Edukhabar
सोमबार, १० मंसिर २०८१
सम्पादकीय

सामुदायिकको झीनो सुधार संकेत

शनिबार, ०५ असार २०७२

यस वर्षको एसएलसीमा सामुदायिक विद्यालयको नतिजा गतवर्ष भन्दा ४ प्रतिशतले बढेर ३३ प्रतिशत पुगेको छ । विद्यार्थी सहभागिताको दाँजोमा सामुदायिक विद्यालयको यो उत्तीर्ण प्रतिशत उत्साहजनक होइन तर विगत वर्षको तुलनामा भने यो सुधारको संकेत हो ।

सामुदायिकका १ सय परीक्षार्थीमा ३३ जनामात्रै पास हुनु उत्साही हुनु पर्ने ठूलो कुरा होइन । तर यो सुधारको संकेत चाहिँ हो । यसलाइ सकरात्मक रुपमा लिनु पर्छ । कम्तीमा सामुदायिकको खस्किँदो साखलाई यसवर्षको नतिजाले केही आशा छरेको छ । यसको संकेत के हो भने पहल गरे सामुदायिक विद्यालयले नतिजा सुधार्न सक्छन् ।

सामुदायिक विद्यालयको खस्किँदो नतिजा हरेक वर्ष सबैको टाउको दुखाइको विषय किन बनेको छ भने सरकारको सबैभन्दा बढी लगानी विद्यालय तह र त्यो पनि सामुदायिक विद्यालयको प्राथमिक र मध्यमिक तहमा गरेको छ । स्थायी शिक्षक दरबन्दी, आफ्ना भवन, सरकार तथा दाताको नियमित आर्थिक सहयोग हुदाँ पनि सामुदायिकले गर्नुपर्ने जति सफलता हासिल गर्न नसक्नु त्यसको आलोचनाको कारण हो । लगानी अनुसारको प्रतिफल झण्डै शून्य प्राय रहेकाले सामुदायिकप्रति घट्दै गएको विश्वासलाई यसपालीको सुधारको संकेतले पक्कै पनि फिर्ता ल्याउन सक्छ । सामुदायिक पनि सबल हुँदैछन् भन्ने सन्देश आम अभिभाकमा गए गुमेको विश्वास ढिलो चाँडो सामुदायिक विद्यालयले प्राप्त गर्न सक्छ र देशमा आम नागरिकका छोराछोरीको सहज शिक्षाका लागि त्यो अवस्था सिर्जना हुनु पर्छ ।

यद्यपि अहिले सामुदायिकबाट एसएलसीमा सहभागीमध्ये ६७ प्रतिशत विद्यार्थीको निधारमा अनुत्तीर्णको छाप लागेको छ । यो हासी मजाक र ख्यालख्याल कुरा होइन । दस वर्षसम्म विद्यलायमा बिताएको ठूलो समूह उत्तीर्णभन्दा बाहिर रहनु लज्जास्द असफलता हो । झीनो सुधारले ठूलो असफलताको धब्बालाई छोप्न पक्कै सक्दैन । तर शिक्षामा सुधार आजको भोलि र एकै पल्ट हुन्छ भन्ने छैन । क्रमिक र विस्तारै हुने सुधारका रुपमा अहिलेको झीनो सफलतालाई लिने हो भने भोलिका दिनमा सामुदायिक शिक्षाको सुधार सम्भव छ भन्ने संकेत यसपालीको नतिजा हो । यद्यपि विभिन्न जिल्लाका सामुदायिक विद्यालयको नतिजा शून्य रहेको कुरा भने हामीले भुल्नु हुदैन । हजारौँ विद्यार्थीको यो असफलता विद्यार्थीको शर्मको वा हिनताको विषय होइन, त्यस विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक, अभिभावक, जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग र समग्रमा शिक्षा मन्त्रालयको अनुहारमा पोतिएको असफलताको पोतो हो ।

आफ्ना विद्यार्थी किन पास हुन सकेनन् भनेर विषय शिक्षक शिक्षकले आजौट सोच्न थाले भने अर्को वर्षका लागि थप सुधारको आरम्भ त्यही बाट हुन्छ ।केही विद्यालय साँच्चै आर्थिक, शैक्षिक, भौतिक र प्राज्ञिक समस्यामै होलान् र असफलता हात लाग्यो होला तर झण्डै ८ हजार भन्दा बढी सामुदायिक माध्यमिक विद्यालय कमजोर अवस्थामा छन् ? तिनका शिक्षक त्यति अयोग्य छन् जो आफूले पढाउने विषय विद्यार्थीलाई बुझाउन सक्दैनन् र आफूले पढाउने विषयमा विद्याथी उत्तीर्ण गराउन सक्दैनन ? सबै विद्यार्थी फरक क्षमताका हुन्छन्, पढाएको कक्षाका सबै विद्यार्थीले नबुझ्ने र एउटा विद्यालयबाट एक जना पनि विद्यार्थी अनुतीर्ण हुने पनि हुन्छ ? प्रश्न सबैभन्दा पहिलो शिक्षक पट्टि जान्छ । त्यसको जवाफ विषय शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र अभिभावकबाट खोज्नु पर्छ र तिनले त्यसको जवाफ दिनु पर्छ । त्यसपछि राज्यको केन्द्रीय तहबाट दिनु पर्ने सुविधाको अभाव हो होइन पहिलिन्छ । असफलताका सबैभन्दा ठूलो दोषी अहिले शिक्षक नै हो । त्यसैले अहिले फेल भएका लाखौँ विद्यार्थी होइनन् हजारौँ शिक्षक हुन् । शिक्षक भन्दा यहा शिक्षा नीति र कार्यान्वयनको पाटो पनि सँगै आउँछ । त्यसैले आफ्नो अनुहारमा लाग्ने असफलताको पोतोलाई बेलैमा नहटाए सामुदायिक विद्यालयमात्रै होइन भोलिका दिनमा सामुदायिकका शिक्षकप्रति अलिअलि बचेको विश्वास पनि भत्किने छ । जुन दिन शिक्षकप्रति विश्वास रहदैन त्यसपछि सामाजिक संरचना र अनुशासनमा गम्भीर समस्या आउनेछ ।


त्यसैले अहिलेको सुधारका प्रमुख जिम्मेवार पनि शिक्षकनै हुन् । उनीहरुको अथक मेहनतबाटनै झीनो भए पनि सुधार सम्भव भएको हो, त्यसको जस उनीहरुले लिनु पर्छ । शिक्षकको सक्रियता र समुदायको चासो रहेका विद्यालयको नतिजा यसपाली केही सुध्रेको देखिन्छ । शिक्षकहरु जसरी उत्तीर्ण विद्यार्थीको सफलतामा खुसीको अविर दल्छन्, सफल विद्यार्थीले बाड्ने मिठाइ खाएर मुख गुलियो बनाउँछन् हर्षले हास्छन् असफल विद्यार्थीप्रति पनि जिम्मेवार हुनु पर्छ र त्यसको अपजस पनि लिन पछि हट्नु हुन्न । उनीहरु कुनै पनि बहानामा त्यो अपजसबाट मुक्त हुन सक्दैनन् ।

सुधारको यही दर कायम गर्ने हो भने पनि कक्षा १० को वार्षिक परीक्षामा विद्यार्थी उत्तीर्ण प्रशित सुधार हुन झण्डै २० वर्ष लाग्नेछ । हामी कछुवा गतिको सुधारमा जाने कि फट्को मार्ने ? नीति निर्मातादेखि कार्यान्वयन तहसम्मकाले आजै सोच्नु पर्छ । हरेक साल एसएलसी नतिजापछि केही दिने बहस तात्छ, सुधारका प्रतिवद्धता हुन्छन् र प्रत्येक वर्ष एसएलसीपछि यो दोहोरिइरहने नियमित प्रकृयाजस्तै बनेको छ । यसको अन्त हुनु पर्छ ।

ठूलो असफलतावीचको सानो सफलतामा पनि कहिले काही खुसी हुनु पर्ने बाध्यता हुन्छ । वास्तवमा त्यो केही नहुदा पनि कहिले काहिँ सम्झिनु पर्ने खास भइ दिन सक्छ । हामी अहिले त्यही अवस्थामा छौं । यसपालीको झीनो प्रगतिलाई सुधारको संकेत मानेर अघि बढ्न सके सामुदायिक विद्यालयको खस्किँदो साखलाई जोगाउन हामीलाई उत्साह पैदा हुनेछ । भनिन्छ, उत्साहले लगन भित्र्याउँछ । र जहाँ लगन हुन्छ त्यहाँ प्रगति सम्भव छ ।

फोटो : ईन्टरनेट

प्रतिक्रिया