Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विचार / विमर्श

पुस्तकालय : भवन र पुस्तकमात्र कि ? प्रयोग पनि

शुक्रबार, १६ भदौ २०७४

“A library is not just a building full of books. It is a garden to cultivate individuals.” Ban Ki-Moon.

बिहीबार परेको यस बर्षको पुस्तकालय दिवस, ¥याली, भाषण, छलफल वहस गरेर मनाइयो । दशौं दिवसको आर्दश वाक्य “जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह ः एक नमूना पुस्तकालय” निर्धारण गरिएको थियो । आदर्श वाक्य कसरी तय गरिन्छ र त्यो आदर्श वाक्य त्यही वर्षका लागिमात्र हो वा अर्को वर्षका लागि पनि हो ? आदर्श वाक्यमा लेखिएका कुरा कार्यान्वयन गर्नका लागि लेखिन्छ कि व्यानर बनाउन मात्र ? यसको पछि नलागौँ किनकी विगतका आदर्श वाक्यले हामीलाई जिस्काउन सक्छन् । एक विद्यालय एक पुस्तकालय भन्यौँ तर अहिले आधा विद्यालयमा पनि पुस्तकालय बनाउन सकिएको छैन । बनाएका पुस्तकालयको प्रयोगको कथा व्यथा उस्तै छन् । पुस्तकालयमा भएका पुस्तकका कथा पनि उस्तै छन् । भएका पुस्तकालय प्रयोगमा ल्याउन सकिएको छैन । पुस्तकालय पनि कहिलेकाँही पुस्तकालय छ भन्नका लागि मात्र भएका छन् ।

मैले केही सामुदायिक विद्यालयका पुस्तकालयको अवलोकन गरेको छु । पुस्तकालयका शिक्षकहरूसँग छलफल गरेको छु । पुस्तकालयमा कस्ता पुस्तक छन् हेरेको छु, ती पुस्तक कहाँबाट आए सोधेको छु । पुस्तकालय प्रतिको शिक्षक विद्यार्थीको दृष्टिकोण पनि अलिअलि सुनेको छु । अधिकांश पुस्तकालयमा साना कक्षाका लागि उपयोगी सामग्रीको अभाव छ । एउटा सामुदायिक विद्यालयको पुस्तकालयमा कस्ता पुस्तक राख्ने भन्ने कुनै मापदण्ड छैन, जसलाई जस्तो मन लाग्यो त्यस्तै पुस्तकको थुप्रो लागेको छ । त्यो कति उपयोगी हुन्छ, त्यो कसले पढ्छ भन्ने सँग कुनै सम्बन्ध छैन । पुस्तकालयमा पुस्तकको सङ्ख्या धेरै देखाउन सबै खाले पुस्तकको थुप्रो लगाइएको छ । कसैले दिन्छ र कसैले लिन्छ तर दिनेलाई के दिदैछु वास्ता छैन र लिनेलाई पनि ।

भएन, पुगेन भन्ने गुनासो गर्ने र भएका सामग्रीको संरक्षण र त्यसलाई उपयोग गर्ने कुरामा ध्यान दिन त विद्यालयले मात्रै के भन्नु हामी नेपाली कसैले पनि जानेका छैनौँ । २०७२ वैशाखमा भुकम्पले क्षति पु¥याएको राष्ट्रिय पुस्तकालयका पुस्तक दुई वर्ष भन्दा बढी हुँदा पनि बोराबाट बाहिर निकाल्न सकिएको छैन र किताबका बोरा पनि सुरक्षित ठाँउमा राख्न सकिएको छैन । तर अझ धेरै पुस्तकालय र पुस्तकका कुरा पनि गरिरहेकै छौँ हामीले । करिब ३ महिना अगाडि भ्रमण गरेको एउटा सामुदायिक माध्यमिक विद्यालयमा भएका पुस्तक र पुस्तकालयको अवस्था सम्झदाँ यो दिवसले नै गिज्याउँछ मलाई । चार वर्ष अगाडि एउटा गैरसरकारी संस्थाले पुस्तकालय स्थापना गरिदियो । उसले अनुगमन गरुञ्जेल पुस्तकालय चल्यो । उसले छोड्यो, पुस्तकालय बन्द भयो । त्यो कोठाको ताला नखुलेकै वर्ष दिन हुन लागेछ, मैले खोल्न लगाउँदा खिया लागेर खोल्न नसकिने भएको थियो । हेरौँ तस्वीरमा ।

अधिकांश उच्च माध्यमिक विद्यालयमा पुस्तकालय छ ? भन्दा छ, भन्न मिल्छ, तर त्यो पुस्तकालय कक्षा ११ र १२ का विद्यार्थीका लागि मात्र प्रयोगमा आएको पाइन्छ । त्यहाँ भएका पुस्तकको विवरण त झनै उदेक लाग्दो नै छ । कक्षामा शिक्षकले पढाउने पाठ्यपुस्तक नै पुस्तकालयमा थुप्रिएका हुन्छन् । सन्दर्भ सामग्री भन्ने कुन चरीको नाम हो, थाहै हुँदैन । एउटा १ देखि १० सम्म चलेको विद्यालयको यथार्थलाई उदाहरणको रुपमा लिएर केलाउँदा कक्षा १ देखि ५ सम्म विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले दिएका पुस्तक छन् तर कक्षा ६ देखि १० सम्मका लागि पुस्तकालयमै कुनै सामग्री नै छैनन्  । तर पुस्तकालयमा विद्यार्थी अनुकूल सामग्री त कमि रहेछन् नि भन्यो भने, वेदका किताब देखाउनु हुन्छ कतिपय प्रधानाध्यापकहरु ।

गत वर्ष एउटा माध्यमिक विद्यालयको पुस्तकालयमा तलका पुस्तकहरु देखेपछि, बालबालिकाका उपयोगी पुस्तक त भएनन् नि भन्ने जिज्ञासा राखेको थिए मैले, मेरो जिज्ञासामा प्रधानाध्यापक असहमत हुँदै, भन्नु भयो, हाम्रो पुस्तकालयमा कस्ता पुस्तक राख्ने हाम्रो चासो र चिन्ता हो, तपाइँले सिकाउनु पर्दैन । वहाँको यस्तो जवाफ पछि मैले कुनै कुरा गर्न चाहिन । उक्त विद्यालयमा भएका केही पुस्तक सूचि यस्तो थियो।

- कार्ल माक्सको पूँजीभाग १ र २
- शाखाअधिकृत परीक्षा दर्पण
- ऐन संग्रह २ थान
- कानुनी लिखतको मस्यौदा
- निजामती सेवा ऐन नियमावली
- नेपाली साहित्यको नारीबादी समालोचना
- खरिदार परीक्षा दिग्दर्शन
- नायब सुब्बा दिशावोध
- सङ्घर्षका साठी वर्ष
- होमियो चिकित्सा विज्ञान ऋग्वेद, सामवेद, यर्जुवेद
- प्राथमिक शिक्षक प्रतियोगिता दिग्दर्शन ४ प्रति
- निम्न माध्यमिक शिक्षक प्रतियोगिता दर्पण ५ प्रति
- माध्यमिक शिक्षक प्रतियोगितात्मक गाइड ३ प्रति
- विद्यालय निरीक्षक प्रश्नोत्तर प्रथमपत्र र द्तीयपत्र २ सेट
- शिक्षाशास्त्र संकायका बि एड र एम एड का गाइड तथा गेस पेपरहरु

वेद लगायतका थुप्रै बालबालिकाकालागि उपयोगी नहुने पुस्तकहरुले पुस्तकालयका ¥याक भरिएको छ, तर विद्यालय यो स्वीकार्न तयार छैन । बरु विद्यालयका तर्फ बाट तर्क गरिन्छ, यो त ज्ञानको भण्डार हो । पुस्तकालयमा शिक्षा ऐन छैन, तर निजामति सेवा ऐन नियमावली रहेको छ । सामुदायिक विद्यालयसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिको रुपमा काम गर्दाको अनुभवका आधारमा भन्दा अधिकांस विद्यालयका प्रधानाध्यापकसँग शिक्षा ऐन र नियमावली नभएको अवस्था छ, भने भएकासँग पनि अद्यावधिक नभएको पुरानो हुन्छ । अझ ज्ञानको भण्डारको रुपमा मानिएको पुस्तकालयमा समुदायका मानिसलाई प्रवेश गर्ने व्यवस्था नै छैन भने कसरी ज्ञानको भण्डार भन्ने होला ।

माथिको पुस्तक सूचिले बेलाबेला मेरो मानसपटलमा उठ्ने गरेको जिज्ञासा  कतै यी सबै पुस्तक शिक्षकले आफ्ना लागि विद्यालयको स्रोतबाट खरिद गरेको त छैन । पुस्तकालयमा यस्ता पुस्तक हुनु हुदैँन भन्ने आसय होइन तर विद्यालयको स्रोत यस्ता पुस्तक खरिदमा खर्चिनु हुँदैन, यदि कुनै शिक्षकलाई यस्तो पुस्तक चाहिएको छ भने वहाँले आफै किन्नु पर्छ र आफ्नो नाम हस्ताक्षर गरेर पुस्तकालयमा दिन सक्नुहुन्छ । तर विद्यालयको स्रोतले शिक्षकका लागि गाइड त किन्नै पाइँदैन पक्कै पनि ।

विद्यालय घुम्दै जाने क्रममा एउटा विद्यालयको पुस्तकालयमा गिजुभाइको दिवास्वप्न नामको पुस्तक २ प्रति रहेछ । अन्य पुस्तकमा झमक घिमिरेको जीवन काँडा कि फुल, फूलको आँखामा, सोच, खान पुगोस, दिन पुगोस जस्ता थुप्रै पुस्तक रहेछन् । अनौपचारिक कुराकानीका क्रममा मैले सोधिहाले दिवास्वप्न पढनु भयो ? पाँच जना शिक्षकमध्ये ४ जनाले पढेको छैन भन्नु भयो भने एक जनाले पढे भन्नुभयो । पढ्ने शिक्षकलाइ मैले यसो जिज्ञासा राखे कस्तो लाग्यो त, तर वहाँ केही बोल्नु भएन, यसले के देखायो भने, वहाँले पढ्नु भएको छैन कि, पढेको भए त के भन्नु पर्ने । मैले थप कुरा गरे ? जीवन काँडा कि फूल भन्ने पुस्तक पढ्नु भएको छ ? पाँच जना शिक्षक कसैले पनि नपढेको भन्नु भयो । पुस्तक हेर्दा अन्य थुप्रै पुस्तक पनि शिक्षकले पढेको देखिएन । पुस्तकालयका पुस्तक शिक्षक आँफैले नपढ्ने हो भने, बच्चालाई पढ भन्ने नैतिकता पनि त रहन्न नि । कसले के पुस्तक कहिले पढ्यो भन्ने रेर्कडको व्यवस्था पनि अधिकांश विद्यालयमा छैन ।

केही वर्ष पहिले पश्चिम नेपालको एउटा विद्यालय अवलोकनमा गएको थिएँ । एउटा गैरसरकारी संस्थाले पुस्तकालयमा कक्षा १ देखि ५ का विद्यार्थीलाई लक्षित गरेर पुस्तक सहयोग गरेको रहेछ । ठूलो कक्षाका विद्यार्थीलाइ पुस्तकालय प्रयोग गराउन मिल्दैन भनेर मैले जिज्ञासा राखेँ र ठूलो कक्षाका विद्यार्थीले सबै पुस्तक विगार्ने, फाल्ने गर्छन्, भनेको मान्दैनन् भन्नु भयो, पुस्तकालयमा रहेका शिक्षकले । यसै सन्दर्भमा मैले विद्यालयबाट घर फर्कँदै गरेका एक जना कक्षा ९ को विद्यार्थीसँग कुरा गरँे, उनले भने अनुसार, पुस्तकालयमा हाम्रा लागि त कुनै पनि सामग्री छैन, संस्थाले दिएका १ देखि ५ का छन् अनि सरहरुले आफुहरूलाई काम लाग्ने पुस्तक थुपार्नु भएको छ । कहिलेकाँही पुस्तकालयमा जाँदा आफ्ना लागि कुनै सामग्री नभेट्दा रिस उठेर पुस्तक विगारेको कुरा पनि सुनाए उनले ।  अनि पुस्तकालयमा आफ्ना लागि केही पुस्तक नभएको गुनासो गरे उनले ।

संयोग पनि अनौठा आइपुग्छन् कहिले काँही । एउटा विद्यालयको पुस्तकालय उद्घाटनमा पुगेको थिएँ । उद्घाटनमा प्रमुख अतिथिको उपस्थिति ढिलो हुँदा उद्घाटनले वहाँलाई कुरीरहेको थियो । म विद्यालयको वरिपरी घुम्दै थिएँ । विद्यालय रहेको स्थानबाट अलिकति माथि पट्टी एउटा पुरानो भवन र बाहिर पुस्तकालय लेखेको देखियो । अनि जिज्ञासा बढेर आयो । त्यसको बारेमा सोधखोज गरँे त्यो त कुनै बेला अर्को गैरसरकारी संस्थाले स्थापना गरिदिएको पुस्तकालय रे । त्यहाँ भएका पुस्तकको अवस्था, संरक्षणको अवस्था र प्रयोगको अवस्था देखेर हरे शिव भन्नु सिवाय अरु उपाय के छ र । हेरौँ तस्वीरमा ।

विद्यालयमा पुस्तक सहयोग गर्ने प्रचलन पनि बढेको छ, अचेल तर समस्या के छ भने, आफूलाइ कम उपयोग भए पुस्तकालयलाई दिने र विद्यालयले पनि पुस्तकको कुनै उपयोगिता नहेरी पुस्तक लिने र सजाएर राख्ने । ठूला ठूला पदमा पुगेका र केही अन्तराष्ट्रिय पहुँच बनाएका व्यक्तिहरुले आफुले पढेको विद्यालयलाई सहयोग गर्ने भन्दै पुस्तकालयमा ठूला ठूला अङ्ग्रेजी साहित्यका किताव दिएको पाइन्छ । केही पुस्तक प्रकाशकहरुले गोदाम बाट हटउनु पर्ने भए पछि त्यस्ता पुस्तक विद्यालयलाई दिएको पनि पाइयो । पुस्तकालयमा कस्ता पुस्तक, कसका लागि लक्षित पुस्तक राख्ने भन्ने ध्यान नदिदाँ प्राथमिक तहका विद्यालयमा विश्वविद्यालयमा पुस्तकालयमा हुनु पर्ने राजनीति शास्त्रका पुस्तक भेटिन्छन् ।

कसैले दियो भन्दैमा पुस्तकालयको शोभा बढाउन पुस्तक लिने कि, हामीलाई काम लाग्ने पुस्तक देउ, बच्चाले स्तर नमिल्ने पुस्तक हामीलाइ चाहिदैन भन्ने हो । एउटा माध्यमिक विद्यालयको पुस्तकालयका पुस्तक ।

करिब १ वर्ष पहिले भ्रमण गरेको एउटा उच्च माध्यमिक विद्यालयको पुस्तकालयमा जम्मा पुस्तक १७१७ ओटा । गैससबाट १३३८ ओटा, पूर्व विद्यार्थी र कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावकलगायत अन्यत्रबाट प्राप्त २३६ र विद्यालयले खरिद गरेका १४३ थान रहेका छन् । दिनेले आफु अनुकूल दिए होलान्, तर विद्यालयले कस्ता पुस्तक खरिद गरेको छ त भनेर हेर्ने जिज्ञासा भयो मलाई र पुस्तकालयको पुस्तकदर्ता रजिष्ट्रर देखाउन आग्रह गरे । रजिष्ट्रर हेर्दै गर्दा थाहा पाएँ, विद्यालयले खरिद गरेका पुस्तक कक्षा ११ र १२ का विद्यार्थीका लागि मात्र रहेछन् । विद्यालयहरुले  पुस्तकालयमा साना बालबालिकाका लागि पुस्तक खरिद गर्न कुनै चासो राखेको पाँइदैन ।

एउटा माध्यमकि विद्यालयको पुस्तकालयमा भेटिएका यी पुस्तक कसका लागि होलान !

हामी हाम्रा सोच, व्यवहार र प्रवृति परिवर्तन नगरी हामीले चाहेको विकास समृद्धि र सुशासन प्राप्त गर्न कठिन छ । त्यसका लागि आफैबाट शुरु गर्न जरुरी छ । पुस्तकालय बालबालिकाको प्रिय थलो बन्न सकोस् । पुस्तकालयले बालबालिकालाई आर्कषण गर्न सकोस् । पुस्तकालय कसैले दिएका उसका थोत्रा पुस्तक थन्काउने थलो नबनुन् । विद्यालयमा पुस्तकालयका लागि पठाइएका सानो अनुदानको रकममा कसैका आँखा नलागून । पुस्तकालयका लागि खरिद गरिने पुस्तक विद्यार्थीका लागि उपयोगी, स्तर सुहाँउदा खरिद गरियोस् । विद्यालयका पुस्तकालय विद्यार्थीका लागि ज्ञानका केन्द्र बनुन् । शुभकामना ।

 

प्रतिक्रिया