Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विचार / विमर्श

कक्षा कोठामा पाठ्यक्रमको सिर्जनात्मक प्रयोग

विहीबार, ०१ माघ २०७१

- खगराज बराल / नेपालको विद्यालय शिक्षामा योजनावद्ध तवरले पाठ्यक्रमको प्रयोग भएको चार दशकभन्दा बढी भइसकेको छ । विद्यालयीय तथा विश्व विद्यालयी शिक्षाको शिक्षण सिकाइको मुख्य केन्द्र पाठ्यक्रम हो । सिकारुले किन सिक्ने, के सिक्ने, कसरी सिकाउने, सिके नसिकेको कसरी जाँच्ने जस्ता विषयमा पाठ्यक्रमले निर्देश गर्दछ । पाठ्यक्रमले तोकेका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न पाठ्य पुस्तक, कक्षा कोठा, शिक्षक, शिक्षण सिकाइ कार्यनीति तयार गरिएको हुन्छ । पाठ्यक्रमको मुख्य प्रयोगस्थल कक्षा कोठा हो, प्रयोगकर्ता शिक्षक हो । यस लेखमा पाठ्यक्रमको परम्परागत बुझाइका साथै पाठ्यक्रमको सिर्जनात्मक प्रयोगका सन्दर्भमा चर्चा परिचर्चा गरिएको छ । लेखमा पाठ्यक्रमको अर्थ, पाठ्यक्रमको सिर्जनात्मक प्रयोग, पाठ्यक्रमको सिर्जनात्मक प्रयोगमा देखिएका समस्याहरू, पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्ने उपायहरू र अन्त्यमा निष्कर्ष निकालिएको छ ।

पाठ्यक्रमको अर्थ

पाठ्यक्रमका सम्बन्धमा परम्परागत र सैद्धान्तिक अवधारणा भिन्नाभिन्नै पाइन्छ । परम्परागत धारणामा शिक्षार्थीले कक्षाकोठाभित्र सिक्ने विषयको स्वरूपलाई पाठ्यक्रम मानिएको थियो । कक्षा कोठामा जे कुरा पठनपाठन गराइन्थ्यो सो पाठ्यक्रम हुन्थ्यो । कहीँ कहीँ त पाठहरूको क्रमलाई नै पाठ्यक्रम मानिन्थ्यो । पाठ्यक्रम र पाठ्यांशमा कुनै भिन्नता थिएन । पढाउने गुरूबाट नै पाठ्यक्रम निर्धारण हुन्थ्यो ।
शाब्दिक अर्थमा पाठ्यक्रमलाई दौडको मैदान अर्थात लक्ष्य प्राप्तिका लागि अगाडि बढ्ने बाटो मानिएको छ । शिक्षण सिकाइलाई लक्ष्यमा पुग्ने एक प्रकारको दौड मानिएको हो ।

सङ्कुचित अर्थमा पाठ्य पुस्तकको विषयसूचीलाई मात्र पाठ्यक्रमको रूपमा लिइएको छ । शिक्षालयमा पढाउने विषयवस्तुको सूची र विषयवस्तुको क्रम मात्र पाठ्यक्रम हो ।  पाठ्यक्रमको व्यापक अर्थले पाठ्यक्रमले शैक्षिक अनुभव, शिक्षण सिकाइ क्रियाकलाप, सिकाइ वातावरण र सिक्ने व्यक्तिलाई समेट्दै विद्यालयभित्र र बाहिर सिकारुले हासिल गर्ने सम्पूर्ण शैक्षिक अनुभवलाई समेटेको छ । यसले पाठ्यक्रमलाई सिकारु
र विषयमा मात्र सीमित गर्दैन । पाठ्यक्रममा शिक्षार्थीलाई सिकाउन खोजिएका विषयवस्तु मात्र हुँदैनन् । समाज र व्यक्तिको आवश्यकता अनुसार सिकारुले हासिल गर्नु पर्ने विषयवस्तु, शिक्षण सिकाइ क्रियाकलाप, शिक्षण सङ्गठन, मूल्याङ्कन सबैलाई पाठ्यक्रमले समेटेको हुन्छ ।

पाठ्यक्रमको सिर्जनात्मक प्रयोग

पाठ्यक्रममा उल्लिखित विषयवस्तुको शिक्षकले आफूमा भएको ज्ञान, सिप, अभिवृत्ति, मूल्य र व्यवहारका आधारमा विभिन्न विधि तथा प्रविधिको प्रयोग गरी शिक्षार्थीमा स्थानान्तरण गर्नु र गराउनु पाठ्यक्रमको सिर्जनात्मक प्रयोग हो । सिर्जनात्मक प्रयोगले पाठ्यक्रमका निर्दिष्ट उद्देश्य हासिल गराउन शिक्षकले अपनाउने विभिन्न विधि तथा प्रविधि र विभिन्न कौशललाई पनि जनाउँछ । पाठ्यक्रमले अपेक्षा गरे अनुसार शिक्षण सिकाइ क्रियाकलाप (विधि तथा सङ्गठन) तथा मूल्याङ्कनमा उपयोग गरिने विभिन्न विधि तथा प्रविधि र विभिन्न कौशलसमेत सिर्जनात्मक प्रयोग अन्तर्गत पर्दछन् । पाठ्यक्रम अब पाठ्य पुस्तकमा मात्र सीमित छैन । यसले पाठ्यांश, विषयवस्तुलाई
मात्र समेट्दैन । तल दिइएका पाठ्यक्रमका विभिन्न परिभाषाहरूले पनि पाठ्यक्रमको सिर्जनात्मक प्रयोगका लागि निर्देश गरेको छन् :

सि.भि.गुडका अनुसार पाठ्यक्रम भन्नाले उद्देश्य, लक्ष्य, विषयसूची, प्रक्रिया, स्रोत, मूल्याङ्कनका साधन आदिको बोध हुन्छ । जसलाई विद्यालयभित्र र बाहिर, कक्षा कोठा शिक्षण तथा सम्बन्धित कार्यक्रमद्वारा पुरा गर्न योजनाबद्ध रूपले लागू गरिएको हुन्छ भनिएको छ । यस परिभाषाले पाठ्यक्रमको प्रयोगमा रूढ नभई यसको सिर्जनात्मक प्रयोगबाट मात्र अपेक्षित लक्ष्य तथा उद्देश्य हासिल हुन सक्ने
सङ्केत गर्दछ । कक्षा कोठाका शिक्षण सिकाइ र पाठ्य पुस्तकमा आधारित पठन पाठनले मात्र पाठ्यक्रमले राखेका अपेक्षा पुरा हुँदैनन् भन्ने सन्देश दिन्छ ।

राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ ले शिक्षाका लक्ष्य हासिल गर्नका लागि बनाइएको शैक्षिक कार्यक्रमलाई पाठ्यक्रम भन्दछन् भनी परिभाषित गरेको छ । यस परिभाषाले शिक्षाका लक्ष्य प्राप्तिका लागि बनाएको शैक्षिक कार्यक्रमलाई जोड दिँदै पाठ्यक्रमले कक्षा कोठाको शिक्षण सिकाइ र पाठ्य पुस्तकभन्दा अझ बृहद् क्षेत्र पाठ्यक्रमले समेटेको छ ।

युनेस्कोले पाठ्यक्रमलाई शिक्षाका उद्देश्यहरू प्राप्तिका लागि विद्यालय तथा शिक्षकद्वारा विद्यार्थीका लागि तयार गरेको योजना र निर्देशनअनुसारको सम्पूर्ण अनुभवहरू लाई पाठ्यक्रम भन्दछन् भनी परिभाषित गरेको छ । यस परिभाषाले पाठ्यक्रमलाई विद्यालय तथा शिक्षकद्वारा तयार गरेको योजना र निर्देशन अनुसारको सम्पूर्ण अनुभवहरू लाई जोड दिँदै पाठ्यक्रमको प्रयोगमा विद्यालय र शिक्षकको
महत्त्वपूर्ण स्थान रहेको सङ्केत गरेको छ ।

हिल्डा टावाले दिएको परिभाषाले पाठ्यक्रमलाई विद्यालयभित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धिहरू प्राप्त गराउन विद्यार्थीद्वारा गरिने सम्पूर्ण प्रयासलाई पाठ्यक्रम भन्दछन् भनी पाठ्यक्रमको क्षेत्र र दायरा कक्षाकोठाभित्र मात्र सीमित नराखी ऐच्छिक उपलब्धि हासिल गराउन गरिने प्रयासतर्फ इङ्गित गरेको छ ।

माथि उल्लिखित परिभाषाहरूमा शाब्दिक विविधता भए पनि पाठ्यक्रमलाई शिक्षण सिकाइको सम्पूर्ण योजना मानिएको छ । विद्यार्थीमा अपेक्षित उपलब्धि हासिल गराउन विद्यालयमा पाठ्यक्रमको प्रयोग गर्नु पर्ने र यसको प्रयोगमा विविधता तथा सिर्जनात्मकता हुनु पर्ने कुरामा एक मत देखिन्छ ।

पाठ्यक्रमको निर्माण विभिन्न प्रक्रिया पुरा गरेर हुने गर्छ । पाठ्यक्रमको निर्माणमा विषय विज्ञ, पाठ्यक्रम विज्ञ, शिक्षक, सम्बन्धित सरोकारवालाहरूको सहभागिता हुने गर्छ । पाठ्यक्रमको वास्तविक प्रयोग शिक्षालयमा हुने गर्छ । पाठ्यक्रमको वास्तविक प्रयोगकर्ता शिक्षक हो । पाठ्यक्रमको सर्वाङ्गीण प्रयोगकर्ता शिक्षक हो ।  शिक्षकले नै आफ्नो कौशलता उपयोग गरी कक्षा कोठाभित्र र बाहिर पाठ्यक्रमले अपेक्षा
गरेका उपलब्धि हासिल गराउन सक्छ । शिक्षकले पाठ्यक्रमको परम्परागत प्रयोग मात्र नगरी सिर्जनात्मक प्रयोग गर्न सक्छ । शिक्षकले पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गरेन भने विद्यार्थीको सिर्जनशीलता र कल्पनाशीलता मर्दछ । साथै, पाठ्यक्रमले अपेक्षा गरेअनुसारका ज्ञान, सिप र प्रवृत्तिको विकास विद्यार्थीमा हुन सक्दैन ।

सिकाइमा सिर्जनात्मक प्रयोग र दायित्वमा शिक्षकको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै चीनिया भनाइमा यसरी भनिएको छ : शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ, शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ, शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ । शिक्षक सुत्यो भने भन्नुको तात्पर्य शिक्षक पाठ्यक्रमको सम्बन्धमा अनभिज्ञ हुनु हो । यस्तो अवस्थामा विद्यार्थीको सिकाइ मर्दछ । यी भनाइ पाठ्यक्रमको सिर्जनात्मक प्रयोगको सन्दर्भमा ज्यादै सान्दर्भिक छ । पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्दा शिक्षकले सक्रिय सिकाइ र निष्क्रिय सिकाइका सन्दर्भमा जानकारी राख्नु पर्दछ । परिभाषा दिनु, व्याख्या गर्नु, सूची बनाउनु, वर्णन गर्नु अति निष्क्रिय किसिमका सिकाइ हुन् भने प्रदर्शन गर्नु, प्रयोग गर्नु, अभ्यास गर्नु निष्क्रिय किसिमका सिकाइ हुन् । विश्लेषण गर्नु, संश्लेषण गर्नु, सिर्जना गर्नु, विवेचना गर्नु, प्रमाणित गर्नु, मूल्याङ्कन गर्नु सक्रिय किसिमका सिकाइ हुन् । पाठ्यक्रमको प्रयोग गर्दा शिक्षकले सक्रिय सिकाइ र निष्क्रिय सिकाइका
किसिमलाई विश्लेषण गर्नु पर्दछ । पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्न सक्रिय किसिमका सिकाइको उपयोग गर्नु पर्दछ ।

पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्दा शिक्षकले विद्यार्थीले कसरी सिक्दछन् भन्ने तथ्यलाई मनन् गर्नु पर्छ । क्युबन (Cubon, 1968) का अनुसार मानिसका ज्ञानेन्द्रिय मार्फत ग्रहण गर्ने तरिका फरक फरक हुन्छन् : १ प्रतिशत स्वाद लिएर, १.५ प्रतिशत छोएर, ३.५ प्रतिशत सँुघेर, ११ प्रतिशत सुनेर र ८३ प्रतिशत देखेर सिक्ने गर्दछन् । उनका अनुसार कस्तो किसिमबाट सिकियो भने सम्झन सकिन्छ भन्ने कुरामा सम्झने तरिका
पनि फरक फरक हुन्छ : १० प्रतिशत पढेर, २० प्रतिशत सुनेर, ३० प्रतिशत हेरेर, ५० प्रतिशत सुनेर र हेरेर, ७० प्रतिशत भनेर र ९० प्रतिशत भनेर र
गरेर सिकेको कुरा सम्झन सक्छन् । पाठ्यक्रमको वास्तविक प्रयोगकर्ताको रूपमा रहेको शिक्षकले सिक्ने र सम्झने तरिकालाई दृष्टिगत गरी पाठ्यक्रमको प्रयोग गर्नु पर्दछ ।

पाठ्यक्रमको प्रयोगको स्तरीय तरिका हुँदैन । शिक्षकले आफ्नो ज्ञान, सिप, अभिवृत्ति, मूल्य र व्यवहारका आधारमा आफ्नो कल्पनाशीलता र सिर्जनशीलताको अधिकतम् उपयोग गरी कार्यान्वयन गर्नु पर्दछ । उत्तर आधुनिककालीन समयमा प्रशिक्षक, स्रोत व्यक्ति, विद्यालय निरीक्षकले भनेको मात्र सही प्रयोगको तरिका नहुन सक्छ, प्रयोग गर्ने तरिका विभिन्न हुन सक्छन् । शिक्षकले सिकाइ सिद्धान्त, शिक्षणका सूत्रहरू, विगतको अनुभव, बाल मनोविज्ञान, सिकाइ मनोविज्ञान लगायतका सैद्धान्तिक ज्ञान र सिपको प्रयोग गरी आफ्नै तवरबाट पाठ्यक्रमको सिर्जनशील
उपयोग गर्नु पर्दछ ।

पाठ्यक्रमको सिर्जनात्मक प्रयोगका सन्दर्भमा देखिएका समस्याहरू

पाठ्यक्रममा आधारित शिक्षण सिकाइ हुन नसक्नु :

विद्यालयको पठन पाठन पाठ्य पुस्तकमा आधारित भएको छ । पाठ्यक्रममा उल्लिखित उद्देश्य, विषयवस्तु, शिक्षण सिकाइ क्रियाकलाप (सङ्गठन र विधि) तथा मूल्याङ्कन पद्धतिलाई खासै अबलम्बन गरिएको छैन । पठन पाठनको तरिका परम्परागत छ । विद्यार्थीले
हासिल गर्नु पर्ने सिकाइ उपलब्धिसँग शिक्षण सिकाइको सम्बन्ध देखिँदैन । पाठ्यक्रमलाई ध्यान नदिइकन शिक्षण सिकाइ क्रियाकलाप हुने गरेका छन् । 

शिक्षकहरूमा पाठ्यक्रमका सम्बन्धमा पर्याप्त जानकारी नहुनु :

तालिमको औपचारिकता पुरा गर्नु बाहेक शिक्षकहरूको पाठ्यक्रमसँग औपचारिक सम्बन्ध रहेको पाइँदैन । शिक्षाको राष्ट्रिय उद्देश्यले राखेका तहगत, कक्षागत र विषयगत उद्देश्य हासिल गर्नका लागि पाठ्यक्रम निर्माण गरिएको हुन्छ भन्ने जानकारी भए पनि शिक्षकले आफूले अध्यापन गर्ने विषयको पाठ्यक्रमको सम्बन्धमा पर्याप्त जानकारी लिएको पाइदैन । जानकारी हुनेलाई पनि सामान्य जानकारी छ, पर्याप्त
जानकारी छैन ।

पाठ्य पुस्तकलाई नै शिक्षण सिकाइको मुख्य साधन मानिनु :

पाठ्य पुस्तक विद्यार्थीका लागि निर्माण गरिएको सिकाइ सामग्री हो भन्ने सच्चाइतर्फ कमै शिक्षकको ध्यान गएको छ । कक्षा कोठामा हुने शिक्षण सिकाइ क्रियाकलापको मुख्य आधार पाठ्य पुस्तकलाई मानिएको छ । शिक्षकले पाठ्य पुस्तक पढाउँछन्, विद्यार्थीले पाठ्य पुस्तक पढ्छ । पाठ्य पुस्तकको प्रयोग गर्ने शिक्षकले पनि पाठ्यक्रमले अपेक्षा गरे अनुसारका क्रियाकलापका आधारमा पठन पाठन गराउँदैन । पाठ्य पुस्तकका आधारमा शिक्षण गर्ने शिक्षकले पनि पाठ्य पुस्तक शिक्षणका प्रक्रिया पुरा गर्दैन । पाठको सस्वरवाचन, केही प्रश्नोत्तर, पाठमा भएका केही समस्याका समाधान गर्दैमा पाठ्य पुस्तक पठन पाठनको कार्य सकिन्छ । तालिम प्राप्त शिक्षकमा पनि पाठ्य पुस्तकलाई शिक्षण सिकाइको मुख्य साधन मान्ने पुरातन सोचमा परिवर्तन हुन सकेको छैन ।

शिक्षकहरूमा पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्ने क्षमताको अभाव हुनु :

पाठ्यक्रमका सम्बन्धमा सामान्य जानकारी हुने शिक्षकहरू पनि सिर्जनात्मक प्रयोगका सम्बन्धमा अनभिज्ञ रहेका छन् । पाठ्यक्रम त विषयको पाठ्य भार, पूर्णाङ्क आदिबारे स्पष्ट हुन मात्र प्रयोग गर्ने प्रवृत्ति छ । शिक्षकले पठन पाठनका तरिकामा आफूलाई जे जानकारी छ सोअनुसार पठन पाठन गराउँदै आएका छन् । पाठ्यक्रमको सिर्जनात्मक प्रयोग त टाढाको विषय भएको छ । पाठ्यक्रमको सिर्जनात्मक प्रयोगको पक्ष के के हुन् ? कसरी प्रयोग गर्दा सिर्जनात्मक प्रयोग हुन सक्छ ? यस्ता प्रश्नहरूमा शिक्षकहरूमा स्पष्टताको अभाव छ । यी सबैको मुख्य कारण शिक्षकहरूमा पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्ने क्षमताको अभाव नै हो ।

पाठ्यक्रममा आधारित परीक्षा तथा मूल्याङ्कन सञ्चालन हुन नसक्नु :

विद्यार्थीको सिकाइ उपलब्धिको परीक्षण परीक्षाबाट गरिएको छ । परीक्षा तथा मूल्याङ्कन पाठ्यक्रममा आधारित छैन । पाठ्य पुस्तकको विषयवस्तुलाई आधार मानेर परीक्षामार्फत विद्यार्थीको परीक्षण गरिएको छ । पाठ्यक्रमले अपेक्षा गरेका सिकाइ उपलब्धि हासिल भए नभएको सम्बन्धमा सरोकार राखिएको छैन ।

पाठ्यक्रमको सिर्जनात्मक प्रयोगका सम्बन्धमा पेसागत सहयोग उपलब्ध हुन
नसक्नु :

पाठ्यक्रमका सम्बन्धमा शिक्षकहरू तालिम प्राप्त गरेका छन्, अध्ययन गरेका छन् तर पाठ्यक्रमको सिर्जनात्मक प्रयोगका सम्बन्धमा उनीहरूको क्षमता विकास भएको देखिँदैन । पेसागत सहयोगमा पनि पाठ्यक्रमको सिर्जनात्मक प्रयोग पक्ष गौण रहेको छ । शिक्षा प्रणालीको महत्त्वपूर्ण पक्ष पाठ्यक्रम हो र यसको वास्तविक उपलब्धि सिर्जनात्मक प्रयोगमा देखिन्छ । न शिक्षकहरू पाठ्यक्रमको सिर्जनात्मक प्रयोगका सम्बन्धमा पेसागत माग राख्ने गरेका छन्, न मागमा आधारित तालिममा माग नै गरेका छन्, न त आपूर्तिमा आधारित तालिममा यसतर्फ ध्यान नै दिइएको छ । पेसागत सहयोग उपलब्ध गराउने स्रोत व्यक्ति तथा विद्यालय निरीक्षकहरूले पनि यस पक्षमा चासो दिएका छैनन् ।

शिक्षकहरूले आफूमा भएका सक्षमता प्रयोग नगर्नु :

पाठ्यक्रम, यसको सिर्जनात्मक प्रयोगका सम्बन्धमा शिक्षकहरूमा विद्यमान ज्ञान, सिप, अभिवृत्ति, मूल्य र व्यवहार (Knowledge, Skills, Attitude, Value and Behaviour197 KSAVB) लाई उपयोग गरेको पाइँदैन । सैद्धान्तिक अवधारणामा स्पष्टता भए पनि शिक्षकहरूले आफूमा भएका सक्षमताको प्रयोग गरेका छैनन् । पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्ने तरिकाहरू पहिलो, पाठ्यक्रममा आधारित शिक्षण सिकाइ हुनु पर्छ । शिक्षकहरू अनिवार्य रूपले आफूले पठन पाठन गराउने तह र विषयको पाठ्यक्रमका बारेमा जानकार हुनु पर्छ । शिक्षण सिकाइको मुख्य आधार पाठ्यक्रम नै हुनु पर्छ ।

दोस्रो, शिक्षकहरूमा पाठ्यक्रमका सम्बन्धमा पर्याप्त जानकारी हुनु पर्छ । स्वअध्ययन, मेन्टरिङ, तालिम आदिका माध्यमबाट शिक्षकलाई पाठ्यक्रमका सम्बन्धमा जानकारी दिनु पर्छ । हरेक शिक्षक र विद्यालयसँग विद्यालय तहको पाठ्यक्रम उपलब्ध हुनु पर्छ ।

तेस्रो, पाठ्य पुस्तकलाई नै शिक्षण सिकाइको मुख्य साधन मान्ने सोच परिवर्तन हुनु पर्छ । पाठ्य पुस्तकलाई शैक्षिक सामग्रीका रूपमा मात्र लिनु पर्छ । पाठ्य पुस्तकलाई विद्यार्थीका लागि तयार गरेको सिकाइ सामग्रीको रूपमा प्रयोग गर्नु पर्छ ।

चौथो, शिक्षकहरूमा पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्ने क्षमताको विकास गराउनु पर्छ । स्वाध्ययन, कार्यशाला, तालिम, सेमिनार, अवलोकन तथा अध्ययन भ्रमण, मेन्टरिङ आदिका माध्यमबाट शिक्षकको क्षमता विकास गर्नु पर्छ ।

पाचौं, पठन पाठनको आधार पाठ्यक्रम हुनु पर्छ र पाठ्यक्रममा आधारित भएर विद्यार्थीको परीक्षा तथा मूल्याङ्कन हुनु पर्दछ । शिक्षकहरूलाई पाठ्यक्रमका आधारमा विद्यार्थीको परीक्षा तथा मूल्याङ्कन गर्नका लागि आवश्यकता अनुसार क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नु पर्दछ ।

छैटौं, शिक्षकहरूलाई पाठ्यक्रमको सिर्जनात्मक प्रयोगका सम्बन्धमा प्रधानाध्यापक, स्रोत व्यक्ति, र विद्यालय निरीक्षकबाट पेसागत सहयोग उपलब्ध पाउन सक्ने अवस्था सिर्जना गर्नु पर्दछ । यसका लागि आवश्यक परेमा प्रधानाध्यापक, स्रोत व्यक्ति र विद्यालय निरीक्षकको क्षमता विकासका कार्यहरू पनि सञ्चालन गर्नु पर्दछ ।

सातौं, शिक्षकहरूले आफूमा भएका सक्षमता प्रयोग गर्नु पर्दछ । हाल विद्यमान सक्षमताको उपयोग गरेर नै पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्नु पर्दछ । यसका लागि शिक्षकले निम्नानुसार गर्नु पर्दछ :

१. सिकाइ उपलब्धि हासिल गर्न स्थानीय ज्ञान, सिप र प्रविधिको प्रयोग गर्ने

२. पाठ्यक्रममा उल्लिखित सिकाइ उपलब्धिलाई शिक्षण सिकाइको मूल आधार बनाउने

३. स्थानीय परिवेश र पाठ्यक्रमको सम्बन्ध राख्ने

४. पाठ्यक्रमको उदे्दश्य पुरा गर्न अन्य स्रोतको उपयोग गर्ने

५. शिक्षक आफू, आफ्नो समुदाय, विद्यार्थी,वरपरको वातावरणलाई पाठ्यक्रमका रूपमा ग्रहण गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने

६. पाठ्यक्रममा आधारित भई विद्यार्थीको जीवनसँग पाठ्य वस्तुलाई जोडी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने

७. खोज, अनुसन्धान, स्वपरावर्तन (Self Reflection) मा आधारित शिक्षण गर्ने

८. आफूले पढाउने विषयसम्बद्ध पाठ्यक्रमका सबै पक्षको अध्ययन गरी शिक्षण योजना बनाउने

९. पाठ्यक्रमलाई आधार मानी विषयवस्तु चयन गरी शिक्षण गर्ने र यसका लागि पाठ्य पुस्तकको

१०. पाठ्यक्रममा दिइएका ज्ञान, सिप, अभिवृत्ति, मूल्य र व्यवहार (Knowledge, Skills, Attitude, Value and Behavior -KSAVB)  क्षेत्रका
उद्देश्य चयन गर्ने र त्यसैका आधारमा शिक्षण पूर्व नै सामग्री, क्रियाकलाप, विधि र मूल्याङ्कन प्रक्रियाबारे सोच बनाउने

११. पाठ्यक्रमका आधारमा सिकारुको सिकाइ अनुभवसमेत समेटी पाठ्यांश (पाठहरू) तयार गरी उपयोग गर्ने

१२. तहगत, विषयगत उद्देश्य र सिकाइ उपलब्धिबिच समन्वय गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने

१३. पाठ्यक्रमका विषयवस्तु र पाठ्यवस्तुबिच तादात्म्यता पत्ता लगाइ सो अनुसार क्रियाकलाप सञ्चालन गर्ने, गराउने

१४. पाठ्यक्रममा भएका विषयवस्तु अध्ययन अध्यापन गर्दा आवश्यक स्थानमा प्रयोगात्मक क्रियाकलाप र परियोजना कार्य गराउने

१५. सिकाइलाई व्यवहारिक क्रियाकलापमा रूपान्तरण गर्ने

१६. शिक्षण सिकाइको उद्देश्य प्राप्त भए नभएको जानकारी पाउन विद्यार्थी प्रगतिको लेखाजोखा गरी सुधारात्मक शिक्षण गर्ने

१७. शिक्षकले प्राप्त गरेको अनुभवलाई शिक्षकहरूबिच अन्तरकियामार्फत सन्जाल तयार गरी अनुभवको आदानप्रदान गर्ने

१८. पाठ्यक्रमले निर्धारित गरेको सिकाइ उपलब्धिलाई हासिल गर्न शिक्षक र विदर्थीबिचको सामूहिक सहकार्यको नेतृत्वकर्ताको भूमिका शिक्षकले निर्वाह गर्ने

१९. विद्यार्थीको रुचि, उमेर क्षमता र दक्षताअनुसार सिकाइ वातावरण सिर्जना गरी लक्षित उपलब्धि हासिल गर्ने गराउने

२०. कक्षा कोठाको वातावरणलाई सिकाइ केन्द्रित गर्न विविधतापूर्ण परिस्थिति र परिवेशलाई संयोजन गर्ने

२१. निर्धारित विषयवस्तुको सिकाइ उपलब्धि हासिल गर्न शिक्षणभन्दा सिकाइलाई ध्यान दिने

२२. शिक्षण सिकाइमा नवीनता र विविधता ल्याउन शिक्षण विधि, प्रक्रिया, विषयवस्तु आदिको खोज अनुसन्धान गर्ने

२३. पाठ्यक्रम र पाठ्य पुस्तकको तुलनात्मक अध्ययन गरी पाठ्यक्रममा समावेश भएका तर पाठ्य पुस्तकमा नभएका कुराहरू पत्ता लगाउने र यसरी छुटेका कुराहरूलाई शिक्षण सिकाइ क्रियाकलापमा समावेश गर्ने

२४. पाठ्यक्रममा समावेश गरिएका सिकाइ उपलब्धिहरूका लागि प्रस्ताव गरिएका शिक्षण सिकाइ क्रियाकलापहरूलाई परिवेश र मर्म अनुरूप आवश्यक सुधार गरी सिकाइ क्रियाकलाप सञ्चालन गर्ने

२५. शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सकेपछि तोकिएको उद्देश्य हासिल भयो भएन भनेर पाठ्यक्रमले प्रस्ताव गरे बमोजिम मूल्याङ्कन गर्ने र उद्देश्य पुरा नभएमा उपचारात्मक शिक्षण गर्ने

२६. पाठ्यक्रमले राखेको उद्देश्य पुरा गर्न त्यससँग सम्बन्धित अन्य सामग्रीहरू (पाठ्य पुस्तक, शिक्षक निर्देशिका, स्रोत सामग्री, अन्य सन्दर्भ सामग्री) अध्ययन गरी उपयोगमा ल्याउने

२७. विद्यालयको हाताभित्र र बाहिर भएका विभिन्न धार्मिक स्थल, ऐतिहासिक, पुरातात्विक एवम् राष्ट्रिय महत्त्वका विषयमा विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराउने

२८. विद्यार्थीको ज्ञान, दक्षता, स्तर र सिपसँग सम्बन्धित सिकाइ अनुभवलाई पाठ्यक्रमको सिकाइ उपलब्धिसँग तादात्म्यता मिलाउने

२९. शिक्षण विधि वा रणनीतिमा विविधता ल्याउने

३०. विद्यार्थीले कक्षामा सिकेका ज्ञान, सिप र धारणालाई परिवार र समुदायमा व्यवहारिक प्रयोग गर्न उत्प्रेरित गर्ने

३१. प्रत्येक दिन शिक्षण पूर्व पाठ्यक्रममा उल्लिखित पाठसँग सम्बन्धित सिकाइ उपलब्धि, शिक्षण क्रियाकलापलाई तोकिएको समय सीमाभित्र सक्ने योजना निर्माण गर्ने

३२. तोकिएका सिकाइ उपलब्धि हासिल गर्नका लागि नयाँ नयाँ तथा प्रभावकारी शिक्षण विधि तथा क्रियाकलापको खोजी तथा प्रयोग गर्ने

३३. पाठ्यक्रमले तोकेका उद्देश्यहरू तथा विषयवस्तुबिचको तालमेल अध्ययन गरी सोहीअनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने

निष्कर्ष

पाठ्यक्रमको सिर्जनात्मक प्रयोग भिन्न र नौलो विषय होइन । विद्यालयमा शिक्षकबाट पाठ्यक्रमको सामान्य प्रयोग समेत नभएको अवस्थामा सिर्जनात्मक प्रयोग गर्ने बनाउन ठुलै प्रयत्न आवश्यक हुन्छ । परम्परागत शिक्षण पद्धतिमा परिवर्तन गरी पाठ्यक्रम मुखी शिक्षण सिकाइ प्रारम्भ गरेपछि पाठ्यक्रमको सिर्जनात्मक प्रयोग सुरु हुन्छ ।

शिक्षक अद्यावधिक हुने, पाठ्यक्रमको आसय अनुसार शिक्षण गर्ने, लुप्त पाठ्यक्रम (Hidden curriculum) पनि उपयोग गर्ने जस्ता कार्यबाट पठन पाठनमा सिर्जनशीलता विकास गर्न सकिन्छ । माथि उल्लिखित समस्याहरूलाई मनन गरी सुधारका उपायहरूको कार्यान्वयन गर्न सके पाठ्यक्रमको सिर्जनात्मक प्रयोग गर्न सम्भव छ ।

शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक बरालको पुस्तक ‘केही शैक्षिक प्रबन्ध’ बाट !

प्रतिक्रिया