Edukhabar
शुक्रबार, १२ पुस २०८१
सम्पादकीय

नयाँ शिक्षक : सिकाइ सुधार्ने चुनौति

आइतबार, १८ साउन २०७१

देशभरका सामुदायिक विद्यालयमा यतिखेर नयाँ शिक्षकको स्वागत भइरहेको छ । कति शिक्षक नियुक्तिपत्र झोलामा बोकेर माना चामल सहित विद्यालय खोज्न हिंडेका छन् । जिल्ला शिक्षा कार्यालयहरु शिक्षक अवश्यकताका विद्यालय पहिल्याउँदै नियुक्ति पत्र बनाउन व्यस्त छन् । सामुदायिक विद्यालयहरुमा ११ वर्षपछि स्थायी शिक्षकको प्रवेश हुँदैछ । यसअघि २०५२ सालमा शिक्षक सेवा आयोग दिएर उत्तीर्ण भएकाहरु २०६० सालमा विद्यालयमा प्रवेश गरेका थिए । त्यसयता स्थायी शिक्षकको नियुक्ति भएको छैन । वर्षौ पछि भएको स्थायी शिक्षकको नियुक्ति केही बेरोजगारहरुका लागि रोजगारीको अवसरमात्रै होइन देशका लाखौं विद्यार्थीको भविष्य निर्माण र कमजोर बन्दै गएको विद्यालय तहको सिकाइको स्तर उकास्न चुनौतिपूर्ण अवसर पनि हो ।

शिक्षण अनुमति पत्र भएका, लिखित र मौखिक परीक्षा उत्तीर्ण गरेका र तहगत संरचनाको मापदण्ड अनुसारको शैक्षिक योग्यता पूरा गरेकाहरु शिक्षक छनौट भएका हुन् । यसरी छनौट हुने अधिकांश शिक्षक पेशाका हिसाबले नयाँ छैनन्, पढाइरहेकैहरु धेरै छन् । उनीहरुसित थोरै वा धेरै समयकै किन नहोस् शिक्षण गतिविधिमा संलग्न भएको अनुभव छ । नयाँ नियुक्तिसगै उनीहरुले अब आफ्नो सिकाइ कौशललाई कक्षा कोठामा प्रवेश गराउनु पर्नेछ । आलोचनाको केन्द्रमा रहेका सामुदायिक विद्यालयका शिक्षक र सामुदायिक विद्यालयको साख जोगाउने अंशगत जिम्मेवारी अब उनीहरुमा पनि आइ परेको छ । विशेष गरी सामुदायिक विद्यलायका शिक्षक कामचोर छन्, पढाउँदैनन्, पढाउन जान्दैनन् र पढाइ भएका ठाउँमा पनि शिक्षकले गतिलो पढाउँदैनन् भन्ने गुनासो नयाँ शिक्षकहरुको कक्षा र विषयमा पनि दोहोरियो भने नयाँ पुस्ताका शिक्षकहरुको गालामा पनि नमेटिनेगरी अक्षम शिक्षकको पोतो लाग्ने छ । यसबाट उनीहरु जोगिनु पर्छ ।

संसारमा शिक्षण अत्यन्त सम्मानित पेशा हो । विकसित मुलुकहरुमा दक्ष व्यक्तिमात्रै शिक्षक बन्ने हैसियत राख्छन् । दुःखका साथ भननु पर्छ, नेपालमा यो कुरा लागू हुन सकेन, सकेको छैन । विशेषगरी अन्त कतै केही काम नपाएपछिको अन्तिम विकल्पका रुपमा शिक्षण पेशा बन्दा सिकाइ कमजोर भएको हो भन्ने कुरा नयाँ होइन । अझै त्यही प्रवृत्ति दोहोरिने क्रम रोकिएको छैन । सिकाइ अत्यन्त सजिलो र सार्है जटिल काम हो । कमजोर शिक्षकबाट त्यो सम्भव छैन । त्यसैले कसैले शिक्षणलाई स्थायी जागिरका रुपमा मात्रै हेरेर खुसी भएको छ भने नानीहरुका लागि यो ठूलो अन्याय हुनेछ ।

अहिले नियुक्त भएका शिक्षक शिक्षा शास्त्र संकाय पढेका, कक्षा शिषणको प्रयोगात्मक अभ्यास गरेका, विद्यार्थी मूल्यांकन, विद्यार्थीको सामाजिक, आर्थिक, पारिवारिक अवस्थाका आधारमा तिनको मनोविज्ञान कसरी बुझ्न सकिन्छ र त्यही अनुसार सिकाइलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने अध्ययन गरेर आएका छन् । नेपालका विद्यालयका अभिभावक तथा विद्यार्थीमा विविधता छ भन्ने कुरा उनीहरुले हेक्का राखेको हुनु पर्छ । जाति, भाषा र धर्मका हिसाबले पनि विद्यालय तहको सिकाइ प्रभावित हुन्छ । बालबालिकाको मातृभाषा एउटा र विद्यालयको सिकाइ भाषा अर्को हुदा प्रभावकारी सिकाइ हुन सक्दैन । यो कुरा नयाँ नियुक्त भएका शिक्षकले पक्कै बुझेको हुनुपर्छ । सबै विद्यार्थी समान क्षमताका हुदैंनन् र हरेक विद्यार्थी क्षमतावान हुन्छन् भन्ने शिक्षकले बुझेन भने विद्यालयको शिक्षण कुनै हालतमा सप्रिन सक्दैन । कुरा सामान्य हुन् तर यिनै सामान्य कुरा ख्याल नगरेर हामीले हाम्रा केटाकेटीमाथि अन्याय गरिरहेका छौं भन्ने सम्झेर नयाँ शिक्षक कक्षामा जानुपर्छ ।

कक्षा एकमा भर्ना भएकामध्ये झन्डै ७० प्रतिशत विद्यार्थी कक्षा १० पुग्दा हराउँछन् । यसका अन्य अर्थराजनीतिक कारण पनि छन् तर विद्यार्थीले विद्यालय छाड्नुमा शिक्षकको सिकाइ शैलीनै पहिलो कुरा हो । शिक्षकले आफूलाई विद्यार्थी केन्द्रीत नगर्दा समस्या आएका हुन् । शिक्षक के ठान्छन् भने मैले जानेको छु र मैले जानेको मात्रै अन्तिम सत्य हो । म गुरु हुँ । मैले जे सिकाएको छु, त्यो कुरा विद्यार्थीले सिक्नु पर्छ । म निर्देशक हुँ र विद्यार्थी मेरो निर्देशनको पालक हुन् । यो उहिल्यै चल्ने गुरुकुलीय शिक्षा पद्यतीको सिकाइ शैली हो । त्यो बेला फरक थियो । सिकाइको शैली फरक थियो । अहिले बेला र सन्दर्भहरु बदलिएका छन् । शिक्षक केन्द्रीत यो एकोहोरो शैलीले सिकाइलाई निरस बनाउँदै लगेको छ । शिक्षकले म माध्यम हुँ र मैले विद्यार्थीसित सिकेर उनीहरुको आवश्यकता अनुसारको क्रियाकलाप गर्नु पर्छ भन्ने नस्वीकारेसम्म शिक्षा सुधार सम्भव छैन । नीति नियम एक ठाउँमा होला, शिक्षक मात्रै इमानदार भएर लाग्ने हो भने विद्यालय शिक्षा सुधारमा धेरै समस्या आफैं सल्टेर जानेछन् ।

विद्यालय र विद्यार्थी पनि यतिखेर नयाँ शिक्षकको  स्वागतमा बसेका छन् । विशेषगरी प्रधानाध्यापकको भूमिका यसबेला महत्वपूर्ण हुन्छ । विद्यालयका गतिविधि, शिक्षा स्तर, विषय र तहगत रुपमा विद्यार्थीको अवस्था नयाँ शिक्षकलाई खुलस्त नराखी प्रधानाध्यापकले हाकिमको रुप देखाए भने यसबाट नयाँ शिक्षकको मनोविज्ञानमा सकरात्मक प्रभाव पर्न सक्दैन । नयाँ शिक्षकले पनि मैं हु भन्ने व्यवहार देखाए साथी शिक्षकसित सहकार्यको काम अघि बढ्न सक्दैन । साथी शिक्षक र नया शिक्षकलाई एउटै मेलोमा राखेर सगँसगैं लैजान प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुन्छ । नयाँ शिक्षक जोशिला हुन्छन् । त्यही जोशमा उनीहरुले गर्ने प्रयोग कहिले काहिँ सन्दर्भ अनुसार फरक पर्न सक्छ । यसमा विद्यालयका पुराना शिक्षकले हतोत्साही गर्न सक्छन् । प्रधानाध्यापक यसमा सचेत रहनु जरुरी छ । सुधारका लागि विकल्पहरु दिन प्रधानाध्यापक पनि सक्षम हुनु आवश्यक छ । पहिलो कक्षाबाट निस्कदा शिक्षकको अनुहारमा देखिने भावलाई प्रधानाध्यापकले पढ्न सक्नु पर्छ । र, हरेक असहजतालाई सहज बनाइदिने कर्तव्य प्रधानाध्यापकमा हुन्छ ।

नयाँ शिक्षकको बाँडफाँड विद्यालयको दरबन्दी, विषय विज्ञता र विद्यालयको आवश्यकता अनुसार भएको छ । सामुदायिक विद्यालयहरु विषयगत शिक्षकको अभावमा छन् । विशेष गरी अंग्रेजी, गणित र विज्ञानका शिक्षक अपुग छन् । विद्यालय तहमा प्राथमिक देखि माध्यमिक तहसम्मका विद्यार्थी यिनै विषयमा कमजोर छन् । यसको सुधार सबैभन्दा महत्वपूर्ण पाटोको रुपमा छ । विषयगत शिक्षकले आफ्नो विषयमा विद्यार्थीलाई दक्ष बनाउँछु, जीवन चिनाउँछु र भोलिका लागि सक्षम बनाउँछु भनेर सोच्नु जरुरी छ ।

शिक्षकको सबैभन्दा बढी आलोचना कक्षामा नगएको र नपढाएकोमा हुन्छ । राजनीतिक दलको झोले बन्ने, शिक्षक भएकोमा भन्दा कुनै दलको कार्यकर्ताको परिचयमा चिनाउँदा गर्व महसुस गर्ने, कामचोर्न पाउँदा आफूलाई शक्तिशाली ठान्ने शिक्षकको व्यवहार निन्दनीय छ । दलप्रतिको आस्था प्रजातान्त्रिक समाजमा स्वीकार्य छ । तर कक्षा छाडेर दलको झन्डा बोक्दै विद्यार्थी, अभिभावक, विद्यालय र राज्यको लगानीमाथि प्रहार गर्ने शिक्षकको व्यवहार कदापी स्वीकार्य हुन सक्दैन । नयाँ शिक्षक यसबाट जोगिनु जरुरी छ । नयाँ शिक्षकले केही गर्नु पर्दैन, कक्षामा गएर पढाइदिए मात्रै पुग्छ । सिकाइ शैलीलाई थोरै बदलिदिएर व्यवहारिक बनाइदिए मात्रै हुन्छ । यति भए उनीहरुको प्रसंसा सुरु हुनेछ ।

पढाउन सबैले सक्छन् । सिकाउन र खासमा जीवनबोध हुने गरी सिकाउन सबैले सक्दैनन् । नयाँ शिक्षकले विद्यालय प्रवेश गरेकै दिनदेखि केटाकेटीलाई पहिले आफूलाई चिनाउनु छ । र, त्यो परिचय एउटा शिक्षकको परिचय होइन विद्यार्थीको जीवनको पथ प्रर्दशकको परिचयमा बदलियो भने शिक्षक हुनुले सार्थकता पाउने छ । शुभकामना !

प्रतिक्रिया