प्रा.डा. प्रेम नारायण अर्याल, विद्यार्थीले सिक्ने र उनीहरुलाई सिकाउने भन्ने कुरा असाध्यै जटिल कुरा हो । हुन त अँक केन्द्रित परिक्षा प्रणालीलाई सुधारेर सिकाई केन्द्रित नबनाईञ्जेल सम्म यो कुरा चुनौति नै हुन्छ । विद्यार्थीको मापन कति अँक ल्यायो बाट गर्ने की कति सृजनशिल र ब्यवहारिक छ ? भन्ने बाट गर्ने भन्ने कुराको निर्धारण शैक्षिक प्रणालीले तय नगरे सम्म हामी यहि भुलभुलैयामा हराई रहने निश्चित छ । पूर्व प्राथमिक र प्राथमिक तहको सिकाइबारे, प्रारम्भिक वाल विकासमा विद्यावारिधि गरेका, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. प्रेम नारायण अर्यालसंग श्रीधर पौडेलले गरेको कुराकानी :
- हाम्रो पूर्व प्राथमिक र प्राथमिक तहको सिकाइ कमजोर हुनुको कारण के हो ?
पूर्व प्राथमिकमा, बच्चाहरुलाई पठन पाठनमा मात्र फोकस गरियो । उसको सर्वाङ्गिण र मानसिक विकासको बारेमा ध्यान दिईएको छैन । मानसिक विकास भनेको पढ्नु मात्रै हैन, उसको सामाजिकीकरणका कुरा उसको संवेगको नियन्त्रणको कुरा हुन सक्छन् । अनी उसको वातावरण र मष्तिक विकास सरल ढँगले गर्नु पर्ने, नगरीकन उनीहरुलाई धेरै पढ्ने र घोकन्ते कुराहरुमा जोड दिदाँ उसको मानसिक अवस्था कमजोर हुँदै गएको देखिन्छ । त्यसको नतिजा अलि पछि गएर थाह हुन्छ ।
- यसको कारण के हो ? किन हामी सिकिरहेका छैनौँ जानी रहेका छैनौँ पूर्व प्राथमिकमा यसरी पढाउनु पर्छ भन्ने कुरा हाम्रा शिक्षकहरुमा ज्ञान नभएको हो ?
एक त केही पूर्व प्राथमिक शिक्षा भनेर आवासीय विद्यालयहरु सञ्चालन हुन्छन्, त्यहाँ चाँहि अभिभावकहरुले राम्रो पढुन्, राम्रो नतिजा ल्याउन्, मेरो बच्चाले एक बर्षमा यस्तो कुरा सिक्यो भनेर एकेडेमिक कुराहरु मात्र आश गरे । यसले गर्दा बोडिङ् स्कुलमा तत्कालमा राम्रो भएको देखियो, अँग्रजी राम्रो भएको देखियो तर भविष्यमा उनीहरु विस्तारै कमजोर भएर गए । अर्को तिर सामुदायिक विद्यालयमा के भैदियो भने शिक्षकहरुमा तालिम कम हुँदा तिनीहरुलाई कम फोकस गरियो । माथिल्लो कक्षामा जोड दिने, पढाईलाई मात्रै जोड दिने गरियो । तर तल्लो कक्षामा हेलाँ गरेर केटाकेटिहरुलाई यसो भुलाईदेउ है भन्ने मात्रै भयो ।
- पूर्वप्राथमिक तहको सिकाइ शैलीले विद्यालय तहको सिकाइमा कस्तो प्रभाव पार्छ ?
एक त उनीहरुलाई स्कुल प्रति, पढाई प्रति मोटिभेसन हुनु पर्यो । तर हाम्रामा के भयो भने केटाकेटिलाई तह लगाउने गररे एउटा लठि लिएर शिक्षकले भेडा बाख्रा घेरेको जस्तो गरेर घेर्ने । ता की अरु कक्षालाई डिस्टर्भ नगरोस्, उनीहरुको स्कुलको बानी परोस् भन्ने मात्रै भयो । उनीहरुको पढाई प्रतिको मोटिभेसन बढ्दै जाओस्, पढाईमा कसरी जाने, संबेगात्मक विकासका लागि, स्वत स्फूर्त विकासका लागि के के कृयाकलाप गर्नु पर्छ भनेर सन्तुलीत ढंगमा गराईएको छैन । उनीहरुले अवलोकन, खेल, छलफलबाट सिक्छन् भन्ने विर्सेर, कितावकै आधारबाट मात्रै गर्दा सुधार हुँदैंन । वालवालिकालाई कितावबाट पढाई शुरु गर्नु जरुरी छैन । त्यसमा पनि हामीले गृहकार्य भनेर यति लोड दिन्छौँ की त्यसमा मात्रै उसको ध्यान छ । होमवर्क गरेन भने सर म्याडमहरुले गाली गर्छन्, दण्ड गर्छन् भन्ने त्रास छ वालवालिकालाई । होमवर्कका नाममा उनीहरुलाई मानसिक तनाव धेरै छ ।
- सामुदायिक विद्यालयको सिकाइ कमजोर हुनुमा यो पनि कारण हो जस्तो लाग्छ ?
पूर्व प्राथमिकको जगलाई बलियो बनाउँदै सामुदायिक विद्यालयमा हुने पढाईमा फोकस गरेर अघि बढ्नु जरुरी छ । धेरै स्कुलमा त क्लास नै चल्दैन । सानो सानो कक्षामा कमजोर भएपछि माथि तान्नैै सक्दैनन् । त्यसले गर्दा विद्यार्थीलाई सानै देखि जग बलियो बनाएर उनीहरुको पढ्ने स्वभावको विकास गराउने, उनीहरुको पढाई प्रति मोटिभेसन गर्न थाल्यो भने उनीहरुले प्रगति गर्छन् । तर यहाँ त्यस्तो भएन ।
प्रा.डा. प्रेम नारायण अर्याल
- विश्वविद्यलायको शिक्षा शास्त्र संकायमा बाल सिकाइबारे पढाइ हुन्छ, तर कक्षा कोठामो त्यसको प्रभाव देखिदैन, यसमा विश्विद्यालयको सिकाइ असफल हो कि कक्षा कोठामा जाने शिक्षक ?
विश्वविद्यालयमा वालवालिका सम्बन्धि पढाई भनेर बाल मनोविज्ञानको एउटा पेपर राखियो । त्यो अत्यन्तै सैद्धान्तिक भयो । बच्चाहरुको कुन उमेरमा कसरी विकास हुन्छ भन्ने कुराको जानकारी घोकेर जाँचमा लेख्ने भयो । वालवालिकाको विकास कसरी हुन्छ भन्ने कुरा हेरेर अभ्यास गर्न लगाएर विद्यालयमा पढाउन लगाउन आवश्यक छ । सैद्धान्तिक रुपमा भनिए जस्तै ब्यवहारिक रुपमा उनीहरुको विकास भयो भएन भनेर हेर्दा सजिलो हुन्थ्यो होला । हाम्रो प्राक्टिस टिचिङ्मा जाँदा त वालवालिका हुँदैनन् ९ –१० कक्षाका बच्चाहरु हुन्छन् । हाईस्कुलमा मात्रै पढाउँदा त सानो बच्चाहरुको क्यारेक्टर नै थाह हुँदैन । शिक्षा मनोविज्ञान भनेको के हो ? भन्ने सैद्धान्तिक मात्रै भयो । त्यसलाई ब्यवहारिक ज्ञानमा लगेर स्कुलमा हेर्न लगाएर पढाउनु पर्छ । टिचिङ मेथड पक्ष नै कमजोर छ हाम्रो । विए पास गरेपछि तालिम दिनु पर्नेमा कन्टेन्ट पनि सँगै पढाउने, शिक्षण विधि पनि सँगै लिएर गएका छौँ । यसले गर्दा दुवै कमजोर भयो ।
- नीति बनाउने ठाउँमा त तपाईहरु जस्ता ब्यक्ति हुनुहुन्छ, जसलाई ज्ञान छ, तर किन गर्नु भएन न त ?
हामी धेरै पहिले देखि लागि राखेका छौँ । तर के भयो भने शुरु देखि कण्टेण्टका साथिहरु पनि आए । उनीहरु पनि जागिर खानै पर्यो । शिक्षा शास्त्र संकाय, यो सन्तुलीत ढँगमा जान सकिरहेको छैन । एकांकी जस्तो, एउटा प्रशासनिक ईकाई जस्तो बन्यो । एकेडेमिक ईकाई र लिडरसीप लिन सकेन ।
- यसलाई सुधार गर्न तपाईहरुको भूमिका हुँदैन ?
हाम्रो भूमिका केही पनि छैन । प्रोफेसरको के भूमिका हुनु ? त्यहाँ डिन, पदाधिकारी हुन्छन् । हामीले त भन्नु पर्ने, सुझाव दिईराखेका छौँ । एकेडेमिक कुरा खस्केको छ । पठन पाठन प्रभावकारी भएको छैन भनिराखेका छौँ । जस्तो अभ्यास शिक्षणको कुरा गरौँ, यो त शिक्षा शास्त्र संकायको मुटु हो नी, तर यसलाई यति नियन्त्रण रहित ढंगले चलाई दिएको छ । ताकि हाम्रो ईन्भल्मेण्ट कम हुन्छ त्यहाँ । उनीहरुले एउटा नाम मात्रैको गरिदिएपछि प्रभावकारी हुन सक्दैन ।
- अव कसरी गर्ने त सुधार
प्रयोगात्मक धेरै र सैद्धान्तिक थोरै हुनु पथ्र्यो । शिक्षा शास्त्रमा सैद्धान्तिक धेरै हुनु भन्दा मानविकिमा एउटा कोर्स राखिदिए त भै हाल्यो नी , शिक्षा शास्त्र भनेको त प्रयोगात्मक हुनु पर्यो । हरेक विषयमा प्रयोगात्मक गर्नु पर्यो । जस्तै वाल मनोविज्ञानका कुरा, सिकाई मनोविज्ञानका कुरालाई लिएर कसरी सिकाई हुन सक्छ भन्ने कुरा बच्चाहरुलाई प्रयोग गर्न दिन पाए त उनीहरुलाई प्राक्टिकल नलेज हुन्थ्यो । प्राक्टिकल नलेज भनेको एउटा प्राक्टिस टिचिङ् हो, त्यो प्रभावकारी भएन । अर्को थेसिस राईटिङ् हो त्यो पनि परम्परागत रुपमा मात्रै हिडेंको छ । यो पनि प्रभावकारी नभएपछि कसरी सुधार हुन्छ र
प्रतिक्रिया