Edukhabar
शुक्रबार, १२ पुस २०८१
विचार / विमर्श

नैतिक शिक्षा, विश्वविद्यालय, प्राध्यापक र अख्तियार

शुक्रबार, १४ कार्तिक २०७१

- केशवराज पौडेल

नैतिक शिक्षाको पाठ पढाउनु पर्ने हामी शिक्षक, प्राध्यापकमाथि आज जनसाधारणले शंकाको दृष्टिबाट हेर्न थालेका छन् । मुलुकको शैक्षिक जगत तिन दलीय भागवण्डाबाट जन्मिएको चौथो दलीय संरचना (वर्णशंकर अर्थात् मिलेर खाउ दल) को मारमा विश्वविद्यालयहरु आक्रान्त भएको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आँखा पूर्वाञ्चल विश्वविद्यालयबाट सुरु भई आज मध्य पश्चिम हुँदै पोखरा विश्वविद्यालयसम्म आइपुगेको छ ।

 

हामीले श्रध्दा गरेका कयौँ व्यक्तिहरू आज अख्तियारको हिरासतमा छन् । मेरो मनमा अख्तियारको कदम गलत हो भन्ने लागेको छैन बरू मैले श्रध्दा गरेका व्यक्तिहरू प्रतिको मेरो विश्वासमा ठेस लागेको छ । हुनतः अनुसन्धानका क्रममा लगाइएका आरोप र कायम गरिएको विगो त्यति ठुलो देखिदैंन जति मूलुकका अन्य क्षेत्रमा सोहि आयोगले समातेका अभियुक्तहरूलार्इ लाग्ने गरेको छ ।

 

आज एक थरिले अख्तियारको कदम विदेसीको इशारामा स्वदेशी विश्वविद्यालयलार्इ बदनाम गराउन उद्दत छ भन्ने आरोप लगाएको देखिन्छ । ठुला अपराधिलार्इ छाडेर अख्तियारले निमुखा प्राध्यापकलार्इ बदनाम गरायो पनि भन्छन् । मलार्इ पनि लाग्छ विश्वविद्यालयमा भन्दा ठुलो रकमको अनियमितता उद्योग, व्यवसाय, भन्सार, राजनीतिक क्षेत्र, कर्मचारीतन्त्रमा व्याप्त छ । जीवन शैली नै हेर्ने हो भने पनि अभियोग लागेका प्राध्यापकको भन्दा उद्योग, व्यवसाय, भन्सार, राजनीतिक नेता तथा निजामति कर्मचारीको विलाशी देखिन्छ ।

 

यी सत्यका बाबजुत पनि हामी शिक्षक प्राध्यापकले स्वीकार्नै पर्ने विषय के हो भने, हामी नैतिक शिक्षा सिकाउने वर्ग हौँ । समाजलाई सदाचारको पाठ पढाउने र देशका भविश्य निर्धारण गर्ने वर्ग हौँ। एउटा व्यापारीले करोडौँको अनयिमतिता गर्नु र हामी शिक्षक प्राध्यापकले एक रुपयाँको अनयिमतिता गर्नु हाम्रो गल्ती ठुलो अपराध मानिन्छ, मानिनु पर्छ ।

 

अख्तियारको कदमलाई विश्वविद्यालयको घाँटी रेट्ने भनी व्याख्या गर्नेहरु पनि मैले देखेको छु । नजर फरक हुन सक्छ, घाँटीमा गाँड आएको व्यक्तिलाई डाक्टरले घाँटी नै काटेर उपचार गर्छ, गर्नु पर्छ । विरामी घाँटी काट्न दिन मन्जुर हुन्छ, हुनु पर्छ, उपचारका लागि, त्यसबेला डाक्टरले घाँटी काटेको प्रचार हुदैन र गर्नु पनि हुँदैन । त्यहाँ उपचार गरेकोमा डाक्टरको प्रशंसा हुन्छ र गर्नु पर्छ ।

 

आज विश्वविद्यालयको हकममा पन त्यही भएको छ । अख्तियारको कदमलाई विश्वविद्यालयहरुमा रहेको क्यान्सर फ्याँकेको रुपमा हेरौँ, उपचारको रुपमा हेरौँ, यसबाट भविष्यमा विश्वविद्यालयमा रोग नलागोस् भन्ने कामना गरौँ । गल्ति गर्नेलाई सवक सिकाऔँ । तपाई हामीले थाहा पाएका अनियमितताको बारेमा समयमै अख्तियारलाई जानकारी गराएर अनुसन्धानमा सहयोग गरौँ, अपराधीहरुलाई कारवाहीको दायरामा ल्याउन मद्दत गरौँ । र विश्वविद्यालयलाई नैतिक शिक्षा दिने थलोको रुपमा विकास गरौँ ।शिक्षक प्राध्यापक भएकोमा गर्व गर्ने वातावरण बनाऔँ ।

 

केशव राज पौडेलको फेसबुकबाट

प्रतिक्रिया