- दिपेश घिमिरे / सात कक्षाको परिक्षामा फेल हुँदा दार्चुलाका चार जना किशोरीले गत साता महाकाली नदीमा हाल फालेर आत्महत्या गरे । यस अघि एसएलसीमा फेल भएपछि आत्महत्या गरेका विभिन्न घटनाहरु सार्वजनिक हुदै आएका थिए । तर अहिले सात कक्षामा पढ्ने कलिला बालिकाहरुले आत्महत्या गरेका छन् । किन यति कलिला बालिकाहरुले सामुहिक रुपमा आत्महत्या गरे ?
सामुहिक रुपमा भएको यो आत्महत्याको घटना गम्भिर सामाजिक अनुसन्धान र बहसको विषय हो । तथापी यसको बारेमा राष्ट्रियस्तरमा खासै बहस र छलफल भएन । न त शिक्षाविद्हरुले नै चासो राखे । यो आत्महत्याको कारण व्यक्तिगत हो वा अरु केहि कारणहरु छन् ? यो लेख यसै सवालमा केन्द्रित छ ।
ईतिहासको लामो काल खण्डमा आत्महत्याको कारणको खोजी बायोलोजिकल अर्थात शरिर विज्ञानले गर्दथ्यो । जसमा व्यक्तिको शरिरमा केहि त्यस्ता तन्तु वा सेल हुन्छन् जसले व्यक्तिलाई आत्महत्या गर्न उत्प्रेरित गर्दछ भन्ने मान्यता राखिन्थ्यो । तर यस दृष्टिकोणबाट आत्महत्याको बारेमा अध्ययन गर्न सम्भव भएन ।
यसपछि साईकोलोजी अर्थात मनोविज्ञानले आत्महत्याको कारणको अध्ययन गर्न थाल्यो । आत्महत्यालाई मनोवैज्ञानिक रुपमा अध्ययन गर्दा पनि सहि र वास्तविक कारण पत्ता लाग्न सकेन । यसै कुरालाई आलोचना गर्दै समाजशास्त्री इमाईल दुर्खाइमले आत्महत्यालाई समाजशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरे । खासगरी १९ औ शताब्दीमा युरोपमा आत्महत्याको दर निकै धेरै थियो । सन् १७८९ मा भएको फ्रान्सेली राज्यक्रान्ती पछि युरोपमा चर्किएको युद्धको क्रममा धेरै मानिसहरुले आत्महत्या गरे । मनोविद्हरुले यस किसिमको आम आत्महत्याको खास कारण पत्ता लगाउन नसकेपछि यो विषयलाई समाजशास्त्री इमाइल दुर्खाइमले अध्ययन गरेका थिए ।
उनले सन् १८९७ मा सुसाईड अर्थात आत्महत्या भन्ने पुस्तक प्रकाशन गरे । जसमा कुनैपनि आत्महत्याको कारण व्यक्तिगत वा मनोवैज्ञानिक नभएर यसको सामाजिक कारण हुन्छ भन्ने दुर्खाइमको निष्कर्ष छ । उनका अनुसार कुनैपनि व्यक्तिको समाजमा सोसियल ईन्टिग्रेसन अर्थात सामाजिक एकिकरणको अवस्था कस्तो छ ? त्यसले व्यक्तिको आत्महत्यालाई निर्धारण गर्दछ भन्ने तथ्य प्रतिपादन गरे । उनका अनुसार जुन व्यक्तिको समाज, परिवार वा साथीहरुसँको एकिकरण कमजोर छ भने त्यस्तो व्यक्तिले आत्महत्या गर्दछ । त्यसैले आत्महत्याको सामाजिक कारण हुन्छ भन्ने उनको निष्कर्ष रहेको छ ।
समाज शास्त्रका संस्थापक मध्येका एक दुर्खाइमको यहि दृष्टिकोणबाट हेर्ने हो भने दार्चुलाका कलिला बालिकाहरुले पनि कुनै मनोवैज्ञानिक वा जैविक कारणले आत्महत्या गरेका होईनन् । खासमा यहि समाज, सामाजिक संरचना र सम्बन्धले उनीहरुलाई आत्महत्या गर्न विवश पारेको हो । उनीहरुको आत्महत्या उनीहरु बाँचेको समाजको उत्पादन हो । कलिला बालबालिकाले आत्महत्या गर्नुका केहि सामाजिक कारणहरु रहेका छन् ।
पहिलो, दुर्गम गाउँमा शैक्षिक सत्र सकिने बेलासम्म पनि पाठ्यपुस्तक पुग्दैन । हरेक वर्ष दुर्गमका गाउँहरुमा पाठ्यपुस्तक विनानै बालबालिकाले अध्ययन गर्नु र परिक्षा दिनु परिरहेको छ । हिंसा दुव्र्यवहार र विभेद मुक्त विद्यालय बनाआंै सबै बालबालिकालाई विद्यालय पठाऔ भन्ने नाराका साथ भर्ना अभियान सञ्चालन गरिन्छ । तर देशभरका विद्यार्थीलाई बेलैमा पाठ्यपुस्तक पुर्याउन सकिएको छैन । यस वर्ष पनि अहिलेसम्म पनि १३ लाख किताब छाप्न सकिएको छैन भने छापिएका पाठ्यपुस्तक पनि दुर्गममा पुर्याउन सकिएको छैन । शिक्षा मन्त्रालय, शिक्षा विभाग, जनक शिक्षा सामाग्री केन्द्र लगायतका निकायलाई हरेक वर्ष वैशाखको पहिलो साताबाट शैक्षिक सत्र सुरु हुन्छ भन्ने राम्रो जानकारी छ । तर वर्षौ देखि समयमा पाठ्यपुस्तकको छपाई गर्ने र ढुवानी गर्ने काम हुँदैन । यसको प्रत्यक्ष मार बालबालिकामा परिरहेको छ । त्यसैले दार्चुलाका कलिला बालिकाको हत्यारा शिक्षाका निकायका उच्च पदस्थ अधिकारीहरु हुन् ।
अर्को कारण भनेको अत्यधिक घरायसी कामको बोझ । गाँउको विद्यालयमा विहान भरी घाँस दाउरा गरेर दिउँसो मात्र विद्यालय जाने हो । फेरी विद्यालयबाट फर्केपछि पनि उहि दैनिकी दोहोरिन्छ । झन् बालिका अर्थात छोरीले घरको सारा काम सकेर मात्र विद्यालय जान पाउँछन् । दिनभरी विद्यालयमा पढेर फर्केपछि पनि घरको बाँकी रहेको सबै काम गर्नु पर्छ । यसरी घरको सारा काम गरेर विद्यालयमा पढ्न गएका कलिला बालिकाहरु पढाई भन्दा पनि घरायसी कामको चापले थिचिएका हुन्छन् । विद्यालयमा पढे बाहेक घरमा एकछिन पनि पढ्न पाउँदैनन् ।
गाउँको समाजले बनाएका यस्ता नियमहरुको उल्लंघन पनि गर्न नसक्ने र त्यसलाई पालना गरेर आफ्नो भविष्य सुन्दर हुन्छ भन्ने विश्वास पनि नहुने दोहोरो चपेटामा बालिकाहरु पर्दछन् । परिणामतः जीवन देखि निराश भएर आत्महत्या सम्मको काम गर्न सक्छन् । छोराछोरीले घरायसी काम होईन पढाई लेखाईमा ध्यान दिनुपर्दछ भन्ने जानेर पनि नजाने जस्तै गर्ने अभिभावक पनि कलिला बालिकाका हत्यारा हुन् ।
तेस्रो कारण, विद्यालयमा हुने राजनीति । देशभरका सामुदायिक विद्यालयहरुको एउटा प्रमुख समस्या भनेको चरम राजनीतिकरण हो । शिक्षकहरु शिक्षण गर्न भन्दा राजनीतिमा बढी संलग्न छन् । पार्टीनै पिच्छे र पार्टीका गुटै पिच्छे खुलेका शिक्षक संघ संगठनहरुको काम गर्दैमा शिक्षकलाई भ्याई नभ्याई छ । विद्यालयमा नियमित रुपमा पठनपाठन हुदैन । पाठ्यपुस्तक समयमा नपाएका बालबालिकाले शिक्षकलाई समेत नियमित कक्षाकोठामा भेट्दैनन् । नियमित पढाई हुदैन । शिक्षक कक्षाकोठामा आउँदैनन् । आक्कल झुक्कल कक्षामा झुल्किएका शिक्षकले कहिल्यै मायालु व्यवहार देखाएर पढाउँदैनन् । जहिल्यै हप्की र दप्की हुन्छ । परिणामतः विद्यार्थीले परिक्षा राम्रो गर्न सक्दैनन् । र आत्महत्या गरिरहेका छन् । त्यसैले ति बालिकाका हत्यारा शिक्षक पनि हुन् ।
चौथो कारण भनेको हाम्रो समाजको बालिका प्रतिको नकारात्मक दृष्टिकोण हो । शहरी क्षेत्रमा छोरा र छोरीको बीचमा विभेद कम भएपनि दुर्गम गाउँमा छोरी प्रति अहिले पनि समाज निर्मम छ, क्रुर छ । छोरी मान्छे फेल भए जिस्कियाउने, हेप्ने र नराम्रो व्यवहार गर्ने गर्नाले बालिकाहरु आफने भविष्य निरस देख्छन् । ल यो त फेल भईछ !अब यसलाई कसले विहे गर्छ ? ल फेल पो भईछे ! को को सँग घुम्दै हिड्न ठिक्क छ के पास होस् ? जस्ता लान्छना बालिकाहरुले बढिनै सामना गर्नुपर्छ । जसले बालिकालाई समाजमा घुलमिल हुनै गाह्रो हुन्छ र सधैको लागि समाजबाट विदा लिन खोज्छन् ।
अन्तिम अर्थात सबैभन्दा महत्वपूर्ण कारण भनेको अभिभावकहरुको अनावश्यक अपेक्षा र दवाब । हरेक अभिभावकले आफ्नो बच्चा पढाईमा अब्बल भएको हेर्न चाहन्छ । यति सम्म त स्वभाविकै हो तर गाउँ घरतिर अभिभावकले आफ्ना बालबालिकासँग अनावश्यक अपेक्षा राख्दछन् र त्यो पुरा गर्नको लागि दवाब दिन्छन् । उदाहरणको लागि परिक्षामा पहिलो भयौ भने तिमीलाई म यस्तो किनिदिन्छु र फेल भयौ भने विवाह गरिदिन्छु भन्ने जस्ता दवाब आफ्ना बालबालिकालाई दिने गर्छन् । समयमै पाठ्यपुस्तक नपाउने, नियमित रुपमा पठनपाठन नहुने, घरायसी कामको अत्यन्त बोझ हुने, समाजले नकारात्मक दृष्टिकोण राख्ने, विद्यालयको वातावरण पनि छात्रामैत्री नहुने जस्ता समस्या भोगिरहेका बालिकाहरुलाई फेल भयो भने कलिलै उमेरमा विवाह गरिदिन्छु वा अब पढ्न पठाउँदिन भन्ने जस्ता अभिभावकको दवाबले उनीहरुको समाज, तथा परिवारसँगको सामाजिक एकिकरणलाई विस्तारै क्षिण बनाउँदै लैजान्छ । कमजोर बनाउदै लैजान्छ । जसलाई बालिकाले प्रतिकार गर्न सक्दैनन् । विद्यालय गएर कलिलैमा विवाह गर्यो भने वा बीचैमा पढाई छाड्यो भने भविष्य अन्धकारमय हुन्छ भन्ने थाहा पाएकालाई त्यहि बिवाह वा पढाई छुटाई दिने डर देखाएर दवाब दिएपछि उनीहरुले अर्को बाटो देख्दैनन् र आत्महत्याको बाटो रोज्दछन् ।
त्यसैले यस्ता कलिला बालिकाहरुको आत्महत्या उनीहरुको आफ्नो मनोविज्ञान वा शरिरमा भएको जैविकीय कारणले मात्र होईन यो त यहि समाजको उत्पादन हो । यसरी कलिलै उमेरमा बालबालिकाले आत्महत्या गर्नुमा यहि समाज, सामाजिक संरचना र सामाजिक सम्बन्ध मुख्य रुपमा दोषी छन् ।
त्रिचन्द्र क्याम्पस काठमाडौमा प्राध्यापन गर्ने घिमिरेले त्रिविबाट समाजशास्त्रमा एमफिल गरेका छन् ।
प्रतिक्रिया