Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

मतगणना ढिलाइले पठनपाठन प्रभावित

शनिबार, १७ असार २०७४

काठमाडौं १७ असार /निर्वाचनको नतिजा आउन ढिलाइ हुँदा मतगणना स्थलका लागि छनोट गरिएको यहाँको एक ठूलो सरकारी विद्यालयको पठनपाठन एवं दैनिक जनजीवनमा समेत असर पर्ने भएको छ ।
निर्वाचन कार्यालयले विराटनगरकै सबैभन्दा ठूलो एवं ८८ वर्ष पुरानो सामुदायिक विद्यालय आदर्श माविलाई गणनास्थलका रूपमा छनोट गरेको छ । उसै पनि चुनावकै कारण आइतबारदेखि विद्यालय बन्द छ । 
मतगणनास्थलमा उपस्थित हुन पाउने उम्मेदवारका प्रतिनिधि संख्या, जनशक्तिको व्यवस्थापन, विद्युत् आपूर्तिमा गडबडी र एक मतपेटिकामा सिलसम्बन्धी मुचुल्का विवाद समाधानपछि निकै ढिलो गरी बिहीबार साँझबाट गणना थालिएको छ ।

एक बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त विद्यालयले चाँडो मतगणना सकियोस् भनेर धेरै कक्षाकोठा भएको दक्षिणतिरको ब्लक उपलब्ध गराएको हो । १ लाख १३ हजार ७ सय ६१ मतदाता भएको यहाँ करिब ७० प्रतिशत मत खसेको छ । राजधानीमा जस्तै ढिलो मतगणना नहोस् भन्ने कामना स्थानीयले गरेका छन् । ठूलो संख्यामा सर्वसाधारणका छोराछोरी पढ्ने उक्त विद्यालयकै पढाइ अवरुद्ध भइरहेको र दैनिक जनजीवनसमेत प्रभावित हुँदा महानगरवासीले चिन्ता व्यक्त गरेका हुन् । ‘शान्तिपूर्ण चुनाव सकिए पनि महानगरले जनप्रतिनिधि पाउन गइरहेकोमा खुसी छौं,’ अभिभावक गंगा शाहले भने, ‘तर बच्चाबच्चीको पढाइ प्रभावित भएको छ । यस कारण पनि कुनै विवाद र झन्झट नगरी छिटो मतगणना गर्नुपर्छ ।’ उनका छोरा सोही विद्यालयको ६ कक्षामा अध्ययनरत छन् ।

नेपाली र अंग्रेजी माध्यमको ब्लक तथा प्राविधिक विषयसमेत गरी कक्षा १२ सम्म झन्डै १ हजार ४ सय विद्यार्थी पढाउने उक्त विद्यालयको चाहना पनि यही हो । यहाँ २१ असारदेखि प्रथम त्रैमासिक परीक्षा गर्ने रुटिङ सार्वजनिक भइसकेको छ । शैक्षिक क्यालेन्डर प्रभावित नहुने गरी सक्दो चाँडो मतगणना सकाउन सबै पक्षलाई अनुरोध गरिरहेको विद्यालयका प्राचार्य दुर्गाप्रसाद चुडालले बताए । ‘महत्वपूर्ण सरकारी काम भन्दै निर्वाचन कार्यालयले गरेको आग्रहअनुरूप ठूलो क्षेत्रफल भएको दक्षिणतिरको ब्लक तल्लो तला उपलब्ध गराएका छौं,’ उनले भने ।

गत वर्षदेखि अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको उत्तरतिरको ब्लकमा भने कडा सुरक्षा मिलाएर आइतबारदेखि विद्यालय लगाइने चुडालले बताए । अंग्रेजी माध्यममा मात्रै भन्डै ५ सय बालबालिका अध्ययनरत छन् । जारी मतगणनाका कारण विद्यालयले अहिले प्राविधिक शिक्षाको बिहानीको कक्षा पनि उत्तरी ब्लकमा नै चलाइरहेको छ ।

‘साताअघि गणना सकिने छाँटकाँट छैन,’ प्राचार्य चुडालले भने, ‘त्यही भएर दक्षिण ब्लकको नेपाली माध्यममा पढ्नेलाई यो बीचमा १५ दिने बर्खे बिदा दिने सोच बनाएका छौं ।’ यहाँ बर्सेनि ३०/४० दिनको बर्खे बिदा दिने गरिन्छ । निर्वाचन कार्यालयले प्राचार्य र शिक्षकहरूलाई समेत मतगणनामा सहयोग गरिदिन आग्रह गरेको छ । विवाद साम्य भएर गणना सुरु भएकोमा राहत महसुस गरेको उनले बताए । 
विद्यालय परिसरमा बिहीबार बिहानैदेखि उम्मेदवार, राजनीतिकर्मी एवं सर्वसाधारणको भीड लागेको छ । परिणाम जान्न इच्छुकले यहाँको चिया पसल र रंगशालाको ओत भरिभराउ छ । सबैको मुटुको ढुकढुकी र खुलदुली बढेको छ । ‘मतदाताको माझ परीक्षा दिइसक्यौं, ढुकढुक गरिरहेको मुटु लिएर परिणामको प्रतीक्षामा छौं,’ ४६ वर्षीया बबिता पौदारले भनिन् । विराटनगर पोखरिया निवासी उनी संघीय समाजवादी फोरमबाट महिला वडा सदस्यमा उठेकी छन् ।

परिणाम कसको पक्षमा जाला भन्नेमा संवाद केन्द्रित देखिन्छ । मतगणनास्थलभित्रको गतिविधिबारे जान्नलाई सबैले एकअर्कासँग मोबाइल सम्पर्क गरिरहेका भेटिन्छन् । बिहान ८ देखि उक्त विद्यालय अघिल्तिर सर्वसाधारण भेला हुन थालेका थिए । गर्मी कम हुँदै गएपछि साँझसम्म भीडभाड बाक्लो देखिन्छ ।


कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया