काठमाडौंका खेमराज पोखरेल साहित्यमा रुचि राख्दै साहित्यका विभिन्न विधामा आफ्नो कलम तिखारिरहेका छन् । उनका विभिन्न साहित्यिक कृतिहरु प्रकाशित छन् । पोखरेलको लघुकथा यो साताको शिक्षा साहित्यमा :
प्रज्ञा विद्यार्थीलाई नोट लेखाइ दिएर स्टाफ रुममा बसेको थिएँ । त्यहाँ धेरै पार्टीका सदस्य प्राध्यापक साथीहरू हुुनुहुन्थ्यो । राजनीतिक ह्वास्सलाई बेस्सरी रन्काएर कलेज बाहिर निस्केँ ।
गेटमै एकजना सामान्य देखिने मान्छेले मलाई प्रश्न गरेः ‘विश्वविद्यालयको अर्थ के हो सर ?’
मैले कितावमा पढेको उत्तर दिएँः ‘प्रज्ञा पाउने ठाउँ’ उनी हाँसे र भनेः ‘ढाँट उत्तर’
मैले भनेँः ‘कसरी ?’
उनले केही नबोली मलाई उनको बायुयानमा बस्न अनुरोध गरे ।
हामी उडिरहेका थियौँ ।
उनले मलाई त्रिवि गेटबाट भित्र छिराए । घागडान फ्रोफेसरहरू चिया दोकानमा बमन गरिरहेका थिएः ‘मलाई नियुक्ति दिएन, पक्षपात’ ‘ढिस्कानालाई चुनावमा जिताऔँ’ ‘त्यो थेसिस प्रोफेसर षडानन्दले पैसामा लेखिदिएको हो’ ‘उसले कक्षा लिएको थाहा छैन ।
प्रोफेसर पड्कायो’ यो सुनेर उनले मलाई प्रश्न गरेः ‘यो प्रज्ञा हो ?’ मैले भनेँ ‘होइन’ उनले फेरि यानलाई उडाएर सुदुरपश्चिमदेखि सुदुरपूर्वसम्मका विश्वविद्यालयमा पुर्याए ।
कलेज कलेज पुर्याए । बाटोमा उनले भनेः ‘राजनीतिक पार्टीका कार्यकर्ता रहेछन् ।
त्यहाँ प्रज्ञा छ र ?’
मैले भनेँः ‘छैन’
हामी सहरतिर हानियौँ । सहरभरि निजी कलेजका नारा लेखिएका तुल र ब्यानरहरू थिए ।
उनले मलाई सोधेः ‘यी ब्यानरहरू प्रज्ञा हुन् र ?’
मैले भनेँः ‘होइनन्’
उनले टेकुमा बागमतीभित्र फोहोर टिप्दै गरेको एकजना बृद्ध मान्छेलाई देखाएर भनेः ‘त्यो मान्छेलाई सोधौँ’ हामीले जेटलाई बागमतीमाथि उडाइ रह्यौँ ।
मैले बृद्धलाई सोधेँः ‘बा, प्रज्ञा भनेको के हो ?’ उत्तर आयोः ‘मैले त बागमती सफा गर्न मात्रै जानेको छु, प्रज्ञा त मलाई थाहा छैन हजुर’ ...
श्रीमतीले मलाई बिहानको अल्छे निद्राबाट चिमोटेरै ब्युँझाइन्ः ‘कस्तो सुतेको हजुर ? सुनिस्यो न, बिचरा त्यो प्रज्ञा ‘ग्याङ् रेप’मा पो परिछे ।’
प्रतिक्रिया