Edukhabar
बुधबार, ०५ मंसिर २०८१
विचार / विमर्श

मरेको पाठ्यक्रम बोकेर मरेकै पाठशालामा...

शनिबार, २४ असार २०७४

हाम्रा पाठशालाहरु जीवन्त छैनन् । पाठशालाबाट उत्पादन भएका जनशक्ति हेर्ने हो भने पाठशाला मृतप्रायः भैसकेका छन् । किन हाम्रा पाठशाला त्यो अवस्थामा पुगे ? यो चिन्ता र चासोको विषय हो । पाठशाला आफै मरेका होइनन् । तिनीहरुलाई स्लो प्वाइजन दिइएका हुन् । त्यो स्लो प्वाइजनको काम गरेको पाठशालामा पढाइने पाठ्यपुस्तकले  । त्यो पाठ्यपुस्तकलाई गाइड गरेको छ, पाठ्यक्रमले । हामी मरेको पाठ्यक्रम बोकेर मरेको पाठशालामा पढिरहेका छौं, पढाइरहेका छौं । यसैको परिणाम बनेको छ– ‘नानीहरु/पढ्दो छन् देश/र बुझ्दोछन् परदेश ।’ यही वास्तविकतालाई कवि सौरभ कार्कीले पाठशालामा नानीहरुमार्फत् देखाएका छन् । सोही कविता साताको शिक्षा साहित्यमा । 

दिनहुँजसो
पाठशालामा नानीहरु
प्रेम घोकिरहन्छन्
र खेल्छन् अनौंठा युद्धका खेल
फर्केपछि घर ।

पाठशालामा 
सिकाइन्छ जोड–घटाउ
भनिन्छ नाफा र नोक्सान ।
नानीहरु
दिनैभरि नैतिकता गुण गरिरहन्छन् ।
र जिताउँछन् प्रत्येक पल–भागा जिन्दगी
फर्केपछि घर ।

साना– साना मस्तिष्कहरुमा
हरेक क्षण–घोटेर धूलाम्य चक
पढाउँछन् शिक्षकहरु
परस्पर विरोधी चुम्बकीय धु्रबहरुको –मेलमिलापको कथा ।
पढ्छन् विद्यार्थी
जति टुक्र्याऊ– छुट्टिँदा नि यिनीहरु
कायम राख्छन् सँधै आफ्नो अस्तित्व ।

तर फर्की नसक्दै घर
नानीहरुको मगजमा
दौडिसकेको हुन्छ – ‘पोलाइजेशन’को भूत ।

र बिर्सेर अस्तित्व
टुक्रा–टुक्रा फुट्छ
दिनभरिदेखि सम्हालेर राखेको –जुटको विज्ञान ।

नानीहरु
पढ्दो छन् देश
र बुझ्दोछन् परदेश ।

नानीहरु
सुन्छन्, घोक्छन– ‘फ्लोरेन्स नाइटिंगेल’ ।
देख्छन, चिन्छन् – ‘ढेगनीदेवी महतो’।
र अल्मल्लिरहन्छन् ।
साँच्चै कति विरोधाभाष
बाँच्छन् आजकाल नानीहरु ।

नानीहरु
शहीद पढ्छन्
र पढ्छन् – सम्मानित मृत्यु ।

तर देख्छन् दिनदिनै
टायर शहीदहरु ।
नानीहरु चिन्तित देखिन्छन् ।

आजकाल नानीहरु 
पाठशाला र शिक्षक
दुबै– अन्तिम झुट लाग्छ ।
किनकी पाठशालामा नानीहरु
जे पढ्छन्– त्यो बुझ्दैनन् ।
जे सिक्छन् – त्यो जान्दैनन् ।


प्रस्तुत कविता कवि कार्कीको २०७३ मा प्रकाशनमा आएको दृष्य बाहिर कविता संग्रहबाट लिइएको हो ।

प्रतिक्रिया