Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

७७ वर्षे वृद्धाको भरमा विद्यालय

बुधबार, २० बैशाख २०७४

भक्तपुर– ‘तपाइँ कति वर्ष पुग्नुभयो ?’

‘खै, बाबु कति पुगेँ होला ? त्यस्तै ६०/६२ पुगेँ कि ? कक्षाकोठमा रहेको कालोपाटीको मुन्तिर निलो कार्पेटमा बस्दै, कान्छी खत्रीले भनिन् ।

कुराकानी गर्दै गर्दा पनि भुइँको केही टिप्न ब्यस्त खत्री भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुस्थित भीम प्राविका पियन (सहयोगी) हुन् । विद्यालयमा आएका बालबालिकाको स्याहारसुसारदेखि खेलाउने, सुताउने र तिनीहरुले फोहोर गरेमा सफा गर्ने काम उनैको भरमा भइरहेको छ ।

यतिमात्र नभएर उनी कहिलेकाहिँ भने आफूले जानेजसरी क, ख पनि पढाउँछिन् । ‘पढ्न त पढेको छैन, तर कहिलेकाहिँ भने म आफै पनि क, ख पढाउँछु ।’ खत्रीले भनिन् ।

उनले विद्यालयमा चारजना विद्यार्थी रहेको बताइन् । कक्षाकोठामा बच्चा हेर्दै गरेकी उनीसँग कुराकानीको क्रममा सो कक्षामा अञ्दाजी एक वर्षको शिशु मस्त निन्द्रामा र अर्को अञ्दाजी दुई वर्षको बालक खेलिरहेका थिए ।

उनको अर्को काम हो, स्कुलमा खानेपानीको जोहो गर्नु । त्यसका लागि उनी बिहान १० बजे अर्थात् स्कुलका सर÷मिसहरुभन्दा चाँडै स्कुल पुग्छिन् र आफ्नो काम गर्छिन् ।

वि.सं. २०३३ सालमा स्कुल खोलिएसँगै पियनको काम गर्न थालेकी उनले अहिले पनि सोही काम गरिरहेकी छिन् । अझ अहिले त उनको कामको जिम्मेवारी बढेको छ । पहिला भए बच्चाहरु पनि हुन्थे, सर÷मिसहरु समयमै आउनुहुन्थ्यो, बस्नुहुन्थ्यो, पढाउनुहुन्थ्यो, पछि विस्तारै बच्चा कम हुन थालेपछि सर÷मिसहरुले पनि अल्छी गर्न थाले, त्यसपछि त बच्चा हेर्ने जिम्मा पनि मेरै भागमा परेको छ ।’ उनी भन्छिन् ।
सानो बेलासम्म सरकारी विद्यालयमा पढाउने र ठूला भएपछि बोर्डिङ पठाउने भएर विद्यालयमा विद्यार्थी घटेको उनको गुनासो छ । ‘के गर्नु बाबु, सिँगान पुछ्ने, फोहोर सोर्र्ने बेलामा हामीकहाँ पठाउँछन्, दगुर्न सक्ने भएपछि अन्तै पठाउँछन् ।’

विद्यालयका प्रधानाध्यापक बुद्धिकृष्ण त्वायनाका अनुसार पियन खत्रीले अहिले स्कुलमा काम गरेवापत मासिक रु.१ हजार पाँचसय पाइरहेकी छन् । ‘स्कुल स्रोतबाट मिलाएर उहाँलाई पन्ध्रसय रुपियाँ दिइरहेका छौं ।’ प्रअ त्वायनाले भने । उनले जिशिकाबाट विद्यालयका लागि आउने विभिन्न शिर्षकको रकमबाट मिलाएर पियनलाई सो रकम दिँदै आएको जानकारी दिए ।

प्रअ त्वायनाका अनुसार पियन अहिले ७८ वर्ष पुगिन् । उनको जन्म वि.सं. १९९६ मा भएको जानकारी विद्यालयको रेकर्डमा छ ।

शिक्षकहरु विद्यालयकै अरु काममा ब्यस्त हुँदा खत्रीले कहिलेकाहिँ बच्चाहरु हेर्ने गरेको प्रअले स्वीकारे ।

प्रतिक्रिया