Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
विचार / विमर्श

'तिमीहरु अझै लौरो चलाउँछौ ?'

मंगलबार, ३१ असार २०७१

- यम घिमिरे

एक दिन मिस ह्यारिसनले भनेकी थिइन्,'हामी केटोकटीलाई छोटो दुरीको भ्रमणमा लैजादै छौं, रुची भए टिममा स्वागत गरौँला ।' आफू पनि एक बेलाको शिक्षक । त्यसमाथि आफ्नै छोरी पढ्ने एडमन्टनको सेन्ट क्याथरिन क्याथलिक स्कुलकी शिक्षिकाको आग्रह । मैले यसलाई अवसर ठानेँ र र केटोकटीको भ्रमणमा जाने सहमति जनाएँ , 'हुन्छ ।'

सेन्ट क्याथरिन क्याथलिक स्कुलले बेलाबेला आफ्ना विद्यार्थीलाई यस्तो भ्रमण गराइरहन्छ । छेरी ती भ्रमणमा सहभागी भइरहन्छे । मिस ह्यारिसन अस्ट्रेलियाको एक क्याथोलिक स्कुलबाट एक बर्षे टिचर एक्सचेन्ज प्रोग्राम अन्तर्गत क्यानडाको एडमन्टन आएकी हुन् । मेरी छोरीको कक्षा (कक्षा एकमा उनी रूम टिचर (दिनभरि एउतै शिक्षकले एउटा कक्षामा पढाउने) बनेकी शिक्षक छिन् । यही नाताले चिनजान भयो र भ्रमणको निम्ता पाइयो । ह्यारिसन छुट्टि मनाउन नेपाल जान चाहन्छिन् । म नेपालकै हु भने पछि उनका लागि नेपलाका प्रतिको चासो झन बढेको छ ।

 

आप्रवासीका रुपमा क्यानाडाको एडमन्टन आएर छोरा छोरी पढाइरहेका अधिकांश नेपाली अभिभावकको गुनासो सुनिन्छ, 'क्यानडाका स्कुलमा कक्षा ५ भन्दा तल्लो कक्षाका विद्यार्थीलाई पढाउँदैनन् । दिनभरि खेल्न र रङ्गरोगनमा भुल्याएर राख्छन्। यहाँको भन्दा त नेपालको पढाई निकै राम्रो । यताको पढाइले बर्बाद भयो, उता भए अहिले के के जानिसक्ने थिए, यहा आएर जानेको पनि जानेको नि सबै बिर्से ।’ यस्ता गुनासाहरु सुन्दै आएको मलाई त्यही कारण पनि यो भ्रमण फलदायी होला भन्ने लाग्यो र तत्काल भ्रमणमा सहभागी हुने सहमति जनाएँ ।

तोकिएको विहानको १०:३० बजेनै विद्यार्थी ओसार्ने सुन्तलेरंगको बस बाहिर हाजिर थियो । कक्षा एकको सेक्सन ए बि सि सेक्सनका बिद्ध्यार्थी भ्रमणमा सामेल हुदै थिए । आ-आफ्ना सेक्सनका बालबालिकालाई सम्बन्धित शिक्षकले एकएक कुडुलो बनाएर तयार भए। तीन समूहमा आ-आफ्ना शिक्षक, एकएक सहयोगी र अन्य स्वयंसेवी अविभावक छन्। मेरो समुहमा शिक्षक ह्यारिसन, एक सहयोगी र मसुद्ध तीनजना अविभावक छौं । शिक्षक ह्यारिसनले मेरो भागमा उनको कक्षाका २१ मध्ये ७ जना जिम्मा लगाइन जसको रेखदेख भलिभाँती सबै मैले हेर्नुपर्ने रे भ्रमणभरि । उनले मलाई सचेत गराउदै के पनि भनिन् भने अहिले जसरी लगिएको छ साझ त्यसैगरी विद्यार्थीलाई यहा ओराल्नु पर्नेछ सकुशल । ‘सेफ्टी फर्स्ट’ मान्यता जीवन संस्कार नै भइसकेको यो मुलुकमा सीट क्षमताभन्दा एकजना बढी बस्दैनन् । सबैजना सुरक्षित तवरले बसे भन्ने कुराको अन्तिम जाँच गर्न हाम्रो अन्तरे भाषाका ‘गुर्जी’ माने यहाँका ड्राइभर तीनचार पटक बसभित्र अघिपछि ओहोरदोहोर गरे र सबैजना गरेर झन्डै ६० जनाको प्राण बोकेर उनी सोझिए उनले देखेको मैले नदेखेको बाटो ।

भ्रमणस्थल रहेछ स्कुलबाट ३५ मिनेट दुरीमा रहेको फोर्ट एडमन्टन पार्क। १४७ बर्षअघि क्यानाडाको एकीकरण भएपछिको र सन् १८८५ आसपासको क्यानेडेली जीवन र जीविकाको एक जीवित संग्राहलय रहेछ यो पार्क।

बच्चाहरु यात्रामा एकदम अनुशासित भएर बसे । साना छन् तर आफ्नो र आफ्ना झोला सर्दामको  देखख्याल यति होशियारी साथ गर्छन् कि, सानो भौतिक रुपमा यी ठुला मान्छे निक्लिए । बिहानै निस्केकाले मैले आफ्नो मानोपिठो बोकेको छु आफ्नो ढाडेझोला (backpack)मा । छोरीको लन्च 'उ यहि भन्छे' उसकै मेरुदण्डे कुम्लोमा छ। करिब ३० मिनेटको आफुलाई कता पूर्ब कता पस्सिम  दिशानष्ट लाग्ने अनेक कुङ्लिंग र सेलरोटी जस्ता घुम्ति घुमाउदै एउटा सडक छोड्दै अर्को  पक्डिदै गुर्जीले ११ बजे उतारे गन्तव्यमा। बच्चा ज्ञानी भएर ओर्लिए । अब सबै आ-आफ्ना कक्षाका समुहमा गोल्लिए। हाम्रो समूह आफ्नै तजबिजीमा घुम्न हिड्यो हन्जा छोडेर । मेरो अधिनमा हुनुपर्ने थान सातको टाउको गनेर मैले लिएँ । अरुले नि त्यसै गरे । हामीलाई भेटेर हाम्रो रुचि र चासोअनुसार सबै थोक देखाइदिने बताइदिने पार्कका मनकारी मान्छे अघि तैनाथ रहेछन । हाम्रो स्कुलको तुल देखेपछि ती मध्येकी एउटी यौवना अघि सरिन र हामीलाई ग्रहण गरेर काठका कटेराजस्ता घरतिर डोर्याइन । शिक्षक ह्यारिसनको उर्दी आयो आ-आफ्ना नानीबाबु लिएर आफ्नै पाराले हेर्न,नियाल्न, पर्गेल्न सबै स्वतन्त्र छन्, त्यसका लागि हामीले पच्छ्याउनु पर्थ्यो तिनै कर्मचारी युवती ।

मेरो समूहमा २ नेपाली, २ स्थानीय क्यानेडेली, २ भियतनामी र एक चिनिया बच्चा थिए । म उनीहरुको मुखिया भएपछि कहाँ जाने, समूह छोड्ने कि नछोड्ने, सौचालय जान के गर्ने सबै सोध्नु पर्ने भयो तिनलाई । कहिले छेउ नपरेको नौलो मान्छेलाई आफ्नो नेता मान्न कति पनि हिच्किचाहट छैन नानीहरुलाई । केहिबेर अदिति’ज ड्याड भनेर काम चलाए मलाई बोलाउनु पर्दा । सिधै नामले बोलाएर ज्वाईंचेला, सम्धी सम्धिनी, जेठाजु सबैसँग ब्यबहार गर्ने क्यानेडेली समाजमा त्यसरी सम्बोधन गर्न उनलाई कहाँ सजिलो हुनु। फरक मुलका भएपनि यतै जन्मेका हुर्केका यी बच्चा राजा महेन्द्रसंग बेलायत घुम्न जाँदा हाम्रा कुन मन्त्रीले हो भेटेका भुराजस्तो अंग्रेजी त फुरूरुरु हुने भइगो उनको । डेनिस भन्ने ८ बर्षे भियतनामी बालकले तिम्रो नाम के हो भनेर सोध्यो, अरु सबैले कान ठाडा पारे । मैले आफ्नो नाम बताएपछि सबैले मलाई ‘यम’ भनेर बोलाए। मेरा सहपाठीजस्तो, बुबाआमा, मेरा गुरुबा गुरुमा जस्तो मलाई त मज्जाले यम भनेर बोलाइ दिए ती नानीहरुले दिनभरि। म खुब रमाइलो मान्दै अभ्यस्त हुन खोजिरहें ।

तत्कालीन घरगृहस्थमा पकाइखाने भाँडाकुँडा, हतियारऔजार, कुटोकोदालो, आरन खलाँती सबैथोक दुरुस्तै आजपनि हाम्रातिर पाइने जस्तै देख्न पाइयो। ‘छुनलाई होइन, हेर्न चैं पाइन्छ’ लेखेर टाँस्या छ।  पृथ्बीको पल्लापट्टि आइपुग्दा पनि आजभन्दा २ सय बर्ष पहिले हाम्रै पितापुर्खाहरुले चलाएका जस्ता मालताल देख्दा यो मानवको जीवन धेरै कालसम्म एउटै केन्द्रमा बिकसित भएर संसारमा फैलिएको रहेछ भन्ने विचार आयो मनमा । मैले त्यो गाइड केटीलाई भने ‘त्यो लुगामा दल्ने कोइला बल्ने आइरन, त्यो पानि उमाल्ने कित्ली, त्यो हाते करौंती, त्यो धागो काट्ने चर्खा, त्यो आरन, त्यो खलाँती, त्यो टुकी, पानस, त्यो बन्चरो, त्यो खुर्पा आज पनि मेरो देसमा प्रयोगमा छन्।’

 

 

त्यसले त निधार खुम्च्याई, आखा फारी र ‘ओ रिअल्ली, विच कन्ट्री आर उ फ्रम ?’ भनेर उदेक मानीमानी अस्ट्रेलियन ह्यारिसनलगायत अन्य पनि मतिर पो खनिए तीनछक्क पर्दै । मैले हो नि भनेर तिनको जिज्ञासालाई त सामसुम पारें तर सिङ्गो नेपालीलाई नै सारै आदिम मानव ठानेको देख्दा चैं ‘ज्या है नभनेको भा हुने रहेछ’ भन्ने पनि लाग्यो।
बच्चाहरुले काठका घोचाले बारेको खोरभित्र काठकै डुंडमा चारो खान तल्लिन सुगुरका पाठा देखेर ‘वाव पिग्गी, पिग्गी’ भन्दै मस्ति उठाए ।

 

 अलिक पर्तिरको खोरमा हाम्रैतिरको रैथाने जातको जस्तो सेतो खसी मनले मानिनमानी घाँस चर्दै थियो, मान्छे देखेपछि चर्न छोडेर हात सुँघ्न आयो। बच्चा ‘गोट गोट’ भन्दै उफ्रिए। अर्कोपट्टि ऊन काट्न खुर्रिएर गइसकेको भन्न मिल्ने एमानको भेडो देखे। तर यिनले भेडो चिनेनन। सोधे । मैले शिप भने। ऊनको पहाड बोकेर दाहिनेदेब्रे पल्टिन खोज्दै त्यो अजंगको भेडो छेवै आउन लाग्यो। बच्चा ‘स्केयरी’ भन्दै पर स । आगनमा फुक्का छोडिएका पोथी कुखुरा खनिखोस्री गर्दै थिए, बच्चाले ‘वाव चिकेन’ भन्न भ्याए र पक्डिन तिनका पछि लागे ।

 

 अझ पर्तिर तबेलामा घोडा थिए, बच्चा ‘पोनी पोनी’ भन्दै रमाए । एवं रितले त्यहाँ धेरै पुराना कुराहरु हेरियो। नाटकीय रुप स्वरुपका पुराना दमकल,कार, गाडा, टाँगा, भट्भटे, प्याज लसुन, सागपातका बेर्नाको ड्याङ, त्यसमा गाडिएको हाम्रै कालिगढ़ी झल्काउने बुख्याँचा अनेकथोक ।

बुख्याँचा देखेर बच्चाले सोधे त्यो के हो। एउटी सानी नानीले ‘हेइ, सि अ स्केयर क्रो ओभर देयर’ भनी । उसले चिनेकी रहिछ । अन्यले सोधे त्यो ‘फन्नी थिंग’ का बारे । ‘हवाइ डु दे पुट द्याट देयर ?’ ‘द्याट इज सपोज्ड टु स्केयर एनी बर्डज अर अदर स्मल अनिमल्ज द्याट कम टु इट दोज सिडलिंगज अर द सीड्ज सो दे डन्ट डेयर कम टु इट देम’ मैले उनलाई बुझाउन यति भनी नसक्दै अर्कोले बालसुलभ जिज्ञासा थप्दै सोध्यो। ‘इफ दे डन्ट स्केयर बट कम याण्ड इट ह्वाट ह्यापन्स ?’ ‘नोथिंग, द्याट गाइ किप्स अन स्माइलिंग याण्ड दे विल इन्जोय देयर फुड ।’ मेरो प्रष्टीकरणले एकचोटी सबैजना थर्काएर हाँसे ।

 

हाँसो नटुंगिदै आर्यानाले उसको प्रश्न तेर्स्याइहाली ‘देन ह्वाट्स द सेन्स अफ इन्स्टलिंग द्याट देयर ।’ कसैले सिकाएर सोध्न लाएजस्तो तगडा छ उसको प्रश्न । म बालबालिकाको निर्दोष बालसुलभ जिज्ञासाको अनन्त घनचक्करमा फंसेको छु । छेवैमा ह्यारिसनको उस्तै छ हाल । खासमा हाल मेरो मात्रै हो किनभने मैले मात्रै यसलाई ‘हालत पत्ला’ को रुपमा लिएको छु उनले लिएकी छैनन् । उनी हाँसीहाँसी उम्दा उर्जाका साथ बच्चाको कौतुहलता मेट्न रमाएको देखिराछु । मनमा हाम्रो पाराका कुरा एकपल्ट सरर्र आए सिँगाने भुरा, गुह्ये केटाकेटी, उम्रिदैका तीनपाते, खानका काल, तँलाई केको खोजी, कानका जरी तात्ने गरी खालास । यी र यस्तै औजारले हामीले हाम्रा बालबालिकालाई ठेगान लगाएको वा राम्रा मान्छे बनाउने हर्कत गरेको सम्झिएँ । र, हाँसीहाँसी आर्यानाको चित्त बुझाएँ। साच्ची हामीले हाम्रा नानीहरुलाई जति बोल्न सोध्न उनीहरुले पाउनु पर्ने हो त्यति गर्न पटक्कै दिएका रहेनछौं भनेर ग्लानिभाव भयो मनमा । यहाँ कुरा अर्कै छ । बच्चालाई यहाँ एउटा पूर्ण मानवको एउटा सानो रुपमा बुझ्ने र ब्यबहार गर्ने प्रयास गरिन्छ। बालकले पनि उसको वरपर घट्ने सबै घटनाक्रमलाई बुझ्न दिमाग लगाउछ, उसको पनि तर्क गर्ने दिमागीपक्षले काम गरेको हुन्छ, उसमा पनि संवेगका उतारचढाव हुन्छन्, माया गरेको घृणा गरेको बयस्कलाई जस्तै असर हुन्छ उसमा पनि, फरक ऊ बयस्क जस्तो बोलेर, बोलेर नसके मुड्की बजारेर व्यक्त गर्न सक्दैन भन्ने यहाँ बुझिन्छ, बुझाउने प्रयास गरिन्छ ।

हाम्रोमा भन्दा यहाँका बालबालिका थेतरा छन् भन्ने मेरो ठाडो टिप्पणीमा एकदिन एक बाल शिक्षिकाले मलाई भनेको सम्झिन्छु, ‘तिमी बच्चालाई किन पिट्छौ भन्दा उसले तिमीमाथि हात उठाउन सक्दैन, जुनदिन उसले तिमीलाई पहिलोपटक हात उठाउछ या तिम्रो मुड्की छेक्ने हिम्मत गर्छ त्यो दिनबाट तिमी हच्किन्छौ, पछि सर्छौ । तिम्रो बच्चा यो संसारमा आउनु उसको छनौट होइन, तर उसलाई यो धर्तीमा ल्याउनु तिमि र तिम्रो श्रीमतीको निर्णय हो । तिमीले बिहे नगरी बाँच्ने भनेनौ गर्यौ, बिहे गरेपछि पनि तिमीलाई अझै छनौट थिए बच्चा नजन्माउने हुन सक्थ्यो तर जन्मायौ । अब तिमीले उसलाई गरिखान सक्ने बनाउनु, बालोचित ब्यबहार गर्नु र उनीहरुप्रति असीमित धैर्यता र सहनशीलता देखाउनु तिम्रो जिम्बेदारी हो, नाइनास्ती गरेर सुखै छैन ।’
शिक्षक ह्यारिसन छिनमा छिनमा बच्चाले दिक्क माने कि, रुचिपूर्ण भएन कि भ्रमण, भोकाए तिर्खाए कि, थाके कि, हराए कि, अब के गर्ने, अझै घुम्ने कि घर फर्किने कि भनेर, यो यो घुमियो, यो यो देखियो सिकियो भनेर ब्रिफिंग गरिरहन्छिन् । भ्रमणलाई सत प्रतिशत बालप्रधान बालमैत्री बनाउन अत्यन्तै सचेत छिन् व्यवशायिकरुपले कटिबद्ध छिन् ।

सन् १७८५ ताकाको शिक्षा प्रणालीलाई जीवित राख्न एउटा नमुना कक्षा प्रदर्शनी हुदोरहेछ । हामी कक्षाकोठामा पस्दा आदिम वास्तुकलाको रुपरेखा देखियो । रन्दा नदलेका काठका फलेकलाई डेस्कबेन्च बनाएको, खाँबाखुट्टी, निदाल, पटाई सबै काठको देख्दै प्राचीनतम लाग्ने छ र हाम्रातिरकै घरमचान जस्तो छ। अगाडिपट्टि भित्तामा गर्भे कालोपाटी, छात्रको हार छुट्टै छात्राको छुट्टै, अगाडि डेस्कमा खरी र पाटी (slate and chalk) लेख्न तयार पारेर राखिएको, शिरदेखि पाउसम्म तत्कालीन शिक्षकको अधिकारिक पहिरन एउटै घ्वामल्वांग जामा लगाएकी अनुहारमा मध्ययुगीन जर्सापको क्रुरता झल्किने मुखमण्डल बनाएकी, हातमा लामो न लामो सिर्कनो बोकेर अहिले स्वाँठ लाइहाल्ली जस्ती हेर्दै डर लाग्दी मास्टर्नी देखिई। बच्चाहरुलाई बस्न भनियो बेन्चमा ।

 

 

आजको कक्षाकोठामा जस्तो केटाकेटी मिसमास बस्न थाले। त्यो मास्टर्नी गर्जिहाली ‘केटा केटाका बथानमा केटी केटीका बथानमा।’ उसले आफ्नो अभिनय सुरु गरिसकिछे बच्चा निलोकालो भए। सबैलाई खरिले कालोपाटीमा आ-आफ्नो नाम लेख्न लगाइन ती मास्टर्नीले अनि सुरु भयो हात, औंला, नङको सरसफाई हेर्ने काम। बच्चाले हात तेर्स्याए उनले निरीक्षण गरिन । फोहोर देखिनेलाई कडा फर्मानमा दोस्रोपटक देखेमा ठीक नहुने भनेर लौरो उजाइन । हाम्री नेपाली नानी सुरभीले त्यो लौरो किन बोकेको भनेर सोधिन । उत्तरमा बदमास भएमा तिमीहरुलाई सिर्कनु लाउन के भनेकी थिन मास्टरर्नीले  एक कक्षाकि सुरभीले ‘ओ, द्याट्स लाइक इन माइ कन्ट्री’ भन्दिहालिन । अब सबै मतिर सोझिए र सोधे ‘तिमीहरु सिर्कानाले मुताउछौ बालबालिकालाई ? लौरो नबोक्ने शिक्षक हुन्न ?’ म संकटमा परें । हो त भनू कसरी भनू, होइन भनू शिक्षकले विवेकहीन ढङ्गले पिटेका निलडाम, अंगभंगका कथा मिडियाले हालिरहेका छन् आजका मिति पनि । ‘त्यस्तो अनिवार्य हुन्न अहिले, पहिले त यस्तै थियो नि हाम्रामा पनि, तर सजाय दिन होइन तर्साउन कसैले लौरो बोकेको देख्न सकिन्छ’ मैले मिलाएर गर्जो टारें । मान्छेको बोलीमा अति नै बिश्वास गर्ने क्यानेडेली संस्कृतिले गर्दा मेरा कुरा खाए उनीहरुले ।

गल्दै थाक्दै गएको अर्थ बालबच्चाको जिउ शरीरमा अब देखियो । एउटा खण्डहर रेल चढेर परसम्म जान बाँकी नै थियो, त्यहि गरियो । रेलमा बच्चाले खुब रहुस गरे, झ्यालबाट बाहिरका रुखबुट्टा कुदेको हेरे। रेलको टुंग्याउनीमा उ बेला बिभरको छालाको अन्तरप्रान्तीय बेपार गर्ने अड्डा (fort) रहेछन तेता छिरियो। त्यहाँ पुराना धेरै कुरा हेरियो जुन यहाँ बर्णन गरी पार लाग्दैन ।

हाम्रातिर बाख्राको मुनेपाठोलाई जस्तो गरी हुर्काउनु पर्दो रहेछ यहाको समाजमा बालबालिकालाई भन्ने मेरो बुझाइ भयो यो भ्रमणपछि । हामी मुनेपाठो जन्मेपछि त्यसलाई तुरुन्तै खोरमा थुन्ने वा अनुशासनको दाम्लामा उन्ने गर्दैनौ । त्यसलाई कुद्न, बुर्कुसी मार्न, घरभित्र छिर्न, डालाको चामल मकै मनलाग्दो खान, काखमा चढ्न सबै कुराको पुगिसरिमा छोड्दिन्छौँ । जब ऊ आफ्नो शारीरिक र मानसिक बिकास गरिसकेर बालीनालीमा पस्ने, उपद्रो गर्न सक्ने हुन्छ अनि हामी उसलाई दाम्लो लगाउछौं र तोकिएको दररेटमा खानपान दिन्छौं र समय आएपछि पर सार्छौं । ठीक त्यसरी नै यहाँ बालबालिकालाई हुर्काइने रहेछ । सानो छउन्जेल फुक्काफाल छोड्दिने, माया गर्ने, सम्मान आदरकासाथ पालनपोषण गर्ने, उमेर बढ्दै गएपछि पढाइ, अनुशासनले च्याप्दै ल्याउने र १८ पुगेपछि पर सारिहाल्ने ।

(क्यानाडाको एडमन्टन निवासी घिमिरे नेपालमा शिक्षण र पत्रकारिता गर्थे)

प्रतिक्रिया