Edukhabar
मंगलबार, २० कार्तिक २०८१
अन्तर्वार्ता

प्राविधिक शिक्षालाई दोश्रो दर्जामा राखियो : डा. लामिछाने

आइतबार, १८ माघ २०७१

भक्तपुर १८ माघ / हाम्रो पढाई ब्यवहारिक सीप भन्दा किताव केन्द्रित मात्रै छ । यसले गर्दा पढेर सकेपछि के गर्ने भन्ने प्रश्न हरेक विद्यार्थीको अघिल्तिर पहाड बनेर उभिएको छ । औपचारिक पढाई लेखाईलाई मात्रै शिक्षाको सूचकाँक मान्दा यस्तो अवस्था आएको हो । औपचारिक पढाईसँगै ब्यवहारिक सिप हुने हो भने मान्छेले पढेको कुरा ब्यवहारमा उतारेर स्वआर्जन केन्द्रित हुन सक्थ्यो ।

यस बारे सँसारभर गतिला प्रयास भएका छन् । नेपालमा पनि यो कुरालाई मध्यनजर गर्दै प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् ऐन २०४५ अनुसार २०४६ सालमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सी टी ई भी टीको स्थापना गरिएको हो । सी टी ई भी टीका आँगिक २५ वटा, सम्बन्धन प्राप्त ४ सय ३० वटा सँस्थाले अहिले बर्षको करिव १ लाख जनालाई विभिन्न सिप सिकाएको तथ्याङ्क छ । लोपोन्मुख जनजाती, तराईका १६ जिल्लाका दलित र मुसलमान समुदायका विद्यार्थीलाई छात्रबृत्ति पनि दिदैँ आएको छ ।

यो बर्षबाट कर्णाली अञ्चल र चेपाङ् समुदायमा पनि कार्यक्रम विस्तार गरिएको छ । तथ्याङ्कमा यस्तो देखिए पनि ब्यवहारिक रुपमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमको प्रभाव कमै देखिन्छ । यहि सन्दर्भमा परिषद्का सदस्य सचिव डा.रामहरी लामिछानेसँग श्रीधर पौडेलले गरेको कुराकानी –

- प्राविधिक शिक्षाको अहिलेको अवस्था कस्तो छ ?

नीति निर्माण तहमा बस्ने मान्छेहरुले एकदमै प्राथमिकताका साथ बोलेको पाहिन्छ । चाहे बजेट वक्तब्यमा होस्, चाहे नेताहरुको भाषणमा होस् अथवा योजनाकारहरुको छलफलमा होस् तर ब्यवहारमा भने त्यो पाईदैँन ।

- किन ?

जस्तो म एउटा उदाहरण दिन्छु, माननीय अर्थ मन्त्री ज्यूले बजेट वक्तब्यमा प्रत्येक  निर्वाचन क्षेत्रमा एउटा प्राविधिक शिक्षालय खोल्ने कार्यक्रम भनेर घोषणा गर्नु भो । तर त्यसको लागि बजेट ब्यवस्था छैन । मैले खाली उदाहरणमा मात्रै यो भनेको । अर्को चाँही के छ भने बैदेशिक रोजगार र सीपमूलक शिक्षाको लागि एक दमै चाहना छ । युवाहरुले सीप सिक्नु पर्दो रैछ भन्ने सचेतना पहिलाको दाँजोमा धेरै बढेको पाहिन्छ । तै पनि हाम्रो समाजले अझै पनि प्राविधिक शिक्षालाई दोश्रो दर्जामा राखेको छ ।

यसले चाहिने जति प्राथमिकता पाउनै सकेको छैन । समाजमा पनि पाउन सकेको छैन । कक्षा १० सम्मको आधारभूत शिक्षा हरेक मान्छेले लिन पाउनु पर्छ । त्यो नभई मान्छेको सचेतनाको आँखै खुल्दैन । तर कक्षा १० पछि जो मान्छेले अलिकती सीपमूलक काम गर्ने, श्रमजीवि मान्छेहरु जो काम गर्न चाहन्छन् उनीहरु यो पाटोमा आईरहेका छैनन् । अझै पनि मान्छेले आईए विए एमए पढेर बेरोजगारै बन्ने लाईन बढि छ । त्यसकारण अझै पनि प्राविधिक शिक्षाको महत्व र आवश्यकताका बारेमा समाजमा चेतना पुगेको छैन । अर्कोतिर के छ भने सीपमा काम गर्ने मान्छेलाई समाजले सम्मान नै गरेन । हाम्रो विडम्बना ।

- राज्यले प्राविधिक शिक्षालाई दिएको महत्व अनुसार कार्यक्रम बनाउने, कार्यान्वयन गर्ने त सीटीईभीटी हो नी त, त्यसको प्रमुख तपाई किन गर्न नसक्नु भएको ? 

विडम्बना विकसित मुलुक जहाँ विकासका गति बढेका राज्यहरु जस्तै कोरिया, सिंगापुर पछिल्लो समय आएर भारत नै भनौं, भारतले ५ सय करोडलाई सीपमूलक तालिम दिदैं छ । अव हामी कहाँँ के छ भने टोटल शैक्षिक बजेटको जम्मा एक दशमलव ४ प्रतिशत मात्रै प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्लाई छ । भनेको एक अर्व ।

प्राविधिक शिक्षालाई पनि एक अर्व छ, अनी अनौपचारिक शिक्षा भनेर जो प्रौढ शिक्षा पढाउनेलाई पनि एक अर्व छ, यसै बाट बुझ्न सकिन्छ महत्व, प्रौढ शिक्षा पढाउने र यसको महत्व त धेरै फरक छ । मैले त्यो जरुरी हैन भन्न खोज्या हैन, त्यहाँ एक अर्व हुँदा यहाँ ५ अर्व हुनु पथ्र्यो कम्तिमा । हाम्रो अहिले माग के छ भने शिक्षा क्षेत्रको बजेट, कूल बजेटको २० प्रतिशत हुनुपर्छ । यदि त्यो राज्यमा साँच्चिकै विकास गर्ने हो भने, र त्यो बजेटको कम्तिमा ५ देखि १० प्रतिशत प्राविधिक शिक्षामा हुनु पर्छ ।

- राज्यको श्रोत साधनको आधारमै अधिकतम काम गर्न सक्नृु पर्यो नी हैन र ?

एक अर्व ३५ करोड हाम्रो बजेट छ । त्यसमा झण्डै झण्डै ५० करोड रकम पूँजिगतमा छ । अनी टोटल बजेको ८० प्रतिशत तलवमा जान्छ । तर पनि हामीले बैदेशिक परियोजना मार्फत तालिमहरु चलाईराखेका छौं । राज्यले कुरामा प्राथमिता दियो ब्यवहारमा भएन । दोश्रो कुरा, भनेको प्रहरीमा आर्मिमा भन्ना साथ १० हजार दरबन्दी एक निर्णयमा थपिन्छ । ४० प्रतिशत युवा भएको देश, जान साँखिक लाभाँसका हिसावले भाग्यमानी देश नेपालमा ५३ सालमा दिएको ९ सय ३२ जनाको दरवन्दी  अहिले सम्म त्यहि छ । १७ बर्षमा एक जना पनि दरबन्दी दिएको छैन । अहिले हामीले, ७ सय ६२ दरबन्दी मागिराखेका छौं । अर्थले स्विकृती दिएको छैन । अनी प्राविधिक शिक्षा कसरी विस्तार हुन्छ ?

- यी त हुन नसकेका कुरा भए, तर अहिले सम्म गरिएको खर्च र भएको लागनीले दिएको उपलब्धि केलाई मान्ने त ?

जसले हाम्रो कोर्ष गरेका छन् उनीहरुको जीवनशैली एकदम राम्रो छ । सीटीईभीटीको सबै भन्दा छोटो भनेको तीन महिने कोर्ष गरेको मान्छेले कम्तिमा पनि शुरुमा महिनाको कम्तिमा ५ हजार रुपैंया कमाउँछ । जव उसले ३–४ महिना काम गर्छ, उसको कमाई १० –१२ हजार महिनाको हुन्छ । डिप्लोमा, टीएसएलसी गरेको मान्छेहरुले त नेपालमै भाग पुग्या छैन, विदेश जानै पर्दैन । उसले मजाले २० –३० हजार रुपैंया महिनाको कमाएको छ औषतमा । विभिन्न अध्ययनले हाम्रो छोटो अवधिको तालिम लिएकाको ६० प्रतिशत रोजगारी र लामो अवधिको तालिम लिनेको ८० प्रतिशत भन्दा धेरै रोजगारी भएको देखाएको छ । 

- युवा विशेष गरी हाम्रा अभिभावकमा शिक्षा भन्ने कुरा सीप पनि हो भन्ने कुरा बुझाउनु जरुरी छ नी सबै भन्दा पहीले त त्यहि गर्न सकि राख्नु भा छैन तपाईहरु ।

हो त्यो हुन सकिरहेको छैन त्यसको लागि हामीले ब्यापक रुपमा सोसल मिडिया, जनचेतनामूलक कार्यक्रम गर्नु जरुरी छ । त्यो हामीले स्किल फर डेभलपमेण्ट प्रोजेक्टबाट गर्न शुरु गरेका छौं । जस्तो तपाईहरु जस्तो अनलाईन लगायत सञ्चारका साधनहरु मार्फत जनचेतना बृद्धि गर्ने, विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेका छौं । पछिल्लो समय मान्छेहरुमा शिक्षा भन्ने कुरा सीपसँग पनि जोडिएको छ भन्ने चेतना बढ्दो छ । तर पनि अझै समाजले प्राविधिक शिक्षालाई तिरस्कृत नै गरेको छ ।

- शिक्षासँग जोडिएको कुरा हुँदा हुँदै तपाईहरुले नै प्राविधिक शिक्षालाई शिक्षा भन्दा पनि छुट्टै हो भन्ने तरिकाले ब्याख्या गरेको जस्तो देखिन्छ हैन र ?

मैले आरोप लगाउनु खोजेको हैन, तर अझै पनि के छ भने, शिक्षा मन्त्रालयका केही मान्छेमा समस्या छ । शिक्षा भनेको विद्यालय शिक्षा मात्रै हो भन्ने बुझाई छ । प्राविधिक शिक्षा र उच्च शिक्षा भनेको मन्त्रालयको कामै हैन जस्तो गर्छन् । जहाँ पनि कुरा गर्यो विद्यालय शिक्षाको मात्रै कुरा हुन्छ ।

तर बाहिरका देशको प्राक्टिस हेर्ने हो भने सिंगापुरमा कक्षा १० पछि ६० प्रतिशत विद्यार्थी प्राविधिक शिक्षामा जान्छन् । कोरियामा ४० प्रतिशत भन्दा धेरै जान्छन् । उनीहरुले प्राविधिक शिक्षालाई मुख्य मानेका छन् । हाम्रोमा चाँही के भो भने अन्त पाईएन भने प्राविधिकमा आउने भयो । फेल भएका निकम्माले मात्रै पढ्ने भन्ने धारणा बन्यो । त्यो हैन क्रिम अफ दि क्रिमले पनि प्राविधिक शिक्षा पढ्ने हो । कक्षा १० पढेको विद्यार्थीको रुचि प्राविधिक लाईनको छ की, शैक्षिक लाईनको छ की अथवा वकिल बन्ने लाईनको छ की, विदेशमा चाँही आफ्नो रुचि अनुसार परामर्श लिएर रुचिको विषयमा भर्ना हुन्छ । हामी कहाँ त्यस्तो छैन । एउटाले जे पढ्यो अर्को त्यहिँ ।

- यो पनि शिक्षाको एउटा पाटो हो भनेर नीति निर्माण तह र अभिभावकको तहमा बुझाउन सक्नु भएन नी त तपाईहरुले ...

त्यो कुरा म स्विकार्दछु, । चेतनाको स्तर नै भएन । अझै पनि हाम्रो समाजमा एउटा केटा वा केटीको विवाह गर्ने प्रस्ताव आयो भने, एक जना चाँही एमए पढेको, अर्को चाँही मेकानिकल पढेर कारखानामा काम गरिरहेको मान्छे जो महिनामा एक लाख रुपैंया कमाउँछ लेथ मेसिन चलाउँछ र एमए पढेको बेरोजगार छ भने पनि त्यो केटा वा केटीले बेरोजगार एमएलाई रोज्छन् । त्यो प्राविधिक शिक्षा पढेर कमाई गर्नेलाई हैन ।

- हो यहि नेर मैले जोड दिएको, प्राविधिक शिक्षाको महत्व तपाईहरु जो जिम्मेवार निकायमा हुनुहुन्छ समाजमा बुझाउनै सक्नु भएन

किन भने हाम्रो जकडिएको चतनाले काम गरेको छ । विदेशमा त्यो छैन त्यहाँ काम छ छैन भन्ने प्रश्न गरिन्छ । काम भएपछि सकियो के काम भन्ने कसैले सोध्दैन । हाम्रोमा चाँही के काम गर्छ ? कति पढेको छ ? कस्तो पढेको छ ? भनेर सोध्ने चलन छ । हाम्रो सामाजिक संरचनाको त्यस्ता जकडिएका कुरा तोड्नु जरुरी छ ।

(नोट : २०७० बैशाख १५ गते कार्यभार सम्हालेका लामिछाने  ०४६ साल चैतमा लेखा अधिकृतबाट सी टी ई भी टीमा प्रवेश गरेका हुन् । मकवानपुरका लामिछानेसँग प्रशिक्षक, प्रमुख प्रशिक्षक हुँदै निर्देशक भएको अनुभव छ । काठमाण्डु विश्वविद्यालयबाट गरिव तथा विपन्न बर्गको प्राविधिक शिक्षामा पहुँच विषयमा विद्याबारिधि गरेका उनले अमेरिकाबाट एजुकेशन प्लानिङ् एण्ड पोलिसीमा प्रोफेसनल कोर्ष समेत गरेका छन् ।)

प्रतिक्रिया