Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

राम्रा कसरी राम्रा पत्ता लगाउन विद्यालयको ‘केस स्टडी’

शुक्रबार, १६ असार २०७४

काठमाडौं - सामुदायिक विद्यालय के कारणले राम्रा भएका छन् ? प्रधानाध्यापकको कारणले कि ? विद्यालय ब्यवस्थापन समिति वा शिक्षा कार्यालयको कारणले ?

यो प्रश्नको ठ्याक्कै जवाफ विद्यालयसँग सरोकार राख्ने देखि शिक्षा क्षेत्रका अनुभवी र शिक्षाविद्सम्मले दिन सकेका छैनन् । राम्रा विद्यालय बारेमो चित्तबुझ्दो जवाफ नपाए पनि के कारणले सार्वजनिक विद्यालय बिग्रियो ? भन्ने प्रश्नको उत्तर भने को भन्दा को कमको शैलीमा आउँछ । विद्यालय बिग्रनुको फेहरिस्त नै देखाउँछन्, शिक्षाका सरोकारवालाहरु ।

देशभरका करिब ३५ हजार सामुदायिक विद्यालयहरु सबै अब्बल छैनन् । त्यसो त कस्ता विद्यालयलाई अब्लल मान्ने भन्ने पनि स्पष्ट मानक छैन । चलिआएको अब्बलको मानक कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा नै हो । यस आधारमा हेर्ने हो भने सालाखाला डेढसय मात्र विद्यालयहरु अब्बल छन् ।

सामुदायिक विद्यालयहरुप्रति आर्कषणभन्दा बढी बिर्कषण छ । के कारणले आर्कषण भो, के कारणले बिर्कषण ? यसको जवाफमा विद्यालयपिच्छे फरक फरक तथ्य भेटिन्छ ।

त्यही अन्योल र अलमलका विचमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले चार विद्यालयको अध्ययन शुरु गरेको छ । विद्यालय राम्रो के कारणले भएका छन् र नराम्रो के कारणले भन्ने यकिन तथ्य निकाल्न ती विद्यालयको केस स्टडी गरिरहेको केन्द्रका प्रमुख लेखनाथ पौडेलले बताए ।

‘देशभरका केही सामुदायिक विद्यालयहरुले राम्रो गरिरहेका छन्, तिनीहरुले के कारणले राम्रो गर्न सके भन्ने विषयमा अध्ययन भएको खण्डमा अन्य विद्यालयहरुका लागि पनि मार्ग खुल्ने भएकोले सो अध्ययन गरिरहेका छौं ।’ पौडेलले भने ।

उनले सो अध्ययनका लागि सुरुमा १० विद्यालय छनोट गरिए पनि पछि भने ४ वटाको मात्र केस स्टडी थालिएको बताए । ‘१० मध्येमा पनि हामीले ती विद्यालयहरुको कार्यसम्पादन परीक्षण गर्यौं, त्यसको आधारमा ४ वटा विद्यालय छान्यौं ।’ उनले भने ।

केन्द्रका अनुसार केस स्टडीका लागि छनोट भएका विद्यालयहरुमा ललितपुरको त्रिपद्म, बाग्लुङको गणेश मावि, तनहुँको सत्यवती मावि र रुपन्देहीको शान्ति नमूना मावि रहेका छन् ।

‘शिक्षा मन्त्रालय, शिक्षा कार्यालयबाट प्रत्येक सामुदायिक विद्यालयलाई जाने अनुदान र सहयोग उही हो, तर केहीले राम्रो गरेका छन्, कोहीले गरेका छैनन्, के गर्दा स्कुल राम्रो हुन्छ भनेर बुझ्न यो स्टडी गरेका हौं ।’ केन्द्रका प्रमुख पौडेलको भनाइ छ ।

सो अध्ययनका लागि केन्द्रले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक शम्भु खतिवडा र सहायक प्राध्यापक विनोद लुइँटेललाई जिम्मा दिएको थियो । अध्ययनमा संलग्न प्रा. खतिवडाले विद्यालयले हासिल गरेको सिकाइ उपलब्धिबारेमा जानकारी लिनका लागि सो अध्ययन गरिएको बताउँदै एकहप्ताभित्रमा सो अध्ययनको निचोड सार्वजनिक गर्ने जानकारी दिए ।

उनले अध्ययनको क्रममा विद्यालयहरुमा स्थलगत अवलोकन, शिक्षक, विद्यार्थी, सहायक प्रधानाध्यापक, प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीहरुसँग छलफल र अन्तरक्रिया गरिएको बताए ।

प्रतिक्रिया