Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

रकमको चलखेलमा निजी विद्यालयलाई अनुमति !

शनिबार, ०२ साउन २०७२

- मायामितु न्यौपाने / पर्सा २ साउन / जिल्लामा कति वटा निजी विद्यालय छन् भन्ने समेत यकिन नभएको अवस्थामा जिल्ला शिक्षा कार्यालय पर्साले थप निजी विद्यालय सञ्चालनका लागि अनुमति दिने तयारी गरेको छ । गैर कानुनी रुपमा बिना दर्ता संचालनमा रहेका दर्जनौ विद्यालयलाई कानुनी दायरामा ल्याउन समेत नसकेको अवस्थामा जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले नयाँ लाइसेन्स वितरणको तयारी अन्तिम चरणमा पुयाएका हुन् । माफियाले केही कर्मचारीलाई  प्रभावमा पारेर २ बर्ष देखि रोकिएको निजी विद्यालय संचालन अनुमति पत्र फुत्काउने तयारी गरिरहेको श्रोतले बतायो । 

निजी विद्यालय सञ्चालन अनुमतीका लागि आवेदन दिनेहरु जिल्ला शिक्षा अधिकारी रजक, विद्यालय निरिक्षक देवेन्द्र कुमार कर्ण, आशा गौतम र शिवजी प्रसादको चित्त बुझाउन ब्यस्त रहेको श्रोतको दावी छ । जिशिअ रजकले यसबारेमा आफुलाई केहि थाहा नभएको र विद्यालय सञ्चालन अनुमति पत्र वितरणको कुनै प्रकृया सुरु नभएको बताउँछन् । 

तर, निजी विद्यालय ञ्ंचालन अनुमतीका लागि पर्सामा अहिले सम्म ६५ वटा फारम दर्ता भएको रेकर्ड छ  । यी मध्ये ३५ वटालाई अनुमति दिन विद्यालय निरिक्षकहरुले सिफरिस गरिसकेका र त्यस मध्ये १८ वटालाई अनुमति दिने अन्तिम तयारी भईसकेको छ । 

जिल्लामा विना अनुमति सञ्चालन हुने विद्यालयको संख्या झण्डै २ सयको हाराहारीमा रहेको विद्यालय प्रशासन फांट प्रमुख विद्यानन्द यादव बताउँछन् । 

जिल्लामा निजी विद्यालयको सहि अनुगमन र निरिक्षण समेत हुन नसकेको बेला रकमको चलखेलको अधारमा नयाँ विद्यालय सञ्चालन अनुमति दिने तयारी गर्नु दुर्भाग्य पुर्ण रहेको नेपाल विद्यार्थी संघका राकेश यादव बताउँछन् । विना पूर्वाधार टोल टोलमा सञ्चालन भइरहेका निजी विद्यालयलाई मापदण्ड भित्र नल्याईकन नयाँ विद्यालयलाई अनुमति पत्र वितरण गरियो भने आन्दोलनमा जाने उनले चेतावनी दिए । 

दर्ता विना अनधिकृत रुपमा संचालन भएका विद्यालयको संख्या प्रति वर्ष बढ्दै गएपछि यसलाई व्यवस्थित गरि कानुनी दायरामा ल्याउन २०६९ साल देखी जिल्लामा नयाँ विद्यालय दर्ता गरि अनुमति पत्र दिने कार्यमा रोक लगाइएको थियो । 

फोटो : ईन्टरनेट 

प्रतिक्रिया