ललितपुरको गोदावरीकी सरिता आचार्यले सरकारी विश्वविद्यालयमा अध्यनरत विद्यार्थी, अझ त्यसमाथि गरिब, निम्न आय भएका र पढाइकै लागि दुर्गम ठाउँबाट सुगम ठाउँमा बसेर अध्ययन गरिरहेका विवस विद्यार्थीको दिनचर्याको विषयलाई लिएर लघुकथा लेखेकी छन्, ‘सरकारी विद्यार्थी’ । यो साताको शिक्षा साहित्यमा उनकै सृजना :
बिहानै उठेर कामको खोजीमा भौंतारिनु, पप, समोसा, वन, दुनोट, चाउमिन र एकाध बार बफ ममको खान्कीमा दिनभरी पढाइ सकेर बेलुका साँघुरो अँध्यारो डेरामा घुस्रनु, नोट बनाउनु अनि दरखास्त खुलेजति पदका परीक्षाका लागि घुँडा धसेर तयारी गर्नु, कीर्तिपुर डेरावासी स्नातकोत्तरका दुई विद्यार्थीको महिनौं देखिको दिनचर्या हो ।
जेठ महिनाको रापिलो घाम, सानो पिच बाटोको दाँयाबाँयावाट बुङबुङ उडेको धूलो अनि नजिकै थुपारेको फोहोरको डंगुर तातेर निस्केको गन्ध सबैले वातावरण नै उराठ लाग्दो छ । बल्लतल्ल आजको कक्षा सकेर त्रिभुवन विश्वविद्यालयको भत्केको पर्खालको बाटो हुँदै सडकमा निस्कन्छन् उनीहरु । दुवै कन्चटबाट निस्केको पसिना तपतप चुहाउँदै बिस्कुट, केक, चाउचाउ, चिसो र चिया भएको सानो पसलको अगाडि उभिन्छन् ।
पसलमा चाङ लगाएर राखेको पानीको बोत्तलतर्फ पिलिक्क हेर्छन् । एउटाले सोध्छ, ‘साउनी, खानेपानी होला ?’
साउनीको छोटो र रुखो जवाफ फर्किन्छ, ‘छैन’ ।
दुबैजना मुखामुख गर्छन् र घडी हेर्छन् । बल्ल चार बजेको छ, बेलुकाको खाना खान अझै धेरै समय बाँकी छ ।
खाली पानीमा खर्च गर्नुभन्दा चियामा खर्च गर्नु नै बेस लाग्छ उनीहरुलाई ।
एउटाले साउनीपट्टी फर्केर भन्छ, ‘दुई कप कालो चिया बनाउनोस् न त’ साथी चाहिले थप्छ ‘कागती पनि राख्नोस् है ।’
प्रतिक्रिया