Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

उम्मेदवार शिक्षकबाट होला त शिक्षामा सुधार ?

शुक्रबार, २९ बैशाख २०७४

काठमाडौं - शिक्षण पेशालाई चटक्कै छोडेर आसन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यदेखि मेयर पदसम्ममा उम्मेदवार बनेका शिक्षकहरुको नेतृत्व पछिको शिक्षा कस्तो होला ?

शिक्षण पेशाको सट्टा पूर्ण रुपमा राजनीतिमा लागेका ती शिक्षकहरुले जित्लान् वा हार्लान् त्यो त बैशाख ३१ गतेको मतदान पछि नै निक्र्योल हुनेछ । तर आआफ्नो दलको झण्डामुनि लागेर चुनावमा होमिएका ती शिक्षकहरुले दलको घोषणापत्रमा उल्लेख भएका शैक्षिक मुद्धालाई कार्यान्वयन गर्ने आँट गर्लान् कि नगर्लान् ? यो अहिले छलफलको विषय बनेको छ ।

राजनीतिमा प्रत्यक्ष सहभागी हुन राजिनामा दिएर उम्मेदवार बन्न गए पनि शिक्षामा खासै सुधार हुने देखेका छैनन्, जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिँहले । राजनीतिमै लागेका शिक्षकका कारण सार्वजनिक शिक्षा विग्रिएको र राजनीतिले नै शिक्षकलाई बिगारेको उनको निष्कर्ष छ । स्थानीय तहको निर्वाचनबाट ‘त्यस्ता’ शिक्षक चुनिएको खण्डमा शिक्षामा खासै सुधारको अपेक्षा आफूले नगरेको उनले बताए ।
‘अहिलेसम्मको अनुगमन, अध्ययनले राजनीतिमा लागेका शिक्षककै कारण विद्यालय बिग्रिएको देखिएको छ, त्यस्ता शिक्षकले राजिनामा दिएका छन्, तिनीहरुबाट समग्र क्षेत्रमा विकास नभए पनि त्यस्ता शिक्षकले छोडेको विद्यालय बरु राजनीतिमुक्त हुने देखिएको छ ।’ उनले भने ।

काभ्रेका सहायक जिल्ला शिक्षा अधिकारी गोबिन्द सेढाईँ पनि शिक्षण छोडेर राजनीतिमा लागेका शिक्षकबाट खासै ठूला परिवर्तनको अपेक्षा गर्न नसकिने ठोकुवा गर्छन् ।

‘शिक्षााको सुधार गर्नभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने स्वभावका शिक्षकबाट के अपेक्षा गर्नु र ?’ उनको प्रतिप्रश्न छ ।

शिक्षा कार्यालयहरुका अनुसार भक्तपुरमा ५ जना, बैतडीमा ५, नुवाकोटमा ८, पर्सामा १, गोरखामा १२, जाजरकोटमा १०, तनहुँमा १०, सुनसरीमा ३, काभ्रेपलाञ्चोक जिल्लामा २९ जना शिक्षकहरुले चुनावका लागि राजिनामा दिएका छन् ।

शिक्षक उम्मेदवार बनेपछि शिक्षा अधिकारीहरुले शिक्षामा परिवर्तनको अपेक्षा नगरे पनि शिक्षकका संघसंगठनका प्रतिनीधिहरुले भने शिक्षक उम्मेदवार बनेपछि भने शिक्षामा परिवर्तन आउने छनक देखेका छन् ।
नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले महासंघसँग ३४ जिल्लाका शिक्षकबाट राजिनामा दिएको जानकारी रहेको बताए । उनले कति शिक्षकले राजिनामा दिएर उम्मेदवार बने भन्ने यकिन तथ्यांक नआएको बताउँदै शिक्षकले जागिरभन्दा ठूलो समाजसेवालाई ग्रहण गरेकोले शिक्षामा सुधार आउने बताए ।

‘यो देशमा शिक्षाको बारेमा शिक्षकलाई जति अरु कसलाई थाहा छ ?’ प्रतिप्रश्न गर्दै उनले भने, ‘शिक्षक र शिक्षा क्षेत्रका समस्या बुझेका शिक्षक स्थानीय तहमा पुगे शिक्षामा परिवर्तन आउँछ ।’
तर, स्थानीय तहको निर्वाचनपछि चुनिने शिक्षकबाट परिवर्तनको अपेक्षा गर्न मुश्किल रहेको शिक्षाविद् डा. विद्यानाथ कोइराला बताउँछन् । राम्रो गर्छु भन्ने शिक्षक राजनीतिमा नलागेरै पनि गरिरहेको उनको भनाई छ । उनले संविधानमा उल्लेख भएका शैक्षिक मुद्धालाई कार्यान्वयन गर्ने अवसर आएकोले पूर्व शिक्षकले त्यो इमान्दारिता देखाउन आवश्यक रहेकोमा भने जोड दिए ।

प्रतिक्रिया