तेह्रथुम - म्याङलुङ्ग–१, थलडाँडास्थित रामथला आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । आफ्नो चौथो स्थापना दिवसको अवसरमा गुराँस बचत तथा ऋण सहकारी संस्थाले विद्यालयका ३२ जना विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
प्रति विद्यार्थी तीन सय रुपैयाँ बराबरका कापी, पेन्सिल, डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न आग्रह गरे । शैक्षिक सामाग्री पाएपछि नानीहरुलाई विद्यालय आउन सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान तामाङले बताए ।
विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरुको पढाईलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुगेको प्रधानाध्यापक भवानीप्रसाद इस्वोले बताए । ०७० सालबाट म्याङलुङ्ग नगरपालिका–१ मा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको सहकारीले हालसम्म ३ करोड बढी निक्षेप संकलन गरेको छ भने १ करोड बढी पुँजी रहेको संस्थाका सचिव लक्ष्मीनारायण मिश्रले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराम खुलालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाले गरेका कामहरुका बारेमा बताएका थिए ।
प्रतिक्रिया