Edukhabar
आइतबार, २८ पुस २०८१
विचार / विमर्श

विद्यार्थी पढ्दैनन् हैन, किन पढ्दैनन् खोज्नु पर्यो

सोमबार, १८ बैशाख २०७४

घर नै संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्कुल हो । त्यसैले बालबालिकाको व्यक्तित्व विकासका लागि आमाबाबु र परिवारले राम्रो वातावरण, संस्कार र अनुशासनपूर्ण व्यवहार सिकाउनु पर्दछ । असल पाठशाला घर जस्तै प्रथम गुरु बाबुआमा नै हुन् ।

घरमा सभ्यता, संस्कृति, मूल्य, मान्यता, बोलीचाली र आचरण नसिकेका बालबालिकालाई असल व्यक्ति बनाउन कठिन छ । पढाउनु भनेको बालबालिकालाई जीवनमा सफल हुने तालिम दिनु हो । गुणस्तरीय शिक्षा दिने, राम्रो, असल र सृृजनामुखी बनाउने अभिभावक र शिक्षक दुवैको जिम्मेवारी हो । परिवर्तित दुनियाँ हामीहरु कै परिश्रम, चिन्तन र सोचको प्रतिफल हो । राम्रो नतिजा प्राप्त गर्न आफूले सक्ने जति सहयोग आफ्नो ठाउँबाट गरी सभ्य, सचेत, प्रतिस्पर्धी, योग्य नागरिक बनाइ व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनमा कन्चुस्याँई किन गर्ने ?

आफू खराब आचरण भएर बिग्रिएको तर आफ्ना बालबालिका असल हुन् भन्ने चाहाना हुन्छ तर त्यो ठूलो भुल हो । आफू असल भई आफ्ना सन्तानका लागि नमूना बनेर मात्र सपना पूरा हुन्छ । शिक्षक, अभिभावकले जस्तो व्यवहार प्रर्दशन ग¥यो पछि उनीहरुले त्यस्तै व्यवहार गर्छन किनकी उनीहरु नै भविष्यका अभिभावक र शिक्षक हुन् ।

विद्यार्थीले पनि जीवनभर असल विद्यार्थी बन्ने अठोट लिनु पर्छ । जीवनमा सफल र राष्ट्रमा बिक्ने दक्ष, असल व्यक्ति बन्नका लागि अहोरात्र उत्साह, इच्छा शक्ति, आत्मविश्वास र लगनशीलता भै लक्ष्य प्राप्तिमा लागिरहनु पर्दछ । अनुशासन भन्ने कुरा वाह्य वातावरणले सृजना गर्नु क्षणिक हुन्छ जब सम्म विद्यार्थी स्वतः स्फुर्त रुपमा अन्तर हृदयबाट प्रेरित हुदैन तब सम्म अनुशासनको पाठ घोकाएर, जवरजस्ती लादेर अपेक्षाकृत नतिजा हात लगाउन सकिदैन । बालबालिकाले खराव र असल छुट्टाउन समय त लाग्छ नै यद्यपी त्यसका लागि हामी जिम्मेवार अभिभावक, शिक्षक र समाजले बारम्बार सही पथ प्रर्दशन गरिरहनु पर्दछ । ज्ञानी, असल, अनुशासित विद्यार्थीबाट नै परिवार, विद्यालय, समाज र राष्ट्रले आशा गरेको सपना पूरा हुन्छ ।

अभिभावक जब आफ्ना बालबालिका प्रति सचेत, जिम्मेवार हुदैनन् र चासो अनि समय पनि दिदैनन् त्यस्ता अभिभावकबाट के अपेक्षा गर्न सकिन्छ ? आजको युग सबै व्यस्त हुने, आमाबुबाको न्यानो माया ममता नपाइ वात्सल्य जीवन एक्लो महसुस गरी विताएका बालबालिकाले भोलि उनीहरुका सन्तानलाई कसरी हुर्काउलान् ? अभिभावक भन्दा उनीहरुका संगति र साथी नै प्यारो लाग्ने, उनीहरुसँगै समय व्यतित गर्ने हुदा स्वभाविक रुपमा उनीहरुको माया, ममता र सत्प्रेम उनीहरुसँग हुनु स्वभाविक पनि हो । उनीहरु फरक संस्कार, संस्कृति, रहन सहन, वातावरणका हुन्छन् । गलत र सही छुट्टाउन नसक्ने उमेरका बालबालिकाले सिको गर्ने उमेरमा नराम्रा कुराको सिको गर्ने, फुर्ति सान देखाउन नक्कल गर्ने साथै आफ्नो उच्च स्थान देखाउन जस्तोसुकै काम पनि गर्ने उमेरमा अभिभावकले राम्रो शिक्षा साथै अभिभावकत्व दिन सकेनौ भने दूर्घटना निम्तन सक्छ ।

घर र परिवार भनेको बच्चाको व्यवहार बनाउने वा बिगार्ने मुख्य आधारभूत सामाजिक संस्था हो । जब एउटा घर राम्रो हुन्छ, समाज राष्ट्र र विश्व नै राम्रो हुन्छ । घर परिवारको हेरचाह, माया ममता, गरिने व्यवहार, संस्कृति र संस्कार जस्ता चिजले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । जब एउटा घर राम्रो हुन्छ, समाज राष्ट्र र विश्व नै राम्रो हुन्छ ।

विद्यालयमा सुरक्षित भौतिक पूर्वाधार, विद्यार्थी अनुसार शिक्षण सामग्री, पुस्तकालय, ल्याव, खेलमैदान, वरिपरीको वातावरण, शुद्ध खानेपानी, सफा एवं पहँुच योग्य चर्पी, कक्षाकोठा (प्रकाश, आकार, डेक्सबेन्च आदि) प्रविधि मैत्री व्यवस्थापन भए नभएको अभिभावकले ध्यान दिनु पर्दछ । यसका साथै सरसफाइ र विद्यालयको सुरक्षा सम्बन्धि व्यवस्थाको ख्याल राख्नुपर्दछ । निजी विद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तक विक्रेताको हो कि घुमन्ते व्यापारीको सिफारिस तथा कमिसनमा छ वा वास्तविक समय सापेक्ष÷राष्ट्रिय÷अन्तराष्ट्रिय पाठ्यक्रमको आधारमा छनौट गरिएको छ विज्ञलाई शोधपुछ गर्न अत्यन्त जरुरी हुन्छ ।
विद्यालय र विक्रेताको समझदारीमा अभिभावकलाई मार पारी विद्यार्थीलाई कितावको भारी बोकाएर मात्र हुदैन । पाठ्यपुस्तक थुपारी, पाठ्यक्रमको जानकारी नभएका तालिम अप्राप्त शिक्षकले के विद्यार्थीको मानसिक, शारीरिक र भावनात्मक विकास गर्न सक्लान् ? कोर्स सक्नु पर्ने, पाठ्यसामग्री धेरै राख्नाले के व्यक्तिगत रुची, क्षमता र आवश्यकतामा ध्यान देलान् र ?

नीजि विद्यालयका शिक्षक टिकाउ दर कस्तो छ ? सेवा सुविधाको तालमेल कस्तो छ ? दक्ष शिक्षक÷साथी शिक्षक छन् छैनन् विद्यालयमा बनेका संयन्त्र (शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति आदि) ले याद गर्नु पर्दछ । शिक्षकको प्रतिवद्धता र लगनशीलताको अवस्था साथै शिक्षकको राम्रो टिम र नेतृत्व पनि असल हुनु पर्दछ । शिक्षक र विद्यालय प्रशासनले आवश्यकता अनुसार समय अभिभावक तथा विद्यार्थीका अतिरिक्त समाजका अभिमत दिने व्यक्तित्व, शिक्षालाई सकारात्मक रुपमा हेर्ने राजनितिक दलका प्रतिनिधि लगायत सरोकार राख्ने व्यक्तिलाई दिनु आवश्यक हुन्छ । जसको सकारात्मक पृष्ठपोषणले शिक्षामा परिवर्तन गर्न सकिन्छ । विद्यालय प्रशासनले विद्यार्थीका लागि पढ्ने राम्रो वातावरण बनाउने हो । विभिन्न शैक्षिक विधिको पालना, शिक्षकलाई समयानुकूल तालिमको व्यवस्था, विद्यार्थीको शैक्षिक क्यालेण्डर, शिक्षक अभिभावक बैठक जस्ता कुरामा ध्यान दिनु पर्दछ । शिक्षक विद्यार्थीको आचार संहिता तयार गरी अक्षरस पालनामा ख्याल गर्नुपर्दछ ।

शिक्षकलाई सबै विद्यार्थीले निरीक्षण गर्नुपर्छ । त्यसो भएमा शिक्षक सजक हुन्छन् । विद्यार्थी पढ्दैनन् भन्ने शिक्षकको गुनासो आउने गरेको छ, किन पढ्दैनन् भन्ने शिक्षकले नै अध्यायन गर्नुपर्दछ र समाधानको बाटो देखाउनु पर्दछ । विद्यार्थीमा प्रश्न गर्ने क्षमताको विकास गर्नुपर्छ । विद्यालयमा राजनीति नहुने, राम्रो व्यवस्थापन हुने र शिक्षकले राम्रोसँग पढाउने हो भने नतिजा राम्रो हुन्छ । अभिभावकको विद्यालयप्रतिको चासो जागृत हुनु पर्दछ । आफ्ना बालबालिका प्रति विषय शिक्षक, विद्यालय प्रशासन साथै समकक्षी साथीसँग शोधखोज गरिरहनु पर्दछ । टेलिभिजन, मोवाइल र सोसियल मिडियाको प्र्रभावबाट आजभोलि बच्चाहरू धेरै बिग्रने गरेको पाइन्छ । उनीहरुको साथसँगत, परिवर्तनको पनि ख्याल गरिरहनु पर्दछ ।  

नेपालको सन्दर्भमा दुई वर्गमा विभाजित शिक्षा प्रणालीमा सामुदायिक शिक्षालाई सुधार गर्ने हो भने सबैभन्दा पहिला शिक्षकलाई सुधार्नुपर्छ । शिक्षकलाई राजनीतिक दलका भ्रातृ संगठन बनाए, दलका झोला बोकाए, अब किताब बोकाउनु पर्छ । जसले राम्रो पढाउँछ, त्यो शिक्षकको राम्रो मूल्यांकन गर्नुपर्दछ । शिक्षकले पाठ्यपुस्तक, पाठ्यक्रम भएन भनेमा शिक्षकलाई नै विकल्प के हो, त्यो गर्न लगाउनुपर्छ । राजनैतिक भर्ति रोकी योग्य र क्षमतावान शिक्षक भर्ना गर्नु पर्दछ । निजी विद्यालयका शिक्षकलाई अनिवार्य नयाँ शैक्षिक शत्रमा तालिमको व्यवस्था गरी विद्यालयको पाठ्यपुस्तक र पाठ्य सामग्रीप्रति विज्ञ बनाएर मात्र कक्षामा प्रवेश गराउनु पर्दछ । आधा कोर्स सकिँदासम्म मेलो नपाएका शिक्षकबाट शैक्षणिक विकासमा के अपेक्षा गर्ने ?

आधुनिक शिक्षा, उपयुुक्त सीप र सामाजिक मूल्य मान्यताबाट उत्सुक र आत्मविश्वासी बनाउँदै जीवनमा ध्यान र धैर्यता सहित जोखिम उठाउन सक्ने जनशक्ति उत्पादन गर्ने जिम्मेवारी भएका विद्यालय, शिक्षक अनि अभिभावकले शिक्षामा वढी लागनी गर्नु पर्ने आवश्यकता रहेको छ । मानवीय मूल्य सहित बौद्धिक, शारीरिक, साँस्कृतिक र भावनात्मक रुपमा विद्यार्थीलाई हुर्काउन अभिभावक, विद्यालय, विद्यार्थी र शिक्षक सबै पक्षको ध्यान जानु जरुरी छ ।  

[email protected]

प्रतिक्रिया