Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

भूगोल पढ्ने विद्यार्थी खोज्दै त्रिवि

मंगलबार, २० असार २०७४

काठमाडौं २० असार/त्रिभुवन विश्वविद्यालयले भूगोल पढ्ने विद्यार्थीको संख्या घट्न थालेपछि पहल थालेको छ । भूगोलजस्तो विषयको महत्व दर्शाउन नसक्दा विद्यार्थी घट्दै गएको भन्दै भूगोलशास्त्रीले चिन्ता व्यक्त गर्न थालेका छन् । भूगोलजस्तो बहुआयामिक विषयलाई विद्यार्थीमाझ बुझाउन नसक्दा पढ्ने विद्यार्थी पाउनै मुस्किल भएको भूगोल विज्ञको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयलको भूगोल केन्द्रीय विभागले सोमबार कीर्तिपुरमा गरेको दुई दिने सेमिनारमा विज्ञले भूगोल विषय अध्ययन गर्ने विद्यार्थी पाइन छाडेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । भूगोल विषय पढेका विद्यार्थीलाई बजारले खोज्न छाडेपछि त्रिविमा मात्र नभई अरू विश्वविद्यालय पनि पढ्ने विद्यार्थीको खोजीमा लागेका छन् ।

१२ वर्षअघि पनि भूगोल विषय अध्ययन गर्ने विद्यार्थी घट्न थालेपछि पोखरामा सेमिनार आयोजना गरिएको थियो । जेठमा त्रिविको मानविकी संकायले समग्र मानविकी संकायमा विद्यार्थी संख्या घट्दै गएको भन्दै बृहत् छलफल कार्यक्रम आयोजना गरेको थियो । सोही छलफलमा मानविकी संकायमा कसरी विद्यार्थी बढाउने भन्ने विषयमा विज्ञहरूले आ–आफ्नो सुझाब दिएका थिए ।

‘भूगोल पढ्ने विद्यार्थी बढाउन जनचेतना जगाउँ’
योजनाविद् एवं भूगोलशास्त्री प्रा.डा.पिताम्बर शर्माले भूगोल विषय पढ्ने विद्यार्थी बढाउन सबैभन्दा पहिला जनचेतना बढाउनुपर्ने बताए । ‘हामीले भूगोल विषय बहुआयामिक भए पनि विद्यार्थीलाई विषयको महत्व बुझाउन सकेनौँ,’ उनले भने, ‘जसले गर्दा भूगोल पढ्ने विद्यार्थी हरेक वर्षजसो घट्दै गएका छन् ।’ भूगोल विषयको चेतना बढाउन साप्ताहिक रूपमा विविध कार्यक्रम गरी मनाउनुपर्ने शर्माले सुझाब दिए । अमेरिकाजस्तो देशले भूगोलको महत्व बुझेर उच्च महत्व दिई पढाउने गरेको उनको भनाइ छ ।

भूगोल विषय विद्यालय तहदेखि उच्च शिक्षासम्म उत्तिकै सान्दर्भिक रहेको विज्ञहरूले बताएका छन् । यस विषयलाई बजारसँग जोडेर रोजगारमूलक बनाएमा विद्यार्थी बढ्न सक्ने उनीहरूको भनाइ छ । भूगोल विषयमा किन विद्यार्थी घटेका हुन् भन्ने विषयमा गहन रूपमा खोज अनुसन्धान गरेर बाहिर ल्याउनुपर्ने शर्माले बताए । शिक्षा मन्त्रालयका प्रतिनिधि वाइपी आचार्यले विद्यार्थी संख्या घटेको चिन्ताभन्दा गुणस्तरलाई ध्यान दिनुपर्ने बताए । भूगोल विषयलाई प्रविधिसँग जोडेर रोजगारमूलक बनाउनुपर्ने उनको भनाइ छ ।

भूगोल पढ्ने विद्यार्थी पाउनै मुस्किल
विद्यालय तहमा मात्र नभई उच्चशिक्षामा समेत भूगोल पढ्ने विद्यार्थी पाउन मुस्किल हुन थालेको छ । भूगोल विषय आफैँमा ५० प्रतिशत विज्ञान र ५० प्रतिशत मानविकी भए पनि विद्यार्थीमा आकर्षण कम देखिएको छ । अहिले भूगोल विषय कक्षा १० भन्दा तलका ४४४ विद्यालयमा पठनपाठन हुने गरेको छ ।

त्यसैगरी, कक्षा ११ र १२ मा १७ वटा उच्चमाविमा पढाइ हुँदै आएको छ । स्नातक तहमा भूगोल विषय पढाइ हुने कलेजको संख्या ३४ छ । स्नातकोत्तर तह त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा मात्र पढाइ हुन्छ । पोखरा र काठमाडौं विश्वविद्यालयमा भूगोल विषय पढाइ भए पनि अरू विषयसँग जोडेर पढाउने गरिन्छ ।

त्रिविमा सेमेस्टर प्रणाली लागू भएपछि प्राध्यापकभन्दा विद्यार्थी कम हुन थालेका थिए । सेमेस्टर लागू भएको पहिलो वर्ष ६ जना, दोस्रो वर्ष शून्य र तेस्रो वर्ष ३८ जना विद्यार्थी भर्ना भएका छन् । यस वर्ष बिहानी सत्र चलाएकाले विद्यार्थी संख्या बढेको त्रिवि भूगोल केन्द्रीय विभागका प्रमुख प्रा.डा नरेन्द्रराज खनालले बताए । बिहानी सत्र भएपछि विद्यार्थीलाई पढ्न सजिलो भएकाले संख्या बढेको उनको भनाइ छ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया