Edukhabar
विहीबार, २० मंसिर २०८१
अन्तर्वार्ता

शिक्षा मन्त्रीलाई प्रश्न : रोजेर शिक्षा मन्त्री हुनु भएको की आईलागेको ?

सोमबार, ०५ असार २०७४

सत्ता गठबन्धनदलहरु बिचको सहमती पश्चात गत जेठ २४ गते गठित नयाँ सरकारमा शिक्षा मन्त्री भएका छन् काँग्रेसका नेता गोपालमान श्रेष्ठ । उपप्रधानमन्त्री समेत रहेका राजनीतिका पाका नेताले बदलिदों परिवेशमा शिक्षाको कमाण्ड कसरी सम्हाल्लान् ? राजनीतिक संरचना परिवर्तन भएसँगै देशको शिक्षा क्षेत्र कस्तो बनाउने भन्ने के योजना होला ? शिक्षा क्षेत्रका बारेमा उनले कस्तो सपना बुनिरहेका होलान् ? यीनै विषयमा केन्द्रित रहेर श्रीधर पौडेलले गरेको कुराकानी :

- शिक्षा मन्त्री तपाईले रोजेर हुनु भएको की गठबन्धन मिलाउने चरणमा तपाईलाई शिक्षा मन्त्रालय आईपुगेको ?

तपाईलाई किन यस्तो चासो पर्यो ?

म आफू एउटा मन्त्रालयमा काम गरिसकेपछि, म फेरी त्यो मन्त्रालयमा फर्कन्न,  जान्न । मेरो लागि च्वाईसएवल मन्त्रालय मध्येको शिक्षा मन्त्रालय हो । शिक्षा मन्त्रालय भनेको अत्यन्त महत्वपूर्ण मन्त्रालय मैले ठानेको छु । त्यसैले म शिक्षा मन्त्रालयमा छु ।

- शिक्षा मन्त्रालयमा आउनु अघि शिक्षाको के कुराले तपाईलाई मनमा छोईरहेको थियो त ?

विद्यालय र शिक्षाको सन्दर्भमा कुरा गर्दा विगतका कुरा स्मरण गर्नु पर्छ, राणा शासनको बेला हामी पढ्दा विद्यालय थिएनन् । हामी पढ्ने बेलााम भर्खर भर्खर विद्यालय खुल्दै थिए । विद्यालय खुल्ने बन्द हुने गरेर मेरो चार बर्ष बिचमा ग्याप भयो ।

विद्यालयका सन्दर्भमा हामीले २०१५ सालमा वीपी कोईरालासँग कुरा गर्दा पनि उहाँ भन्नु हुन्थ्यो पहिले प्राईमरी माग्नुस्, त्यसपछि मिडिल माग्नुस् त्यसपछि हाईस्कुल माग्नुस् भन्नु हुन्थ्यो ।

अहिले म आफू पनि शिक्षा र विद्यालयसँग सम्बद्ध नै छु । मेरो आफ्नो क्षेत्रका कति विद्यालयको स्थापनकाल देखि ब्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेको छु । २०४६ सालको आन्दोलन पछि कलेज खुलेसँगै म अहिले पनि त्रिभुवन आदर्श कलेजको स्थापना देखि अहिले सम्म पनि अध्यक्ष छु । छाड्न खोज्दा पनि साथीहरुले छाड्न दिन्नन् ।

अहिले शिक्षाको गुणस्तर खस्केको छ । बोर्डिङ स्कुलले मार्केट लिएको छ । सरकारी स्कुलकमा विद्यार्थी नै छैन ।

- पहिले देखिनै शिक्षामा काम गरेको जुन पृष्ठभूमि बताउनु भयो, यो सन्दर्भमा शिक्षाको खास समस्या चाँही के देख्नु भा छ यतिखेर ?

समस्या खोज्दै छु । समस्या त छ नी त । हरेक पार्टिको भातृ सँघ जस्ता संघ संगठन छ । शिक्षकहरुलाई पुलपुल्याएको कारण पनि यस्तो भएको हो ।

- यस्ता समस्यालाई कसरी ब्यवस्थापन गर्ने योजना बनाउनु भएको छ ?

यो धेरै झ्याँगिएको छ । यो झ्याँगिएका कुरालाई एकै पटक हैन, आस्ते आस्ते निराकरण गर्दै जानु पर्छ ।

- एक जना मन्त्रीले देशको शिक्षा क्षेत्र कस्तो बनाउने भन्ने के सपना बुनिरहेको होला भन्ने मान्छेलाई चासो छ ...

अहिले हामी संघीयतामा गयौं, सारा अधिकार जति गाउँमा पठाउँदै छौं, गाउँपालिका नगरपालिकामा ।  शिक्षा अधिकारीकोमा समेत आउनु पर्दैन, तलब सुविधाहरु सबै गाउँपालिकामा जान्छ, नगरपालिकामा जान्छ । हामी त्यो पठाउने क्रममा छौं कर्मचारी पनि खटाउँदै छौं । हामीले खटाएका कर्मचारीले आफ्नो गाउँपालिकाको विद्यालयमा रेखदेख गरोस् । कोरा शिक्षामा परिवर्तन गर्नु पर्छ भन्नेमा छु ।

पहिला त्यही कोरा भए पनि थियो अहिलेको अवस्था फेरिएको छ । अहिले ६० लाख भन्दा बढ्ता युवाहरु विदेशमा छन् । दक्ष जनशक्ति हामीले पठाएको छैन । सबै कोरा पठाएका छौं । त्यसले गर्दा दक्ष जनशक्ति बनाउनु पर्यो । बेरोजगारलाई रोजगार बनाउने के उपाय छ त्यसमा ध्यान दिनु पर्यो ।

- अधिकाँश नेपालीको पहुँच सामुदायिक शिक्षामा छ । देशभर रहेका ८५ प्रतिशत विद्याथी सामुदायिक विद्यालयमा पढ्छन् । तर प्रभाव चैं नीजि विद्यालयहरुको देखिन्छ । यो विषयमा यहाँको धारणा के छ ?

अब के गर्नु हुन्छ । नीजिको शत प्रतिशत छ । उनीहरुको ए प्लसमा तमाम छन् । हाम्रो सरकारी विद्यालयमा ए प्लस ल्याउने एउटा दुईटा विद्यालय हुन्छ ।

- त्यही त सामुदायिक शिक्षा त खस्क्यो, सामुदायिक विद्यालय उकास्ने कसरी ?

सबै मिलेर यसलाई उकास्न पर्छ । सबैमा केही गरौं भन्ने भावना हुनु पर्यो ।

- त्यो नेतृत्वमा यहाँ हुनु भएको हिसावले सबैलाई त्यो वातावरणमा लिएर आउने तपाई सँग के खालको योजना छ ?

त्यही त मैले सबै सँग कुरा गर्दै छु । मिलाउँदै छु । सबै कुरा गर्दै छु ।

- मन्त्री भएको एक साता भयो, अहिले सम्म समस्या चाँही कहाँ देख्नु भएको छ ?

समस्या छ , त्यो समस्यालाई निराकरण गर्ने उपाय खोज्दै छु ।

- अल्लि अमूर्त उत्तर भयो मन्त्री ज्यू ! मैले मूर्त रुपमा उत्तर खोजेको ...

हैन मूर्त रुपमा त मैले काम गरे पछि थाह पाउनु हुन्छ । मैले अहिले भनेर के गर्ने ? काम गरे पछि मात्रै न थाह पाउनु हुन्छ ।

- तपाईले काम गरेको कति समयमा लौ काम देखियो है भनेर हामीले देख्न सकिएला त ?

अब देखाउँला । भविष्यमा देखि हाल्नु हुन्छ नी अहिले नआत्तिनुस् न ।

- अब, प्रसंग बदलौं, तपाईको स्कुल जीवन फर्केर हेरौं न, तपाईले पढ्दा विद्यालयहरु अथवा भनौं शैक्षिक अवस्था कस्तो थियो ? अहिले पनि तपाई ति विद्यालयहरुसँग आवद्ध छु भन्नु भयो, उतिखेर कस्ता थिए ? ती विद्यालय कसरी रुपान्तरण भईरहेका छन् ? कसरी परिवर्तन भईरहेका छन् ?

त्यो बेलामा गुरु चेलाको साह्रै राम्रो सम्बन्ध हुन्थ्यो, गुरुलाई धेरै मान्थे चेलाहरुले । अहिले त गुरु र चेला एकै ठाउँमा बसेर सूर्ति मिच्या छ, चेलाले सूर्ति मिच्ने गूरुले खाने । उस्तै परे गुरु र चेला एकै ठाउँमा बसेर कुलतमा पनि लाग्ने प्रवृत्ति छ । गुरुलाई देव भव: मान्छौं हामीले, अहिलेको पुस्तालाई त्यो कुरा सिकाउनु पर्यो । गुरुलाई पनि सिकाउनु पर्यो ...

- गुरु नराम्रो भएर यस्तो भाको की समाज नै त्यस्तै बन्दै गएको ...

यो विकृति आएको । यो विकृतिलाई सुधार्नु पर्छ । कसलाई दोष लाउने ? गुरुलाई दोष लाउने की विद्यार्थीलाई लाउने ?

- मैले त नेतृत्वमा बस्ने मान्छेहरुको कमजोरीलाई देखिराखेको छु ...

हैन , हैन । गुरुलाई त देव भव: भन्ने हो क्या । माता देव भव: पिता देव भव: । त्यसरी मान्ने संस्कारका मान्छे हामी हौं । तपाईको संस्कारले कति मान्छ मलाई थाह छैन । हामी गुरु देखि थर्ररर हुन्थ्यौं । अनुशासनमा रहन्थ्यौं । अहिले न चेला अनुशासनमा छ न गुरुले आफ्नो कर्तव्य पालना गर्या छ ।

- गुरुले कर्तव्य पालना नगरेर यस्तो भएको हो की ? समाज विग्रेको हो भन्ने बारेमा यहाँको कुरा बुझ्न खोजेको ...

तपाईले मलाई किन फसाउन खोज्नु हुन्छ ? म किन फस्छु तपैं संग ?

- मैले तपाईलाई फसाउन खोजेको छैन । म त तपाईसँग तपाई मन्त्री भएपछिका योजनाका बारेमा छलफल गर्न चाहेको हुँ । तपाई शिक्षा मन्त्री भएपछि शिक्षामा के परिवर्तन हुँदो रैछ भन्ने जान्न मात्रै म आएको हुँ । तपाईलाई फसाउने मेरो कुनै ध्येय छैन ...

त्यस्तो छैन छैन । गहिरिएर कुरा तपाई आफैं बुझ्नु हुन्छ नी । त्यसले गर्दा खेरी अहिले कसैलाई दोष हैन । यो समाजलाई दोष छ । विकृतिलाई दोष छ । हाम्रो अशिक्षालाई दोष छ । यो अशिक्षालाई निर्मूल गर्नु पर्छ । त्यसको लागि लाग्नु पर्यो सबै लाग्नु पर्यो । तपाई पनि लाग्नु पर्यो । म पनि लाग्नु पर्यो सबै लाग्नु पर्यो । सबै गुरुबर्गहरु लाग्नु पर्यो ।

म त यो मन्त्रालयमा अलिकति विद्धतहरुको संगत पाउँछु, भन्ने ठानेर पनि आएको हुँ ।

अहिलेको काम त नीति निर्माण गर्ने पनि हो । अहिलेको समय सक्रमणकाल हो । यो सक्रमण कालमा २–४ महिना भित्र, माघ ७ गते भित्र सबै कुरा गरेर पठाउन छ ।

- शिक्षामा त झन् धेरै नीतिगत अन्यौलता देखिएको छ, खास गरी ऐन बनेको एक बर्ष सम्म पनि नियमावली नबनेको अवस्था छ, मन्त्रीपरिषद् कार्यालयले शिक्षा मन्त्रालयलाई निर्देशिका बनाउन भनेको छ ...

अब आईहाल्छ त्यो निकट भविष्यमै आउँछ ।

- शिक्षामा अर्को जटिल समस्या भनेको अस्थायी शिक्षकहरुको समस्या हो । ब्यक्तिको जीवनसँग जोडिएका यस्ता विषयलाई कसरी सम्बाधेन गर्ने ?

यो समस्या पहिले पहिले पनि समाधान हुँदै गएकै हो । मूलुकमा जति सुकुम्बासी समस्याको समाधान गरे पनि सुकुम्बासी रहिरहन्छ ।

अब यो अस्थायी शिक्षकको समस्याको समाधान गर्ने भनेर पहिले नै नीति निर्धारण भएको छ । त्यसमा पनि अस्थायी शिक्षकका केही अंशले सन्तोष ब्यक्त गरेका छैनन् । अहिले ३० हजार मध्येमा १८ हजारले जाँच दिन पाउँ भनेको छ, परीक्षा लिने प्रकृया अघि बढेको छ । तर फेरी अस्ति आएर यो परीक्षा रोकिदिनुस् पनि भनेको छ ।

अहिले जस्तै चुनाव रोक्दिनुस् भनेर भन्यो नी । सरकारले त एक पटकमै गर्न खोजेको हो नी । तर अहिले २ पटकमा नभएर तीन पटक पुगेको छ । मुलुकमा प्रजातन्त्र छ, एकतन्त्रीय शासन त हैन । त्यसैले सबैको कुरा सुनेर गर्नु पर्ने हुन्छ ।

- तपाईसँग अर्को पटक भेट्दा खेरी यो यो यो काम भयो भनेर भन्ने कुरा के हुन्छ होला त ?

अव हामीले पोलिटेक्निकल स्कुलहरु खोल्ने हो । पहिला पहिला पढेका मान्छे कम थिए । एसएलसी पास गर्नासाथ माष्टर जागिर पाईहाल्थे । अहिले त विद्यार्थी कम माष्टर धेरै भईसकेको छ । यसलाई कसरी समाधान गर्ने ? अहिले कोही पनि फेल हुन्न सबै पास हुन्छ । तर एक थरीले क्याम्पस पढ्न पाउन्न । त्यो नपाउनेहरुलाई त केही काम दिन पर्यो नी । प्लम्बरको, पेन्टिङ्को, वायरिङ्को, वेटरको, कुकको, कृषि सम्बन्धि ज्ञान दिन पर्यो । टेक्निकल कुराहरु दिन पर्यो । यी सबै तालिम दिन सकौं भने यहीँ काम गरेर खान्छन् नी ।

हाम्रो बानी विग्रेको छ, एसएलसी पास गरेपछि गोबर फाल्न हुन्न, गोबर गन्हाउँछ, घाँस काट्न हुन्न । विदेश गएपछि ट्वाईलेट पनि सफा गर्न पुग्छन्, आफ्नो घरमा आफ्नो गाउँमा एसएलसी पास गरेपछि गोबर गन्हाउँछ घाँस काट्न हुन्न भन्ने मनस्थितीबाट परिवर्तन गर्नु पर्यो । आफ्नो बाउ बाजेको थलोमा बसेर काम गर्यो भने, कृषि, फलफुलको खेति गर्यो भने कति हो कति छ । आधुनिक खेति गर्नु पर्यो, आधुनिक कृषि तालिम दिन पर्यो । यी सबै गर्नलाई शिक्षामा परिवर्तन ल्याउनु पर्यो ।

धेरै नलेज भएकाहरु, ईन्टिजिलेण्टहरुलाई हायर एजुकेशन दिनु पर्यो । साईण्टिस बनाउन पर्यो, डक्टर, ईञ्जिनीयर बनाउनु पर्यो, त्यो बाहेकमा मान्छेहरुलाई पनि नयाँ पद्धतप्बाट दिनु पर्यो ।

- संघीयतामा शिक्षाका धेरै अधिकार स्थानीय सरकार मातहत गईसकेको अवस्थामा कसरी ब्यवस्थापन गर्दै हुनुहुन्छ ?

कर्मचारीहरु खटाउँदै छौं । चाँडै नै शुरु हुन्छ । नगरपालिकामा ब्यालेन्स मिलाएर, जहाँ जहाँ उपसचिव पठाएको छ हामीले पनि उपसचिव नै पठाउँछौं । गाउँपालिकामा अधिकृत स्तरको पठाउँछौं । आरपीहरुको पनि ब्यवस्थापन गर्नु छ । सबैलाई के हुन्छ ? कसो हुन्छ ? भन्ने परेको छ । नयाँ पद्धती आएको छ । हामीले सिंहदरबारको अधिकार गाउँपालिका र नगरपालिकामा पठाएका छौं । अब देशमा ७ सय ४४ जिल्ला भएको छ ।

त्यहाँ खटिएको कर्मचारिले ईमान्दारीपूर्वक गर्दियो भने सुधार हुन्छ । त्यसको मोनिटरिङ् कसले गर्ने ? जिल्ला शिक्षा कार्यालयलाई कसरी बचाउने ? जिल्लाको कन्सेप्ट पुरै हटेको छैन, सिडियो रहन्छ, त्यहाँको पुलिस प्रशासन रहन्छ ।

- स्थानीय तहमा अधिकार गएपछि झन् खस्किने हो की शिक्षाको स्तर भन्ने चिन्ता पनि सुनिन्छ ...

ए बाबा ! उनीहरुले राम्रोसँग निगरानी गर्ने, अहिले निर्वाचित वडा अध्यक्षहरुले आआफ्नो वडाको कमाण्ड गर्ने, भोट विर्गन्छ की नभनी काम गर्ने । अघि भर्खर मेरो २ जना  हेडमाष्टरसँग कुरा भएको थ्यो । एक जना माष्टरले राम्रो कुरा बतायो राम्रै भयो भन्यो ।

माष्टरहरुलाई अनुशासनमा ल्याउने काम भएको छैन । माष्टरहरुले आफू सरकारीमा पढाउँछ आफ्ना बाल बच्चा बोडिङ्मा पठाउँछ । यो पद्धती छ ।

मान्छेको मानसिकता नै बदलिई सक्यो । पहिला पहिला विभेद थियो । छोरालाई राम्रो स्कुलमा पढाउने, छोरीलाई सामुदायिक स्कुलमा पठाउने ।

अहिले मान्छेमा जनचेतना आईसक्यो । गिटि कुटेर भए पनि मेरो बच्चालाई राम्रो स्कुलमा पढाउँछु । फिस नलिने स्कुलमा त भार हुन्थेन नी । तर गिटि कुटेर पनि मेरो बालबच्चा राम्रो हुनु पर्छ, मेरो छोरा राम्रो हुनु पर्छ, राम्रो पढ्नु पर्छ भनेर बोडिङ् स्कुलमा पठाउने गरेका हामीले पाउँछौं ।

अब हामीले यसलाई परिवर्तन ल्याउन पर्छ । मै संलग्न भएको त्रिभुवन आदर्श विद्यामन्दिर छ । उसले ईङ्लिस मिडियम बनाएर अलिकता मान्छेहरु तानेको छ । त्यस्तै ईच्छा शक्ति भएको हेडसरहरु ठाउँ ठाउँमा हुनु पर्यो । भयो भने बढ्छ ।

- उच्च शिक्षाका बारेमा के सोच्नु भा छ ?

हाम्रो विद्यार्थी मात्रै पढ्न जाने हैन, विदेशबाट पनि विद्यार्थी यहाँ पढ्न आउन् ।  राम्रो राम्रो विश्वविद्यालय खोल्यौं भने धेरै डक्टर पढ्न ईण्डियाबाट यहाँ आउँछन् । हाम्रा युवाहरुलाई यहीँ पढ्ने अवसर दिलाउनु पर्यो । नत्र भने पढाईको नाममा करोडौं अरवौं पैसा हाम्रो बाहिर गएको छ । यसलाई जोगाउनु पर्यो ।

जति लामो कुरा गरे पनि यो सकिँदैन हेर्नुस् । कुरा मात्रै गरेर के गर्ने काम गर्न दिनुस् न ।

- तपाईको काम चैं कहिले देख्न पाईएला भन्ने लागेको नी ।

देखिहाल्नु हुन्छ नी । म जहाँ जहाँ गएको छु, म बाणिज्य मन्त्री भएँ, ईण्डिायसँग ट्रेड एण्ड ट्राञ्जिटको एग्रिमेण्ट गर्नाले अहिले सम्म हामीले त्यही उपभोग गरिरहेका छौं ।

- शिक्षामा चैं के गर्नुहोला भन्ने लागि राखेको नी ...

गरौंला नी । बहुत राम्रो कुरा गर्ने हो । यहाँको गुणस्तर खत्तम छ गुणस्तरलाई वृद्धि गर्ने हो ।

शिक्षा मन्त्री श्रेष्ठसँग गरिएको यो कुराकानी रेडियो कार्यक्रम 'हाम्रो शिक्षा' मा सुन्न सक्नुहुन्छ । उक्त कार्यक्रम असार ६ गते मंगलबार विहान काठमाडौंमा रेडियो थाहा सञ्चार र प्रदेश नम्बर सातमा रेडियो डोटीबाट विहान ८ बजे तथा रेडियो पश्चिम टुडे धनगढिबाट विहान साढे सात बजे सुन्न सक्नुहुन्छ । यसका साथै www.edukhabar.com तथा हाम्रो एण्ड्रेईड एप Edunepal बाट पनि तपाईले चाहेको बेला उक्त कार्यक्रम सुन्न सक्नुहुन्छ ।

प्रतिक्रिया