Edukhabar
सोमबार, १० मंसिर २०८१
विचार / विमर्श

परीक्षा र समयबोध

बुधबार, ०२ बैशाख २०७२

- डा. मतिप्रसाद ढकाल / आजकल मलाई परीक्षामा निरीक्षक भएर बस्नै नपरे हुँदो जस्तो लाग्छ । सरकारी क्याम्पसमा त वर्षमा एक पटक मात्र परीक्षा हुने हुँदा निरीक्षक बस्दिन भन्दा पनि सुख पाइन्छ तर प्राइवेट क्याम्पस अझ त्यसमा पनि प्लस टुमा सञ्चालन गरिने महिनै पिच्छेका परीक्षामा निरीक्षक बस्नै पर्ने बाध्यताबाट मैले निकै थलिएको अनुभूति गर्दै आएको छु । प्रश्नपत्र हात परेको दश मिनेट मैं विद्यार्थीहरू छटपटिन र चटचटती पसिना काढ्न थालेको देख्ता म निकै आहत हुन्छु । परीक्षाका बेला विद्यार्थीलाई धेरै पटक पिसाब लागिरहन्छ । मेरा सोझा र बाङ्गा दुवै थरी विद्यार्थीले यसको एउटै जबाफ नजानेर होभन्ने दिन्छन् । वर्षदिन कलेज र घरमा पढ्न नपाएको कुरो एकै छिनमा शौचालय पुगे पछि पढ्न पाउँदा रहेछन् । परीक्षार्थीको छटपटाहट शौचालयमा पुगेर फर्किए पछि केही शान्त हुन्छ । प्रश्न पत्रले अस्वस्थ र अपवित्र बनेका परीक्षार्थी शौचको आलय (पवित्र हुने ठाउँ) मा पुगेपछि स्वस्थ र पवित्र भएको देख्ता केही परीक्षार्थीहरूका लागि बाहेक अरूका लागि शौचालय सार्थक बन्न नसकेको अनुभूति हुन्छ ।

परीक्षालयले शौचालयको सास फेरेर बाँच्न विवश हुनुमा सर्व प्रथम हामी गुरु वर्ग नै दोषी छौं । पाठ्यपुस्तक पढाउनमा भन्दा बासी नोट र गेस पेपरका अभ्यासहरू लेखाउनमा बढ्ता रमाउनुको परिणाम यस्तै हुन्छ । कक्षामा सीमित समयमा पढेको कुरो कक्षा बाहिरको असीमित समयमा विद्यार्थीले बारम्बार चिन्तन र मनन नगर्ने प्रवृत्तिका कारण पनि उनीहरू शौचालयमा सास फेर्न विवश भएका हुन् । हामी अभिभावकले आफ्ना सन्ततिलाई आफ्नै घरमा पठन संस्कृतिको वातावरण पनि दिन सकेका छैनौं । हामी आफ्ना सन्ततिले निरन्तर पढि राखून् भन्ने मात्र चाहना राख्छौं तर उनीहरू के कसरी पढिरहेका छन् ?, पुस्तकमा भन्दा मोबाइल र नेटको पढाइमा किन उनीहरूको बढ्ता रुचि बढ्दै गएको छ ?, नवीनतम सूचना र प्रविधिको उपयोग गरी केही नौलो कुरो सिक्तै छन् कि अनावश्यक कुरामा समय खर्चेर बिग्रँदै छन् ? भन्ने कुरामा हामी अभिभावक चनाखो बन्न सकेका छैनौं । केवल विद्यालय प्रशासनले र केही मिनेटका घण्टीमा कक्षा भित्र प्रवेश गर्ने शिक्षकले मात्र विद्यार्थीलाई अनुशासनको सामयिक लगाम लगाएर पुग्दैन ।

त्यसका लागि प्रत्येक अभिभावकले उत्तिकै चिन्ता र चासो देखाउनु जरुरी छ । यसका साथै युग सुहाउँदो स्वावलम्बी राष्ट्रिय शिक्षानीति छ कि छैन ? भन्नेबारेमा सम्बद्ध सरोकारवालाको पनि ध्यान आकृष्ट हुनु आवश्यक छ । परीक्षाहरू आउँछन्, जान्छन् तर परीक्षाको सचेतता सबैलाई हुँदैन । परीक्षा भवनमा प्रवेश गर्ने योग्यता के हो भन्ने कुराको सामान्य जानकारी नलिइकन परीक्षा भवनमा प्रवेश गर्दा परीक्षार्थीहरूमा छटपटाहट हुनु कुनै आश्चर्य होइन । जसलाई परीक्षाको मर्यादा थाहा नै हुँदैन, त्यसलाई म कहाँ छु र के गर्दैछु भन्ने बोध पनि हुँदैन । जब बोध नै रित्तिन्छ तब परीक्षाका उत्तरपुस्तिकाहरू पनि रित्तै हुन्छन् । जीवनका प्रश्नहरू बुझ्न नसके पछि जीवनका उत्तरहरू पनि रिक्त रहनु अस्वाभाविक होइन ।

प्रवेश पत्र पैसामा विनिमय हुने चिज होइन तर पैसा विना प्रवेश नपाएर परीक्षार्थीहरू छटपटिइरहेका हुन्छन् । छटपटिइरहेको परीक्षार्थीले सोचे अनुरूपको उत्तर दिन सक्तैन । योग्यता नै नभएको परीक्षार्थीले निरीक्षकका आँखाहरु छलेर उत्तर पुस्तिका भर्दैमा उसको योग्यता बढ्नै सक्तैन । लब्धाङ्क पत्रमा उच्चतम अङ्क टाँस्नेहरू पनि जीवनमा न्यूनतम अङ्क पाउन नसकेर छटपटाइरहेका देखिन्छन् । हाम्रा विद्यार्थीहरू परीक्षालाई बाघ जस्तै ठानेर किन त्यसबाट डराउने गर्दछन् ?, के परीक्षालाई पनि विद्यार्थीमैत्री बनाउन सकिन्न ?, परीक्षा सधैं भइराखे हुन्थ्यो भन्ने चाहना र उत्सुकता हाम्रा विद्यार्थीमा उमार्नैन सकिने हो र ?, हाम्रा परीक्षाहरू के नोट, गाइड र गेस पेपर कै कपीपेस्ट भन्दा माथि उठ्न सकेका छन् त ?, हाम्रा शिक्षण संस्थाहरूले आज सम्म आफ्ना विद्यार्थीलाई सिर्जनात्मक ज्ञानतिर डोर्याउन खोज्ने शिक्षकलाई असल शिक्षक ठानेर प्रोत्साहन गर्न सकेका छन् त ? यी र यस्तै जिज्ञासाहरूले पनि हाम्रा परीक्षाहरूको गुणस्तर कायम गर्न सहयोग पुर्याउँछन् ।

हामीले आफ्नो जीवनमा आज सम्म धेरै परीक्षा दिइसक्यौं, वर्तमानमा दिइरहेका छौं र र हामीहरूले आगतमा जिन्दगीका अझ धेरै परीक्षाका नदीहरू पार गर्नु छ । कक्षागत परीक्षामा त शौचालयको सास फेरेर उत्तीर्ण हुन सकिएला तर कक्षा बाहिरका हाम्रा अनन्त परीक्षाहरू पार गर्न हामीलाई निकै कठिन छ । कक्षागत परीक्षामा जस्तो हाम्रा जीवनका परीक्षामा पनि निरीक्षक त बसेकै हुन्छन् तर तिनको आँखा छलेर हामी जीवनका कुनै पनि परीक्षामा समुत्तीर्ण हुन सक्तैनौं । परीक्षामा अनुत्तीर्ण हुनु पनि जीवनकै एउटा महत्त्वपूर्ण परीक्षा हो, आत्म मूल्याङ्कन गर्ने सुवर्ण अवसर हो । जीवनमा पनि पूर्ण परीक्षामात्र होइन आंशिक र पूरक परीक्षाहरू समेत भइरहन्छन् तर जीवनको परीक्षा कहिल्यै पूर्ण हुँदैन र जीवनको परीक्षाले हामीलाई कहिल्यै पनि विशिष्ट श्रेणीको अङ्क दिदैँन । कक्षागत परीक्षाका लब्धाङ्कमा विशिष्ट श्रेणीको नम्बर चढ्दैमा हाम्रा जीवनका अनन्त परीक्षाहरूमा विशिष्ट श्रेणीकै अङ्क चढ्छ भन्ने अहंको भूत हामीमा चढि राख्यो भने हामीले जीवनमा कुनै पनि परीक्षा उत्तीर्ण गर्न सक्तैनौं ।

परीक्षा भनेको एउटा समय सूचक घडी पनि हो । परीक्षामा छटपटिएका विद्यार्थीहरूले तीन घण्टालाई तीन वर्ष जस्तो ठान्छन् र पढ्ने साथीहरूले शौचालयको ढोकम नदेखीकन र मुन्टो नउठाई लेखिरहेको देख्ता उनीहरूलाई त्यस परीक्षाको घडीले समयको महत्त्वबोध गराउँछ । पढेको भए लेख्न सकिने रहेछ, आगामी परीक्षाहरूमा म यसरी छटपटिने छैन र साथीहरूले जस्तै समयको महत्त्वलाई बुझेर निरन्तर अध्ययनमा प्रवृत्त भइरहने छु भन्ने चेतना परीक्षा भवनका केही परीक्षार्थीमा पक्कै पनि पलाउँछ । त्यही चेतनाको दियो परीक्षा भवनबाट बाहिर निस्किए पछि पनि बलिरह्यो र त्यसमा हाम्रा चेलाचेलीले तेल थपिरहन सके भने तिनीहरूले कक्षागत परीक्षामात्र होइन जीवनकै अनगिन्ती परीक्षाहरू सहजै उत्तीर्ण गर्न सक्छन् र तिनैले सुन्दर एवं सफल जीवन पनि जिउन सक्छन् भन्ने कुरामा आशावादी हुन सकिन्छ ।

- गै‌डाकोट - १, विकासचोक, नवलपरासी

प्रतिक्रिया