Edukhabar
शुक्रबार, १२ पुस २०८१
सम्पादकीय

+२ को खोजी:अलमलमा विद्यार्थी

आइतबार, ०८ असार २०७१

एसएलसी नतिजा प्रकाशनपछि हरेक वर्ष यस्तो तरंग उत्पन्न हुन्छ । यस्तो तरंगले यसपाली पनि विद्यार्थी र अभिभावकको मन छोइसकेको छ । विस्तारै सञ्चार माध्यम अनेक सुविधाको व्याख्या सहित प्लस टुका ठुल्ठूला विज्ञापनले भरिन थालेका छन् । त्यसमा हरेकले आँफूलाई अब्बल दावी गदै छन् । विद्यार्थी अभिभावकमा चाँहि यतिखेर अन्यौल र अलमल छ । कुन प्लस टु पढ्ने र के विषय पढ्ने ? पछिल्लो बीस वर्षमा ३ हजार ५ सयभन्दा बढी प्लस टुको बजार विस्तार भइसक्दा पनि विद्यार्थी अभिभावकमा वर्षेनी देखिने यस्तो दोधार हटिसकेको छैन ।

अन्यौलका कारण मध्येका हुन् : प्लस टुमा तिर्नु पर्ने शुल्क, पढ्नु पर्ने विषय, भर्ना भए वापत आर्थिक सहुलियत, अतिरिक्त क्रियाकलाप र सेवा सुविधा । एसएलसी उत्तीर्ण सवा २ लाख विद्यार्थीसित अध्ययनका लागि अब तीन वटा विकल्प छन्, प्लस टु, ए लेभल वा प्राविधिक शिक्षामा भर्ना । अहिले प्लस टुको बजार ह्वात्तै बढ्नुको कारण प्लस टु बाहेकको गतिलो कुनै विकल्पनै छैन । आफ्नो उच्च शिक्षाको करियरको भरपर्दो आधार निर्माणका लागि विद्यार्थी अलमलमा पर्नु अस्वभाविक पनि होइन । विद्यालय तहको परम्परागत एक रेखीय सिकाइ, निश्चित मापदण्डभित्रको पढाइ, निश्चित पाठ्यपुस्तक र विषयवस्तुको अध्ययन र परीक्षामा सहभागि भएर आएकाहरुलाई त्यसभन्दा अलि फराकिलो प्लस टुको पाठ्यक्रमले असहज बनाउनु स्वभाविक हो ।

किन अलमलिन्छन् विद्यार्थी ?

प्लस टुमा गरिने विद्यलाय र विषयको छनौटले भोलि के बन्ने भन्ने निक्र्यौल गर्छ । अहिले विषय र विद्यालय छनौटमा सामान्य गल्ती गर्दा पनि जीवनको बाटो बदलिने खतरा हुन्छ । किशोर उमेरका उनीहरु आफू के बन्ने निक्र्यौल गर्न नसक्ने, परिवार, प्लस टु र विद्यालयले पनि त्यसबारे गतिलो सुझाव नदिने भएकाले विद्यार्थी अलमलमा छन् । त्यस बाहेक केही सीमित उच्च माविले गर्ने तडक भडक सहितको विज्ञापनले उनीहरुको अलमललाई बढाएको छ । त्यसैले अहिले आफ्नो रुची, सामाजिक, आर्थिक र पारिवारिक हैसियत, बजारको आवश्यकता अनुसारको प्लस टु छान्न विद्यार्थीलाई हम्मे परेको हो । सजिलो चाँहि के छ भने, जतिनै तडक भडक गरे पनि शहरका उच्चमािवलाई टक्कर दिने गरी अब गाउँ गाउँमा उमावि खुल्दै छन् । त्यता पनि विद्यार्थी तानिएकै छन् ।

अन्यौलको अर्को कारण हो साथीभाइ । माध्यमिक तहसम्म सँगै पढेका साथीभाइको रोजाइले पनि उनीहरुलाई अलमल पारेको हो । साथीले जे पढ्ने आफू पनि त्यही विषय छान्ने र जहाँ पढ्यो त्यहीँ जाने विद्यार्थीको मनस्थितिले पनि विद्यार्थीको निर्णयमा प्रभाव पारेको छ । किशोर उमेरमा अलि बन्धनयुक्त माध्यमिक तहबाट केही खुला मानिने प्लस टुमा जाँदा के के न होला भन्ने कौतुहलता, आँफू अब परिपक्व हुदंै गएको उनीहरुको आत्म विश्वासले पनि लहडी पन बढाएको मान्छन् मनोविज्ञहरु । यसलाई सजिलो गरी बुझ्दा त्यसको कारण उमेर नै हो । आफ्नो गच्छे अनुसारको प्लस टु छान्न नसक्नु र लहडमा लाग्नु प्लस टु छान्न अलमलिनुको अर्को कारण हो ।

प्लस टु भर्ना हुने मध्ये सबैभन्दा बढी शिक्षा शास्त्र समूह पढ्छन् । विशेषगरी सामुदायिक उच्च मावि र ग्रामिण क्षेत्रका विद्यार्थीको रोजाइ यसमा छ । त्यसपछि व्यवस्थापन र मानविकी रोजाइमा पर्छ । पैसा, समय र मेहनतका कारण हुन सक्छ विज्ञान पढ्नेको संख्या अलि कम छ ।

त्यसैले विज्ञापन हेरेकै भरमा, भवन देखाएकै भरमा, भर्ना र मासिक शुल्क महंगो भएकै भरमा कुनै पनि विद्यालयलाई उत्कृष्ट मापन गरेर भर्ना गरे फसादमा परिन्छ । नैतिक पाठ सिकाउने, सिर्जनात्मक बनाउने, सिकाइ मैत्री वातावरण, पुस्तकालय, प्रयोगशाला, खुला चौर, अतिरिक्त क्रियाकलाप, सञ्चालक र शिक्षकको व्याक ग्राउन्ड भर्ना अघि बुझ्नै पर्ने कुरा हुन् । त्यसपछि त्यो विद्यलाय आफ्नो पायकको छ छैन, घर र विद्यालयको दुरी पनि अब हेर्नै पर्छ । बिर्सनै नहुने कुरा के हो भने प्लस टु पढ्ने उमेर र समय जीवनको एकदम महत्वपूर्ण समय हो ।

विद्यार्थी अभिभावकले बुझि राखे हुन्छ, अधिकांश प्लस टुका आफ्ना स्थायी शिक्षक छैनन् । हेलमेट टिचरका भरमा चलेका प्लस टु धेरै छन् । भएका शिक्षक शुद्ध पुस्तक पढाउँछन् कि विद्यार्थीलाई सिर्जनशिल बनाउन हौस्याउँछन् एक पल्ट हेर्दैमा चिनिन्न । त्यसका लागि उनीहरुको उत्पादनले कहाँ कसरी काम गरिरहेको छ, विद्यार्थीले त्यसमा पनि ध्यान दिए राम्रो हुन्छ ।

छोराछोरीको रुची र छनौट लाई अभिभावकले पनि ध्यान दिनु पर्छ । पहिलो पल्ट कक्षा सञ्चालनको तयारी गरेका उच्च माविमा भर्ना गर्नु पूर्व सोच्नै पर्छ । शिक्षा प्रयोगशाला होइन । विद्यार्थीले आफू प्रयोगशाला बन्ने कि पहिलेनै गुणस्तर बनाई सकेकोमा जाने ध्यान दिुनु पर्छ

भौतिक संरचना देखिने कुरा भयो, विद्यार्थीले नदेखिने धेरै कुरामा चासो लिनु जरुरी छ । प्लसटुमा बढ्दो विद्यार्थी सहभागिताले शिक्षामा छलांग त मारेको छ, तर उच्च माविको विद्यार्थी उत्तीर्णदर भने अत्यन्त कमजोर छ ।

विद्यार्थी तान्न ब्याडमिन्टन, क्रिकेट, भलिबल, बास्केटबल राखिएको छ । फेसन सो भएका छन् । डे«सअप परिपरिका छन् । चुलबुले उमेरका विद्यार्थीलाई अनुशासित बनाएर शिक्षण संस्थामा कज्याइ राख्नु प्लस टुका लागि पनि चुनौति पूर्ण छ । धेरै तडक भडकले शिक्षालाई राम्रो गर्दैन ।

अन्त्यमा, राम्रो कलेज कसरी छान्ने

त्यहाँ पढेका पुराना विद्यार्थीलाई सोध्ने, आफू प्रत्यक्ष गएर विस्तृत कुरा बुझ्ने, राम्रा भनिएकाको के राम्रो हो, कसरी राम्रा भए ? स्तरीयताको मापन कसरी गरिएको छ बुझ्ने, विद्यालय र सञ्चालकको इतिहास, विगतको परिणाम हेर्ने ।

प्रतिक्रिया