपस्थीतिको कमी
- शिक्षण सिकाइमा आएका समस्या समाधानकालागि कसैवाट पनी नवीन शिक्षण प्रविधीका विषयमा सहयोगको माग नगर्नु
- पाठ्यक्रम भन्दा पाठ्यपुस्तकलाई वढी महत्व दिएर शिक्षण गर्नु
- ४५ मिनेटको समयको पूर्ण सदुपयोगको कमी रहनु
- कक्षा कोठाको समस्या र उचीत व्यवस्थापनका विषयमा सरोकारवालले ध्यान नजानु ।
- विद्यार्थी केन्द्रित शिक्षण विधी र क्रियाकलापको उचित प्रयोग नहुनु ।
- विद्यार्थीहरुको चाहाना इच्छा र स्तरलाई वुझेर अध्यापन गर्न भन्दा पनी शिक्षकको चाहानाका आधारको पठन पाठनमा जोड दिने मान्यताको विकास हुनु
- विद्यार्थीहरुको प्रभावकारी मुल्याङ्कन र व्यवस्थापनको कमी हुनु
- कक्षाकोठाको शिक्षण सिकाइका समस्या समाधानका विषयमा शिक्षक स्टाफ र विव्यसको वैठकमा महत्व नदिनु
- कक्षा १ देखी ३ सम्मका कक्षामा कक्षा शिक्षण भन्दा विषय शिक्षण गर्नमा शिक्षक इच्छुक हूनु ।
- कक्षा कोठामा उपयूक्त र्याक दराजको व्यवस्था नहुनु
- विद्यार्थीको प्रगतीको मासिक प्रतिवेदन अभिभावकलाई दिएर सिकाइमा सुधार गर्नमा कमी देखिनु ।
अव के गर्ने त ?
- शिक्षकले गर्ने सवै कामको सूचीकृत गर्नै
- शिक्षकले गर्ने कामको प्रअले संझौता गर्ने
- कक्षामा शिक्षाण गर्दा बालमैत्रीवातावरणमा बालकेन्द्रत शिक्षण क्रियाकलापवाट अध्यापन गर्नमा अनुकुलवातावरणको व्यवस्थापन गर्ने ।
- शिक्षकले कक्षाकोठामा गर्ने काम अनीवार्यरुपमा गर्नमा दवाव होइन हौसला र प्रेणा दिने
- शिक्षकले गर्नैकामको नियमित अनुगमन र मुल्याङन गर्ने
- कक्षाकोठामा आवश्यक पर्ने सामग्री समयमै उपलब्त्ध गराउने
- शिक्षकले गर्ने कामको आधारमा मासिकरुपमा कार्य सम्पादन मूल्याङन गर्ने
- कार्य सम्पादन मुल्याङकनका आधारमा शिक्षकलाइ पुरुस्कृत र दण्ड गर्ने
- शिक्षकलाई नवीन प्रविधका वारेमा सहयोग गर्ने
- राम्रो काम गर्ने शिक्षकलाई प्रसंसा गर्ने कम्जोर शिक्षकलाई प्रोत्साहन गर्ने
- शिक्षक तालिम, शैक्षिक योजना, शैक्षिक सामग्रीको पर्णरुपमा निर्माण व्यवस्थापन र कार्यान्वयन गर्ने
- शिक्षा प्राप्तीको सवै भन्दा मुख्य आधारभूत स्थल कक्षा कोठा हो कक्षा कोठाको विकासमा सवैको सहयोगको खाँचो हुन्छ भन्ने मान्यताको विकास गर्नमा सवै सरोकारवालहरुको ध्यान आकर्षण गर्नु पर्ने
- कक्षाकोठामा वढीमा ३० जना विद्यार्थीहरुको मात्र व्यवस्थापन हुनुपर्दछ त्यो भन्दा वढी विद्याथीहरु भएमा सेक्सनको व्यवस्थापन गर्ने
- राम्रो उपलब्धि दिने शिक्षककोलागि नगद पुरुस्कारको समेत व्यवस्था गर्ने ।
- असल शिक्षकको प्रशंसामात्र होइन विभिन्न विद्यालयमा भ्रमणमा लिनेर राम्रो कसरी गर्ने भन्ने विषयमा नमुना प्रदर्शन गर्न लगाएर प्रोत्साहन तथा हौसला दिने ।
- कक्षाकोठामा आवश्यक भौतिक व्यवस्थापन गर्ने ।
यी माथी उल्लेखित विषयमा स्थानीय सरकारले सुधार गर्नमा पहल गरेमा अवश्यनै माध्यमिक तहको शिक्षामा विकास हुने संभावना छ ।
(बुढीगंगा नगरपालिका ४ बाजुराका खाती, किर्तीचौर मावि मनाकोट बाजुराका शिक्षक हुन् ।)
प्रतिक्रिया