काठमाडौं - प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले राजनीतिक भागवण्डाको शिकार भएको त्रिविको समस्यालाई सम्बोधन नै नगरी ५८ औं बार्षिक दिवसको अवसरमा एकतर्फी रुपमा त्रिविको प्रशंसा गरेका छन् ।
मुलुककै जेठो विश्वविद्यालय त्रिविमा पछिल्ला केही दशक यता उच्च बौद्धिक तथा प्राज्ञिक व्यक्तिको नेतृत्वको अभाव छ । त्यसले गर्दा सरकारी शिक्षाको गुणस्तरलाई धरासयी बनाउदै शिक्षालाई व्यापार बनाएर रातारात धन आर्जन गर्ने समुह मुलुकमा क्रियाशील छ । उक्त समुहले अप्रत्याशित रुपमा मुलुकको राजनीतिमा समेत प्रभाव जमाउन सक्रिय छ ।
आफैले अध्ययन गरेको विश्वविद्यालयको ५८ औं बार्षिक समारोहमा प्रमुख अतिथी बन्न पुगेका प्रम देउवाले समस्याका पक्षलाई ध्यान नदिई कर्मकाण्डी पाराले त्रिविको प्रशंसा मात्र गरे ।
त्रिविलाई समय सापेक्ष शिक्षा प्रवाह गर्दै वैज्ञानिक, व्यवहारिक, रोजगारमुलक र गुणस्तरीय बनाउनु पर्ने भने उनले बताए ।
प्रम देउवाले विश्वविद्यालयको विकासमा नेपाल सरकारको निरन्तर सहयोग जारी राख्ने प्रतिवद्धता जनाएर औपचारिकता पुरा गरे । मुलुकको जेठो विश्वविद्यालयमा कुनैबेला आफै समेत विद्यार्थी रहिसकेका प्रधानमन्त्री देउवाले त्रिविका समस्याका बारेमा अनभिज्ञता प्रकट गरे ।
कार्यक्रममा त्रिविका कुलपति तथा प्रम देउवाले नेपालको राजनीतिक, समाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तन र रुपान्तरणका विषयहरुसंग त्रिविको अन्योन्याश्रित सम्वन्ध रहेको बताए । देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित रहेको बताउदै उनले त्रिबिको योगदानको स्मरण गरे । त्यस अवसरमा प्रम देउवाले आगामी दिनमा समेत त्रिविले शैक्षिक, प्रशासनिक र नीतिगत विषयहरुमा आवश्यकता अनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न सक्षम रहेको विश्वास व्यक्त गरे । साथै समय सापेक्ष शिक्षामा परिवर्तन र विकास गर्ने तर्फ विश्वविद्यालयले थप कदम चाल्ने उनले बताए । उनले भने ‘ विश्वविद्यालयको चुस्त शैक्षिक वातावरण निर्माणमा सहयोगी भई अग्रसर भईदिन म विशेष आग्रह गर्दछु ।’
देशको जेठो विश्वविद्यालय समेत रहेको त्रिविले विश्वका प्रतिष्ठित विश्वविद्यालयका जनशक्तिसंग प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरी देशको आवश्यकता परिपूर्ति गर्ने कार्यमा सफलता हासिल गर्न सकोस् भन्ने कामना गर्दै संबिधान कार्यन्वयनको अभियानमा सहयोग देशवासीलाई आग्रह समेत गरे ।
त्रिविका सहकुलपति समेत रहेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले त्रिविका समस्या समाधान गर्न आफ्नो कार्यकाल सक्षम रहने बताए । त्रिविको उन्नती, विकास र सहयोगका लागि नेपाल सरकार सदैव प्रतिवद्ध रहेको उनले बताए । विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई समय र परिस्थिती अनुसार विश्व परिवेश अनकुल गराउन तथा गुणात्मक रुपले उत्पादित जनशक्तिलाई प्रतिष्पर्धी बनाउन विश्वविद्यालय सक्षम रहको जानकारी गराउदै त्यसलाई अझै चुस्त र दुरुस्त बनाउन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाले यसपटक त्रिविले विगतमा भन्दा फरक तरिकाले दिवस मनाउन लागेको बताए । यसअघि एक दिनमा कार्यक्रम गरी बार्षिक दिवस मनाउने गरेको भएपनि यस पटक रचनात्मक कार्यक्रम सहित ३ दिनसम्म कार्यक्रम गरी मनाउन लागेको उनले जानकारी गराए । यस अवधीमा त्रिविले गरेको कार्य प्रगतीलाई सभामा समक्ष प्रस्तुत गर्दै भौतिक संरचना र अन्तराष्ट्रिय सम्बन्धका क्षेत्रमा आफ्नो कार्यकालमा उल्लेख्य कार्य गर्न सफल भएको खनियाले दाबी गरे । उनले भने ‘ यस संस्थाले ५७ बर्षसम्म सम्पूर्ण नेपाली विद्यार्थी र विदेशी विद्यार्थीलाई समेत ज्ञान–विज्ञान तथा प्रविधीका क्षेत्रमा उच्च शिक्षा प्रदान गर्दैं आएको छ ।’
उनले त्रिविले लागु गरेको समेष्टर प्रणलीका अवगुण र समस्यालाई उल्लेख नगरी समेष्टर प्रणाली लागु गर्न विश्वविद्यालय सफल भएको दाबी गरे । त्रिवि सभालाई उपकुलपति खनियाले पहिलो चरणमा उपत्यकामा लागु गरिएको समेष्टर प्रणाली आगामी दिनमा मोफसलमा समेत विस्तार गर्ने तयारी विश्वविद्यालयले गरेको जानकारी गराए । विश्वविद्यालयलाई समय सापेक्ष प्रविधीको उपयोग सहज पहुच र व्यवस्था गरी ई–प्रशासनको प्रयोगलाई कार्यन्वयन गर्न लागिएको उनले जानकारी गराए ।
कार्यक्रममा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आगामी पौष महिनामा दिक्षान्त समारोहमा विभिन्न तह उत्र्तिण गर्ने ६८ हजार २ सय ९२ विद्यार्थी दिक्षित हुन लागेको जानकारी गराए । ०७३ आषाढ देखि ०७४ साल जेष्ठसम्म तोकिएको आवश्यकता पुरा गरी परिक्षा समेत उत्र्तिण भई ट्रान्सकिप्ट लिईसकेका ६८ हजार २ सय ९२ विद्यार्थीलाई दिक्षित गर्ने तयारी त्रिबिले पुरा गरेको उप्रेतीले जानकारी गराए ।
कार्यक्रम अघि प्रधानमन्त्री देउवाले त्रिवि गेटको उद्घाटन समेत गरेका थिए ।
प्रतिक्रिया