...
यहाँ किताब जलेपछि भात पाक्छ
यहाँ पोन्सिल बलेपछि दाल पाक्छ
तपाईँले बलियो कविता लेख्नु ठूलो कुरा होइन
यो चुल्हामा आगो बल्नु ठूलो कुरा हो
सर, यो स्कुल होइन भान्साघर हो।
तुसारोलाई चरपचरप खाली खुट्टाले टेकेर यहाँ आइपुग्नु
उनीहरूले आँखा खुल्लै राखेर देखेका सपनाहरू हुन्।
उनीहरू मरेका सपनाहरूको पुजा गर्ने जाति हुन्
उनीहरू निरक्षर देवताका भक्तहरू हुन्
उनीहरू जङ्गलजङ्गल गिट्ठा खन्दै यहाँ आएर बिसाएका हुन्
उनीहरूले हिँडेका गोहो हुन् यी नदीहरू
उनीहरूले कुल्चेका डामहरू हुन् यी गाउँ
अक्षर आइपुग्नभन्दा अघि यहाँ उनीहरूको गीत आइपुग्यो
गीत आएर नै बुलाकीहरू हल्लिए
अक्षर आइपुग्नभन्दा अघि यहाँ उनीहरूको रगत आइपुग्यो
रगत आएर नै पहाडले बोक्यो पेट।
रगत्ताम्मे गीत सुसेलेर उनीहरूले
गाउँले बाटेको बाँसको चोयाजस्ता घुमाउरा बाटोमा पिसाब फेरेका हुन्
गिट्ठा सकिएपछि नै आमैले बेरेका हुन् पटुका।
त्यतिबेलादेखि बेरेकोबेरेकै छ पटुका यो गाउँले
पटुका बेह्रेको यो गाउँ जुनदिन खालीखुट्टै पस्यो संसद भवन
त्यही दिन बनेको हो भान्साघरमा स्कूल।
अथवा स्कुलमा भान्साघर।
भान्साघरमा
क- हरू भातको निम्ति लाम लाग्छन्
ख- हरू, अ- हरू, केही आकार, ऐकरहरू दालको निम्ति लाम लाग्छन्
कुनै दार्शनिकको एउटा बलियो वाक्यले किताबको साटो थाल बोक्छ
कुनै कविको कालजयी हरफले पेन्सिलको साटो चम्ची बोक्छ।
सर, यो स्कुल होइन भान्साघर हो।
उनीहरूको दिमागका हरेक हाँगामा
ज्ञानले टुसा हाल्न अघि नै भोकले फूल हाल्छ र मगमगाउँछ
फूलबाट निस्किएका हरेक भोकको बीऊ भान्साघरतिरै लम्किन्छ
किन भने त्यहाँ खिचडी पाक्छ।
शिक्षा भनेको खिचडी हो
सर, यो स्कुल होइन भान्साघर हो।
जब खिचडी पाक्छ
बालक अक्षरहरूले थुक निल्दै हेर्छन् डाडुको हत्केला
दालबाट उडेको वाफले छेलिन्छ व्ल्याकबोर्ड र चक
छेलिन्छ किताब र त्यहाँ उनीहरूको निम्ति लेखिएको जीवन।
तपाईँ सोध्नुस्
‘पृथ्वी कस्तो छ?’
नानीहरू भन्छन् - ‘अण्डाजस्तो छ’
किन भने आज पढ्ने दिन होइन अण्डा खाने दिन हो।
सर, यो स्कुल होइन भान्साघर हो।
सरकार, अक्षरमा त विष हाल्नु भो
खिचडी के हो र ?
हाल्नोस् विष
तर यदि बाँचेछन् भने कुनै अक्षर र बनिएछन् भने कुनै वाक्य
त्यही तपाईँको ‘अन्त्य’ हो
सर, यो स्कुल होइन भन्साघर हो।
प्रतिक्रिया