ललितपुर - बागमति प्राथमिक विद्यालय ठूलादुर्लुङ् ललितपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर पाख्रिन हिजोआज कक्षाकोठामा हुने हल्ला र त्यसका कारण पढाइमा पुग्दै गरेको अवरोधको चिन्ताबाट मुक्त भएका छन् । उनी जस्तै बालमुकुन्द निम्न माध्यमिक विद्यालय बुखेल ललितपुरका शिक्षक विद्यार्थी पनि विद्यालयको कक्षाकोठामा हुने होहल्ला र त्यसका कारण उत्पन्न उही समस्याबाट मुक्त भएका छन् ।
भूकम्पले भत्केको स्कुल पूनर्निर्माण भएपछि यो समस्याबाट यी स्कुलहरुलाई मुक्ति मिलेको हो । भूकम्पले भत्केको इटाढुंगाले बनेको भित्ताको सट्टा इको प्यानलबाट पार्टेशन वाल बनाएपछि यो समस्या हटेको हो ।
'इको प्यानलमा साउण्ड इन्स्युलेशन रहेछ' तुलबहादुर पाख्रिनले भने, इको प्यानलको प्रयोगबाट कक्षाकोठा वार्दा यताको आवाज उता र उताको आवाज यता नआउने रहेछ ।'
यही कारण पहिला जस्तो एउटा कक्षाको होहल्ला अर्को कक्षामा नजाने उनले सुनाए । भूकम्प अगाडि इँटा, ढुंगाको प्रयोगबाट बार लगाएको कक्षाकोठामा एउटा कक्षाकोठाको आवाज अर्काे कक्षाकोठामा सजिलै सुनिंदा होहल्लाले हैरान गरेको उनले स्मरण गरे ।
इको प्यानल हलुका निर्माण सामाग्री रहेकाले भूकम्पबाट भत्केर लाग्दा पनि कुनै दुर्घटना नहुने खालको भएको उनले जनाए ।
वालमुकुन्द निम्न माध्यामिक विद्यालय बुखेलका शिक्षक विद्यार्थीले भूकम्पले भत्केको स्कुलको भबनको कोठाहरु इको प्यानलको प्रयोगबाट बारेको जनाए । इको प्यानलको प्रयोगबाट कक्षाकोठाको बार लगाएपछि जोडिएका कक्षाकोठाका कारण हुने होहल्ला नहुने गरेको उनीहरुले सुनाए । यसअघिसम्म एउटा कक्षाकोठाका शिक्षकले बोलेको आवाजले नजिकैको कक्षाकोठासम्म ठूल्ठूलो आवाज गुञ्जिदा पढाई अवरुद्ध हुने गर्दै आएको उनीहरुले सुनाए ।
'यसले विद्यार्थीको ध्यान नै विकेन्द्रित हुने गरेको थियो, उनीहरुको सामूहिक भनाई थियो, यसले पढाई नै राम्रो हुन सकेको थिएन ।' उनीहरुले भने
अल एेंगल्स नेपाल नामक गैर सरकारी संस्थाका अध्यक्ष योगेश श्रेष्ठले सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुबाट स्वीकृति लिई गोर्खा इको प्यानलको प्रयोगबाट स्कुल पुननिर्माण गरेको बताए । जिल्ला आयोजना कार्यान्वयन एकाईबाट इको प्यानल प्रयोगको स्वीकृति लिई विद्यालय पुननर्मिाण गरेको उनले बताए ।
निर्माण सामाग्री ढुवानी गर्न कठिन हुने दुरदराजका ठाउँं भएकाले इको प्यानलको प्रयोग गरी विद्यालयको पुननिर्माण गरिएको उनले जनाए । ललितपुरका दुईसहित काभ्रेस्थित भगवती प्राथमिक विद्यालय र पञ्चकन्या निम्न माध्यामिक विद्यालयको विद्यालय भबन पुननिर्माणका लागि आफूहरुले सहयोग गरेको उनले बताए ।
प्रतिक्रिया