Edukhabar
बुधबार, ०२ माघ २०८१
खबर/फिचर

सांसद भन्छन् - मन्त्री ज्यू संशोधन फिर्ता लिनुस्

सोमबार, १२ भदौ २०७४

काठमाडौं - शिक्षा मन्त्रालयले तयार गरी संसदमा दर्ता गराएको शिक्षा ऐन संशोधन विधेयक फिर्ता लिन सांसदहरुले माग गरेका छन् । सोमबार बसेको संसद बैठकको दोश्रो सत्रमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले प्रस्तुत गरेको शिक्षा नवौं संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव माथि छलफल गर्दै सांसदहरुले यसको औचित्य नभएको बताएका हुन् ।

आठौं संशोधनले नै अस्थायी शिक्षक समस्या समाधानको ब्यवस्था गरेको अवस्थामा संशोधन गरेर नवौं संशोधन गर्नुको तुक नभएको सांसदहरुले दावी गरेका छन् । यसले सार्वजनिक शिक्षाको गुणस्तर ध्वस्त हुने भन्दै उनीहरुले चिन्ता गरेका छन् । सांसद विकास लम्सालले यसले शिक्षाक समस्या कहिल्यै समाधान नगर्ने बाटोतिर सरकार केन्द्रित भएको आरोप लगाए ।

यस्तै सांसद रामेश्वर फुयाँलले शिक्षक परीक्षा रोक्न मात्रै यो संशोधन दर्ता गराएको भन्दै तुरुन्तै फिर्ता लिन मन्त्रीलाई आग्रह गरे । १६ महिना अघि गरेको संशोधन कार्यान्वयन गर्न छाडेर संशोधन गर्नु आवश्यक नरहेको उनको भनाई छ ।

आफैंले ल्याएको कानून कार्यान्वयनमा नलगिकन संशोधन गर्नु कसको स्वार्थले हो ? सांसद गौरी कुमारी ओलीले प्रश्न गरिन् ।  

काँग्रेस सांसद कमला पन्तले भने संशोधनको पक्षमा बोलिन् । संधै शिक्षकको समस्या राख्न नहुने भन्दै उनले फाष्ट ट्रयाकबाट समाधान गर्न सुझाव दिईन् ।

फेल भएपनि सुविधा पाउन पर्ने र प्रतिष्पर्धाको दायरा सहज हुनु पर्ने अस्थायी शिक्षकको माग सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ऐन संशोधनका् प्रस्ताव गरेका हुन् ।
सांसदहरुको कुरा सुने पछि मन्त्री श्रेष्ठले अहिले जवाफ दिईरहेका छन् ।

प्रतिक्रिया