काठमाडौं - सँधै जस्तो नियमित समयमा विद्यालय जान तम्तयार थिईन् कक्षा २ मा अध्ययनरत अस्मिता मगर ।
झोलामा कापि कलम ठिकठाक थियो । ड्रेस लगाएर तम्तयार भए पनि उनी मंगलबार विद्यालय जान पाईनन् !
कारण अरु केही हैन, राजनीतिक माग पुरा गर्न भन्दै गरिएको बन्दले उनी विद्यालय जानबाट बञ्चित भईन् ।
सोमबार ठिकठाक रुपमा विद्यायबाट घर फर्केका विद्यार्थी मंगलबार अकस्मात बन्दको हल्ला चलेपछि अलमल्ल भए ।
अस्मिता एक प्रतिनिधि पात्र हुन् ।
बन्द किन ? भन्ने समेत थाह नपाएका उनी जस्ता हजारौं विद्यार्थी नै बन्दको मारमा सबै भन्दा धेरै परे ।
निर्वाचन बहिष्कारका बेला पक्राउ परेका आफ्ना कार्यकर्तालाई झुठा मुद्धा लगाएको भन्दै विप्लब निकट माओवादीले आह्वान गरेको बन्दको प्रभाव अन्य क्षेत्रमा भने निकै कम परेको छ । बजार र यातायातका साधन सामान्य अवस्थामा जस्तै सञ्चालन भईरहेका छन् ।
तर विद्यालयहरु बन्द हुँदा हजारौं विद्यार्थीको पढ्न पाउने अधिकार माथि हस्तक्षेप भएको छ । समाज र भविष्यका कर्णधार बालकालिका प्रति अझै धेरै उत्तरदायी हुनु पर्ने राजनीतिक दलकै नाममा हुने यस्ता कृयाकलाप अशोभनीय मात्रै हैन नीन्दनीय भन्दै आलोचना हुँदै आएको छ ।
'राजनीतिक माग पुरा गराउन बालबालिकालाई शिकार बनाउनेलाई पनि के दल भन्नु ?' बन्द प्रति कटाक्ष गर्दै नाम नबताउने शर्तमा एक जना अभिभावकले भने, 'राजनीतिक पार्टिहरु जनतालाई सँधै लठैत बनाउने ध्याउन्नमा छन्, यसपटक उक्त कार्य विप्लब जीले गर्नु भयो, उहाँ र उहाँका कार्यकर्तामा विद्यार्थी र शैक्षिक संस्थाको महत्व बोध अझै भएको रैन्छ भन्ने पुष्टि भयो ।'
कतिपय विद्यालयमा त्रैमासिक परीक्षा जारी छ, कतिपयमा शुरु हुँदै छ । यस्तो बेला गरिएको बन्दले कलिला विद्यार्थीको मनस्थिीतिमा कस्तो प्रभाव पर्यो होला भन्ने हेक्का समेत गर्न नसक्नु बन्दको आह्वान गरेको विप्लब माओवादीको बहुलठ्ठि पना भएको अर्का अभिभावकले बताए ।
विद्यालय बन्दका कारण बढेको आलोचना प्रति उक्त पार्टिको विद्यार्थी संगठनका पूर्व अध्यक्ष शरद रसायली बचाउ गर्छन् । आफूहरुको ध्येय विद्यार्थी र शैक्षिक संस्था माथि प्रभाव पार्ने नभएको उनको जिकीर छ ।
'पक्कै पनि राजनीतिक मागहरुका कारण बन्द आह्वान गरिएको हो, यसमा विद्यार्थी र शैक्षिक संस्था बढि मारमा परेको हामीले पनि अनूभूत गरेका छौं' उनले भने, 'यस बारेमा हामी पार्टि भित्र बृहत छलफल गरेर निश्कर्षमा पुग्ने छौं ।'
ब्यक्तिगत रुपमा आफू बन्दका बेला शैक्षिक संस्था खुल्ने बाताबरणको पक्षमा रहेको पनि उनले दावी गरे । आगामी दिनमा यस तर्फ पार्टिलाई गम्भिर बनाउने उनको प्रतिवद्धता छ ।
फोटो : गुगल
प्रतिक्रिया