Edukhabar
आइतबार, ०७ पुस २०८१
विचार / विमर्श

बेहाल दरवार !

बुधबार, ०९ असोज २०७०

सामुदायिक विद्यलाय सुधारका कागजी योजना बन्ने शिक्षा मन्त्रालय रानी पोखरीको दरबार हाइस्कुलबाट धेरै टाढा छैन । देशको पुरानो सामुदायिक विद्यालयको हालत हेर्दा लाग्छ देशमा शिक्षा मन्त्रालय नै छैन । यो बेहाल दरबार हाइस्कुलकोमात्रै होइन, देशका सबै सामुदायिकको अवस्था यसैगरी खस्किदै गएको छ । यसको कारण राज्य र नीति निर्मातानै हुन् ।

कुनै बेला थियो, रानी पोखरी अघिको दरबार स्कुल पढ्नु सानको विषय हुन्थयो । अहिले त्यही दरबार हाइस्कुलका कक्षाहरु खाली छन् । भएका विद्यार्थी पनि सामान्य परिवारका छन् । हिजो आज दरवार हाई स्कुल पढ्ने विद्यार्थीको बुझाई र भोगाई फरक छ । एक जना विद्यार्थी विकि तामाङ्, गरीवीको कारणले दरवार हाईस्कुलमा पढ्नु परेको बताउँछन् । उनी भन्छन् “पैसा हुँदा बोर्डिङ गईयो, आमा वावुसँग अहिले पैसा सकियो अनी यसो यहाँ आएको ।” दरवार हाईस्कुलको रुप यसरी फेरिदोँ छ । यो विद्यालय पढेका हजारौँ ब्यक्ति देशका नीति निर्माण देखि योजना तर्जुमा गर्ने निकाय सम्म पनि पुगे । तर विद्यालयको हालत दिन दिनै खस्कदोँ ।
ईतिहास ः भानु मावि÷ दरवार हाई स्कुल
लालपुर्जा लगायतका औपचारिक लेखापढिमा भानु मावि दरवार हाई स्कुल उल्लेख भएपनि दरवार हाई स्कुल कहिले देखि भानु मावि बन्यो भन्ने स्पष्ट लगत भेटिदैँन । तर, विक्रम सम्बत २०२५ साल तिर विद्यालयको नाम भानु मावि राखिएको अड्कल छ प्रधानाध्यापक धनञ्जय यादवको । नाम जे भए पनि विद्यालयको ख्याति भने दरवार हाई स्कुलकै नाममा कायम छ ।
देशको केन्द्र काठमाण्डु, काठमाण्डुको केन्द्र रानीपोखरी र रानीपोखरी छेउमा पूर्व तिर फर्केर रानी पोखरीलाई नै हेर्दै गरेको लमतन्न राणाकालिन ऐतिहासिक तथा विशाल भवनमा छ दरवार हाई स्कुल । तत्कालिन राणा प्रधानमन्त्री जँगवाहदुरको चर्चित बेलायत भ्रमण, यो विद्यालय खुल्नुको रचना गर्भ हो । जनताका छोराछोरीले पढे भने बाठा हुन्छन् र आफ्नो राजपाठमा धावा बोल्छन् भन्ने मान्यताको जगमा अडिएको थियो राणा शासन । तर बेलायतको प्रगतिको पछिल्तिर शिक्षाको भूमिकालाई बुझ्न जँगबहादुर जत्तिका बाठा शासकलाई गाह्रो भएन । त्यसैले, शिक्षाको पहुँच आफ्ना सन्तानमा नपुर्याउने हो भने प्रगति हुँदैन भन्ने कुराको बोध जँगवहादुरलाई हुनु नै दरवार हाईस्कुल खुल्नुको कारण बन्यो । राणा खलक तथा उनीहरुका नजिकका भाई भारदारका सन्तान पढाउन भन्दै एक सय ५९ बर्ष अघि अर्थात् विक्रम सम्बत १९१० सालमा दरवार हाईस्कुल खुल्यो । बेलायतबाटै झिकाईएका मिष्टर केन्निङ् सँस्थापक प्रधानाध्यापक बनाईए । कुनै बेला दरवार हाई स्कुलमा पढ्न राणा अथवा राणाले ईच्छाएका ब्यक्ति नै हुनुपथ्र्यो, २००७ सालमा प्रजातन्त्र आएपछि दरवार हाई स्कुलमा जनताका छोराछोरी पनि पढ्न पाए ।


खस्कदोँ साख : घट्दो विश्वास


विद्यालय राम्रो र नराम्रो भन्ने कुराको अहिले चलि आएको मापन भनेको एस एल सीमा हुने उत्तिर्ण प्रतिशत नै हो । दरवार हाई स्कुलको गएको बर्षको उत्तिर्ण प्रतिशत जम्मा ३७ थियो । यो बर्ष अझै घटेर ३२ प्रतिशत भयो । २५ जनाले एस एल सी दिएकोमा एक जना विशिष्ट, छ जना प्रथम र एक जना दोश्रो श्रेणीमा पास भए । बाँकी सबै फेल । विद्यालय राम्रो बन्ने भनेको त्यहाँ हुने पढाई, सिकाई उपलिब्ध र शैक्षिक वातावरणले निर्धारण गर्छ । देशमा रहेका कतिपय सार्वजनिक विद्यालयहरुले गतिलो प्रगति गरिरहेका कुरा पनि सार्वजनिक भईराखेका छन् । तर डेढ शताव्दि भन्दा धेरै ईतिहास बोकेकोे ऐतिहासिक विद्यालय भएर पनि दरवार हाईस्कुलमा अहिले जम्मा साढे दुई सय विद्यार्थी छन् । अर्थात् यस प्रति अभिभावक र विद्यार्थीको विश्वास छैन ।


साँघुरा कोठाहरु, निश्तिच क्षेत्र तथा सिमित भौतिक साधन भएका विद्यालयहरुले कति उन्नती गरिसके । तर काठमाण्डुको केन्द्रमा नौ रोपनी ३ आना, दुई पैसा एक दाम क्षेत्रफलमा फैलिएको भवन, झण्डै तीन फुट चौडाई भएको गाह्रो, तीन तले राणाकालिन भवनमा रहेका तीन दर्जन कक्षा कोठा छ दरवार हाई स्कुलमा । आफूले प्रयोग गरेर बाँकी रहेको क्षेत्रमा सँस्कृत विद्यालयका कक्षा समेत चल्छन् । २० शिक्षकको दरवन्दि सहित २३ जना शिक्षक छन् । पर्याप्त भौतिक सुविधा हुँदा हुँदै पनि विद्यालयको अवस्था दिन दिनै खस्किदोँ छ ।


तुहिएको योजना


विद्यालयको ऐतिहासिक साख उँचो राख्न भन्दै चार बर्ष अघि विशेष अभियाननै चल्यो । त्यहि अभियान अन्र्तगत नेपालमा विद्यालय ब्यवस्थापनमा अब्बल ठहरिएका नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनका पूर्व अध्यक्ष तथा उच्च माध्यामिक विद्यालय सँघका अध्यक्ष उमेश श्रेष्ठले विद्यालय सुधारको जिम्मा लिए । तत्कालिन शिक्षा मन्त्री प्रदिप नेपालको समर्थनमा उनले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालय सुधारका योजना बनाए । तर, डेढ बर्ष अघि केही गर्न सकिन भन्दै विद्यालयबाट वाहिरिए । दरवार हाई स्कुल बनाउँछु भन्दै जिम्मा लिएको ब्यक्ति केही नगरि फर्कनुको पछिल्तिर के कारण होला त ? श्रेष्ठ भन्छन् – “त्यहाँ यति ठूलो राजनिति रैछ, विषय नमिल्ने शिक्षक हटाउन खोजेको समर्थन पाईन, विभिन्न यूनियनमा आवद्ध शिक्षकहरु पढाईमा ध्यान नदिने बरु राजनितिक गतिविधिमा ध्यान दिदाँ समस्या जटिल बनेको रैछ ।” हुन पनि श्रेष्ठले सरकारले नदिएपनि रोटरी सँग सहकार्य गेरर कम्युटर ल्याव खोल्न खोजे सकेनन् । हाजिर गरेर जागिर खाने शिक्षकबाट आजित भएको बताउँछन् उनी । “ प्लस टु खोल्न खोजेको शिक्षकहरु नै बाधक भए ।” यसले शिक्षकलाई के फाईदा हुँदो रैछ त ? उनी भन्छन् “त्यहाँका अधिकाँश शिक्षक स्नातक पास मात्रै छन्, प्लस टु भएपछि डिग्री पास भएको शिक्षक चाहिन्छ, अनी आफ्नो हैसियत सकिन्छ भनेर शिक्षकहरुले असहयोग गरे ।” शिक्षकहरु जिम्मेवार नभएकैले दरवार हाईस्कुल नसप्रेको निष्कर्ष छ श्रेष्ठको । सँसार भरी पुरानो ईतिहास बोकको विद्यालयको छुट्टै पहिचान हुन्छ । तर दरवार हाईस्कुलको सवालमा सरकारको कमजोरी देख्छन् श्रेष्ठ “ईतिहास बोकको विद्यालयलाई तलव मात्रै हैन, स्पेसल रुपमा कार्यक्रम लागू गर्नु पर्छ । मोडलका रुपमा स्कुल बनाउन स्पष्ट नीतिको आवश्यकता छ । तर मेरो जीवन कालमा २८ वटा मन्त्री परिवर्तन भईसक्यो तर शिक्षालाई परिवर्तन गर्छु भन्ने मन्त्रीनै आएन ।”


शून्य योजना !


विद्यालयका प्रधानाध्यापक धनञ्जय यादव विद्यालयमा राजनिति हावी भएको कुरा ठाडै नकार्छन् । विद्यालय वरीपरी बस्ति नभएको अनी बोडिङ् प्रतिको लगावले विद्यार्थी सँख्या घटेको उनी दावी गर्छन् । पढाई राम्रो हुने हो भने त टाढा बाट पनि विद्यार्थी आउँथे होलान् नी ! भन्ने प्रश्नमा उनी भन्छन् “शिक्षित परिवारको विद्यार्थी भन्दा अशिक्षित परिवारको विद्यार्थी धेरै भएकोले नतिजा खस्क्यो, विषयगत शिक्षक चाहिन्छ हामी हाम्रो मनखुसीले शिक्षक राख्न सक्दैनौँ ।” ३६ साल देखि यहि विद्यालयमा पढाउँदै आएका छन् यादव, उ बेलामा खचाखच हुने विद्यार्थी सँख्या अहिले न्यून भईरहेको देखिरहँदा दिक्क त मान्छन् । तर यो दिक्क सल्टाउने खासै उपाय उनी सँग छैन “नीति नीयमको खाता पाता हेर्नै पर्यो, सरकारी स्कुल भएकोले सबैको सर सल्लाहले काम गर्नु पर्छ ।” काठमाण्डुको मुटुमा रहेको दरवार हाईस्कुलको जग्गा सदुपयोग गर्न नसकेको उनी स्विकार्छन्, तर उपयोग गर्ने बारेमा खासै योजना छैन, तर भन्छन् “यो जग्गामा सपिङ् कम्प्लेक्स वा अन्य ब्यापारिक भवन बनाएर आर्थिक श्रोतको गतिलो बाटो निकाल्न सकिन्छ यस बारेमा सम्बन्धित ठाउँमा कुरा भईरहेको छ, आशा छ की छिट्टै हुन्छ ।” उनको तर्क छ “महँगो जग्गा छ गर्न नसके बरु नसकियोस् जग्गाको सुरक्षा गर्नु पनि सम्पत्ति जोगाउनु बरावर नै हो ।” योजना र सुधारका कामको चर्चा गर्दा उनीसँग निकै छोटो बुँदा छ, “यवस्थापन समितिको सल्लाह अनुसार प्राथमिक कक्षामा अँग्रेजी माध्यामबाट पठन पाठन शुरु भएको छ । पुस्तकालयको पुराना ढोका मर्मत तथा एक दुई तिन कक्षालाई मर्मत गरिएको छ ।”
एकातिर देशभरी रहेका सामुदायिक विद्यालयको खस्कदोँ स्तर अर्कातिर चरम राजनितिक प्रभाव र योजनाको अभावले गाँज्दा दरवार हाई स्कुलको यो हविगति भएको देखिन्छ । देशभर रहेका सामुदायिक विद्यालयको स्तर उकास्न पुर्याउनु पर्ने ध्यान त छँदै छ अर्कातिर ईतिहास बोकेका दरवार हाईस्कुल जस्ता विद्यालयको ऐतिहासिकता जोगाउनु पनि आवश्यक छ । यस तर्पm शिक्षासँग सम्बन्धित निकायको बेलैमा ध्यान जानु जरुरी देखिन्छ ।

प्रतिक्रिया