Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

आंशिकको धर्ना, कार्यालय प्रवेशमा रोक

शुक्रबार, २३ असार २०७४

काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकले विश्वविद्यालयका उपकुलपति लगायत कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । आंशिक प्राध्यापकको ब्यवस्थापन तथा प्राज्ञिक क्षेत्रमा भइरहेको बौद्धिक शोषण अन्त्य गर्न माग गर्दै त्रिवि आंशिक प्राध्यापक संघको अगुवाईमा  उपकुलपति प्रा. डा. तिर्थ खनियासहित सवै कार्यकारी र कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै धर्ना दिईएको हो ।

बर्षौदेखि प्राध्यापन गराईरहेका आंशिक प्राध्यापकलाई नाम मात्रको पारिश्रमिक दिएर त्रिभुवन विश्वविद्यालयले बौद्धिक शोषण गरिरहेको र समस्या समाधानका लागि प्रभावकारी अग्रसरता नलिएकाले आन्दोलन गर्नुपरेको संघका महासचिव केशव चन्दले बताए ।

यस अघि गत जेठ २ गते पत्रकार सम्मेलन गरेर आँशिक प्राध्यापकहरुले आफूहरुसँग विगतमा भएका सहमती कार्यान्वयन गरी करारमा नियुक्ति गर्न माग गरेका थिए ।

आफूहरुलाई स्वतः स्थायीको माग गरेको भन्दै त्रिविले गलत प्रचार गरेको भन्दै संघका अध्यक्ष शशी कुमार शर्माले आफूहरु विज्ञापनमा भाग लिन तयार रहे पनि विश्वविद्यालय आफ्ना समस्या प्रति गम्भिर नभएर आलटाल गरेको आरोप लगाए । ६ – ६ महिनामा विज्ञापन खोलेर जारी समस्या समाधान गर्न सकिने संघले विकल्प दिएको छ ।

विगतमा भएका सहमतीहरुको कार्यान्वयन नभएपछि संघले अहिले फेरी ४ सूत्रीय माग अघि सारेको छ । जस अनुसार विना सर्त करारमा नियुक्ति गर्नु पर्ने, त्रिवि सभाले गत बर्ष पुस २० गते गरेको सेवा प्रवेश विन्दु, र सहायक प्राध्यापक बनाउने निर्णय खारेजी, सम्मानित वातावरणमा विद्यार्थीले पढ्न र आफूहरुले पढाउन पाउनु पर्ने र विगतका सहमती कार्यान्वयन गर्द विश्वविद्यालयका बेथीति अन्त्य तथा शैक्षिक क्यालेण्डरको पालना गर्न माग गरेको छ ।

त्रिविको कूल ८० प्रतिशत भार आफूहरुले बहन गरे पनि आफूहरु प्रति विभेद भएको संघको आरोप छ । उनीहरुले प्रति पिरियड २ सय २० रुपैंया बुझ्दै आएका छन् । 

यस अघि २०६३ साल भदौ ६ गते संघ र सरकार विच कम्तिमा एक शैक्षिक सत्र निरन्तर प्राध्यापन गरेका आँशिक प्राध्यापकहरुलाई दरबन्दी सहितको करारमा नियुक्ति गर्ने सम्झौता भएको थियो ।

यस्तै २०६५ साल असोज २१ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले गठन गरेको श्रम तथा यातायात ब्यवस्था मन्त्री लेखराज भट्ट नेतृत्वको वार्ता टोलीसँग भएको सहमती अनुसार समस्या समाधान गर्न त्रिविलाई निर्देशन दिईएको थियो । २०६६ साल भदौ १६ देखि ३१ गते सम्म भएको आमरण अनसन लगायतका विरोधका कार्यक्रम पश्चात संघ सँग एक हप्ता भित्र करारमा नियुक्ति गर्ने सहमती भएको थियो ।

त्रिवि अन्र्तगत सञ्चालित ६० आँगिक क्याम्पसमा १२ सय आँशिक प्राध्यापक रहेको संघको दावि छ ।

यो पनि पढ्नुहोस् : हातमा चक डष्टर लिनु पर्नेहरुको मुखमा कालोपट्टि

प्रतिक्रिया