काभ्रे - विषयगत शिक्षक अभाव टार्न शिक्षा मन्त्रालयले शुरु गरेको प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात् ’भर्चुअल कक्षा’ प्रभावकारी भएको छैन । कक्षाका लागि ५० इञ्चको टेलिभिजन, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर, एडप्टर, इन्टरनेट डिभाइस, क्यामरा लगायतका उपकरण विद्यालयमा जोडिएको छ । तर सो कक्षा सञ्चालन गर्न आवश्यक इण्टरनेटको समस्यामा विद्यालय परेका छन् ।
गत शैक्षिक सत्रको तीन महिना बाँकी हुँदा शैक्षिक जनशक्ति विकास केन्द्र (एनसिइडी) सानोठिमीले भर्चुअल कक्षा सुरु गरेको थियो । गत पुसमा तत्कालिन शिक्षामन्त्री धनिराम पौडेलले एनसिडीको श्रव्यदृष्य स्टुडियोबाट कक्षाको उद्घाटन गरेका थिए ।
शैक्षिक जनशक्ति विकास केन्द्रको श्रव्यदृष्य स्टुडियोबाट विषयगत शिक्षकले पढाएको पाठ सामुदायिक विद्यालयका विद्यार्थीले आफ्नै कक्षामा रहेको टेलिभिजनको पर्दामा प्रत्यक्ष हेर्न र सिक्न सक्ने भनिए पनि उक्त कक्षाको प्रभावकारितामा वृद्धि भएको छैन ।
भूकम्प प्रभावित जिल्लाहरुमध्ये पहिलो चरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, सिन्धुली, दोलखा, रसुवा र ओखलढुंगामा सो प्रविधिबाट पठनपाठन गर्न शुरु गरिएको हो ।
यसका लागि काभ्रेपलाञ्चोकका १३, सिन्धुपाल्चोकका १२, गोरखाका १०, सिन्धुलीका १०, मकवानपुरका ९, रामेछापका ८, ओखलढुंगाका ७, दोलखाका ८, नुवाकोटका १०, धादिङका ११ र रसुवाका २ विद्यालय छनोटमा परेका छन् ।
उक्त प्रविधि मार्फत कक्षा सञ्चालनका लागि केन्द्रले एक सय विद्यालयका १ / १ जना शिक्षकलाई तालिम पनि दिइसकेको छ ।
‘सुरुमा हामी र विद्यार्थी पनि निक्कै हौसिएका थियौं तर अहिले भने न विद्यार्थीमा खासै उत्साह छ न त शिक्षकमै ।’ एक शिक्षकले नाम नबताउने सर्तमा भने । उनले उक्त कक्षामा विद्यार्थी आउन मन गरे पनि आफ्नो मनमा लागेको प्रश्नको जवाफ सोध्न नपाउँदा दिक्क मान्ने गरेको बताए ।
‘टिभीमा एकतर्फी कक्षा भइरहेको हुन्छ, सो क्रममा केही नबुझेको कुरा कोहीसँग सोध्न नपाउँदा भने विद्यार्थी दिक्क मान्छन्, हल्ला गर्न थाल्छन् ।’ शिक्षक भन्छन् । यो प्रविधिबाट अंग्रेजी, गणित र विज्ञान विषयको पढाइ भइरहेको भए पनि विद्यालयमा भने स्रोत र ठाउँको अभाव भएको हिमालय मावि बनेपाका शिक्षक नारायण तिमल्सिनाले बताए । उनले विद्यालयले राखेको इण्टरनेटमा समस्या हुँदा भर्चुअल कक्षा सोचेजसरी लान नसकेको बताए ।
प्रश्नोत्तर विधिबाट आएका विद्यार्थीले शिक्षकसँग अन्तरक्रिया गर्न नपाउँदा समस्याको अनुभूति विद्यार्थी स्वयम्ले गरेको बताउँदै हिमालय माविका शिक्षक तिमल्सिनाले भर्चुअल कक्षा खाएर ओकल्ने विधिजस्तै भएको बताए ।
काभ्रेको सञ्जिवनी नमूना मावि, कुशादेवी मावि, चण्डेश्वरी मावि, जनक मावि, पार्वती मावि, प्रकाश मावि, प्रभा मावि, भालेश्वर मावि, मंगल जनविजय मावि, महाकाली मावि, शिक्षा सदन मावि, सर्वमंगला मावि र हिमालय मावि गरी १३ सामुदायिक विद्यालयमा भर्चुअल कक्षा सञ्चालित छ ।
‘यो विधिले शिक्षक समस्या त केही रुपमा हल त भएको छ तर विद्यार्थीका समस्या भने हल हुन सकेको छैन ।’ भर्चुअल कक्षा सञ्चालन गरेका विद्यालयका प्रअहरुको भनाइ छ । यसैले कसरी विद्यार्थीका समस्या समाधान गर्न सघाउ पुर्याउन सकिन्छ सो अभ्यासमा एनसिइडी लाग्नु जरुरी छ ।
प्रतिक्रिया