Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

‘राजा–महाराजा’द्वारा शिक्षकलाई उल्टै ‘धम्की’ !

बुधबार, ०८ कार्तिक २०७४

भक्तपुर - आफ्ना खराबीका बारेमा खबर सार्वजनिक गरेको भन्दै राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका लागि नियुक्ति गरिएका पठन उत्प्रेरकले शिक्षकलाई ‘धम्की’ दिएका छन् ।

प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मर्म र भावना अनुसार आफ्नो कार्यक्षेत्रका विद्यालयमा नियमित अनुगमन निरीक्षण गरी प्रारम्भिक कक्षाको पढाइ सीप अभिवृद्धि गर्न क्रियाशील रहुनुपर्ने भएपनि उनीहरुले त्यस्तो नगरेको विषय गत साता एडुखाबरमा प्रकाशन भएको थियो ।

पढ्नुहोस् उक्त खबर : शिक्षक भन्छन्, आर.एम.हैन ‘राजा–महाराजा !’

उक्त खबर प्रकाशन भए पछि आरएम अर्थात् पठन उत्प्रेरकले विद्यालयमा पुगेर निरीक्षण र अनुगमनको सट्टा आफूविरुद्ध कसले भनेको भन्दै धम्क्याउन थालेको शिक्षकले बताएका छन् ।

आफ्नो कार्य क्षेत्रका प्रत्येक विद्यालयको कम्तीमा महिनामा २ पटक अनिवार्य निरीक्षण गर्नुपर्ने प्रावधान अनुसार कक्षाकक्षामा पुगेका तिनीहरुको पद रिडिङ मोटिभेटर अर्थात् आर.एम. भए पनि अन्य शिक्षक तथा प्रधानाध्यापकहरुले भने उनीहरुलाई ‘राजा–महाराजा’ को संज्ञा दिएका थिए । यो धम्किले उनीहरु त्यही भएको थप पुष्टि भएको एक जना शिक्षकले बताए ।

‘तपाइँले समाचार दिएपछि आर.एम. आएर उल्टै हामीसँग स्पष्टीकरण लिने काम भएको छ, हामीलाई यस्तो भन्ने ? भनेर धम्क्याएका छन् ।’ मंगलबार सूर्यविनायकको गुण्डुस्थित ज्योति माविमा, आर.एम. सरस्वती बस्यालले सोही विद्यालयका शिक्षकलाई स्पष्टीकरण सोधेको विद्यालय स्रोतले जनाएको छ ।

पठन उत्प्रेरक आएर कक्षा व्यवस्थापनमा सहयोग गर्नुपर्नेमा उल्टै आफ्नो विरुद्धमा विद्यालयका शिक्षक र प्रअले बोलेको भन्दै ईजिआरपी कक्षाका शिक्षकलाई दुव्र्यवहार गरेको सोही विद्यालयका एक शिक्षकले जानकारी दिए ।

अरनिको स्रोत केन्द्र अन्तर्गत रहेको सो विद्यालयका स्रोतव्यक्ति लक्ष्मी पाण्डेले भने पठन उत्प्रेरक बस्यालबाट सो किसिमको व्यवहार हुन नसक्ने दाबी गरिन् । ‘समाचार आएपछि काम गर्नै मन लागेन भन्ने गुनासो मलाई पनि गर्नुभएको हो तर पनि आफ्नो ड्युटी गर्न छोड्नुहुन्न भनी मैले भनेपछि उहाँ (सरस्वती बस्याल) ज्योति स्कुलमा जानुभएको हो । त्यहाँ शिक्षक र प्रअमाथि कस्तो व्यवहार भयो म बुझ्छु ।’ पाण्डेले भनिन् ।

प्रतिक्रिया