Edukhabar
शनिबार, ०८ मंसिर २०८१
खबर/फिचर

शिक्षक भन्छन्, आर.एम.हैन ‘राजा–महाराजा !’

मंगलबार, ३१ असोज २०७४

भक्तपुर - राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मूल दस्तावेज(सन् २०१४÷१५) ले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको नियमित अनुगमन तथा निरीक्षणमा सहयोग पुर्याउन स्रोत शिक्षकको अवधारणा अगाडि सारेको छ । तर सो कार्यक्रमसम्बन्धी विभिन्न तहका सरोकारवालाहरुसँग भएको छलफललका आधारमा उक्त पढाइ कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता ल्याउन अर्को व्यवस्था नभएसम्म तत्कालका लागि शिक्षा विभागको २०७३ असार२४ गते को निर्णयानुसार पठन उत्प्रेरक(रिडिङ मोटिभेटर) को व्यवस्था गरिएको छ ।

त्यसरी व्यवस्था गरिए अनुसार उत्प्रेरकले प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मर्म र भावना अनुसार आफ्नो कार्यक्षेत्रका विद्यालयमा नियमित अनुगमन निरीक्षण गरी प्रारम्भिक कक्षाको पढाइ सीप अभिवृद्धि गर्न निरन्तर क्रियाशील रहुनुपर्ने, आफ्नो कार्य क्षेत्रकका प्रत्येक विद्यालयको कम्तीमा महिनामा २ पटक अनिवार्य निरीक्षण गर्नुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार कक्षाकक्षामा पुगेका तिनीहरुको पद रिडिङ मोटिभेटर अर्थात् आर.एम. भए पनि अन्य शिक्षक तथा प्रधानाध्यापकहरुले भने उनीहरुलाई ‘राजा–महाराजा’ को संज्ञा दिएका छन् ।

तिनीहरुलाई सो संज्ञा दिनुका अरु कारण नभएर स्वयम् रिडिङ मोटिभेटर   र तिनीहरुले विद्यालयमा गरेको व्यवहार मुख्य कारण छन् ।

मूल भाषा विषय( नेपाली वा अँग्रेजी) लिई कम्तीमा स्नातक तहको शैक्षिक योग्यता प्राप्त गरी शिक्षा विषयमा कम्तीमा दश महिनाको तालिम लिएको र प्राथमिक शिक्षक पदमा स्थायी नियुक्ति भई कम्तीमा एक वर्ष अध्यापन गरेको योग्यता तथा अनुभव भएकाहरुलाई रिडिङ मोटिभेटरमा नियुक्ति दिए पनि तिनीहरुको अहम् र व्यवहारका कारण आर.एम.लाई राजा–महाराजा भन्न आफूहरु बाध्य भएको विषय शिक्षकको भनाइ छ ।

‘हामीलाई सहयोग हुने गरी कक्षामा प्रस्तुत हुनुपर्ने आरएमहरु उल्टो हप्काउने, जिल्ला शिक्षा कार्यालयको निरीक्षकै हुँ भन्ने भ्रम पालेर आदेश दिन्छन्, यो भएन त्यो भएन भनेर गुनासो गर्छन्, यस्तो भएपछि आरएम नभई राजामहाराजा भनेका हौं ।’ गुण्डुको एक विद्यालयका शिक्षकले भने ।

यसअलावा आरएमहरुलाई तोकिएको विद्यालयको उपसमूह बनाई प्रतिमहिना घटीमा २ पटक स्तरीय परीक्षण सूची तथा साधनहरुको सिकाइ उपलब्धिको प्रगति स्थितिसहित सम्बन्धित स्रोतकेन्द्रमा निरीक्षण प्रतिवेदन बुझाउनुपर्ने, प्रत्येक पठन उत्प्रेरकहरुले अनलाईन प्रणालीबाट तथ्यांक नियमित रुपमा राखी स्रोतकेन्द्र र जिशिकामा सम्प्रेषण गर्नुपर्ने, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सम्बन्धी तालिम र अभिमुखीकरण कार्यक्रमबाट प्राप्त ज्ञान सीपको प्रयोग गर्नुपर्ने, प्रारम्भिक कक्षा पढाइ कार्यक्रममा विकास गरिएका साधनहरुको प्रयोग गरी सरल एवम् सुगम प्रक्रियाको अवलम्बन गर्दै नियमित रुपमा शिक्षकलाई सहयाग र सहजीकरण गर्नुपर्ने भए पनि सो अनुसार काम गर्ने गरेका छैनन् ।

‘आरएम भएपछि त झन् स्कुल डुल्ने, कक्षा अवलोकन गर्न जाने भन्दै विद्यालयको नियमित कक्षा नै नलिने प्रवृत्ति पनि छ ।’ एक प्रअले भने । उनले ईजिआरपीको तालिम लिएपछि आरएमहरु उत्साहित हुनुपर्नेमा झन् कामको बोझ थपिदिएको अनुभव गर्न थालेको पनि बताए ।

पठन उत्प्रेरकले विद्यालयका प्रअ, विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको सहयोगमा शिक्षक विद्यार्थीको नियमितता, महिनामा कक्षा सञ्चालन भएका दिन, पढाइ सुधारको अवस्था आदिका बारेमा आपसी छलफल गर्दै थप सुधारका प्रयास अवलम्वन गर्नुपर्ने, नेपाली भाषा वा मातृभाषा सिकाइको महत्व तथा उपलब्धिको उपादेयताका बारेमा विद्यालयमा आधारित क्रियाकलापका माध्यमद्वारा सचेतना अभिवृद्धिमा सहयोग पुर्याउने, शैक्षणिक सामग्रीको उपलब्धिता तथा उपलब्ध शैक्षणिक सामग्रीको सही सदुपयोग भए नभएको अनुगमन गरी प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने, पढाइ सीप विकासको अवस्थाका बारेमा शिक्षकलाई निरन्तर मूल्यांकन र उपचारात्मक सहयोग उपलब्ध गराउन आवश्यक सहजीकरण गर्नुपर्ने भए पनि कक्षा अवलोकनमै सीमित भएका छन् ।

भक्तपुरमा रहेका आठ वटा स्रोतकेन्द्रमा २४ जना आरएमहरु रहेको ईजिआरपीका जिल्ला फोकल व्यक्ति सबिता दंगालले जानकारी दिइन् । उनले प्रत्येक स्रोतकेन्द्रमा तीन जनाका दरले आरएमहरु नियुक्त गरिएको बताउँदै आरएमहरुले पढाइमा सहजीकरण अन्तर्गत कक्षा अवलोकनको काम नियमित रुपमा गरिरहेको बताइन् ।

तर, कतिपय विद्यालयहरुमा आरएमले पाइला पनि नटेकेको प्रअहरु बताउँछन् । उनीहरुले सो काम गरेवापत फिल्ड भत्ता शिर्षकमा प्रतिमहिना रु. तीनहजार ईजिआरपीले व्यहोर्दै आएको छ ।
आरएमहरुले भने आफूहरुमाथि लागेको आरोपको प्रतिवाद गरेका छन् । आफूभन्दा सिनियर शिक्षकहरुको कक्षा अवलोकनमा अफ्ठ्यारो हुँदा समस्या आउने गरेको बताएका छन् ।

प्रतिक्रिया