Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

शिक्षकलाई अनलाईन मार्फत् तालिम

मंगलबार, ३० जेठ २०७४

भक्तपुर - शिक्षा शास्त्र नपढिकनै शिक्षक बनेका शिक्षकलाई सरकारले अनलाईन मार्फत् तालिम दिने भएको छ ।

शिक्षकको क्षमता विकास र पेशागत विकासका लािग विभिन्न किसिम र माध्यमले तालिम दिँदै आएको शैक्षिक जनशक्ति विकास केन्द्रले पहिलोपटक अनलाईन मार्फत् तालिम दिन लागेको हो । उक्त तालिममा कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षक मात्र सहभागी हुन पाउने छन् ।

कक्षा १ देखि कक्षा १० सम्म अध्यापन गराइरहेका अधिकांश शिक्षकले पेशागत तालिम लिइसकेका कारण कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकलाई मात्र सो तालिम दिन लागेको केन्द्रको भनाइ छ । ‘मोडल लर्निङ म्यानेज्मेण्ट सिस्टम छ, त्यो प्लेटफर्म अन्तर्गत रहेको फ्री सफ्टवेयरको प्रयोग गरेर शिक्षकलाई तालिम दिन लागेका हौं ।’ तालिम संयोजक केन्द्रका अधिकृत बौद्ध निरौलाले बताए ।

‘पाइलट प्राजेक्ट’ को रुपमा यो वर्षबाट सुरु गरिएको सो किसिमको तालिममा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पढेर शिक्षण पेशामा संलग्न शिक्षकलाई सहभागी गराइने केन्द्रले जनाएको छ । त्यसमा २० जना शिक्षक सहभागी हुने छन् ।

‘एजुकेशन ब्याकग्राउण्ड नभएपछि त्यो शिक्षकसँग तालिम नभएको भन्ने बुझ्छौं । सोही अनुसार शिक्षकलाई लेशन प्लान के हो ? वार्षिक प्लान के हो ? अनि एजुकेशन रिसर्च के हो ? लर्निङ थ्योरी के हो ? भन्ने सिकाउनका लािग यो तालिम दिन लागेका हौं ।’ निरौलाले भने ।

केन्द्रले तयार गरेको तालिमका विषयबस्तुलाई सम्पादन गरेर पाठ्यक्रम तयार गरिएको बताउँदै तालिम संयोजक निरौलाले अनलाईन मार्फत नै विभिन्न कामहरु गराउने खाका समेत तयार भएको जानकारी दिए ।
त्यसका लागि तालिममा सहभागी शिक्षकलाई तीन दिने अभिमुखीकरण मंगलबारबाट सुरु भएको छ । सो अभिमुखीकरणपछि शिक्षकलाई घरमै बसेर तालिमसम्बन्धी काम गराउने र अन्तिममा अनलाईन मार्फत् जाँच दिन लगाउने व्यवस्था गरिएको छ । शिक्षकको पेशागत विकासका लागि तालिमको अवधारणासँगै माध्यम र विधिमा केही फेरबदल गरी यो प्रकारको अनलाईन तालिम सञ्चालन गरेको केन्द्रको भनाइ छ । सो तालिम नेपालमा पहिलोपटक अभ्यास थालिएको केन्द्रको दाबी छ ।

९० दिनको समयावधिको सो तालिमको अवधिका क्रममा प्रशिक्षार्थी र प्रशिक्षक दुबैले अनलाईनमार्फत् तालिमका विषयवस्तुमाथि अन्तरक्रिया गर्ने छन् ।

सो तालिममा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक गरी ६ जिल्लाका शिक्षकलाई सहभागी गराइएको छ । तालिम प्रभावकारी भएको खण्डमा तालिमको शैली र संरचना सोही अनुसार अघि बढाउने योजना केन्द्रको छ । तालिममा सहभागी हुने शिक्षक कम्प्युटरमा भने पोख्त हुनु जरुरी छ ।

प्रतिक्रिया