Edukhabar
आइतबार, ०७ पुस २०८१
खबर/फिचर

बर्ष दिन सम्म बन्द शैक्षिक सामग्रीको ट्याङ्का !

विहीबार, ०८ असार २०७४

भक्तपुर - विद्यालयमा उपलब्ध गराईएको पाठ्यपुस्तक, अभ्यास पुस्तिका लगायतका शैक्षिक सामग्री के गरिन्छ ?

उत्तर सिधा छ – विद्यार्थीको सिकाइको स्तर बढाउन पठन पाठनमा प्रयोग गरिन्छ ।

तर, अमेरिकि सहयोग नियोग युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत विद्यालयमा उपलब्ध गराईएको शैक्षिक सामग्री सहितको ट्याङ्का एक बर्ष सम्म जस्ताको त्यस्तै छ । विद्यार्थीको पठन क्षमता अभिवृद्धि गर्नका लागि प्राथमिक तहमा अध्यापन गर्ने शिक्षकलाई तालिम सहित विभिन्न शैक्षिक सामग्री सहितको उपलब्ध गराईएको उक्त ट्याङ्काको साँचो एक बर्ष सम्म पनि खोलिएको छैन ।

यसले विकास साझेदारहरुको काम गराईको झारा टार्ने तरिकालाई पुष्टि त गरेको छ नै विद्यार्थीको नाममा आएको सहयोग कुन हद सम्म प्रयोगविहीन हुन्छ भन्ने प्रमाणित पनि गरेको छ । यसले एकातिर विद्यार्थीले शैक्षिक सामग्रीसहित पढ्न पाउने अधिकार गुमाएका छन् भने अर्कोतिर शिक्षक र विद्यालयले माल पाएर के गर्नु चाल पाए पो भन्ने उखान चरितार्थ गरेका छन् ।

कक्षा, १, २ र ३ कक्षामा पढ्ने विद्यार्थीको पठन सीप विकासका लागि भन्दै युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत सो ट्यांका गत वर्षको साउनमा दिइएको थियो ।

यो घटनाले कतिपय शिक्षकहरु शैक्षिक सामग्री बनाउँदैनन्, भएका पनि प्रयोग गर्दैनन् भन्ने आरोप पनि पुष्टि भएको छ । वर्षदिनसम्म ट्याङ्का नखोलिँदा सो भित्र के– के छन् ? भन्ने सम्मको जानकारी न त तालिम लिएका शिक्षकलाई थाहा छ न त विद्यालयका प्रधानाध्यापकलाई नै । ईजिआरपीले शिक्षकलाई ट्याङ्का भित्रका शैक्षिक सामग्री कसरी प्रयोग गर्ने भनेर तालिम पनि दिएको थियो ।

ईजिआरपीको सहयोग प्राप्त भक्तपुरका अधिकांश विद्यालयहरुले सो ट्यांका नखोलेको पाइएको हो । यो घटनाले शिक्षक, प्रअमात्र ‘अल्छी’ भएको नदेखाएर शिक्षक, प्रअ र समग्र विद्यालयको अनुगमनका लागि खटिने जिम्मेवारी पाएका विद्यालय निरीक्षक, स्रोतव्यक्ति र सम्बन्धित कार्यक्रमका फोकल पर्सन कति सम्म गैर जिम्मेवारी छन् भन्ने चरितार्थ गरेको छ ।

‘विद्यालयमा ईजिआरपी लागू भएपछि गएका सामग्रीको प्रयोग गराउनका लागि स्रोतकेन्द्र स्तरीय पठन उत्प्रेरकको पनि व्यवस्था नभएको होइन । तर, तिनीहरुबाट पनि राम्रो काम नहुँदा यस्तो अवस्था आएको हो, यसमा सबैको दोष छ ।’ इजिआरपी जिल्ला समन्वय समितिका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने ।

स्थलगत अनुगमनको क्रममा सूर्यविनायक नपाको सरस्वती निमावि, भगवती प्रावि, देवी प्रावि, ताथलीको गणेश मावि, सुडालको कृष्ण प्रावि, चाँगुनारायणको चाँगुनारायण प्रावि, गणेश प्रावि, भैरवी प्रावि, गुण्डुको भैरबी निमावि, चित्रपुर प्रावि, समाजसेवा इन्ष्टिच्युट, भीम प्रावि लगायतका विद्यालयहरुमा पुगेको ट्यांका जस्ताको जस्तै फेला परे । कुनै धूलोले छोपिसकेका थिए भने कुनै कुनामा फालिएको जस्तै छोडिएका थिए ।

एक जना शिक्षक यो अवस्था आउनुमा आफ्नो मात्र नभई विद्यार्थीको पनि दोष भएको बताउँछन् । ‘विद्यार्थी कहिले आउँछन्, कहिले आउँदैनन् यो बाकस खोलेर किताब निकालेर पढाउन, पढाइसकेपछि फेरि राखेर जान झ्याउ हुन्छ ।’ पञ्चकन्या प्राविका एक शिक्षकले भने ।

विद्यालयम आएको सामग्रीको प्रयोग नभएको लामो समय भैसक्दा पनि प्रअहरु पनि यो विषयमा मौन छन् । भन्छन्, ‘तालिमका लागि हामीले शिक्षक पठाएकै छौं, मैले त प्रयोग भएको होला भन्ने सोचेको थिएँ, ट्यांका नै नखोलिएको त मलाई थाहा छैन ।’ भगवती प्राविका प्रअ गोपाल ज्ञवालीले भने ।

विद्यार्थी कम हुँदै गएका विद्यालयमा सो समस्या देखिए पनि विद्यार्थी भएका विद्यालयमा भने सो समस्या निक्कै कम भएको पठन उत्प्रेरकहरुको दावी छ । ‘हामीले प्रयोग गराउन त भनेका छौं, जति भन्दा पनि नमान्ने शिक्षक र प्रअहरु पनि छन्, के गर्ने त ?’ एक पठन उत्पे्ररकले प्रतिप्रश्न गरे ।
जिल्ला शिक्षा कार्यालयका विनि एवं ईजिआरपीका फोकल पर्सन र जिल्ला संयोजक सुनिता शाक्यले एक बर्ष सम्म टयाङ्कै नखोलिएको सन्दर्भमा अनविज्ञता प्रकट गर्दै त्यसो हुन नसक्ने दाबी गरिन् । यसैगरी

शिक्षा विभागअन्तर्गत ईजिआरपीका फोकल पर्सन विष्णुप्रसाद अधिकारीले सो बारेमा आफूलाई थाहा नभएको बताए । ‘ताला नखोलिएको विषयमा शिक्षक, प्रअ, विनि, स्रोतव्यक्ति, जिशिअ पो जिम्मेवार हुन्छन्, विभागले ताला खोल्न जाने होइन ।’ उनी सरक्कै पन्छिए ।

ईजिआरपीका रिजनल म्यानेजर राजेन्द्र मानन्धरले भने आफूले सो बारेमा बुझ्ने बताए । सो ट्याङ्काका लागि ईजिआरपीले कति लगानी गर्यो ? भन्ने प्रश्नको जवाफ आफूसँग नभएको जानकारी दिँदै उनले शिक्षक, स्रोतव्यक्ति, प्रअ, विनिदेखि विभागसम्मका कर्मचारीको लापरबाहीका कारण त्यो अवस्था आएको आरोप लगाए ।

सो कार्यक्रम नमूनाको रुपमा काठमाडौं उपत्यकाको भक्तपुर सहित कास्की, कञ्चनपुर, बाँके, मनाङ र सप्तरी गरी ६ जिल्लामा सञ्चालित छ ।

यो पनि पढ्नुहोस् :  

इजीआरपीको लापरबाही : तालिमको तालिका बल्ल, पुस्तक चाँही कहिले ?

पढाइ समूह गठन गर्नेहरु वेपत्ता, सामग्री जति अध्यक्षकै पोल्टामा

प्रतिक्रिया