Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

मनाङ साक्षर जिल्ला घोषणा

शुक्रबार, २३ असार २०७४

काठमाडौं २३ असार/ मनाङ जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । मनाङ ३५ औँ साक्षर जिल्ला घोषणा भएको हो । मनाङलाई पूर्ण साक्षर जिल्ला बनाउने प्रतिवद्धतासहित प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

नेपाल सरकारले सन् २०१५ सम्ममा सबैका लागि शिक्षामा पहुँच पुर्याउन थालेको राष्ट्रिय साक्षर अभियान अन्तर्गत मनाङमा पनि आर्थिक वर्ष २०६८-०६९ देखि साक्षर अभियान सञ्चालन गरी साक्षर प्रतिशतलाई ९६ प्रतिशतभन्दा बढि पुर्यएर साक्षर जिल्ला घोषणा गरिएको हो ।

मनाङमा २०६८ सालमा ७४.९ प्रतिशत साक्षरता रहेकोमा हाल २०७४ मा ९६.९ प्रतिशत साक्षर रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खुलानाथ गौतमले बताए । जिल्लामा बस्ने १५ देखि ६० वर्ष उमेर समूहको जनसङ्ख्यामध्ये ९६ दशमलव ९ प्रतिशत साक्षर भएपछि जिल्ला साक्षर भएको घोषणा गरिएको मनाङका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।

शिक्षा कार्यालयको तथ्याङ्कमा ६ हजार ५ सय ३८ जनसङ्ख्या साक्षर भएसँगै मनाङलाई साक्षर जिल्ला घोषणा गरिएको हो । यस अघि भएका सघन साक्षरता कक्षा प्रभावकारी हुन नसकेको र अभियानकर्ताले फर्जी साक्षर सङ्ख्या पेश गरेकाले पूर्ण साक्षर घोषणा गर्न सकिएको थिएन ।

अनौपचारिक शिक्षा केन्द्रले साक्षर बन्नका लागि १२ वटा सूचक बनाएको छ । १२ वटा सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णहरू लेख्न र पढ्नसक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्नसक्ने, मोवाइल र क्यालकुलेटरका चिन्ह र अक्षर प्रयोग गर्नसक्ने, शून्यदेखि नौसम्मका अङ्क र अक्षर लेख्नसक्ने, एकदेखि एक सयसम्म गणना गर्नसक्ने रहेका छन् ।

यस्तै अन्य सूचकमा लेनदेनका हरहिसाव राख्न सक्ने, सरल चित्र, पोष्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता राख्ने, घडी हेरेर समय बताउन, भित्रेपात्रो हेरी तिथि मिति बताउन सक्ने, बैङ्क भौचर भर्न र चेक लेख्न सक्ने, आफ्नो र परिवार सदस्यको नाम, उमेर, लेख्न र पढ्नसक्ने रहेका छन् ।

साक्षर जिल्ला घोषणा कार्यक्रममा सामुदायिक अध्ययन केन्द्र, चारवटै गाउँपालिकाका अध्यक्ष, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी लगायतसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरी लमजुङलाई साक्षर जिल्ला बनाउन सकेको शिक्षा समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी रामुराज कडरीयाले बताए ।

कार्यक्रमका अध्यक्ष तथा अनौपचारिक शिक्षा समितिका अध्यक्ष कडरियाले घोषणा पत्रमा हस्ताक्षर गरि मनाङ्ग जिल्लालाई साक्षर घोषणा गरिएको हो । अनौपचारिक शिक्षा केन्द्रबाट जिल्ला शिक्षा कार्यालय मनाङ्गलाई कदर पत्र प्रदान समेत गरिएको थियो ।

जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष तथा स्थानीय बिकास अधिकारी रामुराज कडरियाले साक्षर जिल्ला घोषणा गरिएसंगै अझ थप जिम्मेवारी बढेको बताए । उनले साक्षर जिल्ला घोषणा गरिएसँगै यसलाई निरन्तरता दिनुपर्ने बताए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया